असोजको पहिलो साता भएको एनसेल साहित्य महोत्सवका केहि सत्रहरु हेर्न पुगेको थिएँ। जगदीश घिमिरेको 'सकस' र मनु मन्जिलको 'ल्याम्पपोष्टबाट खसेको जून' किनेपछि प्रज्ञाको माथिल्लो तल्लामा पुगेर डायमण्ड शमशेरका दुई उपन्यास र समकालीन साहित्यको पछिल्लो अंक पनि झोलामा कोचें।
त्यसपछि हालसालै सकिएको साझाको पुस्तक प्रदर्शनीबाट पनि केहि किताबहरु उठाईयो। काठमाण्डौंको जस्तो तामझाम र होहल्ला नभएपनि पोखराको (र देशभरका) साझाको बितरण कार्यालयले छुट भने उत्तिकै दिएको थियो। साझाका प्रकाशनहरुको मोल एकदम कम हुन्छ। थोरै पैसामै नेपाली साहित्यका उत्कृष्ट कृतिहरु पाउन सकेपछि 'महंगो भयो!' भन्ने बहाना गर्नु 'म पढ्न चाहन्न।' भन्नुमात्रै हो। भूपि शेरचनको 'घुम्ने मेचमाथि अन्धो मान्छे' को मूल्य जम्मा ३४ रुपियाँ, शंकर लामिछानेको 'एब्स्ट्रयाक्ट चिन्तनःप्याज' को ३५ रुपियाँ, यी मूल्यमा पनि २५ प्रतिशतको प्रदर्शनी छुट। यी अनमोल किताब सित्तैंमा दिए बराबर हो।
धेरै नपढेका किनियो, 'माधवी' जस्ता केहि पढीसकेका पनि फेरि पढ्न र नीजि संग्रहमा राख्न किनियो। छोरीका लागि बालसाहित्यका किताबहरु पनि थुप्रै किनियो। साना कदका र विशेष गरी कविता संग्रहहरु पढेर भ्याईयो। अरु पढ्न बाँकीनै छन्।
बटुल्दै जाम्, पढ्ने समय पनि मिल्दै जाला नि!