फेरि नेपालीहरु लखेटिएका छन् आफ्नो थात-थलोबाट। भारतीय सेना नेपाल बसेर ताण्डब-नृत्य मच्चाईरहेछ र गाऊँका गाऊँ नेपाली जनताहरु आफ्नै देशमा शरणार्थी बन्नुपर्ने नियति भोगिरहेछन्। (भारतीय सुरक्षाकर्मीले लखेट्दा १८०० विस्थापित)
यस्तो समाचार आउन थालेको केहि दशक भईसक्यो। अहिले झन्-झन् बढी आऊँदैछन् यस्ता समाचारहरु। हामी घरभित्रै आफ्नै सानतिना अहंका लागि टाउको फोराफोर गरेर बसिरहेपछि छिमेकीले साँध ताछ्नु र हाम्रो आली भास्नु स्वाभाविक हो। भारतीय सेनाको यो घृणित कामको घोर विरोध र निन्दा त हुनैपर्छ तर त्यससंगै हामी हामीमाथि शाशन गर्नेको नालायकीको पनि निन्दा गरौं।
नेपाल-भारत सम्बन्धको कथित 'परम्परागत जटिलता'का आडमा खुल्लमखुल्ला पन्पिरहेको भारतीय दादागिरि यति लामो समयसम्म टिकिरहनुको मूल कारण हाम्रो एउटा स्पष्ट र समग्र विदेश नीति र अडान नहुनु हो। राज्यस्तरमा त्यस्तो समग्र नीति बनाउने कुनै पहल अहिलेसम्म भएको छैन। यस विषयमा विगतका शाशकहरु र अहिलेका राजनीतिक दलहरु कसैले पनि गम्भिर भएर सोचेका छैनन्। हाम्रा राजनीतिक दलहरुका लागि भारत, सत्तामा पुग्नका लागि आवश्यक धापको रुपमा रहेको छ। "अरुलाई छिर्के हानेर आफू भारतको सबैभन्दा प्रिय हुनु, सत्ता पाउनु र जोगाउनु" नै अहिलेसम्मको हाम्रो भारत नीति र एक हिसाबले पूरै विदेश नीति हो। हाम्रा प्राय: दलहरुको भारत विरोध, आफू सडकमा पुगेको बेला टायर बाल्ने ईन्धनभन्दा बढी केहि होईन। हाम्रा राजनीतिक शक्तिहरुको दिमागमा अहिलेसम्म एउटा स्वाधीन, आधुनिक देशको चिन्तन-शैली पसेकै छैन।
भारतका राजदूतले दिनको तीन पटक सबै दलका नेताहरुलाई भेटिरहेका हुन्छन् तर कुनै पनि नेताले सीमामा भारतीय सेनाबाट नेपालीमाथि भएको दुर्ब्यबहारको कुरा गरे होला भन्ने कुरामा शंकै लाग्छ।
जनस्तरको हालत पनि उस्तै गएगुज्रेको छ, हाम्रो समाजमा आलु-प्याज बेच्न हिँडेकालाई लात हानेर 'राष्ट्रभक्ति'को कर्तब्य पूरा गर्नेहरु र भारतको विरोधमा अराजकता सृजना गरेर आफ्नै देशका भौतिक सम्पदाहरु नष्ट गर्ने 'क्रान्तिकारी' राष्ट्रवादीहरु धेरै छन्। राजनीतिक शक्तिहरु आफैं ईमान्दार राष्ट्रवादी नभैदिनाले र तिनले एउटा सन्तुलित राष्ट्रिय नीति दिन नसक्नाले युवाहरुको राष्ट्रवादी उर्जा अत्यन्त अराजक गतिबिधिहरुमामात्रै केन्द्रित भईरहेको छ।
भारत हामीभन्दा भूगोलमा र सामरिक-आर्थिक हिसाबले धेरै बलियो छ। हाम्रो जस्तो दुई तिरबाट भिमकाय देशहरुले पेलिएको सानो र कमजोर राष्ट्रले सामरिक लडाईँ कसैसंग लड्न सक्ने देखिँदैन। तर कूटनीतिक र नैतिक लडाईँको बाटो हाम्रो लागि खुल्ला छ। यो बाटोको चतुरतापूर्वक उपयोग गर्न सक्नुमै हाम्रो भलाई छ, हाम्रो मूल हतियार भनेको चतुर र शान्त कुटनीति नै हो। देशभित्र भारतका ज्यादतीका विरुद्ध खबरदारी हुनु अपरिहार्य छ तर त्यो साउने भेलजस्तो ह्वार्र-- एकछिन आउने र बिलाउने होईन निरन्तर हुनुपर्छ।
सीमा समस्यालाई सबैभन्दा पहिला समाधान नगरी नेपाल-भारत सम्बन्धका अरु जटिलताहरु फुक्न सक्दैनन् र यी जटिलताहरु रहिरहँदा हामीमाथिको भारतीय हैकम जारीनै रहन्छ। त्यसकारण, देशको सीमालाई सुरक्षित पार्न, भारतलाई हाम्रो सीमामथिको हाम्रो हक बनाउन बाध्य पार्न एउटा समग्र कार्ययोजनाका साथ अघि बढ्नु अनिवार्य भईसकेको छ। अब यो मामिलामा पनि हाम्रा नेताहरु/दलहरुले ब्यक्तिगत र दलीय स्वार्थभन्दा माथि राष्ट्रिय स्वार्थलाई राख्न सकेनन् भने तिनीहरुले आफूलाई नेपाली भन्ने कुनै हक छैन।
सीमा समस्या समाधानका लागि मेरो विचारमा तत्काल गर्नुपर्ने कामहरु;
१) सीमा-विशेषज्ञहरु, नापी विशेषज्ञहरु, अन्तर्राष्ट्रिय कानून विशेषज्ञहरु र इतिहासविद्हरु रहेको एउटा उच्च-स्तरीय "राष्ट्रिय सीमा आयोग" तुरुन्त गठन गर्ने। यसले नेपाल-भारत सीमा-समस्याको विस्तृत अध्ययन गरेर लिनुपर्ने नीतिको बारेमा सरकारलाई सुझाव दिन्छ।
२) आयोगले दिएको सुझाव र प्रमाणहरुका आधारमा उच्च राजनीतिक तहमा भारतसंग वार्ता गर्ने। आफ्नो पक्षमा यथेष्ट अकाट्य प्रमाणहरु पेश गर्न सक्दामात्रै भारतले हाम्रो कुरा सुन्ने संभावना हुन्छ। विना कुनै तयारी वार्तामा बस्ने हाम्रा नेता/प्रशाशकहरुसंग भारतले जे भन्यो (ऊ पूरा तयारीका साथ आऊँछ जहिले पनि) त्यहि हो भनेर सही ठोक्नेबाहेक अरु विकल्प हुँदैन। विगतमा सधैं यस्तै भएको छ।
३) भारतीय जनस्तर र नागरिक समाजमा पनि नेपाल-भारत सीमा समस्याको यथार्थलाई स्पष्ट पार्न र नेपालको पक्षमा समर्थन जुटाउन अर्को अभियान चलाउने।
४) निश्चित समयभित्र यी प्रयासहरुबाट कुनै परिणाम आउन सकेन र भारतले सीमा-सम्बन्धी कुरामा हाम्रो सुनुवाई गरेन भने यो समस्यालाई पूर्ण तयारीका साथ संयुक्त राष्ट्र-संघ र अन्य अन्तर्राष्ट्रिय निकायमा लैजाने।
विश्व-राजनीतिमा कुनै ब्यापक परीवर्तन नभै हाम्रो भूराजनीतिक अवश्थितिमा परीवर्तन आउने सम्भावना छैन। हामीसंग उपलब्ध सीमित बाटोहरुको अधिकतम उपयोगका लागि अध्ययनशील-पेशेवर कूटनीतिज्ञहरुको ठूलो आवश्यकता छ। भारतसंगको वार्तामा होस् या अन्य अन्तर्राष्ट्रिय मञ्चहरुमा भारतीयहरुसंग स्पष्ट र निर्भिक वैचारिक-बौद्धिक-तार्किक अडान लिन सक्ने कूटनीतिज्ञहरुको अभावमा हाम्रा अरु सबै प्रयासहरु बालुवामा पानी खन्याए सरह हुन्छन्। यो कुरामा त म झन् निराशावादी छु। हाम्रो कूटनीतिक क्षेत्र विगतदेखिनै राजनीति गर्नेहरुको भकुण्डोको रुपमा रहिआएको छ। सबै दलको राष्ट्रिय नीति-चिन्तन एउटै भईदिएको भए (जस्तो कि भारत र अन्य देशमा हुन्छ), कूटनीतिक नियुक्ति आदिमा अलि-अलि दलीय रंग पसेपनि खासै फरक पर्दैनथ्यो, तर हामीकहाँ त केवल दलीय नीति र स्वार्थमात्रै प्रधान रहँदै आएको छ।
तर कुनै दिन हाम्रो पनि एउटा समग्र राष्ट्रिय नीति बन्ने चमत्कारको आशा गर्न भने छोडेको छैन मैले।
June 03, 2009
साँध ताछिँदैछ, आली भासिँदैछ!
Labels:
समसामयिक
Subscribe to:
Post Comments (Atom)
Sarai ramro lekh raicha.Rastra prami Nepali lai yas pakai urja milcha.
ReplyDeletewe Must give our leader to play over our land in the name of indiak support to last their rule.
परिणामहरु अझै भयावह देख्नुपर्ने हुनसक्छ । पहिलो कुरा त घरको मुली गतिलो नभएपछि छिमेकीले साँधको आली ताछेर धनुषाकार बनाएको प्रसस्तै देखिएथ्यो गाउँ घरमा । भएको त्यस्तै हो । देख्नुभएन अस्ती भर्खर जिल्ला अधिकारीले सीमानामा यस्तो कुरा कुन ठुलो कुरा हो र भनेको ? कसरी जिल्ला अधिकारी भएर बसेको होला त्यो ब्याक्ति ? छिमेकीले साँध ताछेर धनुष बनाउँदा त्यो भाग मेरो अंशमा पर्ने हैन ताछ् ताछ् भनेर उक्साउने अथवा ताछे ताछोस् भनेर बस्ने थुप्रै मुली भै खाएकाहरुलाई अबको समयले मुलीको भुमिकाबाट हटाउनु पर्ने हो तर त्यसो गर्दा पनि त हाम्रै सातो उड्ने रहेछ त्यसैले परिणामहरु अझै भयावह देख्नुपर्ने हुनसक्छ ।
ReplyDelete'हाम्रो' को आडमा 'तिनिहरु'को छुट्याउने नेपालका लाछि राजनीतिक दलहरुको भत्सर्ना जति गरे नि कम हुने भो । वर्तमान सरकारको त न कुनै टिप्पणी गर्छु न अपेक्षा ।दिनेहरुले जति दुहाई दिएपनि यो सरकारबाट देश र जनताको लागी भलो कहिल्यै हुँदैन ।
भारतीय अतिक्रमणवाद मुर्दावाद !
मनको कुरा भनिदिनु भो दिपक जि ले ।
ReplyDeleteदिपकजीको कुरामा म पनि एकदम सहमत छु हाम्रा हुतिहारा मुलीहरु "घरको स्याल र बनको मुसा जस्तै छन" लोकाचार कै लागि यदि यिनीहरुबाट केहि प्रतिक्रिया भए पनि त्यो दरिलो, सहि, विवेकपूर्ण, कुटनीतिक तथा पूर्ण प्रमाणका साथ हुन्छ भन्नेमा विश्वस्त हुने अवस्था छैन । वसन्तजीको यो लेख खबरदारीको ध्वनि हो, अब यस्तो ध्वनि सबैले आ आफ्नो ठाउबाट फुक्नु पर्छ । विगतमा जस्तो झारा तिर्ने काम नहोस !
ReplyDeleteबसंता जी मेरे ब्लोग पर आने के लिये धन्यवाद मगत मुझे नेपाली नहीं आती आपका ब्लोग पढ ना सकी इस के लिये खेद है बहुत बहुत धन्यवाद्
ReplyDeleteहो तपाईं को कुरा साचो हो बसन्त जि they will get our country sonn र म दिपक जि को कुरामा पनि सहमत छु it should should stop sonn
ReplyDeleteअत्यन्तै समसामायिक र महत्वपूर्ण लेखको लागि सर्बप्रथम त बसन्त जि लाई धन्यवाद! हो बसन्त जि जुन बेला सम्म परराष्ट्र नितिमा दलिय राजनीति हाबी भईरहन्छ तबसम्म हाम्रो जस्तो भौगोलिक हिसाबमा अतिनै संबेदनशिल मुलुकका अगाडि राष्ट्रियता र सिमा सुरक्षाका गती बिधिमा समस्या निरन्तर देखिरह्न्छ। नेपालको राजनिती भारत परास्त हुनु, अनी राष्ट्रियताका सन्दर्भमा गतिलो र सही अडान लिएर आफ्नो कुरा भारत सामु राख्न नसक्ने नेताहरुको नेपाली राजनीतिमा हाली मुहाली हुनु नै हाम्रो दुर्भाग्य भन्नु पर्छ। तपाईंले भने जस्तै आलु, प्याज बेच्ने भारतीय नागरिकलाई अमर्यादित व्यबहार देखाएर राष्ट्रियताको दुहाइ दिने दिने हाम्रो संकुचीत सोचाइ फेरिनु पर्छ। अब प्रतेक नेपालीको मनभित्र राष्ट्रियताको भाबना जगेर्ना हुनुपर्छ र शब्दमा सिमित हाम्रो राष्ट्रियता अब व्याबहारिक रुपमा मोडिन जरुरी छ। नेपाली जनताहरुमा राष्ट्रियता प्रती इमान्दारिता बोध हुन सक्नुपर्छ र त्यो राष्ट्रिय भाबनामा मल जल दिने काम तपाईं हामी जस्तो युबाहरुको हो।
ReplyDeleteगम्भीर राष्ट्रिय मुद्दामा सूक्ष्म नजर लगाउनुभयो वसन्तजीले । समस्या समाधानका बुँदाहरू पनि मननीय छन् । तर तपाईँले उल्लेख गरे जस्तै हाम्रो नेतृत्व तहको यस्तै गुलामी प्रवृत्तिले सीमा समस्या सुल्झेला भनेर अनुमान सम्म गर्न सकिँदैन । आज नेपालीजन नेत्रत्वको हुतीहारापनका कारण मनोज पण्डितकृत डकुमेन्ट्री 'ग्रेटर नेपाल' हेरेर भक्कानो छुटाएर टुलुटुलु हेर्न बाध्य छन् । आफ्नै देशमा बेसहारा र बेओतको प्राण लिएर गुहार मागिरहेछन् । अन्य देशकाले आफ्ना नागरिक विदेशमा अलपत्र पर्दा पनि अनेक तौरतरिका अपनाएर सुरक्षाकवच दिन्छन्, हाम्रो देशका अधिकारीलाई भने देशैभित्र आफ्ना नागरिक धेरै भएका छन्, केही मतलब छैन ।
ReplyDeleteयो समस्या नेतृत्वकै नालायकीपनको नतीजा हो । भारतले यस्तो खुलमखुला बलमिच्याइँ गर्र्न आँट गर्नुमा अघिल्ला कैयन् तिकडम अपनाउँदा यहाँका दास चरित्रका कुर्सीभक्तहरूको मौन समर्थनले काम गरेको हो । सीमा मिच्नु र दिन दुगुना रात चौगुना जङ्गे पिलर नेपालतिर खुरुरु भासिनु जादुको करामत नभई केही मात्रामा हाम्रै स्वामीभक्त नेताजीहरूको मौनताको नतीजा हो ।
एक हिसाबमा सत्ताको गोटीमा भज्दैछ माटो । भारतीय राजदूत त नेपालको अघोषित प्रम सरह भान हुन्छ । यसमा हाम्रै कमजोरी छ । गह्राको मुख खोलेपछि कुलो पसिहाल्छ नि !
सीमा लगायत विदेशी हस्तक्षेपका यावत् मुद्दामा पार पाउन नेतृत्वको शुद्धीकरण र राष्ट्रिय प्रतिबद्धताको तरूण सोचको खाँचो छ । चेतना भया ।
भाई फूटे गवार लुटे भनेको यही हो .... बसन्त जी ! न्यूज़ मा त सुन्नु नै भएको होला नि .... देशको हालत कन्त विजोग भैसकेको छ तर पनी पद कै लागी कस्तो झगडा र खिचातानी मच्चिरा'छ |
ReplyDeleteखोई कहिले आउने उनिहरुमा चेतना ................ ???
बसन्त जी गहन बिषयको कुरा उठाउनु भएकोमा धन्यबाद । वास्तवमा जुनै पनि सरकारमा गएपनि यो कुरालाई उठाएर समाधानको लागी कसैले पनि पाइला सारेको देखिदैनन । सायद सरकार परिवर्तनको सिलसिला भारतबातै उत्पन्न हुने भएर होला यसप्रति चासो नदिएको । तपाइका कुरा हरुलाई मन गर्दै मलाई पनि एउटा कुरा थप्न मन लाग्यो
ReplyDeleteबर्षौदेखि चलिअएको खुल्ला सिमानालाई बन्देज गरि पासपोर्टको अनिबार्यता गराउदा कसो होला?
वास्तविकता खोतलिएको एउटा उत्तम लेख, जसले सत्य बोलिरहेछ ।
ReplyDeletehttp://ilostangel.wordpress.com
प्रतिकृयाका लागि सबैलाई हार्दिक धन्यबाद! पहिलो पटक यो ब्लगमा आउनुभएका साथीहरुलाई स्वागत!
ReplyDeleteजबसम्म हाम्रा नेताहरु र दलहरु अत्यन्त तुच्छ कुराहरुमा अल्झिरहन्छन् र एउटा बलियो समग्र राष्ट्रिय नीति बनाऊँदैनन् तबसम्म हामीलाई छिमकेीले हेपिरहने छ। त्यो नहुञ्जेलसम्म हाम्रो सिमाना ताछ्ने र आली भास्ने काम भईरहनेछ। सीमाका समस्यालाई लिएर बुद्धिनारायण श्रेष्ठजस्ता देशभक्त विशेषज्ञहरु वर्षौंदेखि कराईरहेछन् तर संवेदनहीन भईसकेका हाम्रा राज्य-संचालकहरुमा अझै होश आएको छैन।
सिकारुजीले भनेजस्तै ढिलो-चाँडो भारत-नेपाल बीचमा बन्द सीमा र पासपोर्ट लागू हुनैपर्छ। तर यसका लागि हाम्रो तर्फबाट एउटा दिर्घकालीन योजना र प्रतिबद्धता आउनैपर्छ। भारतमा काम गर्न जाने लाखौं नेपालीहरुको ध्यान दिनैपर्ने हुन्छ यसमा।
सारमा, सक्दो चाँडो नेपाललाई राजनैतिक स्थायित्व र समृद्धिको बाटोमा हिँडाउनुको विकल्प छैन। हाम्रा धेरै समस्याहरुको समाधान त्यसैसंग जोडिएर आऊँछन्।