कति किताबमात्रै जम्मा पार्नु र यो र त्यो निहुँ पारेर नपढी बस्नु भन्ने लागेर पढ्न थालेको छु अचेलः)
भूपीको 'घुम्ने मेचमाथि अन्धो मान्छे' फेरि पनि जोडियो। साझाको यो संस्करणमा कताकति छपाई गल्ती पनि भेटिए। सानै हेरफेरले पनि कविताजस्तो संवेदनशील जिनिसलाई धेरै दुःख दिँदो रहेछ।
यहि मेसोमा 'भूपी शेरचनका कविता' भन्ने अर्को संग्रह पनि पढियो। भूपी दिवंगत भईसकेपछि संकलित र प्रकाशित यो संग्रहका कुनैपनि कविताले 'घुम्ने मेचमाथि अन्धो मान्छे'ले स्थापित गरेको भूपीको उचाईलाई छोएका छैनन्। भूपीले तत्कालीन शाशकहरुको गुणगान गाएका कविता पनि छन्। कुन बाध्यताले भूपी सामन्तवाद र निरंकुश शाशनको स्वस्तिमा ओर्लनुभयो, मलाई थाहा छैन तर यो संग्रहले मलाई एउटा मानसिक धक्का दियो र लाग्यो यो नपढेकै भए पनि ठिक हुन्थ्यो बरु।
यहि संग्रहभित्र परेका गीतहरु भने निसन्देह राम्रा छन् र नारायण गोपाल लगायतले गाएका ती गीतहरु आजपनि लोकप्रिय छँदैछन्।
------------------------------------------------------------
माधव घिमिरेको 'राष्ट्रनिर्माता' एउटा सुन्दर राष्ट्रवादी काव्य हो। नेपाल एकीकरणको एउटा चरणमा पृथ्वीनारायण शाह र उनका भाइ दलमर्दन शाहबीचको कुराकानीलाई काव्यको प्रमुख विषय बनाईएको छ। पुस्तकको आधा भाग 'राष्ट्रनिर्माता' काव्य हो भने आधा भागमा चाहिँ घिमिरेज्यूले पृथ्वीसुक्तका रिचाहरुको काव्यात्मक अनुवाद राख्नुभएको छ। ती रिचाहरु पनि पूरै नेपाली भाव र राष्ट्रवादले भरिएका लाग्छन्। 'राष्ट्रनिर्माता' अचेल मेरो बिहान उठेपछि र बेलुका सुत्नुअघि पाठ गर्ने 'प्रार्थना'को स्रोत बनेको छ।
------------------------------------------------------------
तिहारको गोबर्धन पूजाका दिन सरुभक्तज्यूको गहन दार्शनिक कृति 'पागल बस्ती' पढीभ्याएँ र त्यसभित्रको दर्शनले रन्थनिएँ, कति बुझेर, कति नबुझेर। दार्शनिक भावको कृति भएपनि पूरै उपन्यास कतैपनि बोझिल लाग्दैन र घटनाक्रमहरुको विकास र नयाँ-नयाँ मोडमात्रैले पनि पाठकलाई बाँधीरहन सक्छ।
पागल बस्ती पढेर एउटा नीजि 'अप्ठेरो'लाई पनि समाप्त पारें मैले। मैले सरुभक्तका फुटकर कविता र कथाहरु केहि पढेपनि उपन्यास वा कुनै सिंगो कृति पढेको थिईँन। सरुभक्त जस्ता सुप्रसिद्ध पोखरेली लेखकका कृति अझै नपढेको (र त्यो पनि आफू 'लगभग' पोखरेली बनीसकको यो स्थितिमा) यो कुराले मलाई बेला-बेला झस्काईरहन्थ्यो।
--------------------------------------------------------------
र हिजोमात्र, शारदा शर्माज्यूको सुन्दर यात्रा संस्मरण 'भुईँफुलको देश' पढीसकें। सुन्दर देश नेपालका सौन्दर्य र पिडाहरुलाई गज्जबले शब्दचित्रमा उतार्नुभएको छ शर्माज्यूले। नेपालका कुनाकुना नघुमी यो जुनी सार्थक हुँदैन भन्ने भावलाई झन् सघन बनाईदिएको छ 'भुईँफुलको देश'ले।