अहिले त्यस्तो चिन्तन अलिक कम भईसकेको हुनुपर्छ तर १५-२० वर्ष अगाडिसम्म भने नेपालमा 'ठूलो भुँडी' सम्पन्नताको आम प्रतीक जस्तै थियो। कुनै मान्छेको भुँडी जति ठूलो भयो, ऊ त्यत्तिकै 'खान्दानी' र 'खाएलाएको' मानिन्थ्यो। ठूलो भुँडीले ठूलाबडाको ब्यक्तित्वमा निखार ल्याएको मानिन्थ्यो। धेरै लाल-बुझक्कडहरु दौरा-सुरुवाल-कोट ठूलो भुँडी भएकालाई मात्रै सुहाउने गफ पनि दिन्थे। यो गफ मैले आफ्नै उमेरका साथीहरुबाट अचेल पनि सुनेको छु यदाकदा।
अरु कुनै विशेष 'रोग' नभएको अवश्थाको ठूलो भुँडी आफैं एउटा रोग हो, अस्वस्थ जीवनशैलीको प्रतिफल हो, धेरै रोगहरुको मुहान हो। यो रोगका जिम्मेवार दुई भाइमा, एउटा खानपीनको गलत तरिका हो। शरीरभन्दा जिब्रोको कुरा धेरै सुन्नु मानवीय स्वभावनै हो, जो जति हुने-खाने भयो, उति जिब्रोतिर लहसिँदै जान्छ। हाम्रो समाज यस्तै छ, कोहि राम्ररी खान नपाएर रोगी छन्, कोहि धेरै र मनपरी खाएर रोगी छन्।
अर्को भाइचाहिँ, शारीरिक श्रमविनाको दिनचर्या। हाम्रो समाजमा श्रम र त्यसमा पनि शारीरिक श्रमलाई एकदमै तल्लो कोटिको मानिन्छ। अलिकति मात्रै भौतिक सम्पन्नता आउनसाथ मान्छेहरु शारीरिक श्रम गर्न चाहँदैनन्। शारीरिक श्रम गर्नु भनेर कारखानमा मजदूरी गर्नु वा खेतीपातीमा काम गर्नुमात्रैलाई भनेको होईन, सबै मान्छेले त्यस्तो काम गर्नु सम्भव र आवश्यक पनि छैन। शरीरका लागि आवश्यक पर्ने न्यूनतम 'शारीरिक' गतिबिधि थोरै खेलकूदले पनि पूरा गर्नसक्छ। खासमा नियमित खेलकूद स्वस्थ र सभ्य समाजको जीवनशैलीको, संस्कृतिको एउटा महत्वपूर्ण भाग हो।
हाम्रो समाजको एउटा ठूलो समस्या पनि यहीँनेर छ। हाम्रो जीवनशैली र संस्कृतिमा खेलकूदलाई कुनै महत्व दिईएको छैन।
भुँडीबाट कुरा शुरु गरेर कता-कता लग्यो यसले भन्नुहोला। तर कुरो भुँडीकै हुनेवाला छ। भुँडीको कुरो- यो भुँडी पुराण मेरा मनमा पाक्नाको कारण पनि बताईदिईहालौं-आफ्नै भुँडीले गति छोड्नाले हो।
कुरो के भने केहि महिना यता भुँडी महाविष्फोट (Big Bang) पछिको ब्रम्हाण्डजस्तो अचम्मसंग बढ्न थालेको छ। हुनत पहिला पनि आफनो भुँडी सटक्क ताछिएको त कहाँ हो र तैपनि काम चलेको थियो। नेपालमा हुँदा त बिल्कूलै समस्या थिएन, अलि-अलि 'कमाएको', 'खाए-लाएको' र 'ईज्जतदार' देखाऊँथ्यो त्यसले:) तर मोटा मान्छे देख्न सुमो कुश्तीबाजहरुको अखाडानै पुग्नुपर्ने जापान जस्तो 'फिटनेस फ्रीक' ठाऊँमा भने त्यै पनि ठूलो देखिने! कहिलेकाहिँ 'आवश्यक' पर्दा बलैले भित्रसम्म खिँचेर ताछिएकोजस्तो बनाउने कोशिश गरिन्थ्यो (गफै त हो!) तर जतिखेर पनि त्यसो गरिरहन सक्ने कुरो भएन।
यो 'महाविष्फोट'ले एकजना पुराना सहकर्मी साथीको याद दिलायो। उनको भुँडी निकै ठूलो थियो, कसैले उनको भुँडीको कुरो उप्कायो कि उनी "मेरो भुँडी के भुँडी? राधाकृष्ण मैनालीको भुँडी पो भुँडी!" भन्थे। तिनको भनाई अनुसार राधाकृष्ण मैनालीलाई आफ्नै खुट्टा हेर्न ऐना चाहिन थाल्या पनि ३०-३५ वर्ष भईसक्यो रे! राधाकृष्ण मैनालीले नुहाऊँदा टाउको अथवा जीऊमा खन्याएको पानी खुट्टातिर नगई सोझै भुईँमा खस्छ रे! (यो कुराका अरु फरक पात्र र केहि 'नन-भेज' संस्करण पनि नभएका होईनन्।) मैनालीजीलाई देखेका जो कोहिले पनि पत्याउने खालकै कुरो हो यो।
चाँडै 'राधाकृष्ण मैनाली क्लब'मा पुगिने पिरलोले पोल्न थाल्यो मलाई। मैनालीजीको त उचाई पनि धेरै छ, हातखुट्टा पनि उस्तै 'खाईलाग्दा' छन्। ठूलो भुँडि भयो भने मेरा मसिना हातखुट्टा त मुछेको पिठोको डल्लोमा सिन्का गाडेजस्ता देखिने भए! अजबको जन्तु देखिने भएँ म त!
त्यो क्लब जानु पर्ने स्थिति आउन नदिने निधो गरें। पहिला खानपीनको कुरोबाट हेर्न थालें। त्यस्तो गरिष्ठ 'खान' गर्ने मान्छे म होईन। 'पीन' पनि 'हप्तामा १-२ क्यान'मा सीमित छ; त्यो 'सोसियल ड्रिन्किङ' भन्छन् नि, हो त्यहि हो क्या:) त्यसैले 'खानपीन'मा जोड-घटाऊ गर्नुपर्ने कुरा खासै देखिएन। कुरो आयो उहि शारीरिक श्रमकै। यस्सो सम्झिल्याऊँदा, जीऊमा ताल्चा लगाएर बस्या कम्तिमा पनि एक दशक काटिसकेछ। मेरो भुँडीको महाविष्फोटको कारण यहि हुनुपर्छ। साँझ-बिहान अलिकति दौडधूप, खेलकूदनै एउटै उपाय देखियो।
साँझ समय निकाल्न सक्ने भन्या पनि त्यस्तै हो, त्यसैले बिहान अलिक चाँडै उठेर कुद्ने निर्णय भयो। निर्णय त भयो तर कार्यान्वयन भएन, नेपाली पारा क्या:) 'अल्छीको बात जैसीले जान्दैन' भन्याजस्तै' "नजिक त्यस्तो ठूलो चउर, पार्क पनि छैन, के कुद्नु खै?" भन्ने बहानाको बिर्को लगाईयो निर्णयमा र सकेसम्म ढिला उठ्ने 'शुभ' कामलाई निरन्तरता दिईयो। बहाना चाहिएको थियो, भेट्टाईयो, नत्र मध्य शहरमै पनि सडकपेटीमा स्वास्थ्य-सचेत मान्छेहरु कुदिरहेका नदेखिने होईनन्!
एक महिना पहिला अहिलेको गुँडमा सरेपछि मेरो त्यो बहानाको बिर्को जबर्जस्ती खुल्यो।
नजिकै TENPAKU-GAWA (थेनपाकु खोला) छ। त्यो खोलाको दुबैतिर बाढी नियन्त्रण गर्न बनाईएको तटबन्धमा कतै दुई-कतै तीन तहमा
फराकिला समतल संरचना छन्। नदीको शहरभित्र पर्ने लम्बाई पूरैमा निर्माण गरिएको छ यस्ता संरचना (सबैभन्दा माथिल्लो तह गाडीनै हिँड्न मिल्ने गरी पीच गरिएको छ, तर गाडी हिँडेको देखिँदैन।)। त्यहाँ जतिखेर पनि मान्छेहरु कुदिरहेका, हिँडिरहेका र जीऊ मर्काईरहेका देखिन्छन्। साँझ-बिहान त भिडै हुन्छ त्यहाँ। बिहान खोलाको किनारमा ध्यान गरेर बसिरहेकाहरु पनि देखिन्छन्।
अब पनि भुत्ते बहानालाई बोकेर बसिरहन मन लागेन र सबेरै खोलाको किनारमा पुग्न थालें।
तर जीऊका ताल्चाले चुँडिन मानेका भए पो!
दुई-चार दिन अलि-अलि हिँड्ने, अलि-अलि कुद्ने गरेपछि एक दिन झोंक चलेर आधा घण्टा कुद्देको, झण्डै थला परेको! बाफ रे बाफ!
वास्तवमा वर्षौं 'नखाई' बसेर यस्तरी एकैचोटि 'धेरै खाएर' आफैंलाई 'छेरौटी लगाऊनु' ठीक थिएन। त्यसैले हल्का हिँड्ने र बिस्तारै समय र गति बढाऊँदै लैजाने क्रममा छु।
'महाविष्फोट'लाई नियन्त्रण गरेर गतिछाडा भुँडीलाई तह लगाउन सकेपनि-नसकेपनि यो कुरा भने पछि पनि गर्दै गरौंला।
बरु हजुरको भुँडी कत्तिको गतिछाडा छ कुन्नि:)