हरेक दशैंको बिदाभित्रमा
देशको कुनै नयाँ ठाउँमा यात्रा गर्ने केहि वर्षदेखिको हाम्रो पारिवारिक परम्परालाई
निरन्तरता दिने क्रममा यसपालि साथीहरुसंग बर्दिया राष्ट्रिय निकुञ्ज जाने योजना
बन्यो ।
योजना मुताबिक टिकाको
पर्सिपल्ट बिहान आठ जनाको हाम्रो टोली प्रस्थान गर्यो । हाम्रो यहि समूहले परारको
दशैंमा पूर्वी नेपालको यात्रा गरेको थियो । यात्रा अवधिभरका लागि एउटा जीप भाडामा
लिइएको थियो ।
नेपाल मलाई अति सुन्दर
लाग्छ र यो नेपाल अघाउञ्जेल नघुमी मरौंला भन्ने ठूलो डर छ मनमा । तर ढुक्कले
घुम्ने परिस्थिति बनेको छैन अझै । घुम्नका लागि परिवारका सबैको बिदाको समय
कुर्नुपर्यो, जुन दशैंमै मात्र मिल्छ । अनि घुमघामको खर्चको कुरा पनि छ । यी सबै
मेसो मिलाउनुपर्ने कारणले गर्दा चाहेजति अझै घुम्नसकेको छैन । थोरै नै सहि, मैले
पूर्वी नेपाल केहि घुमेको छु तर पश्चिम नेपालको मामिलामा भने मेरो स्थिति लाजमर्दै
छ । २०५७ सालको चैतमा लुम्बिनीसम्म पुगेको म त्यसपछि अहिलेको यात्रा सम्पन्न
नहुञ्जेल कावासोती कटेर उता लागेको थिइन ।
उद्देश्य बर्दिया
राष्ट्रिय निकुञ्ज र त्यसपछि कर्णाली-चिसापानी पुलसम्मको भएपनि हामीले पहिलो रातको
बास लुम्बिनीलाई बनायौं । ठाउँ-ठाउँमा रोकिँदै आरामको यात्रामा जाँदा हामी साढे ३
बजे भैरहवा कट्यौं र लुम्बिनीतिर सोझियौं । भैरहवाबाट लुम्बिनी जान हामीले समातेका
बाटो फराकिलो थियो तर बन्दै गरेकाले उबडखाबडयुक्त कष्टपूर्ण थियो । ठाउँ-ठाउँमा बाटोलाई
एकतर्फी गरिएको थियो तर कतै सूचना राखिएको थिएन । यस्तोमा धेरै यात्रुहरु, विशेष
गरी पर्यटक झुक्किनु स्वाभाविक छ । हामी पनि एक पटक बाटो बन्द देखेर २ किमीजति
फर्केर अर्को साइडबाट जानुपर्यो । हाम्रो राज्यको लापरवाहीको एउटा नमूना हो यो ।
यस्तो लापरवाही कतैपनि क्षम्य हुँदैन, झन् लुम्बिनीजस्तो धार्मिक र पर्यटकीय धाम
जाने बाटोमा त हुनैहुँदैन ।
यो बाटोको कष्टपूर्ण
यात्रा पछि हामी लुम्बिनी गुरुयोजनाले समेटेको भेग प्रवेश गर्यौं, यहाँ पुगेपछि
मन झन् खिन्न भयो । लुम्बिनी धाम अगाडिको बाटो धूलोले पूरै कुहिरीमण्डल थियो ।
बाटो चाक्लो बनाइएको रहेछ तर पिच नभएकोले जताततै बुङ्बुङ्ती धूलो उडीरहेको थियो ।
सवारी व्यवस्थापन अत्यन्त भद्रगोल थियो र हरेक प्रवेशद्वार अगाडि अराजक भिड र
कोलाहल देखिन्थ्यो । राज्यले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ र २०
लाख पर्यटक भित्र्याउने उद्देश्य राखेको छ तर देशको एउटा प्रमुख पर्यटकीय गन्तव्य
लुम्बिनीको हालत यस्तो छ ! लुम्बिनी फेरि एउटा आम पर्यटकीय गन्तव्यमात्र होइन, यो
संसारका अरबौं मान्छेहरुको आस्थाको केन्द्र हो । थाइल्याण्ड, म्यान्मार, श्री
लंका, कोरीया, जापान, चीन आदिजस्ता देशका धेरै मान्छेहरु जिन्दगीमा कम्तिमा एकपटक
लुम्बिनी भ्रमण गर्ने धोको राख्छन् । र अहिले पश्चिम-पूर्व, संसारका अरु सबै देशमा
पनि भगवान गौतम बुद्धमा आस्थावान मानिसहरुको संख्या बढीरहेको छ । यसैले लुम्बिनीसम्मको यात्रालाई सहज र
सुविधापूर्ण बनाउने र स्वयं लुम्बिनीलाई व्यवस्थित बनाउने हो भने लुम्बिनी आफैंले
२० मात्र होइन ३० लाख पर्यटक भित्र्याउन सक्छ । त्यसका लागि यी बाटाहरुको निर्माण
यथाशिघ्र सम्पन्न भइसक्नुपर्छ । भ्रमण वर्ष शुरु हुन अब ३ महिनामात्र बाँकी छ,
युद्धस्तरमा काम नगरी यो सम्भव छैन । साथमा होटल, गेष्ट हाउसहरुको उचित व्यवस्थापन
र निरन्तर अनुगमन पनि जरुरी छ ।
साँझमा हामीले मायादेवी
मन्दिर भ्रमण गर्यौं । मायादेवी मन्दिरको दर्शन प्रकृया र सरसफाइ पहिलेभन्दा
व्यवस्थित लाग्यो । त्यसपछि त्यहाँको उद्यान, सिद्धार्थ गौतमलाई जन्माएपछि
मायादेवीले नुहाएको तलाउ र आराम गरेको पीपलको वृक्ष, अशोक स्तम्भ, आदि वरिपरि
टहलिँदै र तस्बीर लिँदै केहि समय बिताएपछि हामी शान्तिदीप बलिरहेको स्थानतिर गयौं
र होटल फर्कियौं ।
हाम्रो जीपमा केहि प्राविधिक समस्या आएकाले मर्मत गराउनका लागि जीप लिएर चालक भाइ भैरहवा गएका थिए । हामी विद्युतीय रिक्शा (इ-रिक्शा) मा होटेल फर्कियौं । लुम्बिनीमा अहिले पहिलेका रिक्शा देखिँदा रहेनछन्, इ-रिक्शामात्रै चल्दा रहेछन् ।
हाम्रो जीपमा केहि प्राविधिक समस्या आएकाले मर्मत गराउनका लागि जीप लिएर चालक भाइ भैरहवा गएका थिए । हामी विद्युतीय रिक्शा (इ-रिक्शा) मा होटेल फर्कियौं । लुम्बिनीमा अहिले पहिलेका रिक्शा देखिँदा रहेनछन्, इ-रिक्शामात्रै चल्दा रहेछन् ।
रिक्शा चालकका अनुसार यी
इ-रिक्शाहरु एक कोरीयन केटीको प्रयासमा प्राप्त भएका हुन् । ति केटी लुम्बिनी
घुम्न आएको बेला रिक्शा चालकहरुको दु:ख देखेर कोरीया फर्केर चन्दा उठाएर रिक्शा
किनेर बाँडेकी हुन् । उनका कुरा लगभग सत्यनै होलान् किनभने कोरीयाली
अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले सन् २०१६ को फेब्रुअरीमा ७० वटा इ-रिक्शा
बाँडेको थियो । ती दयालु युवतीले कोइकाको माध्यमबाट काम गरेकी होलिन् । इ-रिक्शा
पहिलो पटक वितरण भएको यहि बेला हुनुपर्छ, अहिले आएर एशियाली विकास बैंक आदि अरु
संस्थाले पनि बाँड्ने खबर आएका छन् ।
भोलिपल्ट बिहान
इ-रिक्शानै लिएर बिभिन्न देशका मन्दिरहरुहरु घुमियो । सबै देशका मन्दिरहरु आ-आफ्नै
विशेषताका र भव्य छन् । नेपालको मन्दिर पनि भव्य र प्रभावशाली छ ।
मन्दिरहरु घुमेर हामी
बर्दिया लाग्यौं । पहिल्यै घुमिसकेका साथीहरुवाट प्राप्त फोन नम्बरका माध्यमले
बस्ने ठाउँको जोहो गर्यौं लुम्बिनीबाट हिँड्ने बित्तिकै ।
राष्ट्रिय निकुञ्जको क्षेत्र
छिरेपछि अलिक कडाइ देखियो । सबैतिर सेनाको निगरानी थियो । जनावरहरु हिँडिरहने
क्षेत्र भएकाले गाडीको गति ४० किमी प्रतिघण्टामा सीमित गरिने रहेछ र त्यसका लागि
ठाउँ-ठाउँमा टाइमकार्ड लिनुपर्ने र बुझाउनुपर्ने रहेछ ।
पूर्व-पश्चिम राजमार्गको अम्बासाबाट
देब्रे लाग्दानै अँध्यारो भइसकेको थियो । त्यहाँबाट पातला बस्ती र जङ्गल हुँदै
झण्डै ११ किमी भित्र गएपछि मात्र हामी बस्ने थारु होम रिसोर्ट आउनेथियो । हामी
रिसोर्टका सञ्चालक मोहनलाल चौधरीसंग निरन्तर फोन सम्पर्कमा थियौं तर अँध्यारोमा
अपरिचित भेग हिँड्नु अलिक अप्ठेरो हुने भइहाल्यो । बीचमा एउटा खोला तर्नुपर्ने
भनिएको थियो । खोलामा पुल देखिएकोले हामी उत्साहित हुँदै अगाडि बढ्यौं तर बीचबाट
फर्कनुपर्यो, बनीसकेकै रहेनछ । यसपछि मात्रै हामीले हाम्रो पछिपछि आएको एउटा बाइक
किन पुलतिर नआइ खोलातिर ओर्लिएको रहेछ भन्ने बुझ्यौं ।
खोलामा ओर्लिएपछि फेरि
अर्को समस्या आइपर्यो । खोला कहाँ गहिरो छ र कहाँ छैन भन्ने कसरी पत्ता लगाउने
त्यो अँध्यारोमा ! फेरि मोहनलालजीसंग सम्पर्क गर्यौं । ‘एकछिन पर्खने र कुनै बाइक
आएपछि त्यो कहाँबाट पस्छ हेरेर त्यसैको पछिपछि आउने ।‘ भन्ने सल्लाह अनुसार गरियो
। हामी थारु होम रिसोर्ट पुग्दा साँझ साढे आठभन्दा बढी भइसकेको थियो ।
थारु होम रिसोर्टको
स्वादिष्ट खाना खाएर र भोलिपल्टको जीप सफारीको व्यवस्था गरेर सुत्दा मध्यरात हुन
आँटीसकेको थियो ।
भोलिपल्ट बिहान बर्दियाको
विशेष उत्पादन कालो चामलको भातसहितको नास्ता खाइयो । अचेल चर्चित मार्सीभात भन्दा
केहि कालो यो भात उच्च पौष्टिकतायुक्त हुने जानकारी पाइयो । केहि वर्ष पहिला
कोरीयाबाट बीउ ल्याएर यसको उत्पादन शुरु गरिएको रहेछ ।
हामीलाई जङ्गल सफारीमा
लाने जीप रिसोर्ट अगाडि हामीलाई पर्खिरहेको थियो । हामी चढेको केहि समयपछि एकजना
फूर्तिला युवा जीपमा चढे । उनी दीपक राजवंशी रहेछन् हाम्रो जीप सफारीका गाइड ।
अत्यन्त विनम्र दीपक भाइ जङ्गल सफारीका गाइड मात्र होइन, पेशेवर वन्यजन्तु
फोटोग्राफर पनि रहेछन् । उनले खिचेका फोटाहरु नेशनल जोग्राफिकले समेत प्रयोग गरेको
रहेछ । उनले भने अनुसार काठमाण्डौंको विमानस्थलमा राखिएको बाघको ठूलो तस्बीर पनि
उनकै क्यामेराको कमाल हो ।
जीप सफारीमा बाघ देखियोस् भन्ने हाम्रो यात्राको
शुरुवातदेखिकै प्रार्थना थियो ।
बर्दिया निकुञ्जले जङ्गली
जनावर र विशेषगरी बाघको संरक्षणमा संसारभर ख्याति कमाएको छ र प्राकृतिक वासस्थानमै
सहज रुपमा बाघ हेर्न सकिने थोरै ठाउँमध्ये एक मानिन्छ यसलाई । सन् २००९ मा १८
मात्रै रहेको वयष्क बाघको संख्या हाल ८७ पुगेको रहेछ । यो प्रशंशायोग्य संरक्षणका
लागि बर्दिया राष्ट्रिय निकुञ्जले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरु पाएको छ । विश्व
बन्यजन्तु कोषका सदभावना दूत लियोनार्डो डि काप्रियोले आफ्नी आमा र दिदीसंग सन्
२०१० मा यहाँ केहि दिन बिताएका थिए । बेलायती राजकुमार ह्यारी सन् २०१६ मा आएका
थिए ।
हामी बसेको होटलबाट २
किमी पर रहेछ बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारा प्रवेशद्वार । लामो नाम
दर्ता प्रकृयापछि मात्र जङ्गल पस्न पाईने रहेछ । त्यो बिहान हामी ८ जना बाहेक अरु ३० जनाजति पनि सफारीका लागि जङ्गल प्रवेश गरेका
थिए ।
न गर्मी, न जाडो, ठिक्कको
एकदम राम्रो मौसम थियो । जङ्गलमा ठाउँ-ठाउँमा बाघ वा अरु कुनै विशेष जनावर देखिन
सक्ने ठाउँमा चालकलाई जीप रोक्न लगाउँथे दीपक भाइ । साथै जङ्गली जनावरहरु, विशेष
गरी बाघका बारेमा हामीलाई थुप्रै कुरा पनि सुनाए उनले । जङ्गल सफारीको गाइडका
रुपमा उनले सँगालेका अनुभवहरु सुन्न पनि रमाइलो भयो । राजकुमार ह्यारीले १ घण्टाजति
जङ्गलमा बिताउँदा उनलाई उपलब्ध गराइएका चार गाइडहरु मध्ये एक रहेछन् दीपक भाइ ।
लियोनार्डो डि काप्रियोले आफ्नो चश्मा निकालेर पहिराइदिएका पाका र अनुभवी गाइड
राजमान चौधरी दीपक भाइका मामा रहेछन् ।
सबैको पहिलो उत्सुकता बाघ
हेर्ने हुन्छ यस्ता सफारीमा । हात्ती र गैंडाका बथान देखिने पनि आशा हुन्छ । तर
त्यो दिन हामीलाई भाग्यले साथ दिएन, बाघका केहि ताजा पाइला, आफ्नो क्षेत्र जनाउन
उसले जमीन कोतरेर बनाएका संकेत र दिसाको थुप्रो मात्र देख्न पाइयो । चित्तल र
बाँदर भने प्रशश्त देखिए । दीपक भाइका अनुसार चित्तल बाघको सबैभन्दा प्रिय शिकार
हो । बाँदर र चित्तल ‘दोस्त’ हुँदा रहेछन् जङ्गलका, बाघ आएको देखेर बाँदरहरु
कराएको आवाजले चित्तलहरु सतर्क बन्दा रहेछन् र सुरक्षित हुन भाग्दा रहेछन । यी
बाहेक १-२ ठाउँमा जरायोहरु पनि देखियो । हात्तीको बथान हिँड्ने क्रममा माडिएका
साना बिरुवाहरु पनि देखाउँदै थिए दीपक भाइ तर बथान हिँडेर कता पुगिसकेको हो केहि
भेउ पाउन सकिएन । गैंडा र बँदेलहरु पनि देखिएनन् । जङ्गलको बीचमा रहेको गिर्वा
खोलाको किनारमा गोहीहरु घाम ताप्दै गरेको पनि देखिएन ।
यो याममा जङ्गली जनावहरु
देखिनु भाग्यकै कुरा हो रहेछ । बाघ, हात्ती, गैंडा आदि सहजै देखिने भनेको चैतदेखि असारको
गर्मी बेला रहेछ । त्यो बेला बाघ तिर्खाएर पानी खान निक्लने रहेछ र कतिपय धेरै
गर्मी दिनमा त घण्टौंसम्म आहाल बस्दो रहेछ । अरु जनावरहरु पनि गर्मी छल्न पानी
खोज्दै आउँदा रहेछन् ।
गर्मी याममा फेरि बर्दिया
आउने र त्यो बेला जीप सफारी होइन पैदल सफारी गरेर जसरी पनि बाघ हेर्ने निर्णय
गर्दै हाम्रो ४ घण्टाको जीप सफारी सकियो ।
सफारीका जीपहरु डिजेलबाट
चल्ने हुँदा तिनले निकुञ्जमा धूवाँ र ध्वनि दुबैथरी प्रदूषण गरीरहेका छन् । विशेष
गरी चर्को ध्वनिका कारण जनावरहरु तर्सेर पनि भाग्छन् होला । यी डिजेल जीपहरुलाई
धूवाँ र ध्वनि प्रदूषण दुबै नहुने इलेक्ट्रिक जीपहरुले प्रतिस्थापन गरिनुपर्छ । यसो
गर्दा पर्यापर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा आकर्षण थप
हुन्छ ।
फर्केर प्रवेशद्वारमा
आइसकेपछि त्यहाँ रहेको गोही प्रजनन केन्द्रको अवलोकन गरियो । यहाँ प्रजनन गरेर
केहि समय हुर्काएपछि गोहीलाई कर्णाली नदीमा लगेर छोडिने रहेछ । दीपक भाइका अनुसार
त्यसरी कर्णालीमा छोडिएका गोहीहरुको बाँच्ने दर भने कम रहेछ ।
राजमार्गमा गाडीले ठक्कर
दिएर घाइते भएको बाघलाई उपचार गरिँदै रहेछ नजिकै । मान्छेहरुलाई देखेपछि घाइते बाघ
झर्कने र रिसाएर आक्रमण गर्न खोज्ने हुँदा फलामे जालीमा कालो पर्दा लगाइएको थियो ।
यसरी झर्केको बाघले बाहिरकालाई आक्रमण गर्न नसकेपछि भित्ता वा फलामे जालीमा आक्रमण
गरेर आफैंलाई हानि पुर्याउने रहेछ र उपचार प्रकृया झन् जटिल बन्ने रहेछ । संगै
एउटा सानो पोखरीमा अन्धो भइसकेको एउटा बूढो गैंडा आहाल बसिरहेको थियो । यो
गैँडालाई बाहिर निक्लन नदिनका लागि पोखरीको चारैतिर तारबार गरिएको छ र राति त्यसमा
करेण्ट छोडिने रहेछ ।
अन्त्यमा, त्यहाँ रहेको
सानो थारु संस्कृति सङ्ग्रहालय हेरेर हामी रिसोर्टतिर फर्कियौं ।
रिसोर्टमा खाना खाएर हामी
कर्णाली चिसापानी पुल पुग्यौं र पुल तरेर कैलाली टेक्यौं ।
अब हाम्रो पोखरातिरको फिर्ती यात्रा शुरु भयो र हामी
त्यो रातको बास बस्न नेपालगञ्जतिर लाग्यौं।
(२०७६, कार्तिक ५ गते मंगलबार https://www.parichaynetwork.com/basanta-gautam/ मा प्रकाशित )