नयाँ वर्षको हल्लाखल्ला पनि सकियो र सकियो मेरो छ दिने विदा पनि।
अर्चनाजीले सबै न्यू इअर मनाएर नि साध्य हुन्छ र? भनेर लेख्नुभएको छ आफ्नो ब्लगमा। कहिलेकाहीँ त मलाई पनि त्यस्तै लाग्छ। तर 'पीने वालोंको पीनेका बहाना चाहिए'को शैलीमै चलिरहेको छ अहिलेसम्म। विदेशमा बस्दा त्यसैपनि कम्तिमा दुईटा नयाँ वर्ष त मनाईँदो रहेछ। वैशाख १ को नेपाली नयाँ वर्षमा नेपालीहरुको जमघट बाक्लै गरेर रमाईलो गरिन्छ। ईस्वीको नयाँ वर्षमा यहाँको माहौलनै चाडमय हुन्छ र त्यो माहौलबाट अछूतो रहन गाह्रै हुन्छ। त्यसैले नेपालीहरुकै माझ पनि सानोतिनो जमघट भईहाल्छ। फेरि चिनजानका स्थानीयहरुको निम्तोमा परेपछि 'म मनाउन्न!' भन्ने कुरो पनि भएन।
जापानको औपचारिक/कामकाजी पात्रो ईस्वी सम्वतको भएकाले यहाँ जनवरी १ एउटा प्रमुख चाड हो। नयाँ वर्षको उपलक्षमा सबैतिर हप्ता-दशदिन विदा हुनु सामान्य हो। परम्परागत 'चन्द्रपात्रो'को नयाँ वर्ष फेब्रुअरीतिर पर्छ। त्यो बेला बिदा हुँदैन, तर परम्परागत विधिहरुभने पूरा गरिन्छन्।
नेपाल सम्वत मनाईएको भेलामा अहिलेसम्म पुगिएको छैन तर साथीहरुलाई शुभकामना ई-मेल भने पठाऊँछु। ल्होसार मनाउने मौका पनि मिलेको छैन अझै।
जापानमा नयाँ वर्षमा आफ्ना चिनजानका र सहकर्मी आदिलाई NENGA-JO (शुभकामना कार्ड) लेख्ने र हुलाकबाट पठाउने चलन छ। सन्देश लेखिसकिएका 'तयारी' नेन्गाज्यो हरु पनि पाईन्छन् नाम-ठेगाना मात्रै थपे पुग्ने। तर धेरैजसोले खाली कार्डमा आफैंले सन्देश, फोटो र चित्र आदि छापेर पठाऊँछन्। नेन्गाज्यो अत्यन्त महत्वपूर्ण र औपचारिक मानिन्छ जापानमा र ई-मेल र टेलिफोनबाटको शुभकामना आदानप्रदान कमै हुन्छ। कम्तिमा पनि ३०-४० नेन्गाज्यो नलेख्ने जापानी हुँदैनन् होला। फेरि हुलाकले पनि सकेसम्म ठीक जनवरी १ को बिहान पु-याईदिन्छ, जति चाँडै पठाएको भएपनि। पठाउन धेरै ढिला भयो भने ठ्याक्कै जनवरी १ मै नपुग्न पनि सक्छ। यसपाला पनि हुलाकले सूचना जारी गरेको थियो, डिसेम्बर २५ सम्म खसालिएका नेन्गाज्योमात्रै जनवरी १ मा पु-याईनेछ भनेर। करोडौं (अरबमै पुग्छ होला संख्या) नेन्गाज्योहरुका कारण जापानको हुलाक प्रणाली अति ब्यस्त हुन्छ यी केहि दिन।
पाँच-सात तयारी नेन्गाज्यो पठाईयो आफूले पनि तर २५ भित्रै पठाउन सकिएन। अर्को नयाँ वर्षका लागि भने अलिक पहिल्यै ध्यान दिनु पर्ला। जनवरी १ को बिहान पोष्ट बक्समा केहि नेनगाज्योहरु पनि थिए, हामीलाई शुभकामना दिन आईपुगेका।
नयाँ वर्षको नेपाली जमघट डिसेम्बर २८ मै थियो। र त्यसको 'वार्म-अप' जमघट पनि थियो २७ को राती:) 'वार्म-अप' जमघटमा पुगेपनि जीऊ ठिक नभएकाले तुरुन्त फर्किएँ। भोलिपल्टको जमघटमा सपरिवार सरीक भईयो, निकै रमाईलो भयो त्यो दिन। साथीहरुले धेरै नाचे। सबैका जोडी-जोडीले नाच्नैपर्ने क्रममा अलि-अलि जीऊ हल्लाउन बाध्य भईयो आफूपनि, नत्र भने जोगिईन्थ्यो होला:)
नयाँ वर्षको दिन दिऊँसो बजारतिर निक्लेको, गज्जबसंग सूनसान थियो पूरै शहर। विजयादशमीको दिन बिहान १० बजेतिर काठमाण्डौं त्यस्तै लाग्छ। जापान आएपछि नयाँ वर्षकै दिन पारेर शहर घुमिएको थिएन अहिलेसम्म। देखिएका मान्छेहरु सबैजसो विदेशी थिए। यो पनि नयाँनै अनुभव भयो जापानमा।
January 05, 2009
पुरानो वर्षको कुरा, नयाँ वर्षको कुरा
Labels:
आफ्नै कुरा,
जापान
Subscribe to:
Post Comments (Atom)
जापानको बारेमा केही थोरबहुत जानकारी दिनु भएकोमा बसन्त जी लाइ thanks भन्दछु - जेहोस NENGA-JO (शुभकामना कार्ड) बारेमा पनी केही कुरा थाहा भयो ।
ReplyDeleteतर जतिनै छुटीहरु आए पनी - झन आफ्नो दिनचर्याहरु लाथालिङ्ग हुने हई ! सुताई -खाइपीइ सबै .......
जस्तो देश उस्तै भेष हुन अपरिहार्यनै हुने रहेछ । के गर्नु दशैमा छुट्टी पाइन्न आँफैं लिनु पर्छ , पाएका अरु छुट्टीहरुमा स्थानिय बासिन्दाले परम्परागत रुपमा मनाइ राख्दा के आफुं दिन भरी सुतेर बिताउनु । त्यसैले नया वर्ष मात्र हैन क्रिसमस र थ्यन्क्सगिविङ पनि मनाइन्छ, धार्मिक हैन समाजिक रुपमा ।
ReplyDeleteधन्यबाद बेदनाथजी, प्रज्वलजी!
ReplyDeleteपुलामीजी, छुट्टीले दिनचर्याहरु लथालिङ्ग बनाउने कुरा सबैको यथार्थ हो। सानो उमेरको बच्चा साथमा हुँदा त्यति लथालिंग हुन सकिँदो रहेनछ जति बच्चा नहुँदा भईन्थ्यो, तैपनि अलि-अलि भद्रगोल त भईहाल्छ।
प्रज्वलजी, चाडबाड भनेकै सामजिक कुरा हुन्, धर्मसंग जोडिएर आउनेभएपनि। यसकारण जे मनाएपनि राम्रै लाग्छ मलाई पनि।
धन्यबाद बसन्त दाई । आरिगातो ! दौ इतासी मासी ते ! इलाशाईमासे !
ReplyDelete