July 29, 2011

‘कति ल्याईस् त???' को एक वर्ष

केहि समय पहिला एकजना टाढाका नातेदार पर्नेसंग संगै कतै जानेमा परियो।

“जापान बसेर खासै उपलब्धि भएन कि क्या हो?” एकछिनपछि तिनले सोधे।
“हजूर--? उपलब्धि भन्नाले----?” मैले तिनको कुरा खासै नबुझेको पनि हो, किनभने मलाई मेरो जापान बसाई उपलब्धिमूलकनै लागेको थियो र अझै लागेको छ। 
“पैसो त्यति कमाईएन कि क्या हो?” उनले कुरो ‘खुलस्त’ पारे। 
“खोई कमाईएन, सर्टिफिकेट बाहेक केहि पनि कमाईएन।“ मैले प्रष्टीकरण दिएँ। जापान जानु अगाडि पनि उनको संगत गरेको र उनको वैचारिक स्तर राम्ररी बुझेकोले कुरोलाई यतै टुङ्ग्याईदिएँ मैले बिस्तारै अरु विषयतिर मोडें।

‘नेपालै बस्छु’ भनेर नेपाल फर्केको पनि एक वर्ष भयो, अस्ति असार मसान्तबाट। माथिको प्रसंग र सम्वाद मेरो यो एक वर्षको औसत स्वरुप हो।

यो एक वर्षलाई अलिक उज्यालै भावले हेर्दा पनि बढीमा मिश्रित अनुभूतियुक्त भन्न सक्छु म। यो एक वर्षमा भोगिएका/देखिएका कुराहरुमध्ये केहिलाई बेला-बेला यहि ब्लगमा पनि लेखेकै छु। कति कुरा भने समायभावले लेख्न सकिएन, कति ईण्टरनेट भरपर्दो नहुँदा लेख्न सकिएन; ती कुरा मनैमा पाके र झरे।

शुरुवाती दिनहरु ‘तँ किन नेपाल फर्केको?’ प्रश्नको वर्षातमा रुझेका थिए, ती दिनहरुका कुरा मैले ‘तँ किन घर फर्किस्?’ मा लेखेको छु। अझ शुरुमा त नेपाल ‘सधैंका लागि’ फर्केको कुरामै विश्वाश गर्दैनथे मानिसहरु। विकसित देशमा केहि वर्ष बसेको मान्छे आफ्नै घर नेपाल फर्कने कुरा असम्भव जस्तो लाग्दो रहेछ कि मानिसहरुलाई? फर्केकै हो भन्ने विश्वाश परेपछि भने सबैको सोधाई ‘नेपालजस्तो झूर ठाऊँमा पनि फर्कने हो? किन उतै नबसेको?---‘ हुन थाल्यो। यस्ता प्रश्नलाई र सधैं विदेशको विदेशै भास्सिएको भए राम्रो हुन्थ्यो भन्ने सल्लाहलाई आफ्नो बुता र शब्दशक्तिले भ्याएसम्म जवाफ दिईयो र आफ्नो मनको कुरो नढाँटी भनियो। समग्रमा भन्नुपर्दा, हामी नेपाल फर्केकोमा खुशी हुनेहरु थोरै भेटियो, हामीलाई मूर्ख भन्नेहरु साह्रै धेरै भेटियो।

दुई-तीन महिना बितपेछि भने अर्को खाले प्रश्नको सामना गर्नुपर्ने भयो। जापानमा ‘कुस्त’ कमाएर फर्केको होला यो भन्ने परेछ र एकथरी मानिसहरु ‘कति ल्याईस् त????’ भनेर सोध्न थाले। बजारमा घर-घडेरी किन्ने सल्लाह दिने, कहिलेकाहिँ ‘घडेरी हेर्न जाऊँ’ नै भन्ने पनि हुन्थे। ‘अब कार चढेर हिँड्नुप-यो, अनि बल्ल पर्सनालिटी देखिन्छ।‘ भन्ने सल्लाह पनि पाईयो:) कुरै-कुरामा ‘करोड त ल्याईस् होला नि!’ भन्ने पनि धेरै थिए। धेरैजसो हाँसेर उडाईयो यस्ता चासालाई, केहि नजिकका मान्छेलाई भने यथार्थ पनि खोलियो।

एक वर्ष बितिसक्दा पनि बजारमा घर-घडेरी ‘नजोडेको' र कार पनि नचढेको देखेपछि भने चासो र प्रश्नहरु अलिक कम भएको छ। ‘जापानबाट यो केहि पनि नकमाई बुंगै फर्केछ!’ भन्ने परेको होला मान्छेलाई अब। राम्रै भयो, अब ताईँ न तुईँका प्रश्नको आक्रमणमा पर्नु परेन।  

एक हिसाबले त्यस्ता मान्छेहरुको सोचाई पनि ठिकै हो; यी केहि वर्षमा बटुलेका ज्ञान, शैक्षिक प्रमाणपत्रहरु, फरक समाज र फरक परिवेशका अनुभव आदिलाई नगन्ने हो भने म केहि पनि नकमाई बुंगै फर्केको हुँ। यतिखेरको नेपालले ती कुरालाई पैसाको तुलनामा तुच्छ र बिर्सनलायक ठान्दो रहेछ।

साँचो कुरो भने यहि हो, हामी प्रमाणपत्र र अनुभवहरुमात्रै बोकेर नेपाल फर्कियौं, पढ्न भनेर गइका थियौं र प्राथमिकतामा त्यहि प-यो। छोरी जन्मेपछि उसको स्याहार-सुसार हाम्रो दैनिकीको अर्को महत्वपूर्ण पाटो बन्न गयो। छोरी एकवर्षकी हुँदा मेरो पढाई सकिईसकेको थियो, त्यसपछि उनले पढ्न थालिन्। छोरी नेपाल पठाईदिएको भए मैले दिनको १४-१६ घण्टा काम गर्न पाउने थिएँ होला, अनि विदाका दिन त दुबैजनाले ‘मरेर’ काम गर्न भ्याईन्थ्यो होला। यथार्थमा धेरैले यस्तै गर्छन्, बच्चा केहि महिनाको हुनासाथ नेपाल पठाईदिन्छन् र आफू ‘मरेर’ काम गर्न थाल्छन्।

तर हामीले पैसाभन्दा छोरी आफूसंगै राख्नुलाईनै ठूलो ठान्यौं र छोरी हुर्कँदै जाँदाका हरेक क्षणहरुको साक्षी हुन चाह्यौं। छोरीले हातखुट्टा फालेर खेलेको देख्दाको अनुभूति, ऊ पहिलो पल्ट पल्टिएको देख्दाको खुशी, ऊ बामे सर्दाको आनन्द, ऊ पहिलो पटक उभिएर हिँड्दाको उसको र हाम्रो खुशी, उसको पहिलो शब्द सुन्दाको हर्ष------- हामीलाई यिनै महत्वपूर्ण लागे। यस्ता क्षणहरु र तिनले दिने खुशीको कुनै मूल्य छैन, र ती दोहोरिएर पनि आऊँदैनन्।

यथार्थ कुरा गर्दा, मलाई साना बच्चाहरुलाई बाऊ-आमाबाट छुटाएर राख्नुनै ठूलो अपराध लाग्छ। बाऊ-आमासंगै रहन पाऊनु र उनीहरुसंग आत्मीय भएर हुर्कन पाऊनु हरेक बच्चाको अधिकार हो। बाऊ-आमा सग्लै र स्वस्थ हुँदाहुँदै पनि तिनबाट टाढिएर हुर्किएका बच्चाको मनोदशा राम्रो देखेको छैन मैले। जतिनै माया गर्ने बाजे-बज्यै, काका-काकी वा मामा-माईजू भएपनि तिनले बाऊ-आमाको ठाऊँ लिन सक्दैनन्। कहिलेकाहीँ विशेष परिश्थिति हुनसक्छ, त्यस्तोमा छोटो समयको लागि अलग्गिनु बेग्लै कुरा हो। अझ विशेष परिश्थिति पनि हुनसक्छ; बाऊ वा आमा वा दुबै बितेका हुनसक्छन्, कोहि सेनामा अथवा त्यस्तै खाले पेशामा हुनसक्छन्, कोहि जेलमा हुनसक्छन्। त्यो स्थितिमा परिवारले, समाजले, राज्यले ती बच्चालाई हेर्नुपर्छ र हुर्कने क्रममा तिनलाई सकेसम्म आत्मीय वातावरण दिनुपर्छ। आफ्ना बाऊ-आमा हुँदा-हुँदै भने बच्चाले तिनैका साथमा हुर्किन पाउनैपर्छ।

कहिलेकाहीं पछाडि फर्केर आफ्नो चालीस लागीसकेको जिन्दगीलाई एक पटक हेर्छु म। चरम गरिबी र अभावबाट शुरु भएको मेरो जिन्दगी यतिखेर जहाँ छ, त्यसमा म सन्तुष्ट छु, जुन गति र शैलीमा म यहाँ आईपुगें त्यसमा पनि सन्तुष्टनै छु। फेरि यत्तिमै अडिएर बस्ने पनि छैन म। मलाई के विश्वाश छ भने हाम्रो जिन्दगीमा सबै हिसाबले क्रमिक प्रगति जारी रहनेछ। आर्थिक प्रगति पनि जारी रहनेछ तर यसैका लागि जिन्दगीका अरु सबै खुशी र आत्मीयता त्याग्नु छैन, न नैतिकता र ईमान त्यागेर रातारात अकूत धनमालिक हुनुछ। आर्थिक प्रगति जिन्दगीको एउटा भाग हो, यहिनै पूरै जिन्दगी भने होईन।

यस्तै रह्यो यो एक वर्ष।

अहिलेलाई ‘कति ल्याईस् त???’ घट्दै गएको खुशी मनाऊँदैछु, तपाईँलाई पनि निम्तो छ सामेल हुन, खुशी मनाउन:)

July 23, 2011

'रिमिक्स'को झूर चलन

अलिक दिन पहिलाको कुरो हो, कुनै नेपाली च्यानेलमा 'हरियो डाँडामाथि---' को कथित रिमिक्स घन्कीरहेको थियो। धर्मराज थापाले गाएको सुन्दर कालजयी गीतलाई भाँचभुँच पारेर, बंग्याएर बलात्कार गरिएको थियो। नाच्नको लागि मिलाउने उद्देश्यले गीतको स्वरुपलाई परीवर्तन गरिएको थियो र मेरा लागि भिडियोको स्तर तल्लो कोटिको थियो र त्यसमा प्रयोग गरिएको नाच पनि एकदम भद्दा लाग्थ्यो।

अचेल यस्ता 'रिमिक्स' जताततै देखिन्छन्, नेपालमा मात्रै होईन विदेशमा पनि छ्यास्छ्यास्ती देखिन्छन्। पूराना कालजयी सांगीतिक रचनालाई बिगारेर 'हलो काटी मुंग्रो' बनाउने रोग विश्वब्यापी भएको छ। यो रोग गीत/सांगीतिक रचनामानै बढी देखिन्छ, कलाका अरु विधामा भने देखिँदैन।

तर यो बिलकूल गलत लाग्छ मलाई। हरेक रचना या कला त्यो सृजना गरिँदाको समयको दस्तावेज हो, त्यो बेलाको परिवेशको आकृति हो र सृजना गर्ने मान्छे त्यतिखेरको मनश्थितिको हस्ताक्षर हो। यसरी एउटा विशिष्टतामा परिभाषित भईसकेको कुनै सृजनामा फेरि अर्को खाले परिभाषा लादनुलाई सही ठान्न सक्दिन म। कसैलाई कुनै रचनामा केहि कमी भएजस्तो लाग्छ भने उसले त्यस्ता कमजोरी नभएका नयाँ रचना बनाउन सक्नुपर्छ। 'रिमिक्स'को नाममा गीत बिगार्नु भनेको मुनामदनलाई कोचलेर त्यसमा दुई-चार फुँदा गाँसेजस्तै हो।

रिमिक्सको चलन झूर चलन हो, यस्तो झूर काममा प्रतिबन्ध लगाउनुपर्छ!

July 17, 2011

तलब बढेको हल्ला

अर्थमन्त्रीले पानी खाँदै बजेट पढे, ७२-७३ पृष्ठको बजेट कनी-कनी पढे।

बजेट भाषण 'हुने' भनिएको दिन अलि-अलि चासो लागेको थियो, सुन्नुपर्ला/हेर्नुपर्ला भन्ने। त्यो दिन भएन, भोलिपल्ट हुने भयो; तर भोलिपल्ट बिहानका पत्रिकाहरुले बजेटको सार राख्दिसकेकाले बजेट भाषण सुनिरहनुपर्ने आवश्यकतै भएन।

त्यो दिन साँझ कुनै कार्यक्रमबाट घर आईपुग्दा केहि मित्रहरु बडो प्रफुल्लित मुद्रामा थिए र बजेट भाषणमा कर्मचारीको तलबवृद्धिका बारेमा खोकिएको ३१-४२.८ प्रतिशतको बीचमा आफू कुन प्रतिशतमा परिएला भनेर हिसाबकिताब गरीरहेका थिए। केहि मित्रहरुले त आफ्नो नयाँ तलबपनि निकालिसकेका थिए, र 'मेरो त ----हजार ---- सय पुग्ने भयो!' भनेर हल्ला गरीरहेका थिए। 

हुनत, बढेको तलब दिनपुग्ने गरी दाम विनियोजित समेत छैन भनेर पनि पढ्न पाईयो आज, तर साथीहरुको उत्साहलाई त्यसले खासै असर पारेको छैन।

सरकारी जागिरेको तलब बढ्नु नराम्रो होईन तर देशमा जारी अनियन्त्रित मूल्यवृद्धिको क्रमलाई नरोकुञ्जेल यसले कुनै तात्विक फरक पार्ने देखिन्न। मूल्यवृद्धि नहुने हो भने (अथवा स्वस्थ अर्थतन्त्रका नियमले मागेजति सीमित रुपमामात्रै हुने हो भने) तलबृद्धिको अर्थ हुन्छ, तर हामीकहाँ केहि महिनामै अकाशिने मूल्यवृद्धिले गर्दा सबै कुरा 'चिप्ले ढुंगो, उहि टुंगो' हुनजान्छ।

यो देशका कर्मचारीहरुलाई 'भाग्यमानी' मान्नुपर्छ, किनभने (केहि ज्यादै थोरैलाई छोडेर) खासै कामै नगरी खान पाउने वर्गमा पर्छन् उनीहरु। सरकारी कर्मचारीहरु कामचोर र भ्रष्ट हुन् भन्ने प्रमाणित भईसकेको छ। थर्काएर र धम्काएर आफ्ना मागहरु पूरा गराउन सक्ने ठाऊँमा उनीहरुनै छन्, यसैले हरेक बजेट भाषणताका तलब बढाउने माग गर्दै उनीहरुको ठूलो डाँको हुन्छ। तलबवृद्धि बाहेकै पनि उनीहरुका हरेक नाजायज/जायज मागहरु सामान्यतया पूरा हुने गरेका छन्। उनीहरुनै कहिले स्वत: स्थायी हुन्छन्, कहिले स्वत: बढुवा------। यस्तो सुविधा देशमा अरु कुन वर्गले पाऊँछ?

तलबवृद्धिले कर्मचारीलाई तत्कालिक राहत दिनेनै भनेर माने पनि कर्मचारी बाहेकका जनसाधारणका लागि भने यसले अप्ठेरोमात्रै बढाएको देखिन्छ। बढीमा ५-७ प्रतिशतको संख्यामा रहेका कर्मचारीहरुको तलब बढ्नासाथ बजार भाऊ बढ्नथाल्छ हरेक सामानको। कृतिम र अनियन्त्रित मूल्यवृद्धि रोक्ने न ह्याऊ छ न विचारनै छ हाम्रो राज्यसंग। यो स्थितिमा बेस्करी ढाड सेकिने भनेको नीजि क्षेत्रमा कार्यरतहरु, स्वरोजगारहरु, र वेरोजगारहरु हुन्।

कसै-कसैलाई रिस उठ्दो होला मेरा कुरा सुन्दा। अस्ति यहि कुरा गर्दा केहि सहकर्मी मित्रहरुले पनि मुख रातो पारे। तर कुरो यहि हो, देशमा कृत्रिम र अनियन्त्रित मूल्यवृद्धि रहुञ्जेल यस्ता तलबवृद्धिले केहि लछार्दैनन्। यहि निहुँमा उल्टो विशुद्ध श्रमजीविहरुको जीवन झन् कष्टकर बन्छ। 

फेरि तलब बढ्दैमा हाम्रा कर्मचारीहरु 'साधु' बनेको र प्रशाशनयन्त्रमा भ्रष्टाचार कम भएको प्रमाण अहिलेसम्म एकपटक पनि देखिएको छैन।

July 13, 2011

स्पन्दन कविता पुरस्कार

आज भानुजयन्ती, यसैले सर्वप्रथम आदिकवि भानुभक्तमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
-------------------------------------
सात महिना पहिले मैले मेरो एक कविता 'परदेशी' ले स्पन्दन कविता पुरस्कार - २०१० प्राप्त गरेको कुरा यहाँहरुसमक्ष राखेको थिएँ। त्यसबारेमा यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। त्यहाँ मैले 'स्पन्दन' साहित्यिक पत्रिका र यसका प्रकाशक अग्रज साहित्यकार आदरणीय होम बहादुर क्षेत्रीज्यूका बारेमा पनि केहि लेखेको छु।

स्पन्दनले अरु बिभिन्न बिधामा पनि पुरस्कारहरु घोषणा गरेको थियो र पूर्व योजनाअनुसार पुरस्कार वितरण समारोह आजकै दिन आसाममा हुने कार्यक्रम थियो। यहि निहुँमा म आसाम घुम्ने योजना र कल्पनामा पुगीसकेको थिएँ। तर केहि समय पहिला क्षेत्री सरको सन्देश प्राप्त भयो, विशेष कारणवश कार्यक्रम आयोजना गर्न सकिएनछ। उहाँले प्रमाणपत्र पठाउन ठेगाना माग्नुभएको थियो। केहि समयपछिनै आईपुग्यो प्रमाणपत्र, र पुरस्कार राशि पनि मनी ट्रान्सफरका माध्यमबाट हात प-यो।
----------------------------------------
उक्त सम्मानका लागि फेरि एकपटक 'स्पन्दन' परिवार र आदरणीय क्षेत्री सरलाई हार्दिक धन्यबाद दिन चाहन्छु र नेपाली भाषा-साहित्यको सेवामा लागीरहने दृढता व्यक्त गर्दछु।



July 07, 2011

साथी हरायो!

आज मेरो वर्षौंदेखिको एउटा साथी हरायो!

विगत केहि वर्षदेखि ऊ लगभग जतिखेर पनि मसंगै हुन्थ्यो। निरन्तरको साथ र अन्तरंग सम्वादका कारण ऊ मेरा लागि एकदम आत्मीय भईसकेको थियो।  

एक वर्षजति पहिला मेरै लापरवाहीले गर्दा उसको टोपी हराएको थियो, तर उसले मसंग चित्त दुखाएको थिएन। मैले माया गरे टोपी नभएपनि केहि हुन्न भन्थ्यो ऊ।

सानो भएपनि ऊ अत्यन्त सक्षम र प्रतिभाशाली थियो। म बिस्तारै-बिस्तारै पूरै उसको वशमा परेछु, उसैको भरमा परेछु। म उसको अथाह स्मरणशक्तिले गर्दा मात्तिएछु। कसैले मलाई केहि सुनाउन खोजे म उसैलाई हेर्न भन्दिन्थें र पछि समय हुँदा उसबाट हेर्थें, कसैले मलाई केहि सुनाउन खोजे म ऊसैलाई सुन्न भन्दिन्थें र पछि फुर्सद निकालेर उसबाट सुन्थें, कसैले मलाई केहि सिकाउन खोजे उसैले पहिला सिक्थ्यो र पछि मलाई सिकाऊँथ्यो-----। ऊ मेरो दैनिकी थियो, ऊ मेरो पेशा थियो, यसैले ऊ मेरो जीवन थियो। मेरो जीवनका कति महत्वपूर्ण कुराहरु, कति महत्वपूर्ण क्षणहरु बोकेर बसेको थियो ऊ।

कति ढुक्क थिएँ म ऊ हुँदा-----!

ऊ हरायो र मेरा अनगिन्ती सपनाहरुको अभिलेख हराएको छ। यसैले म हराएको छु, मेरो जीवनको एउटा ठूलो हिस्सा हराएको छ।

ऊ कुनै ईमान्दार हातमा परेको भए त मसम्म आईपुग्ने सम्भावना अझै छ, तर कुनै बेईमान हातमा ऊ परेको भए के होला-------------?

आज मेरो वर्षौंदेखिको एउटा साथी हरायो, मेरो फुच्चे साथी मेरो पेन-ड्राईभ हरायो!
---------------------------------------------------------------------------------------
---------------------------------------------------------------------------------------
केहि डकुमेण्टहरु प्रिण्ट गर्नु थियो र बिहान कलंकीको Down Town Communication मा पसेको थिएँ। डकुमेण्टहरु मिलाऊँदा-मिलाऊँदै समय गयो, प्रिण्ट गर्न पनि भ्याईएन। अर्को ठाऊँमा जान बाह्र बजे जतिमा त्यहाँबाट निस्कँदा पेन-ड्राईभ नथुती निस्केछु। साँझ पाँच बजे फर्केर बाँकी काम गर्न खोज्दा पेन-ड्राईभ नदेखेपछि पो झस्याङ्ग भएँ। 

यसरी बिर्सने मान्छे त होईन म। हिजो देखि एसिडिटीले सताएर जीऊ पूरै गलेको थियो, शारीरिक-मानसिक दुबै हिसाबले थकित थिएँ। त्यहि स्थितिको असर पो हो कि, यसरी बिर्सनु?

५-६ वर्ष पूरानो २ जीबी क्षमताको पेन-ड्राईभमा आफ्नो 'पूरै' संसार लिएर हिँडेको थिएँ, आज संसार हराएजस्तो भएको छ। केहि समय यताका मेरा धेरैजसो पेशागत सूचना, काम, जानकारी आदि सबै त्यसमै मात्र थिए र अर्को ब्याकअप बनाउन भ्याएको थिईँन, बनाउनु पर्ने होशै आएको थिएन।

साँझ कम्युनिकेशनमा हुने मित्रलाई थाहा रहेनछ। अब भोलि बिहानै गएर आज बिहान म त्यहाँ हुँदाका भाईलाई भेट्नु पर्ने भयो। त्यही एउटा सम्भावनमात्रै रह्यो अब त्यो पेन-ड्राईभ फेरि हात पर्ने। त्यहाँ कम्प्युटर चलाउन पुगेका अरु कोहिको हात परीसकेको भए त के पाईएला र अब?
-------------------------------------------------------------------------------------------------
जुलाई ८, २०११ (साँझ)

हिजोका भाईलाई सोधेको, उनलाई पनि थाहा छैन रे! म हिँडेलगत्तै त्यो कम्प्युटरमा अरु कोहि बसेको थियो रे। अलिक पछि ती भाई आफैं त्यो कम्प्युटरमा बस्दा त्यहाँ थिएन रे पेन-ड्राइभ।

मेरो साथी भेटिने आश मारें मैले अब।

कतिखेर के काम गर्दा समस्या पर्ने हो अब थाहा छैन। त्यस्ता क्षणमा झन् बढी याद आउनेछ मलाई मेरो फुच्चे साथी।
-----------------------------------------------------------------------------------------------------
यसबाट, केहि 'गतिला' पाठ पनि अवश्य सिकेको छु।

पहिलो कुरो त, हरेक डाटाको ब्याकअप हुनैपर्दो रहेछ। यो कुरामा म सचेतनै थिएँ पहिला र भएजति डाटालाई एउटा पोर्टेबल हार्डडिस्कमा पनि ब्याकअप राख्ने बानी बसालेको थिएँ जापानमा हुँदा। विगत केहि महिना यता अलि लापरवाही हुन थालेको थियो। ठिक्क प-यो:) खुच्चिङ्ग!

दोश्रो, पेन-ड्राईभ जस्तो जता गएर पनि प्रयोग गरिने कुरामा महत्वपूर्ण सूचनाहरु धेरै नखाँदेकै राम्रो। त्यसमा त उहि भिडियो-सिडियो आदि मात्रै बोकेर हिँडेकै वेश रहेछ। त्यसो हुँदा हराए पनि खासै चित्त नदुख्दो हो।

अनि तेश्रो पाठचाहिँ उहि 'होश' राख्ने! होश नराख्ने वेहोशप्रसाद हुनु कत्ति पनि फाईदाजनक हुँदो रहेनछ:)
-----------------------------------------------------------------------------------------------------------
अनि अझै लाग्छ, कतै न कतैबाट मेरो फुच्चे साथी मेरो हातमा फेरि आईपुग्नेछ, सग्लै आईपुग्नेछ।

July 06, 2011

यो शहर

सुस्त-सुस्त सुकाऊँछ मलाई यो शहर
भित्रैदेखि दुखाऊँछ मलाई यो शहर

मान्छे डस्न पल्केछन् यी झीना सडकहरु
हिँड्नै नदि(ई) टुटाऊँछ मलाई यो शहर

पाप बोकेर अर्कैको, श्राप बोकेर अर्कैको
छानी-छानी चुकाऊँछ मलाई यो शहर
  
चोरी सिकेर आएँ, र ठगलाई ढोग्दैछु
अझै कति झुकाऊँछ मलाई यो शहर !

June 29, 2011

Talking Minds को अर्को कार्यक्रममा

ब्लग कुनै गहिरो खाडलमा जाकिएझैं भईरहेछ। घस्रिएर बाहिर निस्कने कोशिश जारी छ, तर अझै निस्कन सकेको होईन।

ब्लगलाई खाडलबाट निकाल्न नसकेको यहि बेलामा फेरि ब्लग र ब्लगिङ्ग कर्मका बारेमा बोलियो एउटा कार्यक्रममा:)

अध्यापनरत क्याम्पसमा सकृय एउटा विद्यार्थी समाज Talking Minds ले तीन दिने कार्यशाला आयोजना गरेको थियो केहि दिन पहिला। ३५-४० जना विद्यार्थी सहभागी थिए यो कार्यशालामा। कार्यशालामा बिभिन्न विषयका प्रस्तुतिहरु र फिल्ड भ्रमण समेटिएका थिए। 

कार्यक्रम आयोजक भाईबहिनीहरुको सीप र लगन प्रशंशायोग्य थियो। कार्यक्रम आयोजनाको स्तर नि:सन्देह कुनै उत्कृष्ट पेशेवरको जत्तिकै थियो। 

त्यहि कार्यक्रमको पहिलो दिनको पहिलो प्रस्तुति मेरो थियो। मैले Blog - A Tool for Creative Expression शीर्षकमा प्रस्तुति तयार पारेको थिएँ। ब्लगको ईतिहास, नेपाली ब्लग जगतको कुरा र आफ्नो अनुभव आदि समेटेको थिएँ। फेरि ब्लगभन्दा पनि लोकप्रिय हुँदै गईरहेका सामाजिक सञ्जाल आदिका कुरा पनि आउनेनै भयो जोडिएर।
-------------------------------------------------------------------
त्यहि प्रस्तुति बनाउन ईण्टरनेट चहार्दा भेटिएका यी केहि जानकारीहरुका साथ बीट मार्न चाहन्छु आज।

- More that 164 million - number of blogs the blog identified by the blog search engine BlogPulse
  
- 600 million – People on Facebook at the end of 2010.
- 250 million – New people on Facebook in 2010.
- 30 billion – Pieces of content (links, notes, photos, etc.) shared on Facebook per month.
- 70% – Share of Facebook’s user base located outside the United States. 

तपाईँका दिन शुभ रहुन्!

June 20, 2011

साहित्यिक कुराकानीको रेकर्डिङ्ग

केहि समय पहिला रेडियो नेपालको क्षेत्रिय प्रसारण केन्द्रको साहित्यिक कार्यक्रम 'साहित्य-सृजना' को एक भागमा मसंगको साहित्यिक कुराकानी प्रसारण भएको थियो। आज त्यहि कार्यक्रमको रेकर्डिङ्ग यहाँ राख्दैछु।