June 02, 2015

हाइटीकरणबाट जोगिन प्रधानमन्त्री राहत कोष

गत बैशाख १२ को महाभूकम्प र त्यसपछिका ठूला-साना परकम्पनका कारण देशका थुप्रै भागमा अपार जनधनको क्षति भएको छ। परकम्पनहरु साना र थोरै हुँदै जाँदा जनताले राहतको सास फेर्न थालेका थिए र बिस्तारै जनजीवन सामान्य हुने कोशिशमा थियो तर बैशाख २९ को ठूलो धक्काले दोलखा, रामेछाप लगायतमा फेरि जनधनको ठूलो क्षति गराएको छ। 

भूकम्प लगत्तैको उद्धारकार्यमा सरकारका सुरक्षा संयन्त्रले देखाएको समर्पण र सुझबुझको सबैले प्रशंशा गरेका छन्। त्यस्तै उद्धारकार्यको संयोजनमा प्रशाशनिक सकृयता र नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको भूमिका पनि प्रशंशनीय रहे। युवाहरु र सर्वसाधारण जनता आफैंपनि स्वतस्फूर्त उद्धार र राहत संकलन-वितरणमा जुटे। थुप्रै मित्रराष्ट्रहरुबाट पनि उद्धार र राहतकर्मीहरु आईपुगे। सरकारमा बसेका प्रधानमन्त्री र मन्त्रीहरुले देखाएको असमञ्जस र अलमलले भने सबैलाई चिढायो। यस्तो असमञ्जस र अलमल सबै राजनीतिक दल र नेताहरुले पनि देखाए। हाम्रो राज्यको क्षमता थोरै छ तर त्यहि थोरै क्षमताको राज्यका अंगहरुले आफ्नो बुताले भ्याएभन्दा बढी खटेका थिए। यस्तोमा सरकार र देशको राजनीतिक नेतृत्वपंक्ति उद्धार कार्य भइरहेका ठाऊँमा उभिएर, पीडितहरुसंग कुराकानी गरेर र उनीहरुलाई ढाढस दिएर उनीहरुसंग जोडिन सक्नुपर्ने थियो, त्यहि हुन सकेन। त्यसैले जनता उनीहरुसंग आक्रोशित र वितृष्णित भए।

सरकारी अलमलले उद्धार र राहत कार्यका शुरुका दिनमा समन्वयको अभाव पनि देखियो। तयारी बिनाको राज्य भएकाले एकद्वारबाट उद्धार र राहतलाई अघि बढाउन राज्यले आँट्न सकेन। समन्वयको अभावले उद्धार र राहतकार्य सुगममा चाँडै र धेरै र दुर्गममा ढिलो र थोरै हुनपुग्यो।

यतिखेर, महाभूकम्पको महाविनाशपछि पुनर्निर्माण र पुनर्स्थापनाको चरणमा देश जान आँटेको छ। यो चरण धेरै लामो हुनेछ र यसका लागि थुप्रै साधन-स्रोत आवश्यक पर्नेछ। त्यस्तै, निर्माण कार्यको उचित समन्वयकारी संयन्त्रको पनि आवश्यकता पर्नेछ। त्यस्तो समन्वयकारी संयन्त्र सरकार र राज्ययन्त्र बाहेक अरु हुन सक्दैन। सरकारको समन्वय र निगरानीमा नहुने हो भने पुनर्निर्माणमा पनि राहतको चरणमा देखिएको सुगममा सबैको ध्यान जाने तर दुर्गम सधैं अँध्यारैमा रहने स्थिति दोहोरिने निश्चित छ। यसैले हामी सबैसंग प्रधानमन्त्री राहत कोषलाई सघाउनुको विकल्प छैन।

सरकार र प्रशाशनयन्त्र भ्रष्टाचारी भएको र यसलाई विश्वाश गर्न नसकिने कुराहरुको जोडतोडले प्रचार भईरहेको छ। यहि कारण देखाएर एनजीओ, आइएनजीओ र अरु 'दाता'हरुले आफूखुशी पुनर्निर्माणमा खर्च पाउनुपर्छ भन्ने आवाज जोडतोडले उठाईँदैछ। हाम्रो सरकार र प्रशाशनयन्त्र भ्रष्टाचारी भएको साँचो हो तर एनजीओ-आइएनजीओचाहिँ दूधले नुहाएका छैनन्। तिनीहरुभित्रको भ्रष्टाचार र नातावाद-कृपावाद झन् कहालीलाग्दो छ। यसो भनीरहँदा सरकारको भ्रष्टाचारलाई देखेको-नदेख्यै गर्नुपर्छ भन्न खोजेको होईन, भ्रष्टाचार कहिल्यै क्षम्य हुँदैन, झन् राहत कोषको भ्रष्टाचार त कुनै हालतमा क्षम्य हुनुहुँदैन।

प्रधानमन्त्री राहत कोषको पैसा जसले पायो त्यसले सिधै खर्च गर्न सक्दैन। यसका लागि एउटा स्पष्ट कार्यविधि बनीसकेको छ। यसको परिचालनका लागि सरकारी कर्मचारीहरु खटिने र तिनलाई यस बापत थप केहि नदिईने हुँदा प्रधानमन्त्री कोषको प्रशाशनिक खर्च एकदम हुनजान्छ। यसको अर्थ कोषको लगभग सम्पूर्ण रकम लक्षित काममा लाग्न पाऊँछ। अर्कोतिर, एनजीओ-आइएनजीओ लगायतका 'दाता'हरुले महँगा परामर्शदाता-सल्लाहकार आदि राखेर तीन चौथाईभन्दा बढी रकम तलब-भत्ता र प्रशाशनिक खर्चमै सिध्याऊँछन्। तिनले नेपाललाई 'यति' र 'उति' सहयोग गर्यौं भन्दै नेपालको गरिबीका रंगीन फोटा हालेर चिल्ला प्रतिवेदन तयार पार्छन् र प्रभावकारी काम केहि पनि गर्दैनन्। यस्ता 'दाता'हरुका माथिल्लो तहका कर्मचारीमा जहिले पनि उनीहरुको आफ्नै देशका 'विज्ञ'हरुमात्रै हुन्छन् यसैले उनीहरुले दिने कथित 'सहयोग' को ठूलो अंश उनीहरुकै देशतिर जान्छ।

अर्कोतिर यस्ता विदेशी 'विज्ञ'हरुलाई यहाँको बस्तुस्थितिको खासै ज्ञान पनि हुँदैन, उनीहरुलाई त्यसको चासो पनि हुँदैन किनभने उनीहरु त केवल जागिर खान आएका हुन्। हाम्रो प्राथमिकतालाई उनीहरु वास्ता गर्दैनन् किनभने उनीहरु आफ्नै लागि, आफ्नै प्राथमिकतामा काम गर्न आएका हुन्छन्। यो देशको पुनर्निर्माणको निहुँमा उनीहरु धर्मपरीवर्तन, हाम्रा छिमेकी देशको जासूसी आदिजस्ता कुत्सित मनशाय बोकेर आएका हुन्छन्। नेपाल देशभित्र उठाउन सकिने र मलजल गर्न सकिने जति द्वन्द्वका बिऊ रोप्न र मलजल गर्न उनीहरु दत्तचित्त हुन्छन् किनभने नेपाल जस्ता तन्नम देश जति अस्थिर भए उति उनीहरुको जागिरको निरन्तरता पक्का हुन्छ

लाखौंको तलब बुझ्ने यस्ता विदेशी साहेबहरु प्रायशः यो देशको नीति-नियम-कानूनलाई अटेर गर्ने र नेपाल र नेपालीलाई हेप्ने प्रवृत्ति देखाऊँछन्। सशस्त्र द्वन्द्वपछि UNMIN को रुपमा यस्ता गोरा साहेबहरुको नव अभिजात्य वर्गले देशमा धेरै नाटक देखाएको थियो। अब राहत र पुनर्निर्माणको निहुँमा पनि यस्तै हुन दिनुहुँदैन। केहि विशेष परिश्थितमा बाहेक यस्ता 'दाता'हरुलाई सिधै प्रधानमन्त्री कोषमा रकम दिन लगाउनुपर्छ, मान्दैनन् भने नलिए हुन्छ। यस्ता विशेष परिश्थितमा पनि हाम्रो प्राथमिकता अनुसारका कार्यक्रममा सरकार र राज्ययन्त्रको निगरानीमा मात्रै काम गर्न दिईनुपर्छ।

हाइटीकरणबाट जोगिने हो भने हामीले प्रधानमन्त्री राहत कोषलाई सम्पन्न र सशक्त बनाउनै पर्छ।

May 26, 2015

‘राष्ट्रिय सरकार’को बेसूरा राग


विनाशकारी भूकम्पको विनाशलीला र त्रासदीबाट देश उठ्ने कोशिश गर्दै रहँदा बिभिन्न थरी बेसूरा रागहरु पनि निक्लन थालेका छन्। परिश्थितिको गम्भिरताबाट विषयान्तर गर्ने कोशिशमा शुरु गरिएका यस्ता बिभिन्न बेसूरा रागहरु मध्ये कथित ‘राष्ट्रिय सरकार’ को राग सबैभन्दा कपटी र कुटिल छ।  

यतिखेर कुनैपनि विषयले राहत र पुनर्निर्माणको मुद्दालाई ओझेल पार्नु हुँदैन। हो संकट ठूलो छ र गर्नुपर्ने कामहरु धेरै छन् तर लोकतान्त्रिक परिपाटी अनुसार चुनिएको सरकारको समन्वयमा सबै कामहरु अघि बढ्नुपर्छ। अरु देशमा पनि यस्ता ठूला-ठूला संकट आएका छन्, कति देशहरु महायुद्धमा गएका छन् तर संकटको घडीमा सरकार फेर्ने खेल खेलिएको देखिँदैन। राज्यले गर्न सकेन भने उसको क्षमता बढाउने काममा सबै लाग्नुपर्छ किनभने सत्ताधारी भनेपनि विपक्षी भनेपनि सबै ‘राज्य’ हुन्। सरकारले नचाहेको हो भने सरकार बाहिरकाले खबरदारी गर्ने र उसलाई जनहितको काममा लाग्न बाध्य पार्ने हो। राष्ट्रिय सरकार नामको खिचडी पाकिहाल्यो भने खबरदारी गर्ने शक्ति क्षय हुने छ। सबैभन्दा ठूला दुई दलनै सरकारमा हुनाले अहिलेनै त्यो स्थितिको झल्को देखिसकिएको पनि छ। 

अर्कोतिर, विगत १७ वर्ष बढीबाट स्थानीय निकायको निर्वाचन नगरी दलीय संयन्त्रको नाममा ‘काले-काले मिलेर खाऊँ भाले’ शैलीको जुन लुट मच्चाईएको छ देशभरी, कथित राष्ट्रिय सरकारले त्यहि शैलीको राष्ट्रिय स्वरुप लिने हो। हाम्रा दल र नेताहरु आफूले पनि भाग पाएपछि जुनसुकै जनघाती-देशघाती निर्णयमा पनि ल्याप्चे लगाउन लाज मान्दैनन्। त्यसैले राष्ट्रिय सरकारमा दलीय भागबण्डाको ग्यारेण्टीबाहेक अरु कुनै आशय भेट्न मुश्किल छ यतिखेर।  

पञ्चायतको पतनपछि संसदवादीको नाममा वा ‘जनयुद्धवादी हुँदै संसदवादी’का नाममा जुन पुस्ता नेपालको राजनीतिमा हावी छ त्यो पुस्ता आफ्नो अक्षमतालाई लुकाउन र युवा पुस्ताको संभावित विद्रोहलाई उठ्न नदिन पनि राष्ट्रिय सरकारको खेलमा लागेको हो। अहिले नेतृत्व तहमा अड्डा जमाएर बसेको पुस्ताले देशलाई नारा र उथलपुथलहरु धेरै दियो तर समृद्धि र शान्ति अलिकति पनि दिन सकेन, न यसले राज्यको क्षमता बढाएर देशको इज्जतनै बढाउन सक्यो दुनियाँका सामु। यो पुस्ताले चरम राजनीतिकरण गरेर राज्यका सबै अंगहरुलाई कमजोर पनि बनायो। त्यसैले राष्ट्रिय सरकार यो पुस्ताले आफ्नो लाज छोप्ने अस्त्रको रुपमा ल्याएको पनि हुनसक्छ। 

अबको बाटो राज्यका अंगहरुको सबलीकरण गर्दै राहत, पुनर्निर्माण र पुनर्स्थापनलाई गति दिने र संविधान निर्माण गर्ने हो। पुनर्निर्माण र पुनर्स्थापन एउटा तहमा पुगेपछि जनतालाई स्थानीय सरकार पनि दिईनुपर्छ। आम जनताका लागि सरकार भनेको स्थानीय सरकार हो र सिँहदरबारको सरकारसंग भन्दा स्थानीय सरकारसंग जोडिन जनतालाई सजिलो हुन्छ। स्थानीय सरकारको महत्व महाभूकम्पपछिको उद्धारमा देखिएको भद्रगोल र समन्वयहीनताले प्रष्ट पारीसकेको छ। संघीयता नामको नयाँ संरचनामा जाने भईसकेपछि पनि किन अहिलेनै स्थानीय चुनाव गराउनुपर्यो भन्ने लालबुझक्कडहरु पनि धेरै छन् देशमा, त्यसै भन्दाभन्दै एक दशक बिताईसक्यौं हामीले तर संघीय संरचना पूर्ण रुपले स्पष्ट भएपछि अहिले चुनिएका स्थानीय निकाय स्वतः विष्थापित भईनैहाल्नेछन्। 

सरकार भित्रका या बाहिरका, यतिखेर सबै दलले काम गर्ने र जनताको मन जित्ने बेला हो, जनताले मूल्यांकन गरीरहेका छन्। आगामी चुनावमा सबै दलले आ-आफ्नो काम अनुसारको ‘प्रमाणपत्र’ जनताबाट पाउनेनै छन्।

May 12, 2015

यो देश



यो देश
मेरो स्वत्व हो
र सतीत्व हो
यो देश मेरो अस्तित्व हो

मेरो विश्वाश हो
र आष्था हो
यो देश मेरो धर्म हो

मेरो माटो हो
र मुटु हो
यो देश मेरो धड्कन हो

मेरो गुञ्जन हो
र गुनगुन हो
यो देश मेरो प्रार्थना हो

मेरो उचाई हो
र गहिराई हो
यो देश मेरो बिस्तार हो

मेरो ईज्जत हो
र पहिचान हो
यो देश मेरो स्वाभिमान हो

मेरो जोश हो
र कोमलता हो
यो देश मेरो भावुकता हो

मेरो भाग्य हो
र रोजाई हो
यो देश मेरो रहर हो

मेरो सीमा हो
र सीमाहीनता हो
यो देश मेरो उडान हो

मेरो साधना हो
र सिद्धि हो
यो देश मेरो तपस्या हो

मेरो प्रस्थान हो
र गन्तब्य हो
यो देश मेरो यात्रा हो

मेरो विश्वाश हो
र आष्था हो
यो देश मेरो धर्म हो

मेरो स्वत्व हो
र सतीत्व हो
यो देश मेरो अस्तित्व हो ।
----------------------------------------

January 11, 2015

राष्ट्रनिर्माताको जन्मघरमा



 (तस्बीर साभारः Border Nepal Buddhi)

२०७१ सालको को नौरथाको षष्ठीका दिन साँझ सपरिवार गोरखा पुगियो

१५ वर्ष जति पहिलाको एउटा झरीमय दिनमा पहिलोपटक गोरखा पुगेको थिएँ। गोरखा बजारबाट हतारमा दरबार उक्लेर हतारमा झरिएको थियो। झरी परीरहेको हुनाले दरबार परिसर पनि पूरा घुमिएन। गोरखनाथको प्रसादको रुपमा रोट खाएर फर्किएका थियौं हामी केहि। त्यै सीमित गोरखा दरबार घुमाईको मेरो सम्झना पनि अत्यन्त मधूरो भईसकेको थियो। यसपालि बजारमै रहेको संग्रहालय भने घुम्न पाईएन, फूलपातीको दिनबाट दशैंका लागि बन्द हुने रहेछ।

गोरखा दरबार हामी नेपालप्रेमी नेपालीको तीर्थस्थल। यसपालि गोरखा दरबार जानु एउटा तीर्थाटन थियो मेरो लागि। उनकै जन्मघरमा उभिएर फेरि एक पटक राष्ट्रनिर्माताप्रति श्रद्धासुमन चढाउन चाहन्थें म, र त्यहीँ बसेर केहि बेर यो देशका बारेमा घोत्लिन चाहन्थें।
साँझ सात बजेतिर बस पार्कमा ओर्लिएर बास र गाँसको खोजी गर्ने र केहि खित्रिङमित्रिङ किन्ने क्रममा गोरखा बजारले त्यति राम्रो प्रभावचाहिँ दिएन। गोरखा बजार पेशेवर बनीसकेको रहेनछ अझै र यसैले ब्यावसायिक विनम्रता पनि बिल्कुलै भेटिएन। एक साँझको मेरो सीमित अनुभव पूरै सत्य नहुन पनि सक्छ, समग्र गोरखा बजारलाई अनुभूत गर्ने हो भने औसत चरित्र यस्तो नहुन पनि सक्छ।

भोलिपल्ट फूलपातीको दिन बिहानै उठेर दरबारतर्फ उकालो लाग्यौं। दरबारसम्म पुने सिँढीको अवश्था राम्रै मान्नुपर्छ तर (शायद) बलि दिनका लगिँदै गरिएका रांगा, बोका आदिलाई त्यो ठाडो सिँढीमा घिच्याएको दृश्यले भने मनलाई अशान्त पारिरहे। दरबारको नजिक पुगेपछि भने सिँढीमा जताततै रगत लतपतिएको देखिन्छ। दरबार परिसरमा रहेका मन्दिरमा दिईने बलिलाई अलिक ब्यवश्थित पार्नुपर्ने देखिन्छ। बलि ल्याउने-लाने बाटोनै फरक पार्न सके राम्रो हुन्छ। 

गोरखा दरबारबाट लगेर काठमाण्डौंमा भित्र्याइने फूलपातीको बारेमा बच्चैदेखि सुने-पढेकाले त्यो फूलपाती कसरी तयार पारिँदो रहेछ र काठमाण्डौं पठाउनुअघि के-के विधिविधान गरिँदो रहेछ भनेर हेर्ने उत्सुकता पनि थियो मनमा। दरबारको सुरक्षार्थ बसेका एकजना सैनिक भाइलाई सोध्दा अल्मलिँदो उत्तर दिए। त्यसपछि दरबार घुम्ने र तस्बीरहरु खिच्ने क्रममा अरु कसैलाई पनि सोधिएन, दरबार परिसरको अव्यवश्था देख्दा त्यहाँ फर्याकफुरुक गरीरहेका कर्मचारीजस्ता मान्छेहरुलाई केहि सोध्ने जाँगर पनि त्यसै मरेर गयो। 

दरबार परिसरमा हाम्रो पछिपछि एकजना १०-११ वर्षकी नानी आईन् र हाम्रो ‘गाइड’ बनिदिने प्रस्ताव राखिन्। त्यस्तो आवश्यकता त केहि थिएन तैपनि हामीले सहर्ष स्विकार्यौं। एकछिन उनी उनले हामीलाई पृथ्वीनारायण शाहको सिंहासन, पृथ्वीनारायण शाहलाई उनकी आमाले तेल घसिदिने ठाऊँ आदि देखाईन्। उनको ‘सहयोग’का लागि उनलाई धन्यबाद दिँदै उनलाई केहि रकम पनि दियौं र उनी खुशी हुँदै कतै लागिन्। दरबारभित्रको स्थिति झन् दयनीय रहेछ। साह्रै फोहर थियो र ती नानीले पृथ्वीनारायण शाहलाई उनकी आमाले तेल घसिदिने ठाऊँ’ भनेर देखाएको स्थानमा बोकाहरु बँधिएका थिए र तीनका अघिल्तिर स्याउला झुण्ड्याइएको थियो। ‘सिँहासन’ धूलो र माकुराको जालोले ढाकिएको थियो। एउटा राष्ट्रिय तीर्थस्थलको यो दुर्गतिले मनलाई कटक्क काटयो। दरबार पछाडिबाट देखिने मनोरम हिमशृंखलाको दर्शनले पनि दुखेको मनलाई निको पार्न सकेन। 

हामी नेपाली आफ्नो इतिहासको जगेर्ना गर्ने कुरामा बिल्कुलै ध्यान दिँदैनौं। इतिहासको जगेर्ना गर्न नजान्नाले नै वर्तमानमा हाम्रो यो दुर्गति भएको हो। इतिहासको जगेर्ना गर्नु, त्यसलाई वस्तुनिष्ठ ढंगले केलाउनु र त्यसबाट पाठ सिकेर अघि बढ्नु सभ्य राष्ट्रको विशेषता हो। हामी त्यो सभ्य स्वभावबाट अझै टाढै छौं। हामी हरेक कुरालाई भत्काउन, बिगार्न र माटोमुनि पुर्न उद्यत छौं। राष्ट्रनिर्माताको जन्मघरलाई त यस्तो वेवास्ता गरेका छौं हामीले भने अरु धरोहरलाई झन् सम्झिने कुरै भएन।

गोरखा दरबारलाई ऐतिहासिक पर्यटन गन्तब्यका रुपमा विकास गरिनुपर्छ। पर्यटक, विशेषगरी ऐतिहासिक रुपमा सचेत आन्तरिक पर्यटकहरु प्रशश्त तान्न सक्ने क्षमता छ यहाँ। अहिले कामै परेर बाहेक कोहि पनि गोरखा जाँदैन। पोखरा, चितवन वा लुम्बिनी जाने पर्यटकहरुको एकदम सानो अंशमात्रै गोरखा पस्छ, त्यो पनि चार-पाँच घण्टाभन्दा बढी समय नबिताई फर्कन्छ। पर्यटकहरुलाई एक दिन एक रात राख्न सक्ने पूर्वाधार र योजना पनि गोरखाले अझै बनाएको छैन। पर्यटकलाई पहिलो गन्तब्यकै रुपमा गोरखा तान्न सक्ने पूर्वाधार, योजना र पेशागत दक्षताको विकासमा गोरखा लाग्नुपर्छ।

गोरखा दरबारलाई सफा र ब्यवश्थित पार्ने काम पहिलो कदम हुनेछ त्यसका लागि। तत्पश्चात गोरखा दरबारमा राष्ट्रनिर्माताकै समयका पोशाकहरु लगाएर फोटो खिच्न सकिने सशुल्क ब्यवश्था गर्न सकिन्छ। राष्ट्रनिर्माताको जीवन, एकीकरण अभियान र तत्कालीन परिवेशसम्बन्धी केहि ऐतिहासिक चलचित्र र डकुमेण्ट्रीहरु दरबार परिसरमै देखाईने ब्यवश्था गर्न सकिन्छ। अर्को कदममा, गोरखा दरबार र वरिपरिका अरु ऐतिहासिक र धार्मिक स्थलहरु र प्राकृतिक सम्पदालाई जोडेर २-३ दिनको पर्यटन प्याकेज निर्माण गरिनुपर्छ।

अलिक ठूलो योजनाका रुपमा राष्ट्रनिर्माताको एकीकरण अभियानका बिभिन्न दिशाहरु पछ्याऊँदै अघि बढ्ने गरी गोरखा बजार-गोरखा दरबारबाट शुरु हुने (वा त्यहाँ आएर अन्त्य हुने) पदयात्रा मार्गहरुको पहिचान गर्न सकिन्छ। त्यस्ता पदयात्रा मार्गहरुमा थुप्रै ऐतिहासिक र प्राकृतिक सम्पदाहरु पर्ने कुरामा कुनै विवाद छैन र शुरु गर्न र ब्यवश्थित रुपमा सञ्चालन गर्न सकियो भने यस्ता पदयात्रा मार्गहरुले देशको ठूलो भूभागको आर्थिक गतिबिधिलाई गति दिन सक्नेछन्। अर्कोतिर लमजुङ, कास्की आदि ठाऊँमा रहेका शाहवंशीय वा त्यस अघिका दरबार र अन्य ऐतिहासिक संरचनाहरुलाई गोरखा दरबारसंग जोड्ने गरी एउटा परिपथ (सर्किट)को परिकल्पना पनि गर्न सकिन्छ। यी ठाऊँमा रहेका गोरखा दरबारभन्दापनि प्राचीन संरचनाहरु झन् संरक्षणवीहिन र बिजोग अवश्थामा छन्। यस्तो परिपथ बन्न सके ती संरचनाहरुको संरक्षणमा पनि केहि काम हुन सक्ने थियो। 

यिनै चिन्तनका साथ यो सानो लेखोटको बिट मार्न चाहन्छु।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहमा हार्दिक श्रद्धासुमन!