April 23, 2013

किताबमा गाता

छोरीका किताबहरुमा गाता हाल्दिँदै थिएँ।

दुई कक्षाको अंग्रेजी किताब देख्दा मलाई डर लाग्यो। झण्डै मैले आईएस्सीमा पुगेपछि पढेको स्तरको अंग्रेजी छ। कुरो फेरि एउटा विषयको मात्रै होईन। Science, Social Studies र Math नामका जिनिसहरु पनि अंग्रेजीमै पढाईने हुँदा भाषिक कठिनाई मैले १७-१८ वर्षको उमेरमा भोगेको कठिनाई छोरीले अहिल्यै भोग्नुपर्ने भयो। पोहर एक कक्षाका किताबहरुमा गाता हाल्ने क्रममा पनि यहि 'डर'बाट गुज्रेको थिएँ।  फेरि यी किताबहरु कदका साना पनि छैनन्।

म सोच्छु, स्कूलमा यी किताबहरुबाट के-के कुरा कसरी निकालेर पढाईएला? किनभने यी किताबहरु पूरै त के आधा पनि पढाउन गाह्रो होला हरेक पाठ पढाऊँदै जाने हो भने। फेरि एउटा बालमष्तिष्कले एक वर्षमा सिक्नसक्ने कुराको आफ्नै सीमा त हुन्छ नै। यसो भएपछि बालबालिकालाई चाहिने-चाहिने कुरामात्रै राखेर अलिक मसिना कदका किताब निकालेका भएपनि हुँदो हो प्रकाशक-विद्यालय सिण्डिकेडटले। त्यो कुरो कलिला नानीहरुका लागि शारीरिक र मानसिक दुबै तवरले राम्रो हुन्थ्यो।  कद घटाऊँदा मोल घटाउनुपर्ने र त्यसो गर्दा सबैतिरको नाफा-कमिशन घट्ने हुनाले किताब मोटै राखिएको बुझ्न गाह्रो छैन। 

बच्चाहरुको शिक्षामा उनीहरुलाई धेरै कुरा रटाउनेभन्दा पनि रचनात्मक-सृजनात्मक बनाउने र उनीहरुको सम्वाद कला निखार्ने उद्देश्य हुनुपर्छ।

हरेक वर्षको यो याममा प्रकाशक-विद्यालय सिण्डिकेटका बिभिन्न तमाशाहरु देख्न पाईन्छ, यी तमाशाहरुको आलोचना र विरोध पनि सुनिन्छन् तर तिनको सुनुवाई खासै हुँदैन, नेपाल न पर्यो। छोरी पढ्ने विद्यालयले विद्यालय प्रांगणबाटै किताब बेचेको भने थिएन (पोहर पनि थिएन)। किताबको सूचि उपलब्ध गराईएको थियो र किताब पाईने केहि पुस्तक पसलहरुको नाम पनि थियो सूचिमा। केहि 'छुट' पनि मिलेकाले किताब मैले पनि तिनै मध्येको एक पसलबाट किनें। बजार डुलेर किन्ने विचार पनि आएको थियो तर किताबहरु फरक-फरक प्रकाशनका हुनाले एउटा झ्याउलोनै हुने थियो त्यो, किनभने बजारका पसलेहरुले निश्चित प्रकाशकका किताबहरुमात्रै राख्छन् धेरैजसो। 

धेरै ठाऊँमा त अझै पनि विद्यालय प्रांगणबाटै किताबहरु भिडाईएका समाचारहरु आईरहेकै छन। केहि दिनमै हामीले ती कुराहरु पनि बिर्सिहाल्छौं अर्को चैतको अन्त्यसम्मका लागि। जनक शिक्षाले छाप्न ढिला गरेर कर्णालीमा पुस्तक नपुगेको समाचार भने वर्षैभरि आईनैरहनेछन् बेला-बेला। कतिपय विद्यार्थीहरु पाठ्यपुस्तकको मुखै नदेखी अन्तिम परीक्षासम्म पुग्ने छन्। 

यो देशमा धेरै बच्चाहरुले किताब पाऊँदैनन्, किताब पाएका बच्चाहरुका किताब पनि उनीहरुका उमेर सुहाऊँदा छैनन्। देशको भविष्य बच्चाहरुले पाउने शिक्षामा निर्भर हुन्छ। बच्चाहरुको शिक्षाको एउटा प्रमुख साधन किताब हो, जब किताब भेटिन्न वा गतिलो भेटिन्न तब असर पर्ने भनेको देशको भविष्यलाई हो। 

April 09, 2013

प्याराग्लाईडिङ्ग अनुभव

पोखरा देशको पर्यटकीय राजधानी। यहि परिचयमा हवाई खेलकूदको राजधानीरुपी परिचय थपिएको पनि धेरै भइसक्यो। प्याराग्लाइडिङ्ग, अल्ट्रालाईट, जिप फ्लाएर आदिमध्ये पनि प्याराग्लाइडिङ्गले लोभ्याएको धेरै भईसकेको थियो। हरेक दिन बिहान नौ-दश बजेबाट पोखराको आकाशमा तैरिने रंगीचंगी ग्लाईडरहरु हेरेर धेरै बसियो, जाने मेसो अस्ति शनिबार बल्ल जुर्यो। पोखरा वरिपरिका अरु डाँडाहरु र पर्वत जिल्लाका डाँडाहरुमा पनि शुरु भईसकेको छ यो खेल अहिले।      

सूर्योदय हेर्नका लागि लोकप्रिय गन्तब्य सराङकोटको टुप्पो अलिक नपुग्दैको एउटा पाखोमा रहेछ मलाई उडाउन लाने 'सराङकोट प्याराग्लाइडिङ्ग कम्पनी'को 'साइट'। फेवातालतिर फर्केको पाखोमा रहेछ यो साइट। १२ वर्ष अघि एकजना बेलायतीले भित्र्याएको प्याराग्लाईडिङ्गका लागि अहिले पोखरामा १२-१३ कम्पनीहरु तयार भईसकेछन्, प्याराग्लाइडिङ्ग लोकप्रिय हुँदै जाने क्रममा यी सबै कम्पनीहरु वर्षैभरि जसो ब्यस्त हुन्छन् रे मलाई उडाउने पाइलटका अनुसार। उनीचाहिँ एउटा बोर्डिङ्ग स्कूलको जागिर छोडेर त्यहि बेलायतीको कम्पनीमा काम गरेर यताको यात्रा शुरु गरेका छन्। अहिले उनी र अरु दुई साझेदार मिलेर यो कम्पनी चलाऊँदा रहेछन्। पाइलटहरुचाहिँ विदेशी र नेपाली दुबै रहेछन्। उनका अनुसार प्याराग्लाइडिङ्गमा झण्डै हवाइजहाजकै स्तरका नीति-नियमहरु छन् र नागरिक उड्डयन प्राधिकरणको अनुमति चाहिन्छ। पाइलटको रुपमा काम गर्न चाहनेले ग्लाइडरलाई उडाउन र नियन्त्रण गर्न जानेर मात्र पुग्दैन। ऊ शारीरिक रुपले स्वस्थ र 'फिट' हुनुपर्ने त छँदैछ, पौडीमा पनि पोख्त हुनुपर्दोरहेछ।

उड्ने बेलामा यात्रु अगाडि र पाइलट पछाडि बस्छन्। "मैले 'वाक्' भन्दा हिँड्न थाल्नुस् र 'रन्' भन्दा दौडन थाल्नुस्। 'टेक अफ'को बेलामा अलिक बल लगाएर मलाई तान्नुहोला।" भन्ने निर्देशन थियो मलाई। अलिक बढीनै बल लगाएछु, त्यसैले केहि सेकेण्डका लागि अघिल्तिर बढी झुकेछु तर त्यसले खासै फरक पारेन। ग्लाइडरले एकछिनमै उचाई लियो र म चरा बनेर पोखराको सौन्दर्यपान गर्न थालें।

उचाई लाग्नेहरुलाई वाकवाकी र बान्ता हुने पनि हुन्छ रे कहिलेकाहिँ।

आकाशमा ६०-७० को संख्यामा उडिरहेका थिए ग्लाइडरहरु, एकापसमा ठोक्किएलान् जस्तो गरी। फेरि गिद्धहरु पनि प्रशस्त उड्नेरहेछन्। पाइलटका अनुसार जहाँ गिद्धहरु कावा खाईरहेका हुन्छन्, त्यहाँ हावाको उर्ध्वगामी दबाब बढी हुने रहेछ र त्यहाँ ग्लाइडरलाई लगेपछि त्यसले थप उचाई लिँदो रहेछ। दुई हातले समातिएका दुई डोरीको भरमा पूरै नियन्त्रण गरिँदो रहेछ। फोटो र भिडियो खिच्ने ब्यवश्था पनि हुने रहेछ ग्लाइडरमै, एउटा लामो 'अंकुशे'को टुप्पामा फिट गरिएको क्यामेरको मद्दतले। 

३० मिनेटजतिको 'उडान'पछि फेवाको शिरतिर 'ल्याण्डिङ्ग' गरियो।

उड्नलाई रु.५,६५० र फोटो-भिडियोको लागि रु. १,७०० को रकम भने 'नेपाली खल्ती' का लागि 'डरलाग्दै' मान्नुपर्छ, तर यो 'चरा अनुभव' पनि कम मोलको चाहिँ अवश्य लाग्दैन।

March 31, 2013

चार दलीय सिण्डिकेटको लोकमान एजेण्डा

देशलाई चार दलीय सिण्डिकेटको आधिनायकवादमा लगिँदै गरेको प्रष्ट देखिँदैछ यतिखेर।

देशमा देखाउनलाई खिलराज रेग्मीको अध्यक्षता (प्रधानमन्त्रीत्व)को काम चलाऊ माथिको कामचलाऊ सरकार छ, पूर्व प्रशाशकहरुले भरिएको। काम गराई यो सरकारको पनि पहिलाका सरकारको भन्दा फरक छैन। यी पनि उद्घाटन र रिबन कटाईमा ब्यस्त भएर रमाउन थालेका छन्। यो सरकार बन्ने बेलामा चलाईएको 'असारे हल्ला' कसैले पत्याएकै थिएन, असारमा त के मंसिरमे पनि चुनाव होला भनेर धेरै नेपालीलाई विश्वाश छैन। अब बिस्तारै, नेताहरु आफैं 'सके असार, नसके मंसिर' भनेर 'मंसिरे' हल्ला चलाउन थालीसकेका छन्। 

यो सरकार चलेको पारा हेर्दा र यसले गरेका निर्णयहरु हेर्दा यो क्याश माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको मोहरा जस्तो मात्र देखिन्छ। आफैं सामुन्ने देखिएर अनेकथरी कुकर्महरु गरेर गाली धेरै खाईसकेपछि अब यिनीहरु खिलराज एण्ड कम्पनीको पछिल्तिर लुकेर बन्दूक चलाउन चाहन्छन्। खिलराज एण्ड कम्पनीको काँधले कतिञ्जेल यिनीहरुको बन्दूक थाम्न सक्ने हो थाहा छैन! अब देश खेतीपाती र वर्षातको यामतिर जाँदै गरेकोले आऊँदो तिहारसम्म त 'खिलराज्य' रहने कुरामा कुनै शंका रहेन।    

यिनीहरु सबैभन्दा ठूला चार दल (शक्ति) ठान्छन् आफूलाई, तर यतिखेर कसको हैसियत के छ त्यो कुरा चुनावले मात्र बताउन सक्छ, त्यो पनि निष्पक्ष र भयमुक्त वातावरणमा हुने चुनावले मात्र। त्यसैले यिनीहरुले अरु दललाई अहिलेसम्म गरिआएको 'उपेक्षा'को कुनै तुक छैन। यदि यिनीहरु, राष्ट्रपति र स्वयं खिलराज देशको राजनितिक अन्यौलका प्रति साँच्चै गम्भिर थिए र उनीहरुले साँच्चै सही समाधान चाहेका थिए भने अरु सबैलाई पनि यो प्रकृयाको शुरुदेखिनै संलग्न गराऊँदै लान सक्थे। तर त्यस्तो आशय अलिकति पनि देखिएन।

र यो सरकार 'चुनाव र एकमात्र एजेण्डा चुनाव'का लागि बनेको हो भने यसले चुनावसंग असम्बन्धित राजनीतिक नियुक्तिमा किन हतार गर्नुप-यो। अहिलेसम्म खाली राखिएका अख्तियार, लोकसेवा र महालेखा आदि अरु दुई-चार महिना खाली राखेर के हुन्छ? चुनावपछि आउने जनादेशप्राप्त 'वास्तविक' सरकारले भर्छ ती ठाऊँहरु। अहिले त चुनावका लागि नभईनहुने नियुक्तिहरु मात्रै गरे हुन्न?

यो नियुक्तिका खेलहरुमध्ये अख्तियारभित्र लोकमानलाई लाने खेल त अत्यन्त दुराशययुक्त छ। तीन करोड नेपालीमा हाम्रा नेताहरुले अख्तियार आफैंले डामेको लोकमानजस्तो भ्रष्ट र दमनकारी सामन्तीलाईनै सर्वश्रेष्ठ देखेका छन्। कति लाजमर्दो नियति हामी नेपाली र नेपालको! 

शुरुमा लोकमानलाई क्याश माओवादी र विशेष गरी प्रचण्डलेमात्र बोकेको जस्तो देखिन्थ्यो तर लोकमानको खुट्टाको पानी सबैले खाईसकेका रहेछन्। एमालेभित्र वामदेव एण्ड कम्पनीले लोकमानको पक्षमा दह्रो वकालत गरे। आजको कान्तिपुरमा विमलेन्द्र निधिसंगको अन्तर्वार्ता पढेपछि यस्तो काईते नियुक्ति रोक्न कांग्रेसले चाहिँ केहि गर्ला कि भन्ने मेरो आशाको पनि मैले दाहसंस्कार गर्दिएँ। मधेशी मोर्चाबाट त झन् केहि आशै नगरे हुन्छ यस्ता कुरामा।

यी चारै दलभित्र भ्रष्टहरुको हालीमुहाली छ र यिनीहरुलाई लाग्दैछ कि कोही ईमान्दार र साहसी मान्छे अख्तियारको नेतृत्वमा पुग्यो भने आफूले जोडेको अकूत सम्पत्तिको छानबीन हुनेछ, आफ्ना अनगिन्ती कर्तूतहरुको छानबीन हुनेछ, र चिरञ्जीवि वाग्ले, खुमबहादुर खड्का र जे. पी. गुप्ताको हालतमा पुगिनेछ। यसैले यिनीहरु चुनावअघिनै अख्तियारमा आगो लगाईहाल्न चाहन्छन्, के थाहा अर्को सरकार कस्को र कस्तो बन्छ? अख्तियारमा आगो लगाउन र नेपाली चेतनाको बेईज्जत गर्नका लागि लोकमान सिं कार्कीभन्दा 'सुयोग्य' अरु को?

त्यसैले हुने भनिएको आगामी चुनावले ममा कुनै उत्साह जगाउन सकेको छैन। ममात्र होईन, मेरो वरिपरिका हरेक मान्छेलाई यस्तै मनस्थितिमा देखिरहेको छु म, यो देशले नेता, दल र राजनीतिको विश्वाश गर्न छोडिसकेको छ। अहिलेको 'अराजनीतिक' र 'प्रशाशक' सरकारप्रतिपनि जनतामा एकदमै झिनो भरोसामात्रै थियो र यसमाथि दलहरु हावी हुनथालेपछि त्यो झिनो भरोसाले पनि परमधामको बाटो लिँदैछ चाँडैनै।  फेरि नेपालको प्रशाशनयन्त्र पनि कुनचाहिँ गतिलो छविको हो र?

मैले फोटो सहितको परिचयपत्र अझै बनाएको छैन, चुनावप्रतिको अनुत्साहले पनि रोकिरहेको छ अलि-अलि। मलाई थाहा छ, त्यो मेरो अधिकार हो र मैले मेरो अधिकारको उपभोग गर्नैपर्छ। फेरि त्यो चुनाव र मतदानभन्दा परको राष्ट्रिय परिचयपत्र पनि हो र अवश्य बनाउने छु। तर आगामी चुनाव (भईहाल्यो भने!) मा मैले कसका लागि त्यो मेरो हकको सदुपयोग गर्ने? जसलाई मत दिए पनि त्यो 'दुरुपयोग'भन्दा बढी केहि नहुने देख्दैछु! 'लोकमान एजेण्डा' बोकेको चार दलीय सिण्डिकेटलाई त मैले ९९ प्रतिशत माईनस गरीसकें।

यो सिण्डिकेट बाहिर छ कोहि योग्य?????????     

March 24, 2013

रोगहरु र 'भूपीकरण'को नयाँ रोग

विश्व साहित्यमा के कसो छ कुन्नि, तर नेपाली साहित्यमा भने कवितालाई 'सबैभन्दा धेरै लेखिने' र 'सबैभन्दा कम पढिने' बिधाको रुपमा लिईन्छ।

यतिखेर, यसले माथि उल्लेखित आफ्ना दुई उपाधिहरुमध्ये 'सबैभन्दा धेरै लेखिने'लाई भने गुमाउनै थालीसकेको हो कि जस्तो पनि लाग्छ मलाई त।

अचेल मेरा धेरै शनिबारहरु पोखरामा नियमित भईरहने कुनै न कुनै साहित्यिक कार्यक्रमहरुमा सहभागी भएर बित्छन्। मुक्तक वा गजलकै लागि भनेर आयोजित कार्यक्रमहरुमा कविता वाचन हुने कुरो भएन तर मुक्तक, गजल, कविता, गीत आदि जे वाचन गरेपनि हुने 'साझा' कार्यक्रमहरुमा कविता अत्यन्त थोरै वाचन हुन्छन्। वाचन गरिएका रचनाहरुको उग्र बहुमतमा जहिले पनि गजल हुन्छ। हुनत, गजलमै पनि धेरैजसो क्षणिक वाहवाही र तालीका लागिमात्रै लेखिएका अल्पायु हुन्छन् तर कूल संख्या धेरै भएपछि गुणस्तरीय रचनाको पनि संख्या बढ्ने सम्भावना त हुन्छ नै।  नेपाली गजलको यतिखेरको आँधी र बाढीले कुन दिशा लिन्छ, त्यसलाई भविष्यकै जिम्मामा छोडौं अहिलेलाई र कुरा गरौं कविताकै। 

नेपाली कविताको एउटा प्रमुख समस्या भनेको जसले पनि कविता लेख्ने, जे विषयमा पनि कविता लेख्ने र जे लेखे पनि त्यसलाई कविता देख्ने हो। कसैले लेख्न पाउने अधिकारमाथिको हस्तक्षेप होईन यो, केवल मैले देखेको कुरालाई यहाँ लेखेको हुँ। लेख्न सबैले पाऊँछन्, त्यसमा सन्देह छैन तर 'जे पनि लेख्ने' धेरै हुँदै जाँदा मान्छेले त्यो विधालाई गम्भीरतापूर्वक लिन छोडिदिन्छन्। पद्य कवितामा यो समस्या धेरै देखिँदैन, त्यसमा एउटा स्पष्ट नियम र सीमामा बस्नुपर्ने हुन्छ तर गद्य कवितालाई भने मान्छेहरुले शैलीगत अराजकताको पर्याय बनाएका छन्। बिम्बहरुलाई घचेटघाचट-ठेलमठेल गराएर हरफहरुलाई लामो-छोटो बनाएपछि कविता बनिहाल्छ भन्ने मान्यताले जरा गाडेको छ, कतिपय 'कविता' त सामान्य कुराकानीका अंश जस्ता पनि लाग्छन्। मान्छेहरु के बुझ्दैनन् वा बुझेर पनि बुझ पचाऊँछन् भने जतिसुकै 'स्वच्छन्द' वा शैलीगत स्वतन्त्रता बोकेको भए पनि गद्य कविताले चिनिने 'आधुनिक' शैलीका हरेक 'सफल' कवितामा एउटा आन्तरिक शैली र लय स्पष्ट देख्न सकिन्छ। कविता 'प्राविधिक' विधा होईन, यो एउटा विशुद्ध भावनात्मक विधा हो र यस्तो विधालाई कुनै न कुनै स्पष्ट लय र शैलीबिना प्रस्तुत गर्नै सकिँदैन; कवितापिच्छे छुट्टै शैली र लय होला, त्यो बेग्लै कुरो हो। 

यसैले कवितामा भावनाको प्रधानता हुनुपर्छ, घटनाको होईन। कुनै घटनाले उब्जाएका भावलाई कविताले बोक्ने क्रममा घटनाहरु उल्लेख गर्नैपर्ने भएपनि सकेसम्म कम हुनुपर्छ। कवितामा घटनाक्रमहरु बढी ओईरिए भने त्यो कुनै निबन्ध वा कथाजस्तो बन्छ, अझ बिग्रेको स्थितिमा 'बिग्रेको समाचार' बन्छ। हुनत, निबन्ध वा कथापनि मानव भोगाई र भावनालाई ब्यक्त गर्ने बिधाहरु हुन् तर ती अलि बढी 'प्राविधिक' र घटनाप्रधान हुन्छन्। तिनको एउटा स्पष्ट उद्देश्य हुन्छ, आफ्नो सन्देशलाई जसरी हुन्छ आफूले चाहेजसरी ब्याख्या गरेर पेश गर्नका लागि ती काम लाग्छन्। उपन्यास तिनैको संयुक्त र विस्तारित रुप हो। तर कवितामा त्यस्तो ब्याख्या हुनुहुँदैन, कवितालाई आफूले चाहेजसरी ब्याख्या गर्न पाठकहरुले मात्र पाऊनुपर्छ, स्वयं कविले पनि पाउनुहुँदैन। कविले कविताको आत्मा सृजना गरेर छोडिदिनुपर्छ र त्यसमा शरीर भर्ने काम पाठकहरुले गर्न पाउनुपर्छ। कविको काम झिल्का फ्याँकिदिने हो, आगो बाल्ने काम कविताका पाठकहरुको हो। यसैले कविताहरु छोटा हुनुपर्छ। यो मेरो ब्यक्तिगत मान्यता हो, असहमति जनाउन यहाँहरु स्वतन्त्र हुनुहुन्छ।    
    
कविता लेखनमा नेपालका धेरै नेताहरु र प्रशाशकहरुको पनि अचम्मलाग्दो 'लोभ' देखिन्छ। तीमध्ये थोरैले मात्र राम्रो लेख्छन्, धेरैले चाहिँ कविताकै बेईज्जती लेख्छन्। यो कुरो बेग्लै हो कि आफ्नो पहुँच र चिनजान प्रयोग गरेर तिनीहरुले सजिलै प्रकाशित हुने अवसरहरु भने पाईरहन्छन्। कतिपय कार्यक्रमहरुमा यस्ता नेता र प्रशाशकहरुका पट्यारलाग्दा लामा टपर्टुईँया 'कविता'हरु सुन्न बाध्य भएको छु म। ती कुनै समाचारजस्ता लाग्छन्, कुनै 'बिग्रेका' कथाजस्ता लाग्छन् र कुनै त के हुन् पत्तै हुँदैन। यो लोभ कहिलेकाहिँ 'राम्रा' र 'स्थापित' कविहरुमा पनि पलाऊँदो रहेछ क्या र। २-३ शनिबार पहिलाको कान्तिपुर कोसेलीमा श्रवण मुकारुङ्गको 'शिवले पिसाब फेरेको---' कविता छापिएको थियो। उनको त्यो कविता उनका यस अघिका कविताहरुको उचाईलाई बिल्कूल नसुहाउनेगरी बाउन्ने थियो। उनले प्रयोग गरेका बिम्बहरु हामीले बुझ्दैनौं होला वा यो बिम्बहरुको नयाँ प्रयोग होला जो हामीजस्ताको दिमागको वशमा छैन होला-यो स्विकार्न पनि सकिन्छ, तर शैलीका हिसाबले पनि त्यो एउटा कविताजस्तो बिल्कूलै छैन। कुनै दन्त्यकथाका हरफहरुलाई लामोछोटो बनाएर पेश गरेजस्तो छ। उनले यसलाई दन्त्यकथा, नीतिकथा वा लघुकथाको रुप दिएको भए बरु बेश हुन्थ्यो होला। फेरि यो कविताले कविता कन्सर्टमा ब्यापक 'वाह! वाह!!' र ताली अनि पुरस्कार पनि पाएको हो रे। त्यो 'वाह! वाह!!' र ताली त्यो 'कविता'मा जम्मा गरिएका केहि उट्पट्याङ्ग शब्दहरुको उट्पट्याङ्ग प्रयोगले पाएका हुन् भन्ने मेरो ठहर छ, पुरस्कारचाहिँ कुन निर्णायकले किन दिए भेऊ पाउन सकेको छैन।

साहित्यिक रचना छाप्ने कुरामा कोसेली र नेपालका अरु धेरै पत्रिकाहरु रचनाभन्दा पनि रचनाकारको अनुहार र पहुँच-चिनजान हेरेर निर्णय लिने हुँदा कोसेलीमा कविता छापिनुपनि अर्को अनौठो भएन। 

नेपाली कवितामा थपिएको नयाँ रोगचाहिँ आपसी 'भूपीकरण' को हो। राजधानीका साहित्यिक सिण्डिकेटहरुमा ब्यापक रुपमा फैलिईरहेको यो रोगको लक्षण के हो भने 'क' ले 'ख' लाई 'तँ त आजभोलिको भूपी होस्।' भनिदिन्छ, 'ख' ले 'ग' लाई 'हाम्रो जमानाको भूपी तैं होस्।' भनिदिन्छ र फेरि 'ग' ले 'क'लाई 'भूपीको खास उत्तराधिकारी तैं होस्।' भनिदिन्छ। यसरी "तैं बाहुन, मै बाहुन---" को शृंखला चलीरहने क्रममा पाँच-सात जनाबाट 'भूपी'को उपाधि पाएपछि कुनै 'कवि' आफूलाई साँच्चिकै 'भूपी' ठान्नथाल्छ र आफैंपनि आफूलाई भूपी घोषणा गर्नथाल्छ। यसरी अहिले नेपाली कविताबजारको सिण्डिकेटमा दारुपानमित्रघोषित र स्वघोषित 'भूपी'हरुको बिगबिगी छ।

म भूपीलाई अत्यन्तै श्रद्धा गर्छु। उहाँले नेपाली कवितालाई एउटा नयाँ उचाई र एउटा सुन्दर आयाम दिनुभएको छ। उहाँका कविताहरु नेपाली भाषाको सौन्दर्य, मिठास र शक्तिका अनुपम उदाहरण हुन्। अब अर्को कवि भूपी हुनसक्दैन तर उहाँजत्तिकै प्रभावशाली भने बन्नसक्छ। कुनै कवि भूपीजत्तिकै प्रभावशाली होला, उसले त्यस्तै उचाई छोला तर ऊ भूपीकै 'फोटोकपी' बनेर हिँड्दा भने त्यो सम्भव छैन। हरेक कविको आफ्नै छुट्टै विशिष्टता हुन्छ, छुट्टै शैली-लय हुन्छ र ऊ फैलिने छुट्टै आयाम हुन्छ। आफूलाई आफ्ना समकालीनहरुभन्दा  'पृथक' र उम्दा देखाउन बलजफ्ती गरिने यस्ता 'भूपीकरण' हरुको हावादारीतामा कुनै शंका छैन। 

यसरी नयाँ-नयाँ रोगहरु थपिँदै गएपछि नेपाली कविता कसरी 'निरोगी' होस् तः)

March 19, 2013

प्रतिवद्धता

काम विशेषले दुई दिन काठमाण्डौंमा हुने क्रममा हिजो दिऊँसो दिलिप दाइ, श्वेता बहिनीधाइबा भाइसंग गफगाफ भयो एक-डेढ घण्टा। र म ब्लगमा नियमित नभएको कुरो निक्लियो।

कुरो ठिक हो, म नियमित छैन र म आफैं पनि आफैंसंग गुनासो गरीरहेछु। भरपर्दो र निरन्तरको इण्टरनेट नहुनुलाई मैले एउटा बहाना बनाएको छु तर यसो हेर्छु मैले आफ्नो समय र उर्जालाई अचेल फेसबुक (र अलिअलि ट्विटर)मा विवाद गर्नमा धेरै खर्च गरीरहेछु। यदाकदा त ठिकै हो तर त्यस्ता विवादहरुमा धेरैजसो उत्तेजना र भावनामा बहेर लेखिन्छ र यसैले सूझबूझपूर्ण कमै लेखिन्छ। त्यसैले त्यो समय र उर्जालाई फेरि ब्लगतिर सोझ्याउन जरूरी भैसकेको देख्छु।

आज यहि प्रतिबद्धता ब्यक्त गर्न यहाँ उपश्थित भएको छु। आफ्नो 'अनलाइन' उर्जाको ठूलो हिस्सा फेरि ब्लगकर्मलाई दिनेछु।


February 24, 2013

गजलसंग्रहहरुको परिचर्चाबाट फर्केपछि

लेख्ने कुरा धेरै भएपनि लेख्न सकिएको छैन। समय मिलेको छैन, एउटा बहाना सधैंझैं त्यसैलाई बनाउन सकिन्छ। अर्को कुरो, लेख्ने थोरै फुर्सद फेसबुकले लिईदिन्छ। त्यतै वादविवादमा अल्झेर उर्जा सिद्धिन्छ। हुनत, राजनीतिक वा अन्य कुनै मुद्दाका बहसमा त्यता अल्झिए आफ्नो दैनिकीका अलिक 'रचनात्मक' पाटाहरुलाई यता ल्याउन पनि सकिन्थ्यो, वा राजनीतिक मुद्दाकै बारेमा अलिक विश्लेषणात्मक हुन सके पनि राम्रो हुने थियो। मेरो आलस्यनै होला, यी सब हुन नसक्नुको प्रमुख कारण।

अध्यापनको 'जागिर' र अरु पेशागत कामले दिनको ठूलो हिस्सा लिनेनै भए। परिवारले माग्ने हिस्सा छँदैछ। बचेको समयमा केहि कार्यक्रमहरुमा भाग लिन पाएर खुशीनै लागेको छ। क्याम्पसमा विद्यार्थीहरुका Talking Mind, Robotics Club र साहित्यिक सञ्जालजस्ता समूह/संस्थाहरु छन्। दलीय राजनीतिको छुद्रताबाट बाट यी बिल्कूलै अलग छन्, यसैले यिनका गतिबिधिहरु रचनात्मक हुन्छन् र सुन्दर हुन्छन्। यस बीचमा यी तीन रचनात्मक र उर्जावान संस्थाहरुका कार्यक्रममा सहभागी भईयो। भोलि कुनै दिन मेरो अध्यापन जीवनका सबैभन्दा स्मरणीय दिनहरु रोज्नुपर्यो भने यस्ता संस्थाहरुका कार्यक्रममा प्रस्तोता वा सहभागी-जुनसुकै हिसाबमा बिताईएका क्षणहरु मेरो रोजाईको सूचिको शीर्ष स्थानतिर हुनेछन्। 

क्याम्पस बाहिरको कुरा गर्दा पोखरेली युवा साँस्कृतिक परिवारले हरेक महिनाको पहिलो शनिबार दिऊँसो आयोजना गर्ने समता काब्य सन्ध्यामा नियमित हुन थालेको छु एक वर्ष यता। वि सं २०३४ सालदेखिको इतिहास बोकेको संस्थाको यो कार्यक्रम नेपाली कविताको एउटा ज्यूँदो-जाग्दो पाठशाला हो। हरेक महिनाको अन्तिम शनिवार मुक्तक मञ्च-पोखराको आयोजना हुने मुक्तक वाचन कार्यक्रममा पनि नियमितनै छु म, डेढ वर्ष यता।

गजल सन्ध्याले हरेक महिनाको दोश्रो शनिवार आयोजना गर्ने गजल वाचनमा भने अहिलेसम्म जम्मा एक पटकमात्रै पुगेको छु। हरेक महिनाको तेश्रो शनिवार आयोजना हुने अक्षर यात्रामा पनि जम्मा एक पटकमात्रै सहभागी हुने मेसो परेको छ।

आज गजल सन्ध्याको आयोजनामा तीनवटा गजलसंग्रहरुको परिचर्चा र वृहद् गजल वाचन कार्यक्रम भएको थियो। परिचर्चित कृतिहरु अमला अधिकारीको 'आगो' (परिचर्चाकार-कृष्ण उदासी), मनोज न्यौपानेको 'अन्तिम' (परिचर्चाकार-ईश्वरमणि अधिकारी) र पुरु लम्सालको 'आधा जलेको खप्पर' (परिचर्चाकार- रुपिन्द्र प्रभावी 'कटु') थिए। अहिलेका चर्चित यी युवा हस्ताक्षरहरुका साहित्य र गजलसम्बन्धी धारणाहरु सुन्न पाईयो। कार्यक्रमका प्रमुख अतिथि सरुभक्तज्यू र विशिष्ट अतिथि ज्ञानुवाकर पौडेलज्यूका सरगर्भित वक्तब्यहरुबाट धेरै कुरा थाहा पाईयो। 

कार्यक्रमको दोश्रो सत्रको 'वृहद् गजलवाचन' लाई तीनवटा एफएमले प्रत्यक्ष प्रसारण गरेक थिए। एउटा गजल मैले पनि वाचन गरें, "फेरि बादल र वर्षातको याम आएको छ--" भन्ने। धेरै उत्कृष्ट गजलहरु वाचन गरिएका थिए। विशेष कारणवश कार्यक्रममा पूरै समय बस्न नपाएकाले ज्ञानुवाकरज्यू र परिचर्चित गजलकारहरुले गजल वाचन गरेको सुन्न पाईएन।