October 23, 2012

छोरीको देश

यो दशैं र छोरीको देश


विजयादशमी-२०६९ को उपलक्षमा यहाँहरु सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। तपाईँहरु सबैको जिन्दगीमा यो दशैंले अझ धेरै आनन्द, अझ धेरै सफलता र अझ धेरै समृद्धि ल्याओस्। 

यसै प्रसंगमा, हालसालै लेखिएको यो एउटा कविता यहाँहरु समक्ष राख्ने अनुमति चाहन्छु। 

छोरीको देश

October 17, 2012

किताब बटुल्दै

असोजको पहिलो साता भएको एनसेल साहित्य महोत्सवका केहि सत्रहरु हेर्न पुगेको थिएँ। जगदीश घिमिरेको 'सकस' र मनु मन्जिलको 'ल्याम्पपोष्टबाट खसेको जून' किनेपछि प्रज्ञाको माथिल्लो तल्लामा पुगेर डायमण्ड शमशेरका दुई उपन्यास र समकालीन साहित्यको पछिल्लो अंक पनि झोलामा कोचें।

त्यसपछि हालसालै सकिएको साझाको पुस्तक प्रदर्शनीबाट पनि केहि किताबहरु उठाईयो। काठमाण्डौंको जस्तो तामझाम र होहल्ला नभएपनि पोखराको (र देशभरका) साझाको बितरण कार्यालयले छुट भने उत्तिकै दिएको थियो। साझाका प्रकाशनहरुको मोल एकदम कम हुन्छ। थोरै पैसामै नेपाली साहित्यका उत्कृष्ट कृतिहरु पाउन सकेपछि 'महंगो भयो!' भन्ने बहाना गर्नु 'म पढ्न चाहन्न।' भन्नुमात्रै हो। भूपि शेरचनको 'घुम्ने मेचमाथि अन्धो मान्छे' को मूल्य जम्मा ३४ रुपियाँ, शंकर लामिछानेको 'एब्स्ट्रयाक्ट चिन्तनःप्याज' को ३५ रुपियाँ, यी मूल्यमा पनि २५ प्रतिशतको प्रदर्शनी छुट। यी अनमोल किताब सित्तैंमा दिए बराबर हो।  

धेरै नपढेका किनियो, 'माधवी' जस्ता केहि पढीसकेका पनि फेरि पढ्न र नीजि संग्रहमा राख्न किनियो। छोरीका लागि बालसाहित्यका किताबहरु पनि थुप्रै किनियो। साना कदका र विशेष गरी कविता संग्रहहरु पढेर भ्याईयो। अरु पढ्न बाँकीनै छन्। 

बटुल्दै जाम्, पढ्ने समय पनि मिल्दै जाला नि!

October 10, 2012

पाठक मञ्चमा दुई टुक्रा

गत असोज ४ र असोज १५ मा कान्तिपुर दैनिकको पाठक मञ्च खण्डमा छापिएका दुई टुक्राहरु क्रमैसंग राखेको छु आज।



October 03, 2012

दौरा सुरुवाल कोट




पटक पटक आफैंलाई
लिलाम बढाबढमा राखेर कमाएको
मूल्यसूचि छातीभरि टाँगेर
भत्ताको हड्डी चुस्दै
आजपनि भुक्न निस्केको छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट,

शहरले श्वाश फेरेको मनपराऊँदैन
दौरा सुरुवाल कोटको सभामा
अक्सिजनमा कोटा लगाउने भाषण गर्छ
रिसाएको छ समयसंग
त्यसैले समयलाई पक्राउ गर्ने प्रस्तावमा
दशै औँलाको छाप ठोक्छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट,

रगतरंगको रक्सीले धर्मराऊँदै
जेठी,माइली, साइलीहरुलाई सराप्छ
(
पालैपालो धोका दिएको उसैले हो!)
र नम्बर नखुलेकी कान्छीको ढोका ताक्छ,
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट,  

 
नसकेपछि सामना गर्न
कान्छीको बैँशको चुनौती
वर्तमानको नाममा
एक आमाचकारी गाली छादेर
मूर्दाझैं लम्पसारिन्छ-
इतिहासले पाखा लगाईसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट।
  
(डिसेम्बर २००६, खासुगाई, जापान)

September 19, 2012

एउटा पूरानो गजल


एक जमानामा साझा डट कम मा गजलको अभ्यास गरिन्थ्यो, त्यहि 'जमाना' को 'ब्याज' आजः)

आँशुको तालमा अझ सर्प पसी डस्दैछन्
थोरै अँध्यारो के आयो, ढुकी ब्वाँसा बस्दैछन्

मान्छे हो सावधान, रगतको त्यो इन्द्रेणी!
झूटो नाच्दै कागजी मुजूर बस्ती पस्दैछन्

वासी युग गन्हाऊँछ पिशाची अट्टहास
तैपनि बजारको नयाँ अत्तर घस्दैछन्

जग भास्सि'सक्यो मालिकको शालीकको
दासहरु अझै गजूरको पेच कस्दैछन्!

बोकिएछ बित्थामा अरुकै पापको भारी
आँखाका काला पर्दा आज च्यातिँदै खस्दैछन्।


(नोभेम्बर १, २००५; नागोया, जापान)

September 11, 2012

दिवास्वप्न

अघिल्लो शताब्दीका प्रसिद्ध भारतीय बालशिक्षाशास्त्री गिजुभाईद्वारा रचित 'दिवास्वप्न' पढ्ने मेसो मिल्यो केहि दिन अघि। साँच्चैनै कुनै सुन्दर स्वप्न देखेजस्तै लाग्यो पढीसकेपछि। बालशिक्षामा कार्यरत ब्यक्तिहरु र  घरमा हुर्कँदा बच्चा भएका बाऊआमाले साथै राख्न र गम्भिरतापूर्वक बेला-बेलामा पढीरहनुपर्ने पुस्तक रहेछ यो। यो सानो र सरल पुस्तकले समग्र शिक्षणकर्मप्रतिकै हाम्रो धारणालई निकै फराकिलो बनाऊँछ।

अत्यन्त जीवनोपयोगी, समाजोपयोगी यो पुस्तकको नेपाली संस्करण 'शिक्षक' मासिकले प्रकाशन गरेको हो ।

August 31, 2012

पाठक मञ्चमा छापिएको एक टुक्रा

गत शुक्रवार (भदौ ८, २०६९) का दिन कान्तिपुरको पाठक मञ्चमा एउटा सानो टुक्रो छापिएको थियो, 'कांग्रेसले बुझ्नुपर्ने कुरो' शीर्षकमा। अनलाईन संस्करणमा यहाँ पढ्न सक्नुहुन्छ। प्रकाशित स्वरुपमा तल छ।


August 23, 2012

चार नयाँ मुक्तकहरु


१. बुझिराख!

तिमीले फलाक्दैमा कुनै पनि क्षण लगन हुँदैन
तिम्रा थोत्रा ढड्डामा स्वतन्त्रताको  गगन हुँदैन
टाउको फनफनी घुमाऊँदै पछिल्तिर हिँड्दै छौ
जति हिँडेपनि त्यस्तो हिँडाई अग्रगमन हुँदैन।

२. 'नयाँ' नेपाल-नयाँ नारा!

बाटो मिच्न पाऊनुपर्छ, शालीक ढाल्न पाउनुपर्छ
मान्छे मार्न पाउनु पर्छ, हड्डी गाल्न पाउनुपर्छ
नयाँ नेपालको नयाँ नारा यहि हो हजुर-
छोरी बेच्न पाउनुपर्छ, बुहारी बाल्न पाउनुपर्छ। 

३. बिडम्बना!

पाठा रोज्दैछन्, जन्माउने माऊ पाईएको छैन
जगमै हानाहान छ, छानो छाईएको छैन
सबैलाई 'राज्य'को चिन्ता छ यहाँ-
विचरो देश! देश कसैलाई चाहिएको छैन।

४. फिर्ता देऊ!

यो देशको दिल, दिमाग र नाभी फिर्ता देऊ
यो पूरा देशमाथिको मेरो दाबी फिर्ता देऊ
जोगाऊँछौ भनी जिम्मा लगाएँ, अन्तै सुम्पेछौ
बाबुराम! मलाई मेरो देशको चाबी फिर्ता देऊ!