July 31, 2012

'शुरु' र 'सुरु'

छोरीको नेपाली विषयको गृहकार्यमा 'सुरु' शब्द देखियो एकदिन। यो 'सुरु' सुरुसुरुको 'सुरु' थिएन, शुरुवात जनाउने अर्थमा थियो। 
"'सुरु' होईन 'शुरु' हुनुपर्छ।" हामीले सच्याउन खोज्यौं।
"होईन, गुरुआमाले यस्तै लेख्नुहुन्छ।"
"गुरुआमा झुक्किनु भो होला।"
"किताबमा पनि यस्तै छ।" छोरीले किताब देखाई।
"कहिलेकाहीँ किताबमा पनि गल्ती छापिन्छ।"

त्यो दिन हामीले छोरीलाई कसैगरी मनाएर 'शुरु' लेख्न लगायौं। गृहकार्य जाँचिएर फर्केपछि हेरेको, 'शुरु'लाई 'सच्याएर' रातो 'सुरु' आएको रहेछ। छोरीले हामीलाई गाली गरी एकछिन।

 आफूले नेपाली लेख्न सिकेदेखि 'शुरु' लेखेकाले यो कुराले मलाई पछ्याईरह्यो। पछि बृहत् नेपाली शब्दकोष (२०६७ संस्करण) पल्टाएँ। त्यहाँ 'सुरु' नै रहेछ। यो संस्करणको 'संसोधन मण्डल' मा अहिले नेपाली भाषालाई ताछेर ठुटे बनाउन कन्दनी कसेर लागीपरेका त्रि. वि. का 'प्रा. डा.' हरुको बहुमत छ। तिनैको प्रभाव, आदेश वा उर्दी च्याऊसरी प्रकाशकले छाप्ने 'पाठ्यपुस्तक' र विद्यालयका शिक्षकसम्म आईपुगेको होला।

पछि, यतिखेरका छापाले के प्रयोग गर्छन् भनेर हेर्दा धेरैजसो 'शुरु' र कतै कतै मात्र 'सुरु' देखियो।

आफू ठूलो भाषाविज्ञ परिएन तैपनि नेपाली मायालाई माया गर्ने मान्छे, यस्ता अन्यौलले मन कटक्क दुखाऊँछन्। फेरि मनचाहिँ किन हो किन 'शुरु'मै जान्छ।

July 24, 2012

'सास धान्न' दुई मुक्तकहरु

ब्लगको 'सास धान्न' यतिखेर यी दुई मुक्तकको भर परेको छुः)

१.
चोर र ठग-को ठूलो? विवाद भएको छ
सरोकारवालाबाट भीषण प्रतिवाद भएको छ
बेईमानी मिसिएको छ यहाँ हरेक 'वाद'मा
'ईमान्दारी' बजारको अपवाद भएको छ।

२.
सुख्खा-सुख्खा नहर लाग्छ देश
बाढीपछिको बगर लाग्छ देश
भत्काउनेहरुको जमाना छ-
पराजित, खण्डहर लाग्छ देश।

July 10, 2012

My पसिना is come---- र They बाँधे Their पूच्छर---

"आज क्लासमा कस्तो रमाईलो भयो भने! -----" एक साँझ खाना खाँदै गर्दा आर्याले खितखिताऊँदै भनी।
"के भयो?"
"शुभम भन्ने साथी एकदम चलिराखेको थियो। टिचरले 'किन चलेको?' भनेर अंग्रेजीमा सोध्नुभयो। शुभमले 'My पसिना is come.' भन्यो। अनि सप्पैजना हाँसे। कस्तो रमाईलो भयो----।"
"हा हा हा! विचरालाई पूरै अंग्रेजीमा भन्न आएन होला नि त।" आर्यालाई पनि आऊँदैन। एक कक्षामा पढ्ने बच्चाबाट ब्याकरण मिलेको अंग्रेजीको आशा गरिहाल्नुपनि हुन्न। तर शुभम भन्ने बच्चो बाठो र हकी भने रहेछ, उसले आफ्नो समस्यालाई नडराईकन राख्ने कोशिश त ग-यो।

विगत केहि समय यता छोरीको पढाईलाई नियालिरहँदा मैले के पाएको छु भने नेपालका 'राम्रा' भनिने विद्यालयहरुमा पूर्वप्राथमिक तहका कक्षाहरुबाटै नेपाली एकदम कम र अंग्रेजी एकदम धेरै पढाईन्छ। फेरि नर्सरीबाटै 'स्कूलमा अंग्रेजीमात्रै बोल्नुपर्छ, नेपाली बोल्नु हुन्न।' भन्ने मानसिक दबाब दिईन्छ। जीवनजगतका कतिपय चिजबिज-गतिबिधिसंग सम्बन्धित शब्द-वाक्यहरु बच्चाहरुले नेपालीभन्दा पहिले अंग्रेजीमा सिक्छन्। पछि तिनै कुरा नेपालीमा सुन्दा '---भनेको के हो?' भनेर सोध्छन् र उनीहरुलाई 'अंग्रेजी प्रयोग गरेर नेपाली बुझाउनु' पर्छ। अंक र संख्याको हकमा त शतप्रतिशत यहि स्थिति देखिन्छ। जति सचेत हुन खोजेपनि यस्तो स्थिति आफैंले पनि भोगिराखिएको छः) 'भोलि छब्बीस गते हो।' भनेर सुनाऊँदा आर्याले 'छब्बीस भनेको कति हो?' भनेर सोध्छे अझै पनि, र उसलाई 'छब्बीस भनेको ट्वेण्टी सिक्स हो।' भनेर बुझाउनुपर्छ। यो स्थितिलाई कम गर्ने कोशिश जारी छ घरमा अहिले, घरमा सकेसम्म नेपाली बढी सिकाएर; तर पूरा सफलता हात पर्नचाहिँ समय निकै लाग्ला जस्तो छः)

नेपालको शिक्षा प्रणालीका बारेमा धेरै कुरा लेख्नुपर्ने हुन आऊँछ, अहिलेलाई त्यता नलागौं। आर्याको कक्षाको यो घटनाले मलाई आफ्नो विद्यार्थी जीवनको यस्तै एउटा घटना सम्झायो, त्यहि कुरा गर्न लागेको आज।

म आठमा पढ्दाको कुरो हो, अंग्रेजीमा एउटा पाठ थियो The Clever Goat भन्ने। त्यसमा बाठो बाख्रोले बाघबाट जोगिन गरेको चलाखीको कथा छ। कथाको अन्त्यतिर स्याल र बाघ आफ्ना पूच्छर बाँधेर चलाख बाख्रो भएको ठाऊँमा आउने प्रसंग छ। हाम्रै कक्षाको अर्को सेक्सनमा अंग्रेजी पढाउने सरले एकदिन यहि पाठबाट प्रश्नहरु सोधीरहनुभएको रहेछ। पढाई त्यति राम्रो नभएको एउटा ‘हावा’ केटालाई उठाएर स्याल र बाघ कसरी बाख्रो भएको ठाऊँमा गए भनेर सोध्दा उसले एकछिन अकमकाएर ‘---They बाँधे their पूच्छर---‘ भनेर जवाफ दिएछ। अंग्रेजी सरले पछि हाम्रो कक्षामा र स्कूलभरिनै त्यहि कुरा सुनाऊँदै हिँड्नुभएको थियो। विद्यार्थीको आत्मसम्मानलाई चोट पु-याउने त्यो बेईजत्ती सरले नगर्दिनुभएको भए राम्रो हुन्थ्यो, तर छब्बीस वर्षअघि यस्तो सोच राख्ने शिक्षक पाउन मुश्किलै थियो। कमजोर विद्यार्थीको विवशतालाई बुझ्ने र उसलाई विशेष तरिकाले सिकाउने शिक्षक भेट्न अझै त मुश्किल छ।  

July 02, 2012

कठिन यात्राका पाइलाहरु पढेपछि

एउटा पुस्तक पसलमा पुस्तकहरु छानिरहँदा “काठमाडौं विश्वविद्यालय-कठिन यात्राका पाइलाहरु” भन्ने पुस्तकमा आँखा प-यो। काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. सुरेशराज शर्माले आफू र आफ्ना सहकर्मीहरुको स्वप्न-परियोजनालाई साकार बनाउने क्रममा आईपरेका चुनौती, खानुपरेका हण्डर र प्राप्त भएका सहयोग र हौसलाहरुबाट जम्मा भएको आफ्नो अनुभवलाई पुस्तकको रुप दिनुभएको रहेछ। प्रथम संस्करणका रुपमा २०६६ सालको असारमा १००० प्रति छापिएको रहेछ यो पुस्तक । देशको एउटा प्रमुख शैक्षिक संस्था जन्मने र अगाडि बढ्ने क्रममा यसले बटुलेका अनुभवलाई पढ्ने मौका यसरी अगाडि आऊँदा एकदम खुशी लाग्यो र पुस्तक किनें।

पत्रिकाहरुमा प्रकाशित हुने पुस्तक-समीक्षाहरुमा यो पुस्तक परेको पनि थियो होला कुनै दिन, पढ्न छुटको रहेछ। अथवा हुनसक्छ, अस्थिर राजनीतिले पूरै देश र परिवेशलाई गाँजेको र त्यसैको कालो छायामा वौद्धिक विमर्श र सञ्चारमाध्यमहरु पनि सेपिएको बेला प्राज्ञिक इतिहासलाई विषय बनाएर लेखिएको पुस्तक त्यत्ति चर्चायोग्य नठानिएको पनि हुनसक्छ। तर यो र यस्ता पुस्तकहरु सधैं चर्चायोग्य, पठनयोग्य र मननयोग्य छन्, अहिलेको हाम्रो निराशाजनक राष्ट्रिय मनोदशामा यस्ता प्रेरणादायी पुस्तकको हामीलाई झन् धेरै खाँचो छ।

काठमाडौं विश्वविद्यालयले नेपालको उच्च शिक्षा प्रणालीलाई पुनर्परिभाषित गर्ने र गुणस्तरीयता दिने कुरामा एउटा मानक स्थापित गरिसकेको कुरामा कुनै सन्देह छैन। यसले आफूलाई एउटा विश्वस्तरको प्राज्ञिक संस्थाको रुपमा विकास गरीरहेको छ। त्रिभुवन विश्वविद्यालयनै उच्च शिक्षाको एउटै पर्याय बनेको र नीजि वा सामुदायिक स्तरमा कलेजभन्दा बढी सोच्नै नसक्ने समयमा काठमाडौं विश्वविद्यालयको परिकल्पना र स्थापना आफैंमा नेपाली शैक्षिक जगतको एउटा क्रान्तिकारी घटना थियो। काठमाडौं विश्वविद्यालयलाई शुरुमा उपत्यकाभित्रै राख्ने योजना रहेपनि र अहिले रहेको धुलिखेल पनि भौगोलिक रुपमा काठमाडौंबाट धेरै टाढा नभएपनि यसको स्थापना नेपालको उच्च शिक्षाको विकेन्द्रीकरणको शुरुवात पनि हो। राष्ट्रिय जीवनमा यसको महत्व र दूरगामी असरलाई इतिहासले अवश्य उच्च मूल्यांकन गर्नेछ। नेपालको उच्चशिक्षामा जारी अराजकता र गतिहीनताको विकल्पमा प्रणालीबद्ध र समयबद्ध शैक्षिक गतिविधि नेपालमा पनि सम्भव छ भन्ने कुरा काठमाडौं विश्वविद्यालयले यो अढाई दशकको अवधिमा गरेरै देखाईदिएको छ।

“यो पुस्तक काठमाडौं विश्वविद्यालयप्रति जिज्ञासु बनेका मान्छेहरुका जिज्ञासालाई सङ्क्षिप्त रुपमा समाधान गराउन खोज्दा प्रकट भएका छिटपुट अनुभवहरुको संग्रह हो।“ भनेर लेखकले पुस्तकको शुरुवातमा ‘आफ्नो भनाइ’मा लेख्नुभएको छ। अझ धेरै कुरा उहाँले पछि आफैं वा अरुले लेख्नका लागि राख्नुभएको आशय पनि बुझिन्छ। विश्वविद्यालय निर्माणका क्रममा भोग्नुपरेका अनुभवहरु, सामना गर्नुपरेका आलोचना र शंकाहरु र हतोत्साही बनाउने टिप्पणीहरु आदिको चर्चासंगसंगै उहाँले यो संस्थाको शुरुवाती परिकल्पनाका बारेमा पनि लेख्नुभएको छ। उहाँको आफ्नो पेशागत जीवनका अनुभवले उहाँलाई शैक्षिक विकासमा नेपालको स्थिति र यसको अन्तर्राष्ट्रिय स्तरसंगको दूरीलाई निकै नजिकबाट बुझ्न र अब त केहि नगरी हुँदैन भनेर झस्काएको देखिन्छ। काठमाडौं क्याम्पसको नाममा पुल्चोक क्याम्पसमा बिहान पढाएर शुरु भएको यात्रा धुलिखेलमा पुगेर काठमाडौं विश्वविद्यालयको रुप लिई निरन्तर बिस्तारित हुने क्रममा प्राप्त सहयोगहरु सबैको अत्यन्त प्रेम र आदरपूर्वक चर्चा गरिएको छ पुस्तकमा। आर्थिक सहयोग गर्ने उदारमना ब्यक्तित्वहरु र राष्ट्रिय-अन्तरराष्ट्रिय संघ-संस्थाहरुको चर्चा पढ्ने क्रममा ती ब्यक्तित्व र संघसंस्थाहरुकाप्रति पाठकका मनमा अगाध श्रद्धा भरिएर आउँछ। काठमाडौं विश्वविद्यालयरुपी यो शैक्षिक महायज्ञलाई दिगो र सफल बनाउन विदेशका थुप्रै लब्धप्रतिष्ठित विद्वानहरुले न्यूनतम सुविधामै पनि प्राध्यापन गरिदिएर, प्रयोगशालाहरुको स्थापनाको सुपरिवेक्षण गरिदिएर र अनुसन्धानमूलक प्राध्यापनको जग बसालिदिएर धेरै योगदान दिनुभएको रहेछ। ती मनिषीहरुको निस्वार्थ योगदानको राज्यले पनि उच्च मूल्यांकन गर्नुपर्छ।

यस पुस्तकमा लेखकले सकेसम्म सकारात्मक रुपबाट तत्कालीन घटनाक्रमहरुलाई पेश गर्नुभएको छ। तेईस वर्षे यात्रामा बिभिन्न निकायहरुबाट सृजना भएका अवरोधहरुका संङ्क्षिप्त चर्चा यदाकदा नभेटिने होईन तर उहाँ तिनमा अल्मलिनुभएको छैन बरु प्राप्त सहयोगको भने उच्च मूल्यांकन छ। काठमाडौं विश्वविद्यालय ऐनलाई संसदबाट पास गराउँदा यसप्रति नेपालको उच्च राजनीतिक तहका केहि ब्यक्तित्वहरुबाट राम्रो सद्भाव मिलेको देखिन्छ। यस्तै पछिका सरकारहरुबाट प्राप्त समर्थन र सहयोगको पनि चर्चा गरिएको छ।

प्रगतिको गति यही रहने हो भने विक्रम सम्बत २०७५ सालसम्ममा विश्वका पाँचसय वा एशियाका सय उत्कृष्ट विश्वविद्यालयभित्र पर्ने काठमाडौं विश्वविद्यालयको लक्ष पूरा हुनेमा कुनै शंका छैन। यसलाई राज्य र राजनीतिक दलहरुको अझ सद्भाव र सहयोगको आवश्यकता भने छ। यसलाई सके सघाउने, नसके कम्तिमा यसको शैक्षिक र ब्यबश्थापकीय प्रणालीलाई नबिथोल्ने प्रतिबद्धता र तदनुरुपको ब्यबहार विशेषगरी राजनीतिक दलहरुबाट आउनुपर्छ। पुस्तकमा एक ठाऊँमा चर्चा गरिएजस्तै भारतका इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी, बिरला इन्ष्टिच्युट अफ टेक्नोलोजी, मनिपाल इन्ष्टिच्युट अफ हाइयर एजुकेशन आदि जस्ता शैक्षिक संस्थाहरुले महात्मा गान्धी, नेहरु लगायतका राष्ट्रिय स्तरका राजनीतिज्ञहरुबाट पाएजस्तो सद्भाव र समर्थन पाउन सके नेपालका शैक्षिक संस्थाहरु पनि उनीहरुजत्तिकै प्रतिष्पर्धी हुन नसक्ने कुनै कारण छैन।  

काठमाडौं विश्वविद्यालयका उपलब्धिहरुलाई अहिलेको तरल राजनीतिक स्थितिमा जोगाउन सकिएला कि नसकिएला भन्ने प्रश्न यतिखेरको सबैभन्दा पेचिलो प्रश्न हो। यतिखेरको नेपाली राजनीति समाज र राष्ट्रप्रतिको दायित्व र कर्तव्यबोधभन्दा पनि ब्यक्तिगत, गुटगत अहं र स्वार्थले सञ्चालित छ। राजनीति निकृष्ट स्वार्थपूर्तिको साधन बनेपछि यसले समाजका सबै अंगहरुमा नकारात्मक हस्तक्षेप गर्छ जुन कुरा हामीले लामो समयदेखि देख्दै आईरहेका छौं। देशको शैक्षिक क्षेत्र राजनीतिक चलखेलबाट सबैभन्दा धेरै आक्रान्त छ। अन्त जेसुकै भएपनि काठमाडौं विश्वविद्यालयचाहिँ यस्ता फोहरी चलखेलबाट मुक्त छ भन्ने एउटा सन्तुष्टि पनि हामीले गुमाउनुपर्ने दिन आउन थालेजस्तो आभासले शिक्षाप्रेमीहरु चिन्तित छन्। शैक्षिक संस्थाहरुमाथिको राजनीतिक हस्तक्षेप सधैं ‘माथि’को नेतृत्व तहबाटमात्रै आउँछ भन्ने छैन, झन् नेपालजस्तो देशमा त यो जहिले पनि दलीय राजनीतिको विषाणुले ग्रस्त विद्यार्थी राजनीति र प्राध्यापक-कर्मचारी राजनीतिको माध्यमबाट आऊँछ। पूरानो त्रि.वि. वा पछिका पोखरा, पूर्वाञ्चल र नेपाल संस्कृत आदिको गतिहीनता र दूरावश्थाले हामीलाई यहि देखाएको छ। केहि समय यता काठमाडौं विश्वविद्यालय स्वयं पनि राजनीतिक घम्साघम्सीको मैदान बनेर हप्तौं बन्द हुन थालेको देखियो। नेपालको राजनीतिक नेतृत्व बिभिन्न मञ्चहरुमा भाषण गर्दा काठमाडौं विश्वविद्यालयजस्ता शैक्षिक संस्थाहरुलाई राजनीतिबाट अलग्गै राख्ने आदर्श त छाँट्छ तर यसले आफ्ना कार्यकर्ता तहमा त्यहि कुरालाई स्विकार्य र स्थापित बनाउन तत्पर भएको र काम गरेको अहिलेसम्म देखिएको छैन। त्यसैले, दलीय राजनीतिका दाऊपेचलाई सकेसम्म छिर्न नदिई विद्यार्थी र प्राध्यापक-कर्मचारीका हकहितका सवाललाई ब्यवश्थापन गर्न सफल हुने-नहुने कुरालेनै माथिको प्रश्नको उत्तर निर्धारण गर्छ। काठमाडौं विश्वविद्यालयमात्र नभएर जुनसुकै शैक्षिक संस्थाका हकमा पनि यहि कुरा लागू हुन्छ।

कमल दिक्षित र जगदीश घिमिरेले पुस्तकका बारेमा, लेखकका बारेमा र काठमाडौं विश्वविद्यालयका बारेमा ब्यक्त गर्नुभएका विचारले पनि उत्तिकै सकारात्मक छाप छोड्छन्। उहाँहरुका मन्तब्यमा ब्यक्त गरिएजस्तै यो पुस्तक ‘संस्था ब्यवश्थापन’ विषयको पाठ्यपुस्तक बन्न कुनै पनि हिसाबले योग्य छ। कुनैपनि शैक्षिक संस्थाको नेतृत्व गरीरहेकाले त झन् छुटाउनै नहुने पुस्तक हो यो। काठमाडौं विश्वविद्यालय आफैंमा सम्पूर्ण हो भनेर भन्न खोजिएको होईन, तर नेपालको सन्दर्भमा अनुसन्धानमूलक प्राध्यापनलाई स्थापित र विकसित गर्ने क्रममा काठमाडौं विश्वविद्यालयले आर्जन गरेजत्ति अनुभव र प्रतिष्ठा अरु विश्वविद्यालयहरुले आर्जन गर्न नसक्नुका कारणहरुको विश्लेषण गरिनुपर्छ। पोखरा, पूर्वाञ्चल र नेपाल संस्कृतजस्ता पछि खुलेका सरकारी विश्वविद्यालयहरुमा पदाधिकारीका रुपमा त्रि.वि. को राजनीतिक रोग बोकेका ब्यक्तिहरुको नियुक्ति र त्यसमा पनि चरम भागबण्डाको संस्कारले गर्दा संस्था सञ्चालन गर्न र दिगो बनाउन आवश्यक पर्ने ईमान्दारी, आँट र रचनात्मकताको सम्भावना शुरुमै साह्रै कम भईसक्ने देखिएको छ। तर यी संस्थाहरुले पनि आफ्नो र अरुको अनुभवबाट सिकेर ढिलोचाँडो सुध्रनैपर्नेछ। देशमा अब खुल्दै गरेका विश्वविद्यालयहरुका सामू पनि आफूलाई फोहरी राजनीतिको खेलमैदानमै सीमित राख्ने या आफ्नो प्राज्ञिक क्षितिजलाई निरन्तर विस्तारित गर्दै अघि बढ्ने-यिनै दुई विकल्पमात्र छन्।

यो लेख पुस्तकको समीक्षा होईन, पंक्तिकार आफूलाई त्यस योग्य पनि ठान्दैन। काठमाडौं विश्वविद्यालयसंग अहिलेसम्म कुनै पनि रुपमा सम्बन्धित नभएको हुँदाहुँदै र यसका आफ्नै व्यवश्थापकीय र अन्य कमजोरीहरु पनि छन् होला भन्ने कुरामा सचेत हुँदाहुँदै पनि यसको अवधारणाको प्रशंशकका नाताले यो सानो चर्चाको आँट गरिएको हो। पुस्तकको रुप पाएको एउटा सकारात्मक उर्जापुञ्ज र अनुभवहरुको संग्रहको चर्चा फेरि एकपटक शुरु होस् र सबैमा, विशेष गरी युवा पुस्तामा यो र यस्ता पुस्तकहरुमा गम्भिर रुचि जागोस् भन्ने आशय मात्रै हो यो। 


June 20, 2012

कोष्ठक माओवादी र अल्पविराम माओवादी-ड्याश माओवादी

नेपाली राजनीतिक दलहरुमा सल्केको फुटको रोगले माओवादीलाई पनि छोडेन, यो पनि अस्तिबाट दुई टुक्रा भएको छ; 'कोष्ठक माओवादी' र 'अल्पविराम माओवादी'। 'अल्पविराम' माओवादीले आफूलाई 'ड्याश' (-) माओवादीका रुपमा पनि प्रस्तुत गरेको छ हिजो पत्रकार सम्मेलनबाट। उसैपनि फुटको किर्तिमान कायम गर्न नेपालका साम्यवादी दलहरु 'प्रख्यात' छन्, उनीहरुको यो 'ख्याति'लाई यतिखेर 'मधेशवादी' दलहरुले पनि पछ्याईरहेका छन्। जब राजनीति सिद्धान्त र निष्ठाका बलमा नभई ब्यक्तिगत अहं र स्वार्थको लौरो टेकेर गरिन्छ, तब दलीय फुट स्वाभाविक बन्न जान्छ। हाम्रो राजनीतिमा भएको त्यहि हो।

नेपालमै र विदेशमै बसीरहेका नेपालीको माझमा हुने सांगठनिक गतिविधिहरुलाई नजिकबाट नियालीसकेपछि के निष्कर्ष निकाल्न सकिन्छ भने हामी 'जुट्न' र 'फुट्न' एकदम सिपालु छौं। हामीमा संगठित हुने चेत अवश्य छ तर हामीमा सहजै फुट्ने स्वभाव पनि छ। नेपालीहरुद्वारा सञ्चालित संघ-संगठनहरुमा छोटो अवधिमै नफुटेका र धेरैपटक नफुटेका कमैमात्र छन्। यो फुटको स्वभाव हाम्रो राष्ट्रिय मानसिकतामै गहिरो गरी बसीसकेको देखिन्छ। आमरुपमा हामीमा अरुलाई 'पेल्नु'पर्छ र अरुलाई 'टेर्नु' कमजोरी हो भन्ने भावना प्रवल छ। संघ-संगठनका नेतृत्वमा पुगेकाहरुले लोकतान्त्रिक आचरण देखाएर आफू र आफ्नो गुटबाहेककालाई पनि सम्मानजनक ब्यबहार गरेको विरलै देखिन्छ। जहाँपनि हामी हमेशा 'सत्तापक्ष' र 'प्रतिपक्ष'का रुपमा आफूलाई विभाजित गर्छौं। न हामी जितलाई सामान्य रुपमा लिन सक्छौं, न हारलाई। अपरिपक्व शैलीमा साना-साना कुराका लागि विवाद गर्नु हाम्रो स्वभाव बनीसकेको छ। हाम्रो यहि सामूहिक स्वभावको प्रतिबिम्ब हो दलहरुमा देखिने चरम गुटबन्दी र फुटको शृंखला।

भन्नलाई हाम्रा दलहरुले आफूलाई लोकतन्त्रवादी वा अरु जे 'वादी' भनेपनि दलहरुको सञ्चालनशैली अझै अत्यन्त सामन्ती देखिन्छ। विवादका विषयहरुमा स्वस्थ बहस गर्नुभन्दा पनि पर्दा पछाडिका खेलहरुमा बढी भर पर्ने चलन छ। नेतृत्वमा बस्नेले दललाई आफ्नो खल्तीको मोबाईलभन्दा बढी ठान्दैनन्। आवधिक (४-५ वर्ष) रुपमा महाधिवेशनबाट नेतृत्व छानिने, व्यक्तिगतभन्दा सामूहिक स्वभावको केन्द्रीय नेतृत्व, कोहिपनि एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने, सांगठनिक र आर्थिक कृयाकलापमा पूर्ण पारदर्शीता जस्ता मान्यतालाई दलहरुले स्विकार्ने हो भने यस्ता फुटका शृंखला रोकिन समय लाग्दैन। 

केहि समय यता देशका केहि दलहरु आन्तरिक लोकतन्त्रलाई परिमार्जित गर्ने अभ्यासमा जुटेका देखिन्छन्। यस मामिलामा माओवादीले भने एक पाईला पनि चालेको छैन। एकपटक पनि महाधिवेशन नगरी दुई दशकसम्म चलेको अर्को दल नेपालमा त के संसारमै पनि नभेटिएला! फेरि सशस्त्र द्वन्द्वकालमा गरिएको प्रचण्डको देवत्वकरणलाई खुल्ला राजनीतिमा पनि जारी राख्न खोजियो, जसले धेरै विरोधाभाषहरु जन्मायो। आर्थिक र अन्य सांगठनिक मामिलामा देखिएको चरम अपारदर्शितालाई विरोधीभन्दा धेरै माओवादीकै नेता-कार्यकर्ताले आलोचना गरेका छन्। केहि समय यता माओवादीभित्र एउटा नवधनाढ्य वर्गको विकास भएको छ, यो वर्गमा नेतृत्व तहका केहि र माओवादी शहर पसेपछि यसमा प्रवेश गरेका अवसरवादीहरु छन्। देशलाई र अझ पूरै विश्वलाई वर्गवीहिन बनाउने गुड्डी हाँक्ने माओवादी आफैंभित्रको वर्गीय द्वन्द्वलाई थेग्न नसकेर टुक्रिएको छ।

'कोष्ठक' माओवादीबाट छुट्टिएर बनेको 'अल्पविराम' माओवादीका कुरा पत्यारिला भने छैनन्। उनीहरुको अमूर्त कठमूल्लावादी रटान न नेपाली जनताको राजनीतिक चेतनालाई सम्मान गर्न सक्ने छ, न अहिलेको विश्वपरिवेश सुहाऊँदो छ। यस्तै रटानलाई निरन्तरता दिएमा 'अल्पविराम' माओवादी छिट्टैनै 'पूर्णविराम'मा पुगेर सिद्धिने छ। उतातिर, कोष्ठक माओवादी संस्थापन पक्षले पनि दल टुक्रनुमा आफ्ना कमजोरीको समीक्षा नगरी राजतन्त्रवादी र रिमलाई सरापेर बस्नु भनेको मूतको न्यानोमा रमाउनुमात्रै हो। सरापमा भारत भने छुट्ने छाँट छ यसपालि! जुन ढंगले माओवादी चल्दै आएको छ, त्यहि ढंगलाई निरन्तरता दिने हो भने अझ टुक्रने र कोष्ठकमात्र बाँकी रहने दिन पनि आउन सक्छ। 

र पाठ सबै दलले सिक्नैपर्छ। सबै दलले आफूलाई पूर्ण लोकतान्त्रिक र पारदर्शी बनाउने हो भने असन्तुष्टिहरु दलभित्रै समाधान हुन्छन् र चोईटिनुपर्दैन। दलहरु टुक्रनु देशको राजनीतिका लागि राम्रो कुरा होईन। फुट अराजकताको परिणाम हो र फेरि अराजकता अझै बढ्ने लक्षण पनि हो। 

आफूलाई कोष्ठक माओवादीभन्दा अब्बल दर्जाको 'क्रान्तिकारी' देखाउन अल्पविराम माओवादीले केहि विध्वंश गर्न सक्ने संभावना पनि धेरै छ यतिखेर। सरकार नभएको देशमा जे गरेपनि सजिलै जो छ  यतिखेर!

June 15, 2012

तानाशाह

छठका हुँदैनन्, दशैंका हुँदैनन्
तानाशाह कसैका हुँदैनन्

संवेदना भए पो मान्छे भन्नु!
मन र मुटु, नसैका हुँदैनन्

दूध पियाउनेलाई के थाहा
सर्पहरु उसैका हुँदैनन्

लेख्छन्-मेट्छन्, बोल्छन्-फेर्छन्
गोयवल्सका मुख वशैका हुँदैनन्

छठका हुँदैनन्, दशैंका हुँदैनन्
तानाशाह कसैका हुँदैनन्।


June 07, 2012

आयो-गयो जेठ १४

११ दिन भईसकेछ।

जेठ १४ आयो र गयो।

जेठ १४ आयो र संविधान नदिईकन गयो।

जेठ १४ आयो, गयो र जेठ १५ आयो। धेरै मानिसले सोचेभन्दा 'सहजै' जेठ १५ आयो। संविधानसभानै नरहेपछि र यसले केहि पनि 'नदिएपछि' सडकहरुको ज्वारो अचानक ओर्लियो। न रह्यो बाँस, न बज्यो बाँसुरी!

यसरी ओर्लिएको सडकको ज्वरोलाई अब शुरु हुने तीन-चार महिने झरीले झन् तल झारीदिनेछ। धेरै नेपाली खेतीपातीमा पनि ब्यस्त हुनेछन्। त्यसपछि दशैं-तिहार लगायतका पर्वमा झुम्नेछ नेपाल। मंसिर लाग्दा नयाँ चुनाव गर्ने भनेर खोकेको छ सरकारले, चुनाव होला-नहोला त्यो बेग्लै कुरो हो तर आन्दोलनको याम शुरु हुनेछ र अर्को जेठसम्म जारी रहनेछ। हामी नेपालीको उपलब्धि भनेकै निरन्तरको उपलब्धिहीन आन्दोलन हो र केवल आन्दोलन हो। हामी छ महिना 'सुत्छौं' र छ महिना आन्दोलन गर्छौं।

संविधान नआएकोमा दु:ख मनाऊभन्दा यतिखेर नआएकोमा खुशी मनाऊमा छन् धेरै मान्छेहरु। संविधान यदि आएकै भए पनि, सबैलाई चित्त बुझाऊन 'ऊँट'को आकार लिएर आएकै भएपनि त्यो कसैलाई पनि चित्त बुझ्ने थिएन र सबैले जलाउने थिए

हामी असफलहरुको जमातबाट शाशित छौं र यिनै नेताहरुको माझबाट कोहि प्रभावशाली राष्ट्रभक्त निक्लेला भनेर आशा गर्ने ठाऊँ पनि छैन। हरेक दलभित्रका दोश्रो-तेश्रो 'पुस्ता'का नेताहरुको जमातमा केहि आशालग्दा अनुहारहरु देखिएका छन् तर बूढा गोरुले गाई ओगट्न नछोड्ने संस्कार जब्बर बनेर बसेको हाम्रो देशमा तिनले चाँडै अवसर र चुनौतीसंग भिड्न पाऊलान् भन्ने कुरामा पनि शंकै लाग्छ।

अनिश्चितता र अराजकता नेपालको परिचय हो। यो परिचयबाट चाँडै उम्किन पाउने सम्भावना देखिन्न यतिखेर।

नेपाली ढंगको 'राजनीति'का लागि यो अनिश्चितता र अराजकता गज्जबको उर्वरभूमि हो। जुन मानसिकता हाम्रा दल र नेताहरुमा देखिन्छ, लाग्छ यो अनिश्चितता अराजकता हराए भने तिनको 'रोजगारी' पनि सिद्धिनेछ।


May 29, 2012

देशलाई सजाय



१. धन्य देश!

पालुवा छैन जीवनमा, सधैं हिऊँदै छ
सबै मूल सुकेपनि कहाँबाट जीवन पिऊँदै छ
सहस्र गँगटाले घाँटी अँठ्याएकै छन् तैपनि-
धन्य छ मेरो देश! मेरो देश अझै जिऊँदै छ।


२. सजाय

सैयौं धोका खाएर पनि हाँसीरहेछु
थाहा छैन, के को आशमा अझै औंला भाँचिरहेछु?
जिन्दगीको सबैभन्दा ठूलो सजाय हो यो शायद
म 'यो' देशमा 'यतिखेर' बाँचीरहेछु।