बा अब हुनुहुन्न। हामीलाई पूरै टुहुरा बनाएर उहाँ जानुभएको आज १८ दिन भइसकेछ। हाम्रो घर अब अभिभावकवीहिन भएको छ। एउटा गहन पिडादायी रिक्तता छाएको छ घरको जीवनमा-हाम्रो जीवनमा। एउटा नपुरिने घाऊ बनेको छ मनमा, तर फेरि जीवनलाई सकेसम्म सामान्य बनाएर बाँच्ने कोशिशको अर्को विकल्प छैन।
एउटा संघर्षशील जीवनको अन्त्य भएको छ। उहाँले भोगेका दु:खका पहाडहरुका कुरा सुन्दा जहिलेपनि हाम्रो आङ्ग जिरिङ्ग हुन्थ्यो। हाम्रो पालनपोषण र शिक्षादिक्षा उहाँको तपस्या थियो। चरम अभावको क्षणमा पनि उहाँले हामीलाई त्यसको सकेसम्म अनुभव हुन नदिने कोशिश गर्नुभयो।
उहाँको आत्माले चीर शान्ति पाओस्।
७३ वर्षको उमेरलाई वृद्धावश्था निश्चय पनि मान्न सकिन्छ तर यति वृद्ध पनि होईन कि निधनलाई स्वाभाविक र कालगतिको मान्न सकियोस्। उहाँलाई केहि महिना पहिलासम्म देख्ने जो कोहिले पनि उहाँ अझै १२-१५ वर्ष स्वस्थ र पूरै सकृय बाँच्ने कुरामा अलिकति पनि शंका गर्ने थिएन। हामीलाई त्यस्तै लाग्थ्यो तर नियतिका अगाडि हाम्रा चाहना र प्रार्थनाहरुको कुनै जोड चलेन।
गएको हिऊँदबाट उहाँको फोक्सोमा क्षयरोग देखिएको थियो। लगभग साठी वर्षको धूम्रपानका कारण थियो त्यो। केहि महिनाको सघन उपचार र धूम्रपान त्यागपछि स्थिति सप्रिएको थियो र उहाँ फेरि सामान्य र स्वस्थ जीवनमा फर्किनुभएको थियो। तर त्यसको केहि समयपछि धेरै समस्याहरु देखापर्न थाले। उहाँले दृष्टिशक्ति गुमाउन थाल्नुभयो, बेसूरका कुराहरु गर्न थाल्नुभयो र शारीरिक रुपमा गल्दै जानुभयो। उहाँको समय र स्थानको चेत तिब्र गतिमा घट्न थाल्यो, उहाँ धेरैजसो वर्तमानसंग अप्रासंगिक र धेरै पूराना कुराहरु गर्न थाल्नुभयो, धेरै मान्छेलाई नचिन्ने समस्या पनि देखिन थाल्यो। बिस्तारै बोली पनि लर्बरिँदै गयो, हातखुट्टाको नियन्त्रण पनि गुम्दै गयो।
निधनको दुई महिनाअघि गरिएको जाँचले उहाँमा ब्रेन ट्युमर देखियो। चिकित्सकहरुका अनुसार ब्रेन ट्युमरले मष्तिष्कको १/६ भाग ढाकिसकेको थियो र त्यो फैलिने क्रममा थियो। उनीहरुका अनुसार, त्यसलाई हटाउनका लागि शल्यचिकित्सा गर्न सकिने सम्भावना पनि थिएन, विशेष गरी उहाँको उमेर र शाररिक कमजोरीका कारण। हामीसंग उहाँको सकेसम्म राम्रो स्याहार गर्ने र कुनै दैवी ‘चमत्कार’ को आशा गर्ने बाहेक अरु राम्रो विकल्प थिएन।
आफ्नो जीवनका ती अन्तिम दुई महिना बा धेरैजसो पूरै अचेत, कहिलेकाहीँ अर्धचेत अवश्थामा रहनुभयो। अर्धचेत अवश्थामा शरीरका बिभिन्न भागमा आफूलाई अत्यन्तै पिडा भईरहेको कुरा भन्नुहुन्थ्यो। कहिलेकाहीँ केहि पारीवारिक कुराहरु पनि गर्नुहुन्थ्यो। झोल कुराहरु अलिअलिमात्रै खुवाउन सकिन्थ्यो, त्यो पनि साह्रै मुश्किलले। दिशा-पिसाबका लागि डायपर प्रयोग गरिएको थियो।
हाम्रो भागमा कुनै दैवी चमत्कार परेन। बालाई निको भएन। र बा अब हुनहुन्न।
मेरो बाल्यकालमा फर्किएको छु म यतिखेर। बाको काखमा, बासंग म आफूलाई कति सुरक्षित र आनन्दित ठान्थें। हिजोसम्म, अचेत भएर लडिरहेकै भएपनि बाको उपश्थितिमात्रैले पनि कति सुरक्षित र निश्चिन्त बनाऊँथ्यो मलाई।
उहाँले एउटा गम्भिर रोगको पिडाबाट मुक्ति पाउनुभयो भनेर मनलाई ढाडस दिने कोशिश गर्न खोज्छौं हामी तर----
आज, आफू जिन्दगीको लडाईँको सबैभन्दा अग्र मोर्चामा बलजफ्ती घचेटिएझैं लागीरहेछ मलाई। यो जिन्दगीका घाम, पानी, हुरीले मेरो छातीमा सोझै हान्नेछन् अब। म लुक्ने काख हुनेछैन अब। म छेलिने ओत हुनेछैन अब। म सुस्ताउने छहारी हुनेछैन अब।
बा अब हुनहुन्न---