October 11, 2010

कति दिन बस्ने?

'कति दिन बस्ने' शीर्षकमा मेरो एउटा छोटो लेख छापिएको छ 'हिमाल खबरपत्रिका' को यसपालिको दशैं डबल अंकमा (वर्ष २०, अंक १२-१३, पूर्णांक २७३)। त्यसलाई यहाँ गएर हेर्न सक्नुहुन्छ। 

मैले केहि समय अगाडि यसै ब्लगमा राखेको लेख "तँ किन घर फर्किस्?" मा आधारित भएर, ब्लगमा प्राप्त प्रतिकृयाहरुलाई पनि मिलाएर लेख तयार पारेको थिएँ र त्यहि मूल शीर्षकनै राखेर पठाएको थिएँ। सम्पादनका क्रममा शीर्षक बद्लिएको हो। लेख पनि मूल कदभन्दा धेरै सानो आकारमा पुगेको रहेछ। यस्तो massive सम्पादनपछि मेरो लेखको मूल आशय फरक परेको त छैन तर कुराहरु हतारमा ओकलीरहेजस्तो देखिन्छ र ममा मेरा आफ्नै कुरामा त्यति धेरै आत्मविश्वाश नभएको छनक पनि देखिन्छ। गाऊँघरतिरको शब्द प्रयोग गर्दा लेख एक हिसाबले छेऊ-कुना कताकति नमिलेको 'टुकुने' बनेको छ। 

'हिमाल खबरपत्रिका' जस्तो प्रतिष्ठित पत्रिकामा लेख प्रकाशित हुनु गर्वको कुरा हो र यसका लागि मलाई हौस्याउनुहुने आदरणीय मित्र र प्रकाशित गरिदिने 'हिमाल' लाई हार्दिक धन्यबाद दिन चाहन्छु।

तर भविष्यमा पत्रिकाहरुमा लेख पठाऊँदा भने लेखले पाउने 'कद' पहिल्यै सोधेर आफैंले त्यहि सीमा अनुसार सम्पादन गरेर पठाउनेछु।

मैले तयार पारेर पठाएको लेखनै यहाँ राख्न भने लेखकीय नैतिकताले नदेला तर तपाईँलाई पढ्न मन लाग्छ भने म बिजुली-चिठ्ठीबाट पठाउन तयार छु, बिजुली-ठेगाना पाम्:)

October 07, 2010

बा अब हुनुहुन्न---

बा अब हुनुहुन्न। हामीलाई पूरै टुहुरा बनाएर उहाँ जानुभएको आज १८ दिन भइसकेछ। हाम्रो घर अब अभिभावकवीहिन भएको छ। एउटा गहन पिडादायी रिक्तता छाएको घरको जीवनमा-हाम्रो जीवनमा। एउटा नपुरिने घाऊ बनेको मनमा, तर फेरि जीवनलाई सकेसम्म सामान्य बनाए बाँच्ने कोशिशको अर्को विकल्प छैन।

एउटा संघर्षशील जीवनको अन्त्य भएको छ। उहाँले भोगेका दु:खका पहाडहरुका कुरा सुन्दा जहिलेपनि हाम्रो आङ्ग जिरिङ्ग हुन्थ्यो। हाम्रो पालनपोषण शिक्षादिक्षा उहाँको तपस्या थियो। चरम अभावको क्षणमा पनि उहाँले हामीलाई त्यसको सकेसम्म अनुभव हुन नदिने कोशिश गर्नुभयो।

उहाँको आत्माले चीर शान्ति पाओस्।

७३ वर्षको उमेरलाई वृद्धावश्था निश्चय पनि मान् सकिन्छ तर यति वृद्ध पनि होईन कि निधनलाई स्वाभाविक र कालगतिको मान्न सकियोस्। उहाँलाई केहि महिना पहिलासम्म देख्ने जो कोहिले पनि उहाँ अझै १२-१५ वर्ष स्वस्थ र पूरै सकृय बाँच्ने कुरामा अलिकति पनि शंका गर्ने थिएन। हामीलाई त्यस्तै लाग्थ्यो तर नियतिका अगाडि हाम्रा चाहना र प्रार्थनाहरुको कुनै जोड चलेन।

गएको हिऊँदबाट उहाँको फोक्सोमा क्षयरोग देखिएको थियो। लगभग साठी वर्षको धूम्रपानका कारण थियो त्यो। केहि महिनाको सघन उपचार र धूम्रपान त्यागपछि स्थिति सप्रिएको थियो र उहाँ फेरि सामान्य र स्वस्थ जीवनमा फर्किनुभएको थियो। तर त्यसको केहि समयपछि धेरै समस्याहरु देखापर्न थाले। उहाँले दृष्टिशक्ति गुमाउन थाल्नुभयो, बेसूरका कुराहरु गर्न थाल्नुभयो र शारीरिक रुपमा गल्दै जानुभयो। उहाँको समय र स्थानको चेत तिब्र गतिमा घट्न थाल्यो, उहाँ धेरैजसो वर्तमानसंग अप्रासंगिक र धेरै पूराना कुराहरु गर्न थाल्नुभयो, धेरै मान्छेलाई नचिन्ने समस्या पनि देखिन थाल्यो। बिस्तारै बोली पनि लर्बरिँदै गयो, हातखुट्टाको नियन्त्रण पनि गुम्दै गयो।

निधनको दुई महिनाअघि गरिएको जाँचले उहाँमा ब्रेन ट्युमर देखियो। चिकित्सकहरुका अनुसार ब्रेन ट्युमरले मष्तिष्कको १/६ भाग ढाकिसकेको थियो र त्यो फैलिने क्रममा थियो। उनीहरुका अनुसार, त्यसलाई हटाउनका लागि शल्यचिकित्सा गर्न सकिने सम्भावना पनि थिएन, विशेष गरी उहाँको उमेर र शाररिक कमजोरीका कारण। हामीसंग उहाँको सकेसम्म राम्रो स्याहार गर्ने र कुनै दैवी ‘चमत्कार’ को आशा गर्ने बाहेक अरु राम्रो विकल्प थिएन।

आफ्नो जीवनका ती अन्तिम दुई महिना बा धेरैजसो पूरै अचेत, कहिलेकाहीँ अर्धचेत अवश्थामा रहनुभयो। अर्धचेत अवश्थामा शरीरका बिभिन्न भागमा आफूलाई अत्यन्तै पिडा भईरहेको कुरा भन्नुहुन्थ्यो। कहिलेकाहीँ केहि पारीवारिक कुराहरु पनि गर्नुहुन्थ्यो। झोल कुराहरु अलिअलिमात्रै खुवाउन सकिन्थ्यो, त्यो पनि साह्रै मुश्किलले। दिशा-पिसाबका लागि डायपर प्रयोग गरिएको थियो।

हाम्रो भागमा कुनै दैवी चमत्कार परेन। बालाई निको भएन। र बा अब हुनहुन्न।

मेरो बाल्यकालमा फर्किएको छु म यतिखेर। बाको काखमा, बासंग म आफूलाई कति सुरक्षित र आनन्दित ठान्थें। हिजोसम्म, अचेत भएर लडिरहेकै भएपनि बाको उपश्थितिमात्रैले पनि कति सुरक्षित र निश्चिन्त बनाऊँथ्यो मलाई।

उहाँले एउटा गम्भिर रोगको पिडाबाट मुक्ति पाउनुभयो भनेर मनलाई ढाडस दिने कोशिश गर्न खोज्छौं हामी तर----

आज, आफू जिन्दगीको लडाईँको सबैभन्दा अग्र मोर्चामा बलजफ्ती घचेटिएझैं लागीरहेछ मलाई। यो जिन्दगीका घाम, पानी, हुरीले मेरो छातीमा सोझै हान्नेछन् अब। म लुक्ने काख हुनेछैन अब। म छेलिने ओत हुनेछैन अब। म सुस्ताउने छहारी हुनेछैन अब।

बा अब हुनहुन्न---

September 27, 2010

पितृशोकमा

गत असोज ४ गते सोमबार बा हामी सबैलाई छोडेर जानुभयो| म यतिखेर परिवारका साथ उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोकलाई सहने र धैर्यधारण गर्ने प्रयासमा छु|

यसैकारण केहि समय ब्लगमा नियमित हुन् नसक्ने ब्यहोरा पनि सविनम्र जानकारी गराउन चाहन्छु|

September 17, 2010

लडाईँ-मूसा र म


“गुँड” सर्दा-सर्दै यतिखेर म एउटा क्याम्पसको शिक्षक-कर्मचारी आवास क्षेत्रको एउटा घरमा आईपुगेको छु। जापान जानुअघि पनि यहिँ बस्थें, घर भने फरक परेको छ।

कुनै शुक्रवार साँझबाट यो गुँडमा पोका-पन्तरा सार्ने योजना थियो र त्यसै दिन बिहानबाट सरसफाई थालियो। चालीसको दशकको शुरुतिर बनेपछि सबै आवासगृहहरुमा कुनै गतिलो मर्मत-सम्भार गरिएको छैन। यसैले धेरैजसो आवास-गृहहरुको हालत ठीक छैन। पानी चुहिने, भित्ता चर्किने, ड्रेन बिग्रेका, अधिकाँश बत्तीहरु नबल्ने आदि समस्याहरु छन् धेरैमा। सरकारी सम्पत्तिको कत्ति पनि माया नगर्ने नेपाली बानीका कारण धेरैजसो फर्निचरहरु पनि बिग्रिसकेका छन्।, दुई दशकभन्दा बढी प्रयोग गरेपछि धेरै कुरा पुराना हुनु, बिग्रिनु स्वाभाविक हो तर लापर्वाहीपूर्ण प्रयोगका कारण बिग्रिनै नपर्ने कुराहरुको पनि अवश्था ठीक छैन धेरै आवासहरुमा। भन्न पनि लाज लाग्छ, कतिपयले छोडेर जाने बेला आवासगृहका सामानहरु बोकेर हिँडेका घटना पनि भेटिन्छन्।

सौभाग्यवश यो आवासगृह भने तुलनात्मक रुपमा राम्रोसंग स्याहार-सम्भार गरिएको भेटियो। यो घरमा पहिला बस्नुहुनेहरुसंग राम्रो परिचय छ हाम्रो। यहि घरमा लगभग बीस वर्ष बस्यो होला उहाँहरुको परिवार। उहाँहरुको स्वभावको आधारमा आफू निराश हुनुनपर्ने कुरामा म ढुक्क थिएँ, हुनुपरेन पनि। उहाँहरुले नफ्याँकी हिँडनुभएका पूराना किताब, पत्रिका र जुत्ताहरुका थुप्रा भने ठूलै थिए। एक वर्षदेखि लगभग खालीजस्तै रहेकाले फोहर, माकुराका जाला, धूलो आदि पनि प्रशस्त जम्मा भईसकेको रहेछ।

माथिल्लो कोठा सफा गर्ने क्रममा किताब–याकका फोहर पन्छाऊँदा त्यहाँबाट एउटा मूसो निक्लेर खुर्र दौडियो र तलतिर लाग्यो। पहिलाको आवासमा पनि मूसाहरुले दु:ख दिएका थिए, यहाँपनि दु:ख पाईने भयो भन्ने लाग्यो।

नभन्दै साँझबाटै मूसाहरुको ‘खेलकूद’ शुरु भयो। एक वर्ष देखिको आफ्नो एकछत्र राजमा ‘अतिक्रमणकारी’हरु पसेकाले उनीहरु धेरै रिसाएका पनि होलान्:) रातभरि मूसाहरुले भाँडाकुँडा बजाए, लडाए र पस्न सकेजति ठाऊँमा उनीहरुले आफ्ना लिँड उपहार पनि छोडेर गए। ‘भोलि नबिर्सिकन मूसाको विष वा खोर किनेर ल्याउने’ घर सल्लाह भयो।

तर बिर्सियो। नयाँ गुडँमा ब्यबश्थित हुन धेरै किनमेल गरियो तर धेरै दिनसम्म त्यहि मूसाको औषधि किन्न भने बिर्सिरहियो र रातभरि मूसाहरुको ‘खेलकूद’ र ‘कन्सर्ट’ बाट ‘आनन्द’ पाउने क्रम जारी रह्यो।

मूसाहरु धेरै भएको स्पष्ट थियो तर सधैं बाहिर देखिने उनीहरुको प्रवक्ताजस्तो एउटा ठूलो मूसो थियो। यो माऊ मूसो पनि हुनसक्छ। एकदम निडर लाग्थ्यो यो मूसो। टक्क रोकिएर हामीतिर हेर्थ्यो र नडराई हामीसंग आँखा जुधाऊँथ्यो यो मूसो। यसरी टाउको ठड्याएर चुनौतीका साथ हामीलाई आँखा तर्ने मूसो गणेशको वाहन नभएर गणेशका बाकै बाहन हुनुपर्ने, कसरी मूसो भएर जन्मिएछ बजिया! धरोधर्म! यो मूसोलाई देख्दा मलाई जहिलेपनि गजधुम्म बाटो छेकेर बसीरहेको साँढे देखेजस्तो लाग्थ्यो।

मूसाको विष किन्न लगातार बिर्सिरहेपनि सुत्नुअगाडि खानेकुराहरु मूसाले नभेट्नेगरी राख्न भने बिर्सिने कुरा भएन। साथै महत्वपूर्ण किताबहरु, लुगाहरु आदि पनि जोगाउने मेसो गरियो। सुत्ने कोठाको ढोका राम्ररी ढप्काए मूसा पस्न नसक्ने रहेछ। बैठक कोठा र भान्छाका ढोकाहरु ढप्काएपछि पनि मूसाहरुको आवतजावत रोकिने रहेछ। तर मूसाहरुको एउटा गुँड भान्छाको ठूलो –याकको पछाडि भएको कुरामा कुनै शंका थिएन। त्यो –याकको पछिल्तिर फोहर राम्रैसंग जम्मा भएको छ, त्यता सरसफाई गर्ने साईत अझै जुरेको छैन। त्यो –याक ‘एकदमै गह्रौं’ भएको निहुँ पारेर आलटाल गरिराखिएको छ अहिलेसम्म। ढोकाहरु सबै राम्रोसंग बन्द गर्दा बढीमा बाहिरका मूसा बहिरै र भित्रका मूसा भित्रै हुने थिए होलान्।

दोश्रो तल्लाको सानो चाहिँ कोठामा बसेर केहि गर्दै थिएँ एक साँझ, ढोका खुल्लै थियो। अलिअलि स-याकसुरुकको आवाज आयो र पछाडि हेरेको, चुनौतीका साथ आँखा जुधाउन उपश्थित थियो उहि ‘साँढे’ मूसो! यो मूसो तल-देखि माथि पूरै घर चहार्दो रहेछ।

हामीले ढोकाहरु सबै राम्ररी बन्द गरेर सुतेपछि मूसाहरुलाई साह्रै रिस उठेछ कि क्या हो, ढोकामै ‘नारा लगाउन’ र ‘तोडफोड गर्न’ थाले। राति मूसाले ढोका अगाडि केहि चिज कुटुकुटु काटेर निदाउन दिएन। ढोका खोलेर हेर्दा मूसो खुरुर्र भागिसक्थ्यो र देखिन्थ्यो मूसाले गरेको तोडफोडको नतीजाको रुपमा काठका साना-मसिना टुक्राहरु। आवासका ढोकाहरुमा काठमाथि एकपत्र पातलो प्लाई (?) टाँसिएको रहेछ र पूरानो हुँदै गएपछि त्यो प्लाई कतै-कतै उप्किन थालेको रहेछ। त्यहि प्लाई काटेर बस्दो रहेछ मूसो रातभरि। कुटुकुटु आवाजले असैह्य भएपछि ढोका खोल्ने र मूसो लखेट्ने क्रम जारी रह्यो केहि रात।

कोठामा सरेको पाँच दिनपछि बल्ल आईपुग्यो मूसाको विष। त्यो विष खाएपछि मूसो घर बाहिर गएर मर्छ भनेर लेखिएको थियो संगैको कागतमा। झट्ट हेर्दा साबुनजस्तो देखिने विषादि आठ टुक्रा पारेर प्रयोग गर्ने निर्देशन पनि लेखिएको थियो। ती टुक्राहरुलाई भान्छा, ढोकाहरुका अगाडि, भ-याङ्गमुनि आदि गरेर छरेर अलिक ढुक्कको सास फेरेर सुतियो।

राती मूसाहरुको ‘गतिबिधि’मा खासै कमी भने आएन। भोलपल्ट बिहान हेर्दा विषादिका सबै टुक्राहरु गायब भैसकेका थिए र ठाऊँ-ठाऊँमा मूसाका हरिया लिँडहरु देखिए, विषादि खाएपछिको असर होला शायद हरियो लिँड।

त्यो दिनबाट ‘साँढे’ मूसो देखिन छाड्यो।

‘साँढे’ नदेखिएपनि मूसाहरुको जुलुश भने ठूलै बाँकी रहेजस्तो लाग्यो। ढोका काट्ने काम अब तल्लो तल्लामा मात्रै बाँकी रह्यो। भ-याङ्ग चढेर माथिल्लो तल्लासम्म आउने ‘आँट’ शायद ‘साँढे’ मूसोमा मात्रै थियो:)

त्यो –याकको प्रयोग नगरिएको एउटा घर्रा सफा गर्दा अर्को मूसो निक्लियो र बैठक कोठातिर पुगेर बिलायो। यो मूसो धेरै पटक बैठक कोठातिर बिलाएकोले मूसा भित्र-बाहिर गर्ने प्वाल होला त्यो कोठामा कतै भनेर धेरै खोजियो तर पत्तो लागेन।

अर्को एक पोको औषधि पनि भित्रियो घरमा।

यो दोश्रो पोकोलाई टुक्र्याएर छरेको भोलिपल्ट दिऊँसो एउटा सानो मूसो भान्छाको –याकसंगैको झ्यालमा ऊँघेर बसिरहेको थियो। विषको असर हुनसक्छ। त्यति शक्ति नभएको देखेर उसलाई बढार्ने र डष्ट कलेक्टरमा हालेर बाहिर फ्याँक्ने विचारमा पुगें म। केहि घण्टामा त्यो मूसो बाहिरै मर्ने थियो। तर मैले उसको नजिक कूचो लानासाथ मूसो ज-याकजुरुक उठेर टाप कस्यो र –याकमुनि पुग्यो।

त्यो साँझ लोडशेडिङ्ग थियो र म घरमा एक्लै थिएँ। त्यो ‘बिरामी’ मूसोलाई निकाल्न र लखेट्न मैले धेरै कोशिश गरें। धेरै बेरसम्म –याकमुनि रड घुमाईरहें, तर मूसो निक्लेन।

भ-याङ्गमुनि ध्यान दिएर हेरेको, मूसाले प्वाल बनाएको रहेछ। केहि दिनअघि भ-याङ्गमुनि त्यस्तरी युद्धस्तरमा सफा गर्दा पनि यो देखिएनछ। भ-याङ्गमुनि सधैं अँध्यारो हुने, त्यसैले होला। अहिले बत्ती नहुँदा ईमर्जेन्सी लाईट बोकेर त्यता गईएछ र प्वाल देखियो। मूसाहरु बैठक कोठामा होईन, यतै आएर बिलाउँदा रहेछन्।

भ-याङ्गमुनिको प्वाललाई ईँट्टाका टुक्राहरुले टालटुल पार्ने कोशिश गरें मैले र फेरि भान्छातिर फर्किएँ। भान्छाको एक छेऊमा ‘बिरामी’ मूसो अल्मलिईरहेको थियो। पछाडिबाट सुटुक्क गएर एउटा मोटो लठ्ठीले जोडले थिचें एकछिन्। आर्तनाद गरिरहेको मूसोलाई त्यहि लठ्ठीले घिसार्दै ढोकासम्म लगें र हुच्चिएर बारीतिर हुर्र्याईदिएँ। पानी परीरहेको थियो, केहि बेरमै म-यो होला त्यो मूसो।

दोश्रो पोको औषधिका आठ टुक्रा मध्ये दुई टुक्रा त्यतिकै बाँकी रहेछन्। त्यो रात र भोलिपल्ट बिहानसम्म तलको कोठाको ढोका काटेको आवाज सुनिँदै थियो, त्यसपछि सुनिएन। विषादिका बाँकी दुई टुक्राहरु पनि देखिएनन् त्यसको एक रातपछि।

त्यसपछिका चार दिन घर बसिएन। फर्किएर आऊँदा पूरै घर डुङ्डुङ्ती गन्हाईरहेको थियो। तीनवटा मूसा मरेर कुहिन थालिसकेका रहेछन्। दुईटा ट्वाईलेटमा थिए र एउटा भान्छासंगैको स्टोरमा थियो। विषादिमा लेखिएको सही हो भने ‘मर्न’ का लागि खुल्ला ठाऊँ खोज्दा-खोज्दै त्यहाँ पुगेका होलान्, बाहिर निस्कने बाटो भेटेनन् होला। तीनलाई फालेपछि गन्हाउन छोड्यो।

यतिखेर भने मूसाले दु:ख दिएका छैनन् तर एक हप्ताको मूसा आतंकले छोडेको प्रभाव भने ज्यूँदै छ। कतै केहि स-याकसुरुक गरेजस्तो लाग्यो कि मूसा आयो भनेर उठ्न र बत्ती बाल्न छोडेको छैन:)

September 09, 2010

जाममा एकदिन

तस्बिर साभार: नागरिक दैनिक


हिजो कुशेऔँशीका दिन, पिताको मुख हेर्न भनेर हिँडेको म, नौ घण्टाभन्दा बढी जाममा परेर मध्यरातमा घर पुगें। नागढुंगाको नजिकै कतै गएको पहिरोले सिर्जेको जाम थियो त्यो।

बसका अरु सबै पनि मजस्तै पिताको मुख हेर्न हिँडेका थिए; धेरैजसो बच्चासहितका महिलाहरु थिए। कोहि लिन आउला-नआउला, आएन भने के गर्ने- एउटा अन्यौल र त्रासको भाव थियो बसभरि। काठमाण्डौं छोड्न लाम लागेका र पस्न लाम लागेका दुबैतिरका गरेर हजारौंको संख्यामा थिए होलान् गाडीहरु, तिनमा सवारहरुको संख्या लाखौंमा पुग्यो होला सजिलै। रात छिप्पिँदै जाँदा त्यो अन्यौल र त्रासको भाव यसरी लाखौं मनहरुमा सघन हुँदै थियो।

पहिरो छऊञ्जेल त रोकियो-रोकियो, पहिरो पन्छाएर बिस्तारै चलमलाउन थालेको सडकलाई फेरि थला पार्दिँदा रहेछन्, बीच-बीचमा ओभरटेक गर्ने र गलत दिशाबाट भएपनि आफू पहिला जान खोज्ने उपबुज्रुक चालकहरु। यस्ता खालका मान्छेको ताईँ न तुईँको अहंकार र अधैर्य मानसिकताका कारण अरु धेरैले अनाहकमा दु:ख पाउनुपर्छ। हिजोको जामको कम्तिमा चौथाई समय त यस्तै काईते भातमारा चालकहरुका कारण सिर्जिएको हुनुपर्छ।

पहिरो पन्छिसकेर र माथि उल्लेख गरिएका नियम मिचुवाहरुलाई ट्राफिक प्रहरीले सही दिशामा सोझ्याइसकेर गाडीको लस्कर चल्मलाउन थालेको केहि छिनमा फेरि रोकियो। अर्को पहिरो खस्यो कि कतै भनेर शंका गर्दै थिए सबै, होईन रहेछ; उकालो चढ्दै गरेको कुनै गाडीको तेल सकिएछ र ऊ सबैलाई अलपत्र पारेर बाटैमा लम्पसार परेछ। ४५ मिनेटजतिपछि गाडी-गँड्यौला फेरि चलमलायो, तेलको ब्यबश्था भयो होला शायद। हिजो त तेलमात्रै सकिएछ, कहिलेकाहीँ यस्तै बेलामा गाडीनै बिग्रिदिन्छन् र बाटैमा लम्पसार पर्दिन्छन् एक-दुई दिन।

मैले भोगेको यो नौ घण्टे जाम अरु कतिपय जामको दाँजोमा अझ छोटो हो। यो भन्दा धेरै लामो जाममा फँसेका रामकहानी धेरै सुनेको छु, धेरै साथीहरुबाट। हाम्रो जस्तो भौगोलिक बनावटमा पहिरो जानु स्वाभाविक हो। यस्ता पहिराहरु र जामहरु हरेक वर्षायामका हाम्रा साथी बनिसकेका छन, देशका सबै भेगका लागि। नीच राजनीतिक स्वार्थले जन्माउने जामहरुको अर्को अध्याय भने वर्षैभरि चलिरहन्छ। हामी यस्ता जाममा फँसी-फँसी 'अभ्यस्त' भईसकेका छौं।

पहिरो जानु स्वाभाविक हो तर एउटा पहिरोले देशको गतिलाईनै ठप्प पार्नु बिल्कुलै स्वाभाविक होईन। वर्षौं यसरी पहिरोका कारण सिर्जिएका जामलगायतका समस्या र जनधनको अपार क्षति देख्दा-देख्दै, अनुभव गर्दा-गर्दै पनि हामीले अझै यसको दिगो समाधान भेट्न नसक्नु झन् स्वाभाविक होईन।

पहिरोलाई द्रुत गतिमा पन्छाउन सक्नेगरी तयारी अवश्थामा रहनु जति आवश्यक छ, सडकनजिक पहिरो जानै नसक्ने गरी बेलैमा रोकथामका बिभिन्न उपाय अपनाउनु अझ आवश्यक छ। हामीसंग त्यसका लागि आवश्यक दक्ष जनशक्तिको अभाव छैन, सडक यातायातको लामो अनुभव सँगालिसकेको छ देशले। मितब्ययितापूर्वक सदुपयोग गर्ने हो भने स्रोत-साधनको पनि खासै अभाव हुने छैन।

समस्या समाधानको अर्को पाटो भनेको वैकल्पिक सडकहरुको निर्माण हो। सकिन्छ भने हरेक प्रमुख मार्गसंग समानान्तर हुनेगरी अर्को एक वा दुई मार्ग निर्माण गरिनुपर्छ। सामान्य अवश्थामा ती मध्ये एउटा हल्का सवारी साधनहरुका लागि र अर्को ट्रकजस्ता भारी सवारी साधनहरुका लागि तोक्न सकिन्छ। यसले सडकमाथिको अहिलेको अनियन्त्रित चापलाई कम गरेर सडकको आयु बढाऊँछ र पहिरोजस्ता प्रकोपका बेला विकल्प उपलब्ध हुन्छ। सडकको पूरै लम्बाईमा नसके केहि निश्चित संवेदनशील खण्डहरुमा मात्रै पनि त्यो ब्यबश्था गर्न सके पनि धेरै सुविधा हुन्छ।

सात साललाई हामीले नेपाल आधुनिक युगमा पदार्पण गरेको प्रस्थान बिन्दू मानेका छौं। त्यस यता सडकका नाममा देशको पैसाको ठूलो खोलो बगाईसकिएको छ। ४६ सालपछिकै कुरा गर्दा पनि लगानी धेरै लागिसकेको छ। लगानीको अनुपातमा काम हुन सकको भए शायद देशभरि सुविधायुक्त सडक-संजाल बनिसक्नेथियो। तर हाम्रो दुर्भाग्य, सडक-निर्माण हाम्रो देशका नेता, प्रशाशक र प्राविधिकहरुको एउटा सिण्डिकेटको 'दुहुनो गाई' बनेको छ। सडक निर्माणको पक्ष हाम्रो देशमा सबैभन्दा धेरे भ्रष्टाचार हुनेमध्येको एक हो। यसैले हामी यस्ता जाम खपिरहन विवश छौं।

हिजोको जाममै मैले सुनेको ठट्यौलीको भाषामा भन्दा हामी यस्तै 'जाम'संग मनको 'पाउरोटी' खाईरहन विवश छौं:)

देशमा भईरहने यस्ता जामहरु, तिनमा फँस्ने लाखौंको संख्यामा रहेका सर्वसाधारणले भोग्नुपर्ने शारीरिक-मानसिक कष्ट र जामका कारण खेर गएको देशको कार्यक्षमता र समय बुझ्न सक्ने संवेदनशील राज्ययन्त्र हामीसंग कहिल्यै भएन। प्लेन र हेलिकप्टर चढ्न सक्ने भएपछि हिजो आफूलाई हिँडाउने सडकलाई सजिलै चटक्क बिर्सिदिने कृतघ्न छन् हाम्रा नेताहरु, नीति-निर्माताहरु र प्रशाशकहरु। धिक्कार छ तिनको संवेदनाहीन मनलाई!

र धिक्कार छ यस्ता संवेदनाहीन नेताहरु र प्रशाशकहरु जन्माउने र तिनलाई टाउकोमा चढाउने हामी नेपाली जनतालाई!

September 05, 2010

संक्रमणकाल

आफूले सुनेका/पढेका तर नभोगिएका परीवर्तनहरुसंग चिनजान गर्दैछु। सात वर्ष यसै पनि लामो समय हो, यो अवधिमा परीवर्तनको गति जतिसुकै मन्द हुने समाजमा पनि धेरै कुरा फेरिएको देखिन सक्छ। परीवर्तन भएका कति कुरा प्राकृतिक र स्वाभाविक हुन्छन्। धेरै चिनजानका ब्यक्तिहरुको निधन भईसकेको हुन्छ, धेरै नयाँ बच्चाहरु थपिईसकेका हुन्छन् समाजमा। आफू जाँदाका साना बच्चाहरु किशोर बनिसक्छन् र किशोरहरु बलिष्ट वयष्क बनिसकेका हुन्छन्। एउटा फरक परिवेश र स्थानमा बिताएपनि आफूले पनि यो अवधिमा बिताईएको उहि सात वर्ष हो, तर यो अवधिको परीवर्तनलाई प्रत्यक्ष देख्न नपाएको हुँदा कता-कता के-के अनौठो लाग्दो रहेछ। आफ्नो मनमा आफूले छोडेर जाँदाकै चित्र बाँकी हुँदो रहेछ र त्यहि चित्रका आधारमा सबै कुरा चिन्ने-खोज्ने निरर्थक चाहना पनि हुँदो रहेछ।

हाम्रो देशका लागि यो कालखण्ड अझ विशेष रह्यो। यहि अवधिमा धेरै ठूला राजनीतिक परीवर्तनहरु भए।

नयाँ परिवेशमा पुगेको आफ्नो समाज र देशसंग फेरि परिचय गाँस्ने क्रममा छु यतिखेर, अर्को शब्दमा अहिलेको ‘फेशनेवल’ वाक्यांश ‘नयाँ नेपाल’ संग चिनजान गर्दैछु। त्यो परिवेशमा आफ्नो ठाऊँ खोजिरहेछु र आफ्नो परिचय निर्माण गर्न खोजिरहेछु। भौतिक, मानसिक सबै हिसाबले एउटा संक्रमणबाट गुज्रिरहेछु।

नेपालको जिन्दगी अप्ठेराहरुले भरिएको छ। अप्ठेराहरु हिजोपनि थिए, र आज अप्ठेराहरु नघटेका बरु झन् बढेको पाएँ मैले। वर्षौंको अस्थिर राजनीति र सीमाहीन मौलाएका भ्रष्टाचार, नीतिहीनता र दण्डहीनताका कारण देश झन्-झन् जर्जर हुँदै गईरहेको छ। केहि मान्छेहरु “कत्रा-कत्रा परीवर्तन भए---“ भनेर घमण्डले खोक्छन् तर राजनीतिक परीवर्तन हुनुनै कुनै ठूलो कुरा होईन। राजनीतिक परीवर्तनसंगै प्रणालीबद्ध सामाजिक-आर्थिक विकास र समृद्धि जोडिएर आउन सक्यो भनेमात्रै त्यो राजनीतिक परीवर्तन गर्व गर्न लायक हुन्छ। यतिखेर, देशको राजनीतिक प्रणालीमा जति परीवर्तन भए पनि सत्तासंयन्त्रको काम गर्ने शैलीमा कुनै परीवर्तन देखिएको छैन। आफूलाई नयाँ भनाउने शक्तिहरु पनि पूरानै भ्रष्ट र असक्षम प्रणालीभित्रै आफ्नो भाग खोज्न र त्यसमै रमाउन अभ्यस्त हुन थालेका छन्। एउटा थोत्रो-बिग्रिएको गाडीमा चालक फेरिएजस्तै स्थिति छ अहिले। गाडी नयाँ नबनुञ्जेल थोत्रो-बिग्रिएको गाडीमा चालकमात्रै फेर्दैमा केहि हुनेवाला छैन।

नेपाली जिन्दगीका अप्ठेराहरु भोग्ने बानी पार्दैछु। शुद्ध सफा पानीको अभाव र वर्षैभरिको लोडशेडिङ्ग यतिखेरको नेपाली जिन्दगीलाई परिभाषित गर्न सकिने सबैभन्दा सटीक प्रतीक हुन्। हिजोदेखि आजसम्म देश चलाउनेहरुमा अलिकति मात्रै पनि सृजनात्मकता, अलिकति मात्रै पनि संवेदनशीलता भईदिएको भए हामीले पूरै देशमा विद्युतीकरण गरीसकेका हुन्थ्यौं यतिखेरसम्म, तर त्यो हुन सकेन, र अझै केहि समय हुने छाँट देखिँदैन। जबसम्म हाम्रो राजनीति समाजका सबैभन्दा धूर्त र कपटी मान्छेहरुको बन्दी बनीरहन्छ, तबसम्म यो अन्धकार हामीले भोगिरहने छौं।

यो पाली वर्षामा पनि दिनको दुई घण्टा लोडशेडिङ्ग कायमै छ। वर्षामै दुई घण्टा भएपछि हिऊँद लागेपछि स्थिति भयावह हुने निश्चित छ। यहाँ मान्छेहरुको मनमा अठाह्र घण्टे लोडशेडिङ्गको स्मृति आलै छ। यो पालि त्यति वा त्यो भन्दा पनि बढी हुने पक्काजस्तै छ। केहि समय पहिला कालीगण्डकीमा समस्या आउँदा एक हप्ताजति दैनिक आठ घण्टे लोडशेडिङ्ग खपियो। त्यसलाई मैले भावी ‘अठाह्र घण्टे’ खप्ने अभ्यासका रुपमा लिएको छु:) फेरि अहिलेको दैनिक दुई घण्टे पनि तालिकाबद्ध छैन। त्यो दुई घण्टा बाहेक पनि बत्ती कतिखेर जाने र कतिखेर आउने ठेगान हुँदैन। यसैले जिन्दगी तालिकामा चलाउन गाह्रो छ।

पहिला यहि कुराले त्यति घोच्दैनथ्यो होला, किनभने जिन्दगीको एउटा महत्वपूर्ण भागको रुपमा ईण्टरनेटको उपस्थिति थिएन। अहिले हेर्दा, जिन्दगीका महत्वपूर्ण सम्वादहरु, सम्पर्कहरु सबै ईण्टरनेट आश्रित भईसकेछन्। विशेष गरी पेशागत जीवनका लागि आवश्यक सम्पर्क र सम्वादका लागि अरु माध्यमहरुको प्रचलन लगभग पूरै घटीसकेको छ। फोन एउटा विकल्प हुनसक्छ यदाकदा तर यसका आफ्नै सीमा छन् र यो खर्चिलो पनि हुनसक्छ।

हाम्रो ‘संक्रमण’काल यसरी चल्दैछ भने आर्याको पनि आफ्नै संक्रमणकाल चल्दैछ। हामीभन्दा धेरै निश्चिन्त बाल-मनोदशामा बाँचीरहेकाले ऊ खुशीनै छे। शुरुवाती दिनका भाषिक समस्यामाथि बिस्तारै विजय पाउन थालेकी छे उसले, नेपाली राम्रैसंग बोल्ने भईसकी। उसको भाषिक संक्रमणकालको यतिखेरको चरण अनौठो देखिन्छ; उसले नेपाली बोलेको जापानीले नेपाली बोलेको जस्तो लाग्छ भने उसले जापानी बोलेको नेपालीले जापानी बोलेको जस्तो लाग्छ:) ध्वनिगत रुपमा उसको उच्चारण यतिखेर नेपाली र जापानीको ठीक मध्यमा छ। हामी दुईले घरमा कहिलेकाहीँ मात्रै भएपनि ऊसंग जापानी बोलेर उसको जापानी क्षमतालाई बिग्रने नदिने कोशिश गरेको हो, तर त्यो सम्भव हुने छाँट देखिन्न। स्कूल पनि जान थालीसकेकी छे, साथी धेरै बनाएपछि उसले तिब्र गतिमा जापानी बिर्सने निश्चित छ अब।

यतिखेर तीजको आगमन नजिकिएको छ र केहि नेपाली टिभी च्यानेलहरुमा तीजका गीत जतिखेरपनि बजिरहेका हुन्छन्। ती गीत हेर्दै नक्कल गरेर नाच्नु उसलाई सबैभन्दा मनपर्ने काम हो यतिखेर। आमाको कुर्थाको शललाई सारी मानेर जीऊमा बेर्न पनि सिपालु भईसकेकी छे ऊ।

लोडशेडिङ्ग उसका लागि भने रमाईलो कुरो भएको छ। बत्ती जाँदा “बत्ती गयो--!” भनेर कराउनु र आऊँदा “बत्ती आयो--!” भनेर रमाउनु उसको दिनचर्याका प्रिय गतिबिधिहरुमध्येका बनेका छन्। साँझमा बत्ती जाँदा जम्मा हुने भिडमा हिँड्न उसलाई खुब रमाईलो लाग्छ। सडकमा जताततै देखिने फोहरसंग भने अझै अभ्यस्त हुन सकेकी छैन ऊ। बाहिर निस्कँदा “कुसाई! कुसाई!” (गन्हायो! गन्हायो!) भनेर नाक छोपिरहन्छे। त्यसैगरी गाडीका हर्नको आवाजलाई सहने बानी पनि अझै लागिसकेको छैन।

हाम्रा सडकहरुमा देखिने छाडा कुकुरहरु र गाईहरु देखेर भने ऊ खुब खुशी हुन्छे। “ऊ कुकुर!” वा “गाई आयो!” भनेर दंग पर्छे ऊ सडकमा तीनलाई देख्दा।

हाम्रो ‘संक्रमण’काल लोडशेडिङ्ग र छाडा सडकले दु:खी छ, उसको संक्रमणकाल यिनैले गर्दा खुशी छ। बच्चा हुन पाउनुपनि गज्जबकै कुरो हो:)

August 29, 2010

फेरि पूरानै टुक्राहरु

यस पटक ब्लगले एउटा 'रेकर्ड' तोड्यो:) आज आठौं दिनमा आएर बल्ल नयाँ केहि टाँस्ने जमर्को गर्दैछु। त्यो पनि हालसालै लेखेको नयाँ नभएर, धेरै पूराना। जापान बसाईका शुरुवाती दिनहरुमा लेखिएका टुक्रा हुन् यी, नियममा नबसी लेखिएका 'सेन्र्यु'हरु।

"गरिबीको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।

"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो वतास!

ब्लगमा कतै दोहोरिईसकेका रहेछन् यी टुक्राहरु भने माफ पाऊँ।

August 21, 2010

रविन थपलियालाई सहयोग

दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका पत्रकार रविन थपलियाको उपचारको सहयोगार्थ आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो, गत साउन ३१ गते सोमबार। उक्त कार्यक्रममा रविन थपलियाजीको उपचारार्थ जापानमा संकलित रकमको औपचारिक हस्तान्तरण पनि गरियो।

रविनजीसंग मेरो परिचय फेसबुकले गराएको हो। उहाँको उपचारका लागि र कृत्रिम खुट्टा जडानका लागि सहयोग गर्ने आह्वानका साथ फेसबुकमा चर्चा शुरु भएपछि जापानमा पनि हामीले कुराकानी र योजना शुरु ग-यौं। केहि समयपछिनै जापानमा रहेका नेपाली विद्यार्थीहरुको संगठन ‘नेपाली विद्यार्थी सामाज, जापान’ (नेसाज) को नेतृत्वमा सहयोग संकलन शुरु गरियो। यसपटकको संकलन अभियान नागोया क्षेत्रमा केन्द्रित थियो, तर नागोया बाहिरका केहि महानुभावहरुले पनि खुल्ला मनले सहयोग पठाउनुभएको थियो। नेसाजको सकृय अभियानका कारण दुई हप्ताभन्दा छोटो समयमै पनि उल्लेखनीय रकम संकलन भयो। हामी नेपाल फर्कने बेला परेकोले त्यो रकम हस्तान्तरण गर्ने कामको जिम्मा पनि हामीलाईनै दिए साथीहरुले।

रविनजीको उपचारको लागि धेरै देशमा रहेका नेपालीहरुले सहयोग संकलन जारी राखेका छन्। केहि ठाऊँको रकम उहाँले प्राप्त पनि गरीसक्नुभएको छ। सोमबारको कार्यक्रममा एनआरएन-आयरल्याण्डका प्रतिनिधिले आयरल्याण्डमा संकलित रकम पनि हस्तान्तरण गर्नुभएको थियो। देशभित्रैबाट पनि सहयोग संकलन भईरहेछ। उक्त कार्यक्रममै पनि थुप्रै संघ-संस्थाहरु र सहृदयी महानुभावहरुले सहयोगको घोषणा गर्नुभएको थियो।

यो कार्यक्रमभन्दा पहिले रविनजीकै निवासमा दुई पटक भेटघाट र आत्मीय भलाकुसारी भएको थियो मेरो। उहाँले भोग्नुपरेको बिभत्स दुर्घटना, बीएण्डबी अस्पतालको लापर्वाही, क्षतिपूर्ति पाउनका लागि गर्नुपरेको संघर्ष र दोषीहरुमाथि कारवाही गर्न सम्बन्धित निकायहरुले देखाएको उदासीनता उहाँकै मुखबाट सुनें मैले। उहाँको कुरा सुनेपछि हाम्रो देशको स्थितिको भयावहताले मलाई एकचोटि फेरि कहाली लगायो। हाम्रो देश सिण्डिकेटहरु, अपराधीहरु र भ्रष्टाचारी कर्मचारी र नेताहरुको मिलमतोका कारण विकराल दण्डवीहिनताको स्थितिमा पुगेको छ। रविनजीको समग्र अनुभव हाम्रो देशमा जारी नियमहीनता र दण्डहीनताको एकदम स्पष्ट उदाहरण हो।

करीब चौध महिना पहिले बालाजुमा घटित एक बिभत्स दुर्घटनामा पर्नुभएको थियो रविनजी। उहाँले चलाईरहनुभएको मोटरसाईकललाई गलत दिशाबाट आईरहेको ट्रकले ठक्कर दिएको थियो। सामान्य घाईतेमात्रै हुनुभएका उहाँलाई ट्रकचालकले ट्रक ब्याक गरेर मार्न खोजेको रहेछ, तर त्यहाँ उपश्थित जनसाधारणले उहाँलाई जोगाएका रहेछन्। दुर्घटनाका कारण उहाँको खुट्टामा चोट लागेको रहेछ। उक्त चोट गम्भिर भएपनि खुट्टै काट्नुपर्ने स्थितिको भने थिएन। उपचारार्थ बीएण्डबी अस्पतालमा भर्ना भएपछि अस्पतालको लापरवाहीका कारण चोटमा ईन्फेक्सन हुँदै र फैलिदैं जाँदा खुट्टा काट्नुपर्ने भएको रहेछ। आफ्ना समग्र भयावह अनुभवहरुलाई रविनजीले आफ्नो ब्लग “अग्निबाँण” मा रविनजीले विस्तृत रुपमा लेख्नुभएको छ।

फर्कौं फेरि कार्यक्रमतिरै। कार्यक्रम निर्धारितभन्दा एक घण्टा ढिला शुरु भएको थियो। कार्यक्रमका सबै वक्ताहरुले छोटो र विषयको सीमाभित्रै रहेर बोलेका थिए। यहाँसम्म कि माओवादी नेता पोष्टबहादुर बोगटी र कांग्रेस नेता अर्जुन नरसिंह केसीसमेतले राजनीतिका कुरा गरेनन्। उनीहरुले रविनजीको उपचारार्थ आर्थिक र अन्य सहयोगको प्रतिबद्धता राखेर छोटो मन्तब्यमात्रै राखे। नेपालका कार्यक्रमहरुमा यस्तो विरलै देखिन्छ। यतिखेरका हरेक कार्यक्रमहरुमा, चाहे ती राजनीतिसंग सुदूर साईनोसम्म पनि नभएका किन नहुन्, देशको राजनीति र हुन नसकेको प्रधानमन्त्रीको निर्वाचनको बाढी पस्नु स्वाभाविक देखिन्छ। यो कार्यक्रमको एउटा सकारात्मक अनुभवको रुपमा लिएको छु मैले यसलाई।

कार्यक्रममा नेसाजको प्रतिनिधित्व गर्दै नेसाजका पूर्व कार्यकारी सदस्य सोविता कोईरालाद्वारा जापानमा संकलित १११६०२ येन रकम रविनजीलाई हस्तान्तरण गरियो। नेसाजको पूर्व सदस्यको रुपमा सोविताजी र नेसाजको सल्लाहकारको रुपमा मैले छोटो मन्तब्यको अवसर पनि पाएका थियौं। टनाटन भरिएको हल र विशिष्ट ब्यक्तित्वहरुको माझमा नेसाजको चर्चा हुँदा यो कार्यक्रमका माध्यमबाट नेसाजले पनि एउटा राम्रो पहिचान बनायो भन्ने लागेको छ हामीलाई।

औपचारिक कार्यक्रपछिको रमाईलो सांस्कृतिक कार्यक्रम भने आधा भन्दा बढी हेर्न भ्याईएन।

रविनजीलाई सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने तलको खातामा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुन्छ;

गोर्खा विकास वैक,
पुतलीसडकमा रहेको
रविन थपलिया नामको खाता नम्वर 03823 SA

रविनजीसंग सम्पर्कको लागि;

रविन प्रसाद थपलिया
मनमैजु ५, काठमाण्डौ,
मोवाईल ९८४१६५९४९४
rabin.thapaliya@gmail.com