July 30, 2007

संविधान सभाका शत्रुहरु

सात साल देखि पकाउने सूर कसिएको र अझै आगै बाल्नसमेत नसकिएको "संविधान सभा" नामको अजीब खिचडी यस पाला पनि पाक्ने छाँट देखिएको छैन। राम्रोसंग छड्केर पाक्न पायो भने यो खिचडीले धेरै ठूला-ठूला काम गर्न सक्छ र हामीलाई उज्यालोतिर डो-याउन सक्छ भन्ने आश हो हामी सबैको। तर यहाँ त खिचडी बसाल्नै नदिने र बसालीहालेपनि राम्ररी पाक्न नदिने खेल चलिरहेको छ। खिचडी पाक्नै पाएन (चुनावै हुनपाएन) भने देश हिंसा-द्वन्द र बेथितिको अझ गहिरो खाडलमा धकेलिने निश्चित छ। राम्ररी नपाकी काँचै खिचडी खानुप-यो देशले भनेपनि स्थिति उहि हुनेछ।

संविधान सभाको सबैभन्दा ठूलो शत्रुको रुपमा दरबारीया शक्तिलाई लिइएको छ। राम्ररी चुनाव हुनपाएर जनताको आकांक्षाअनुरुपको संविधान सभा बन्यो भने सबैभन्दा पहिले ओरालो लाग्ने पालो दरबारीयाकै हुनाले, स्वाभाविक हो, आफ्नो अस्तित्वरक्षाको लागि जे गर्न पनि तयार हुन्छ दरबार र गराइरहेको पनि छ होला। दरबारको कुनैपनि षडयन्त्रलाई नाकाम गर्नका लागि देशका राजनीतिक शक्तिहरुमा इमान्दारिता, सजगता, अनुशाशन र एकता चाहिन्छ। दु:खको कुरो, यतिखेर हाम्रा राजनीतिक दलहरुसंग केहि पनि छैन।

सबैभन्दा चरम अनुशाशनहीनता देखाइरहेका छन् माओवादीहरुले। हिजो प्रजिअमाथि भएको हातपात त पछिल्लो कडीमात्रै हो। उनीहरु सारमा शाही मण्डलेभन्दा कत्तिपनि फरक छैनन् भन्ने कुराको अर्को प्रमाण थपिएको छ। मूढे शक्तिको भरमा जे गरेपनि हुन्छ भन्ने भूत सवार भएको छ माओवादीहरुमा र उनीहरु शायद यहि सोच्दा हुन् कि माओवादीको नाममा जे गरेपनि जनताले स्विकार्छन्। गम्भिर मूर्खतापूर्ण भूल गर्दैछन् माओवादीहरु र आफ्नै विनाशको बाटोमा गईरहेका छन्। अति भएपछि जनता कसरी उठ्छन् र क-कस्को के गति गराईदिन्छन् भन्ने कुरा पतनको संघारमा पुगेको राजतन्त्रलाई हेरेर बुझ्नुपर्ने हो यिनीहरुले, तर यिनीहरुको दिमागमा बिर्को लागेको छ। डेढ शताब्दी पुराना मन्त्रहरु र प्रचण्डको ब्यक्तिपूजामात्रैले दिक्षित भाँडहरुको भीडले सोच्नसक्ने कल्पना गर्नु पनि बेकारै हो।

जसले जे सुकै भनुन्, तर साँचो कुरा के हो भने संविधान सभाको अर्को शत्रु माओवादी हो र यो दरबारकै स्तरको शत्रु हो। पोहर बैशाख-जेठतिर जंगलबाट शहर पस्दा यिनलाई लागेको थियो कि 'पूरै देश हाम्रो जय-जयकारमा छ र संविधान सभाको चुनावमा दुई-तिहाई बहुमत त हाम्रै आऊँछ, नभए बहुमतमात्रै त कतै नजा!' तर मनगढन्ते विश्लेषणले सजिलै हावा खाने छाँट देखे यिनले केहि समयमै। त्रासरहित निस्पक्ष चुनाव हुने हो भने माओवादी र राप्रपाको बराबरीसम्म होला, त्यहाँ भन्दा माथि त त्यस्तै हो! माओवादीहरुको अचाक्ली बर्बरता जनताले बिर्सेका छैनन् (शाही बर्बरतामात्रै सम्झेर माओवादीलाई चाहिँ माफ गर्नुपर्छ भन्ने पनि छैन!) र त्यसको बदला जनताले चुनावमा लिने छन्। जनताले लिने त्यो बदलाको पूर्वाभाष भईसकेको छ माओवादीलाई र उ संविधान सभाको चुनाव चाहँदैन। कथंकदाचित चाहन्छ भनेपनि, बिस्तारै आफ्नो स्थिति मजबूत बनिसकेपछि मात्रै चाहन्छ। त्यसैले माओवादीहरु यो देशमा अराजकता फैलाउने कुनैपनि मौका छाड्दैनन्। नेताहरु माथि बसेर आदर्शका भाषण ठोक्छन्, उपनेताहरु र कार्यकर्ताहरु तल अराजकताको ताण्डव-नृत्य नाच्छन्। भोलि सरकारले कारवाही गर्न खोज्छ, अनि फेरि जंगल पस्ने घुर्की देखाएर कारवाही रोक्छन्। वाह क्या गज्जबको क्रान्तिकारी काइदा!

उता केन्द्रीय नेताहरु बैठकमा 'जनविद्रोहको आवश्यकता' देख्छन् र संविधानसभा चुनाव अगाडि वा पछाडि कहिले 'गर्ने' भन्ने बारेमा 'बहस' गर्छन्! चुनाव अगाडिनै कथित 'जनविद्रोह' गर्नुको अर्थ हो चुनाव हुन नदिनु र भईसकेपछि गर्नुको अर्थ हो चुनावको नतिजालाई अस्विकार गर्नु। यो माओवादीहरुको पराजित मानसिकताको लक्षण हो। नेपाली जनताको माझमा आफ्नो असली हैसियत देखेपछि उनीहरु आत्तिईसकेका छन्। तर उनीहरु आफूलाई सुधार्न र जनताको मन जित्न चाहँदैनन्। मूढे बल र हिंसाको भरमा आफ्नो अधिनायकवादी सत्ताको स्थापना गर्न चाहन्छन्।

यो उनीहरु विनाशको बाटोमा हिँडेको लक्षण हो। उनीहरुमात्रै विनाश भए त मलाई दु:ख लाग्ने थिएन, बरु खुशीनै हुने थिएँ। तर उनीहरुको कारणले देशले अझ बढी रक्तपात देख्नुपर्ने र जनताले अझ कष्टकर जिन्दगी भोग्नुपर्ने छ। भविष्को यो कल्पनामात्रैले पनि मलाई असाध्यै दु:खी बनाउँछ।

चीनको 'सुधारिएको माओवाद' पाँच वर्ष अनुभव गरेको र उक्त क्रममा उत्तर कोरियाको जारी 'राजतन्त्रात्मक सक्कली माओवाद'मा जनताको पशुभन्दा पनि गएगुज्रेको हालत पनि देखेको हुनाले माओवादीहरुप्रति ब्यक्तिगत रुपमा मेरो विश्वाश कहिल्यै थिएन, अलिकति पनि थिएन र कहिल्यै पनि हुनेछैन। अनगिन्ती कमजोरीहरुका बाबजूद लोकतन्त्र निर्विकल्प राजनीतिक ब्यबश्था हो। कुनैपनि अधिनायकवाद, पहेंलो वा रातो, शाही वा माओवादी, स्विकार्य हुनसक्दैन। अधिनायकवाद मूर्दाबाद! लोकतन्त्र जिन्दाबाद!!

July 26, 2007

माओवादीहरु 'मूलधार'मा आउँदै? तर कस्तो मूलधारमा?

एक-दुईटा कुराकै भरमा कसैको झ्वाट्ट विश्वाश गरिहाल्नु त नहुने हो, तैपनि महराको कुरो सुन्दा माओवादीहरु (कम्तिमा तीनका टाउकेहरु) एकदलीय अधिनायकवादी चिन्तनलाई छोडेरै अगाडि जाने मनस्थितिमा छन् भन्ने कुराको छनक पाईयो। प्रसंग 'हिमालयन टाइम्स' र 'अन्नपूर्ण पोष्ट'मा भईरहेको मजदूर आन्दोलनको हो र महराले भनेको चाहिँ 'जनयुद्धबाट सत्ता जितिंदैन भन्ने निष्कर्षसहित सम्झौताको बाटो रोजेका हौं । हामी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छौं ।' हो। शंका गर्ने ठाऊँ यसमै पनि नभएको भने होइन। शान्तिपूर्ण तरिकबाटै सत्ता कब्जा गरेपनि त्यसपछि के गर्छन् भन्ने कुरा त अझै अन्योलमै छ। प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता बोलीले मात्रै होइन, कामले पनि देखाउन प-यो। समयक्रममा देखिँदै जाला।

बहुदलीय शाशन प्रणाली र वाक-प्रकाशन स्वतन्त्रतालाई वर्तमान नेपाली राजनीतिको 'मूलधार' मान्ने हो भने माओवादीहरु यो 'मूलधारमा' नआई सुखै छैन। देश-विदेशको इतिहासले यस्तै देखाउँछ।

तर हाम्रो 'मूलधार'मा भएको राम्रो भनेको यहि मात्र हो, त्यो पनि ब्यबहारमा सबैको लागि कत्तिको लागू भएको छ, विचारकै विषय छ। जंगलबाट हालसालै शहर पसेको माओवादीले मूलधारको यो राम्रो पक्षलाई कत्तिको समाउँछन् कुन्नि तर बाँकी रहेका पत्रु धारहरुलाई भने गज्जबसंग समाउन थालिसकेका छन्। नेताहरुको विलासीतातिर बदलिँदो जीवनशैलीका कुराहरु बाहिर आउँदै छन्। उता कार्यकर्ताहरु घामपानीमा दु:ख गर्दै छन्। ०४६ सालपछि पनि यस्तै भएको थियो, नेपाली काँग्रेस र एमालेको हकमा। नेताहरुको विलासी र सुविधाभोगी जीवनशैलीनै देशमा भ्रष्टाचार बढाउने प्रमुख कारक तत्व हो। के माओवादी पनि यो होडमा लागेको हो?

काँग्रेस-एमालेले बोकेको अर्को ठूलो मूलधार भनेको कार्यकर्ता भर्ती र भागबण्डाको मूलधार हो। देशको कर्मचारीतन्त्र र अरु बिभिन्न निकायहरुलाई सकेसम्म पंगु बनाउन मिल्दै नमिल्ने र हुँदै नहुने ठाउँमा समेत आफ्न कार्यकर्ता छिराउने र माथिल्लो तहमा आफ्ना हनुमानहरु अथवा आफूलाई 'शुभ-लाभ' दिनसक्नेहरु नियुक्ति गर्ने कुरामा यीनलाई कसैले जित्न सक्दैन। यी कस्ता छन् भने सकेससम्म आफैं सबै भाग खान खोज्छन्, नसकेपछि भागबण्डा गर्छन् र त्यसपछि तैं चूप, मैं चूप। भर्खरैको उपकूलपतिहरुको नियुक्तिनै हेरौं। देशका प्राज्ञिक निकायहरुको उपकूलपति नियुक्ति दलहरुको भागबण्डामा हुनुजत्तिको बिडम्बना अरु के हुनसक्छ?! के हाम्रो देशमा दलको खोल नओढेका प्राज्ञहरुनै बाँकी छैनन् अब?! के नेपालमा विशुद्ध प्राज्ञिक जीवन असम्भव भईसक्यो अब?!

तर कथित नयाँ नेपालको सपना बाँडेर नथाक्ने माओवादीहरुले के गरे त? के उनीहरुले दलहरुबीचको भागबण्डाबाट होईन, उप-कूलपतिहरु नियुक्तिको लागि एउटा निश्चित प्रकृया बनाउनुपर्छ, यसलाई सकेसम्म राजनीतिबाट टाढा राखिनुपर्छ ता कि भविष्यमा कसैको हस्तक्षेप हुन नपाओस् र विश्वविद्यालयहरु स्वयंले निर्णय गर्न सकुन् भनेर भने? हामीलाई थाहा भएकै कुरो हो, भनेनन्। बरु उनीहरुले पनि एउटा भाग खोजे र पाएपछि सन्तुष्ट भए।

यस्तै गति राजदूत नियुक्तिमा पनि भईरहेको छ। मेरो विचारमा हामीसंग पेशेवर कूटनीतिज्ञ या त छँदै छैनन्, या त तिनले कहिल्यै मौका पाएनन्। हाम्रो कूटनीति यति पत्रु स्तरमा छ कि हामीलाई भुटानले पनि सय पटक धोती लगाईदिईसकेको छ। यसो किन भयो? किनभने हरदम दरबार र दलका भारदारले मात्र मौका पाए राजदूत हुने। नयाँ नेपालको निर्माण भनेको सबै दिशामा नयाँ नेपालको निर्माण हो। नेपाली कूटनीतिलाई सक्षम, पेशेवर, राजनीतिक हस्तक्षेपमुक्त र दुनियाको आँखामा विश्वशनीय बनाउनु एकदमै जरुरी छ। यसका लागि एउटा निश्चित प्रकृया बनाईनु पर्ने हो, ता कि भोलि आवश्यकता पर्ना साथ सक्षम मान्छेहरु तुरुन्त निकाल्न सकियोस्। तर अब पनि यस्तो प्रकृया बन्ने छाँट छैन। कांग्रेस-एमाले भागबण्डामा झगडा गरिरहेका थिए, माओवादी आएर थपियो। मेकानिज्मको कुरालाई धोती लगाईदिएका छन् सबैले, र माओवादीपनि देशै तोकेर भाग मागेर बसेको छ।

के नयाँ नेपाल भनेको माओबादीले एक भाग पाउनु मात्रै हो? दुई टुक्रा हुने गरेको देश तीन टुक्रा हुनुमात्रै हो?

माओवादीहरु शायद यस्तै 'मूलधार' मा पस्न लालयित थिए शायद।

July 24, 2007

कथा- "कुँडो"

(यो मेरो अलिक पहिलेको कथा हो। पढिसकेका साथीहरुसंग दोहोरिएकोमा क्षमाप्रार्थी छु। आशा छ नयाँ पाठकहरुले मन पराउनुहुनेछ।)

“कुँडो”


“ए----! ढिलो पो भईसकेछ!” घडी हेरेर ओमे गुन्गुनायो र झोला बोकेर दौडियो। सबैलाई थाहा भएको नियमित साप्ताहिक घटना भएकोले ल्याबका जापानी केटाहरुले खासै ध्यान दिएनन्। असाध्यै भोक लागे पनि पाउरोटी टोक्ने फूर्सद पनि पाएन उसले। ‘तीन मिनेट पनि बाँकी छैन, ढिला पुगिएला जस्तो छ, आज रिसाउनी भ’ साला खप्परे!’ स्वाँ-स्वाँ र फ्वाँ-फ्वाँ गर्दै उ पुस्तकालयमा पुग्दा अरु सबै भेला भईसकेका रहेछन् तर उ पनि खप्परेले ध्यानै दिने गरी ढिलो भने पुगेन, ठीकै भो।

हुनत आज शुक्रबार हो, सप्ताहन्तको साँझ रमाईलो गर्नुपर्ने हो तर यो सेमेष्टर ओमेको सप्ताहन्त छैन भने पनि हुन्छ। उसले डेढ वर्ष पहिलेनै निवेदन हालेको थियो पुस्तकालयमा काम गर्नको लागि, तर अहिले आएर मात्रै मिलेको थियो हप्ताको एक दिन, शुक्रबारको लागि, दिउँसो चारबाट बेलुका नौ बजेसम्मको। भेटेको काम छोड्ने कुरो भएन, ‘बरु शनिबार-आईतबारको बाइतो अलिक कम गर्नुपर्ला।‘ भन्ने सोचेर पुस्तकालयको काम शुरु गरेको थियो उसले।

पुस्तकालयको कर्मचारी खप्परे (खास नाम त माचीमुरा हो क्या रे!) पुस्तकालयमा पार्ट-टाइम काम गर्ने विद्यार्थीहरुको सुपरभाइजर थियो। खप्परेले सबैलाई काम बाँडफाँड गरिदियो। ओमे दोश्रो तल्लातिर लाग्यो, फिर्ता आएका किताबहरुले भरिएको ट्रली गुडाऊँदै। किताब आफ्नै सूरले बिस्तारै मिलाएर उ पहिलो तल्लामा फर्किँदा झण्डै छ बजिसकेको थियो। अब दुई घण्टा यहिँ थियो उस्को पालो। किताब इस्यू गर्ने काउण्टरमा बस्यो उ। किताब फिर्ता लिने पट्टि एउटा जापानी केटो थियो। अघिल्ला हप्ताहरुमा देखेको थिएन ओमेले उस्लाई। अरु कुनै दिनको होला, कसैसंग काम साटेको होला आजको लागि।

एक घण्टा जति पछि अलिक होलो भयो। जापानी केटाले उतिर हेरेर टाउको झुकायो, ओमेले पनि प्रत्युत्तरमा टाउको झुकायो। ओमे नेपाली हो भन्ने थाहा रहेछ त्यसलाई। केटोको नाम आओकी रे। एकछिन आ-आफ्नो पढाईको कुरो भयो।

“कहाँ बस्छौ तिमी?” आओकीले सोध्यो।
“नजिकै छ, हिँडेर जाँदा पनि दश मिनेटमात्रै लाग्छ।“
“अनि खाना के गर्छौ नि? आफैं बनाउँछौ?” एक छिन पछि फेरि कुरो उप्कायो आओकीले।
“विहान त यतै कलेजतिरै खान्छु, तर बेलुका भने आफैं बनाउँछु।“ नियमित प्रश्नको नियमित उत्तर दियो ओमेले। एकछिन आफैँ पकाएर खाँदा सस्तो पर्ने कुरा, नजिकका सुपरमार्केटहरुमा सामानको भाउको कुरा, आदि अरु नियमित कुराहरु भए।
“तिम्ले बना’को नेपाली खाना खुब मिठो हुन्छ होला है!?” जापानीले फेरि कुरा शुरु ग-यो।
“अँ---, मिठ-मिठै हुन्छ।“ ओमेले जवाफ दियो अक्मकिएर। ओमेलाई खाना बनाउन खासै आऊँदैन, साँच्ची भन्ने हो भने उसले पकाउन जानेको भनेको कुँडो मात्रै हो। ओमेहरुको भाषामा यो कुँडो भनेको गाईवस्तुलाई खुवाउने कुँडो नभएर उनीहरुले पकाउने झोल हालेको तरकारी हो। प्याज, डीप फ्रीजको कुखुराको मासु र आलु भुटेर त्यसमा मसला-नून-अदुवा-लसुन-गोलभेंडा र चाहिनेजति पानी राखेर छड्काएपछि साधारण कुँडो तयार हुन्छ। थप्न मन लागे पालुंगोको दुई-चार पात अथवा ब्रोकाउली-काउलीका दुई-चार टुक्रा थपेपनि भो। ओमेहरुको जमातमा कुँडो लोकप्रिय छ, किनभने दाल र तरकारी एकै खेपमा तयार हुन्छ।

भोक लागेको बेलामा कुँडो सम्झिनाले ओमेको भोक दुईगुना भयो। कतिखेर काम सकिएला र कोठामा पुगेर कुँडो बनाएर खाउँला भनेर थुक निल्न थाल्यो उ। तर काम सकिन अझै एक घण्टा भन्दा बढी बाँकी थियो। बटारिएका आन्द्रा र कुँडो सम्झेर रसाएको मुखलाई सहेर नौ बजेसम्म बस्नुको विकल्प थिएन उसंग।

आठ बजेपछि तेश्रो तल्लाको काउण्टरमा बस्ने पालो प-यो उस्को। तेश्रो तल्ला अँग्रेजी पुस्तक-पत्रिकाहरुको तल्ला भएकोले दिउँसो पनि खासै भिड हुँदैनथ्यो, अहिले साँझमा त कोहि पनि थिएन। विशाल हलको ओल्लो छेउ देखि पल्लो छेउसम्मको सूनसानले उस्को भोक र कुँडोको चाहना लाई अझ बढायो। इण्टरनेटमा बसेर समय बिताउन सकिन्छ कि भनेर पनि कोशिश ग-यो उसले, तर इण्टरनेटमा झन झर्को लाग्यो उस्लाई यतिखेर। कम्प्यूटरबाट उठेर पानी खायो र हललाई एक छेउ देखि अर्को छेउ सम्म नाप्न थाल्यो।

‘कुँडो अलि धेरैनै पकाउँछु आज।‘ उ टहल्दै, गम्दै थियो। ‘गोलभेंडा त छ, पालुंगो छैन कि, पालुंगो रैनछ भने मसिनो च्याउ छ, आज कुँडोमा च्याउ पनि हाल्दिन्छु। जाँदाखेरि दुई-तीन क्यान बियर पनि लानुपर्छ कि क्या हो! फिट्टू भ’र भोलि बिहान दश बजेसम्म सुत्छु अनि।------ तर बियर लिन त दश मिनेट नहिँडी हुन्न नजिकको कोन्बिनिसम्म पुग्न, के गर्नी होला---? ----‘

बल्ल-बल्ल नौ बज्यो। यताउता गरेर पुस्तकालयबाट उ निस्कँदा सवा नौ भईसकेको थियो। कोन्बिनी पुगेर बियरको एउटा सानो केसनै किन्यो उसले, पछिलाई पनि हुन्छ भनेर। कोठामा आईपुग्दा दश बजिसकेको थियो।

ढोकाबाट पस्नासाथ भान्छा थियो उसको। भान्छा भन्दा उता सुत्ने कोठा। यो सुत्ने कोठामा एउटा टेबुल थियो, त्यो टेबुलको कारणले गर्दा यो कोठा खाने कोठा पनि भएको थियो। उ भान्छाको बत्ती पनि नबाली फ्रीजमाथिको एउटा प्लाष्टिकको बट्टा टिपेर सोझै कोठातिर लाग्यो। टेबुलमाथि एउटा पत्रिकाको टुक्रो ओछ्यायो र बट्टाको दालमोठ-चिउरा स्वार्र्—पारेर खनायो, आधा माना जति। अनि एक फाँको दालमोठ-चिउरा मुखमा हालेर बियरको एउटा क्यान खोल्यो र लगभग एक तिहाई जति घुट्क्यायो। यति ईन्धन हालिसकेपछि उ कुँडो पकाउन कस्सिएर शर्टको बाहुला सार्दै भान्छातिर लाग्यो।

“थुक्क----! धत्तेरिका स्-----स्साला!” भान्छाको बत्ती बल्नु र उ कराउनु एकैचोटि जस्तो भयो। वाश-वेसीनमा टन्न जूठा भाँडाहरु थिए। बल्ल याद आयो उस्लाई, यी भाँडाहरु सोमबार रातिदेखिकै हुन्। मंगलवार एउटा काम परेर नागोया गएको थियो र फर्किँदा रेलमै बेन्तो किनेर खाएको थियो। अस्ति राती कप-रामेन खाएको थियो र ल्याबमै सुतेको थियो। हिजो चन्द्रेको कोठामा सुतेर आज त्यतैबाट कलेज गएको थियो।
-------------------

ओमेले यो सप्ताहान्त पनि चाउचाउ-अण्डाले मनायो।
(डिसेम्बर ८, २००६; खासुगाई, आईची, जापान)
*******************************************************

यो कथामा प्रयोग गरिएका जापानी शब्दहरु:

बाइतो: पार्ट-टाईम काम
बेन्तो: लञ्च बक्स
कोन्बिनि: convenience store जनाउने जापानी शब्द
कप-रामेन: डिष्पोजेवल कपमा हुने तयारी चाउचाउ (त्यहि कपमा तातो पानी हालेर चाउचाउ खाए हुने, पकाउन छुट्टै भाँडो नचाहिने)

July 23, 2007

‘नेता’हरु ‘यता’ आउँदै छन् रे!

हिजो 'समुद्रपारी’मा पढें, नेपालका चार ठूला दलका ठूला नेताहरु, तीन दलका ‘एक नम्बरी’ आफैं र काँग्रेसका ‘का. वा. एक नम्बरी’(अब ‘दुई नम्बरी’भन्दियो भने अर्कै अर्थ लाग्ला भनेर!) आउँदैछन रे जापानमा। टोकियोको शान्ति तथा लोकतान्त्रिक मञ्च, नेपालको आयोजनामा हुने जस्तो छ कार्यक्रम। जे होस्, कार्यक्रम भब्यनै हुने होला, यस्ता ‘दिग्गज’ नेताहरु ‘पाल्नुहुने’ भएपछि।

यो मञ्च जनआन्दोलन-२ र त्यसपछि पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा निकै सकृय भएर लागिरहेको छ। पहिला यो क्षेत्रको प्रतिनिधिको रुपमा (निष्कृय) सहभागिता थियो मेरो पनि एक ताका, तर सबै कार्यक्रमहरु टोक्यो केन्द्रित हुने र टोक्योसम्म जान गाह्रै पर्ने हुँदा त्यो निष्कृय सहभागिता पनि सकियो। यसको गुगल ग्रुप मेलबाट पनि निस्किएं म। मेरो त्यस्तो कुनै गुनासो भने छैन, किनभने नेपालीहरुको ठूलो संख्या टोक्योमै रहेकोले बढी गतिबिधि त्यतै हुनु स्वाभाविकै हो। यो क्षेत्रमा पनि नेपालीहरुको संख्या बढ्दैछ, चहलपहल पनि बढ्ला बिस्तारै।

कहिलेकाहीँ के लाग्छ भने, विदेशमा बसेपछि त्यो देशको राजधानीमानै बस्नु पर्ने रहेछ। बाहिर बस्दा ‘मूलधार’ बाट अलग भएजस्तो लाग्दो रहेछ। तर यो कुरा जापानमा मात्रै लागू होला जस्तो छ फेरि, किनभने अमेरिकामा वाशिंगटनतिर भन्दा बोष्टोन र न्यूयोर्कतिर बढी नेपाली चहलपहल भएको देखिन्छ (यहाँबाट हेर्दा है, त्यहाँकै यथार्थ के हो रामजाने!)। कुरो संख्याकै होला आखिर!

अँ, कुरो हाम्रा ‘नेता’हरु ‘यता’ आउनेबाट शुरु भएको हो। दिन-रात जनतालाई संविधानसभाका बारेमा सूचित गर्न र गणतन्त्रप्रति अझ बढी जनमत सृजना गर्न देश दौडाहामा हुनुपर्ने चारै प्रमुख नेताहरु एउटै कार्यक्रममा संगै उपश्थित हुनुपर्ने कारण भने बुझ्न गाह्रो भयो मलाई। (अरु कुनै कार्यक्रम छ कि कुन्नि जापानी सरकारसंग, थाहा भएन।) यस्ता कार्यक्रममा त शिर्ष नेताहरु नभएर अरु कुनै केन्द्रीय नेतानै भएपनि हुन्थ्यो होला। मैले मुख छुचो पारेकोमा ‘ल्याउने’ र ‘आउने’ संग सम्बन्धित धेरैलाई रिस उठ्ला, तर म आफ्नो सोचाइमा आत्मविश्वस्त छु।

पहिला एक-दुई पटक नेपालबाट आएका नेताहरुसंगको अन्तरकृया कार्यक्रममा जाने अवसर मिलेको थियो। त्यो बेलाका अनुभवहरुपनि लेख्दै गरम्ला मौका मिल्दा हुँदी। अहिले चाहिँ सुतम् अब!

July 20, 2007

जापान बसाइका केहि कुराहरु

जापान आऊँदाका शुरुवाती दिनहरुमा एकदमै उत्साहित एकजना साथी पछि एकताका निकै दिक्क देखिन्थे र जापानीहरुलाई बेला-बेला हल्का सरापीरहन्थे। उनको भनाइ हुन्थ्यो, "यी साला जापानीहरु विदेशी मान्छेको 'खुबिलिटी' हेरेर हैन, खाली कल्ले जापानी भाषा राम्रो बोल्छ मात्रै हेरेर मूल्याकंन गर्छन्। (यो 'खुबिलिटी' भन्ने शब्द नेपालीको 'खुबी' र अंग्रेजीको 'ability' को अन्तरजातीय सन्तान हो भन्ने कुरो मैले नदोहो-याए पनि हुन्थ्यो होला शायद!) जापानी बोल्न जान्ने विदेशी जस्तो काइते भएपनि 'सुगो-ई! सुगो-ई!' (great! wonderful!)भन्छन्, जापानी नजान्ने जति 'ब्रेनी' भएपनि 'बाल' मतलब गर्दैनन्--!" साथीलाई के कुराले गर्दा त्यसरी चित्त दुखेको हो त्यतिखेर थाहा छैन, अहिले त ठिकै भएको देखिन्छ।

साथीको कुरामा धेरै सत्यता भने छ। जापानमा विदेशीको औकात जाँच्ने सबभन्दा ठूलो कसी भनेकै जापानी भाषामाथिको दक्षता हो। जापानी भाषा अलिक जान्ने सोझै असाध्यै विलक्षण प्रतिभाशालीमा गनिन्छ! त्यसैले यत्रतत्र काम, छात्रवृत्ति आदि पाउने ठाउँमा उसको पकड राम्रैसंग जम्छ पनि। दैनिक ब्यबहार र सरकारी कामकाजमा अंग्रेजी बिल्कुलै प्रयोग नहुने ठाऊँमा यो अलिकति त स्वाभाविकै हो, तर मान्छेका बाँकी योग्यताहरुका पनि केहि न केहि मूल्य त हुनैपर्ने हो!

यो 'सुगो-ई! सुगो-ई!' ले भने हैरान पार्छ। जापानीहरुबाट 'सुगो-ई! सुगो-ई!' र 'आतामा यी---इ देस् ने!' भनेर प्रशंशा पाउन खासै धेरै जापानी जानीरहनुपनि पर्दैन। ओहायो गोजाईमास, कोन्निचिवा, आरिगातो गोजाइमास-- आदि पाँच-सात शब्दहरुमात्रै बोल्नजाने पनि पुग्छ। (यो 'आतामा यी---इ देस् ने!' को सोझै अर्थ लगाउँदा 'तेरो टाउको त गज्जब राम्रो छ!' भन्ने हुन्छ, भाव पनि त्यस्तै-त्यस्तै भनौं न अब, 'तेरो दिमाग तगडा छ!' भन्ने हो।) कतै नयाँ ठाउँमा अलिकति कुरा गरेपछि तँ आएको कति भयो भनेर सोध्छन्। जस्तो उत्तर दिएपनि प्रशंशा भने गर्न छोड्दैनन्। जस्तो छ महिना भनेर भन्यो भने, "वाह! तँ कति खतरा?!---", एक वर्ष भन्यो भने "मान्नैपर्छ बा तँलाई!---", चार वर्ष भन्यो भने "चार वर्षमै यति धेरै जानिस्, तगडा रैछस् तँ!---" भन्ने प्रशंशा पाईन्छ। भएन भनेर मैले एकदिन एउटालाई 'म जापान आएको दश वर्ष भयो।' भनिदिएको, अझै "मान्नुपर्छ बा तँलाई, कति राम्रो जापानी बोल्या होस् दशै वर्षमा!" भन्छ बा! 'दश वर्ष भएपछि जानिहालिन्छ नि, त्यसमा त्यस्तो गज्जबको कुरो के छ र?!'भनें फेरि मैले। "दश वर्ष भन्दैमा हुन्छ, मैले अंग्रेजी पढ्न थालेको बीस वर्ष भईसक्यो, अझै केहि जान्दिन। तैंले दश वर्षमै यस्तो दामी जापानी बोलिसकिस्!" उ पनि के कम?!

अब आफ्नो जापानी कस्तो झूर छ र बेला-बेला कस्तो पिडा प-या छ भन्ने कुरो आफैंलाई थाहा छ! महिनामा एकचोटि कपाल कटाउन गयो, कसरी काट्दिऊँ भन्छ, अरु केहि जानिन्न, अनि 'सोनो मामा मिजिकाई--!(जस्तो छ त्यस्तैमा छोटो पार्दे!--)भन्यो बस्यो। चार वर्ष भयो आ'को, यो कपाल कटाउने बेलाँ प्रयोग हुने दुई-चार वाक्यहरु सम्झिन अझै सक्या हैन!

बढी समस्याचाहिँ अस्पताल जाँदा पर्छ। केहि समय पहिला घुँडा दुखेर पुग्या थिएँ एउटा डाक्टरकोमा।
"दुख्दा कसरी दुख्छ?" डाक्टरले सोधे।
म अलमल्ल परें, अब कसरी दुख्छ भन्ने!
"---- जस्तो गरेर दुख्छ? कि -----झैं दुख्छ, ------ कि ----जस्तो हुन्छ?---" म अलमल्ल परेको देखेर डाक्टरले आफैं दुई-चार विकल्प सुझाए। पूरै नबुझेपनि बुझिएका एक-दुई शब्दहरुका आधारमा अन्दाज लगाउन भने सकें मैले। डाक्टरले 'सियोले घोचेझैं गरी एकै ठाउँमा मात्रै दुख्छ कि अथवा कतै ठोक्केको बेलामा जस्तो गरेर दुख्छ कि अथवा करकर लुछे जस्तो हुन्छ कि?' भनेर सोधेको हुनुपर्छ। तर कुनचाहिँ कुन हो थाहा भएन! उनले बोलेका मध्येबाट एउटा दोहोराईदिएँ, नबुझेपनि। त्यसै अनुसार ओखती पाईयो। ओखतीले बन्द गर्दियो दुखाई। अँध्यारोमा हान्या गोली ठाउँमै लाग्या होला!

फेरि केहि दिन पहिला छोरीलाई रुघा-खोकीले सताएर अर्को डाक्टरकहाँ जानुप-यो।
"केहि औषधि खुवाएको छ कि छैन, रुघा-खोकी लागेबाट?"
"हिजो बेलुका अलिकति घरेलु औषधि खुवाएको हो।" नभनौँ भन्दा-भन्दै फुस्किहाल्यो मेरो मुखबाट। अघिल्लो दिन बेलुकी नेपालबाट ल्याएको जिम्मु-ज्वानो-वीरे नून आदि हालेर पानी उमालेर खुवाएका थियौं।
"के औषधि हो नि त्यस्तो?"
"देशबाटै बोकेर ल्या'को, जापानीमा नाम थाहा छैन।"
"त्यसो भए अँग्रेजीमै भने पनि हुन्छ।"
फसाद प-यो अब! ज्वानो र जिम्मुको अँग्रेजी नाम पनि थाहा छैन मलाई। एकछिन टाउको कन्याएपछि कुरो त टरेर गयो, तर सोचें, भाषाको समस्या त अँग्रेजी बोल्ने ठाउँमै बसेपनि पर्छ होला बेला-बखत।

त्यसो त कतिचोटि नेपालीमै पनि भन्न चाहेको कुरो भन्नै नसकेको स्थिति नभएको पनि होइन।

July 19, 2007

गिरिजाले भोटो हेर्दैमा भुत्राको गणतन्त्र आऊँछ?

दरबारलाई दिईएको 'सिदा' 'गौरवशाली' ब्यबस्थापिका संसदमा सजिलै पास हुने भयो। अब 'फेल' गराउन काँग्रेस र एमाले लाग्लान भनेर त कसले सोचेको थियो र, माओवादीले भने विरोध गर्लान कि भन्ने झिनो आश भने थियो। तर महतले घुमाएर 'सिदा' दिएकै स्टाईलमा माओवादीले पनि घुमाएर ताली ठोकेपछि अब सर्वसम्मतिनै भईहाल्यो। असहमति छ भन्ने तर विरोध गर्दैनौं भन्ने काइते पाराको बाँगो गफ गर्दैमा तीनको नक्कली क्रान्तिकारिताको धोती फुस्किनबाट रोकिन्छ र? मौनं सम्मति लक्षणम!

यसको अर्थ के भयो भने, बाहिर जे फलाकेर जनताका आँखामा छारो हालेपनि आठ दल अझै गणतन्त्रतिर जाने सूरमा छैनन्। मच्छिन्द्रनाथको भोटो गिरिजाले हेरेको कुरालाई उचालेर गणतन्त्रै आएजस्तो गर्छन् मान्छेहरु!तर नेताहरुको उहि मति-उहि गति भएपछि, तीनले राजतन्त्रको दासत्वलाई गौरव सम्झिरहेपछि, गणतन्त्रको बाटोतिर एक पाईला पनि नउठाएपछि खाली गिरिजाले भोटो हेर्दैमा भुत्राको गणतन्त्र आउँछ?! गिरिजाले त्यो भोटो आफैंले लगाएपनि आउँदैन!

प्रसंग:'कुमारी' सजनी शाक्य

अमेरिका घुमेर आएको निहुँमा भक्तपुरकी ‘कुमारी’ सजनी शाक्यलाई हटाएर नयाँ ‘कुमारी’ को नियुक्ति गर्ने नेपाली कर्मचारीतन्त्रको योजना असफल भएछ। निर्णय गराईको पक्का नेपाली ‘नेपाली पारा’ को उदाहरण हो यो, पहिला कसैको प्रभावमा आएर सोच-विचारै नगरी ‘ल—यसो गर्ने---!’ भनेर फ्याट्ट बोल्दियो, पछि विरोध हुन थालेपछि ‘मैले/हामीले त्यसो भनेकै हैन!’ भनेर पन्छियो। ‘कुमारी’लाई हटाउने बारेको समाचारलाई संचार-माध्यमले महत्व दिएर यति चर्चामा नल्याएको भए शायद उनी सजिलै हटाईसकिने थिईन्। देवी भनेर मान्छेहरुबाट पुजिनु एकातिर छ, फेरि तिनै मान्छेहरुको कठोर नियन्त्रणमा पनि रहनु छ। गज्जब छ!

जहाँसम्म ‘कुमारी’ प्रथा स्वयंकै कुरा छ, यो आफैं पनि बहसको घेरामा आईसकेको छ। मेरो ब्यक्तिगत विचारमा पनि यो प्रथाको अन्त्य अनिवार्य भईसकेको छ। ब्यक्तित्व विकासको सबैभन्दा महत्वपूर्ण चरणका केहि वर्षहरुमा कथित 'देवी’को नाममा कुँजिएर बस्नुको महिमा गाउने दिन गए अब। सुन वा हिरा-मोती जे को भएपनि पिँजडा पिँजडानै हो। कुनै पनि बालक-बालिकाले असामान्य स्थितिमा बाल्यकाल बिताउन बाध्य हुनुहुँदैन, चाहे देवीकै रुपमा किन नहोस्। धर्म-संस्कृति र चालचलनको दुहाई दिएर यस्तो प्रथालाई सधैं टिकाईराख्नुपर्छ भन्नेहरु पनि छन्। तर संस्कृति र चालचलन भनेका निश्चित समयका उपज हुने हुनाले समय बदलिँदै गएपछि केहि अलिकति फेरिन्छन्, केहि हराएर जान्छन् र तीनको ठाऊँ सामयिक संस्कृतिले लिन्छन्। देशका अरु भागका ‘कुमारी’ प्रथाका बारेका किंवदन्तीहरु थाहा छैन, तर काठमाडौंको कुमारी प्रथा बारेको कथा पूरै सामन्ती पाराको छ र राजालाई महिमामण्डित पार्न र देउताहरुकै समकक्षी देखाउनमात्रै रचिएको हो भन्ने कुरा सजिलै थाहा हुन्छ। राजासंग देवी पासा खेल्न आउने कथा त्यो जमानाले शायद सजिलै पचाउँथ्यो, यो जमानाले भने पचाउने कुरो होईन।

July 17, 2007

Yet another earthquake

This area was briefly sunny and hot yesterday after one week of continuous rain and a typhoon Saturday night. The rain seems to continue for another week too. It is cold and doesn’t look like summer.

Earthquake in Nigata area was the breaking news when I switched on the television yesterday morning after many days. The magnitude of this earthquake was 6 in Japanese seismic scale (which tops out at 7 and is different from the Richter scale, the more common scale outside Japan). There is news of 7 deaths and destruction hundreds of homes till now. This area had earthquake (Joetsu earthquake)of the same strength around 2 years ago too (October 2004). Around 40 people had died and thousands of homes destroyed.

Japan has really harsh natural conditions. It has to cope with earthquakes, volcanoes, typhoons--- throughout the year. But despite all the natural calamities, they have built a wonderful nation. I really admire their dedication and hard work.

I had experienced some earthquakes before coming to Japan. Most of them were very small. I don’t know the magnitude but the one in 1988 (2045 B.S.) was somewhat bigger. Hundreds of people had died in Eastern Nepal and thousands of houses were destroyed. The destruction was large mainly due to our poor infrastructure and lack of adequate emergency preparedness on the state’s side. I think earthquakes similar to that are not considered earthquake at all here. They have very good construction guidelines and their emergency preparedness may be the best in the world. They also have public awareness campaigns in all the cities and towns throughout the year.

Scientists have predicted major earthquakes in Nepal and Himalayan area in the near future. But the preparation for such calamity is still nil. There are very few public awareness campaigns and most of them are by private organizations. Government hasn’t initiated anything. This is scary. Looking at the poor level of our infrastructures and haphazard constructions, even a small earthquake can cause very big damage.