एकचोटि संयोगवश बच्चाहरुले सागपात-फलफूल आदि खान नमान्दा अपनाउन सकिने रमाईलो तरिकाको बारेमा पढ्न पुगियो। छोरीले धेरैजसो सागपात नखाईदिएर हैरान भएको बेलामा त्यो पाऊँदा साह्रै खुशी लाग्यो। अर्को ब्लगमा हु-बहु टाँसेँ त्यो Kids Prefer Veggies With Cool Names भन्ने लेखलाई। र त्यसमा भनेअनुसार सागपातलाई रमाईला/अनौठा नाम दिएर खुवाऊँदा सधैं नभएपनि धेरैजसो प्रभावकारी हुँदोरहेछ। पहिला खान मन नगर्ने तरकारीहरु खान थाली छोरीले। 'गाजर' भन्दा नखाने तर 'ड्रागन गाजर' भन्दा खाने, 'ब्रोकोली' भन्दा नखाने तर 'डाइनोसर ब्रोकोली' भन्दा खाइदिने।
एउटै नाम धेरै भनिरहेपछि पूरानो हुँदो रहेछ, त्यसकारण हप्ता-दुई हप्तामा यी तरकारीहरुको नयाँ 'न्वारान' पनि गरीरहनुपर्दोरहेछ:)
पछिल्लो पटक न्वारान भएकोचाहिँ डल्ले खुर्सानी (bell pepper, sweet pepper) हो। यसलाई जापानीमा 'पीमान्'भन्छन्। 'पीमान्' भनेपछि मुण्टो बटार्ने छोरीको बानी हटाउन 'डल्ले खुर्सानी'ले पनि सकेन। 'डल्ले खुर्सानी' शब्दचाहिँ उसलाई मन परेको हो, 'डर्रे कुरुसानी!' भनेर हाँस्छे तर खान भने न 'पिमान्' खाईदिई न 'डर्रे कुरुसानी':)
केहि दिन पहिलाको कुरा हो, 'पिमान्' खुवाउन खोज्दा परक्क मुण्टो बटारी।
"हेर छोरी, आजको यो त 'पिमान्' होईन, अर्कै 'पिमान्' हो।"
"अर्कै 'पिमान्'?!"
"अँ अर्कै हो, यो त नि--------- 'टाक्कन-टुक्कन पिमान्' हो।"
"ए---! 'ताक्कान्-तुक्कान् पिमान्'---!" उसलाई 'टाक्कन-टुक्कन' शब्द साह्रै मन परे जस्तो छ।
"हो नि, यो 'ताक्कान्-तुक्कान् पिमान्' खायो भने चाँडै ठूलो भईन्छ।"
"'ताक्कान्-तुक्कान् पिमान्' ताबेताई! 'ताक्कान्-तुक्कान् पिमान्' ताबेताई!" (ताक्कान्-तुक्कान् पिमान्' खान्छु! ताक्कान्-तुक्कान् पिमान्' खान्छु!) ऊ कराउन थाली त्यसपछि।
'ताक्कान्-तुक्कान् पिमान्' पूरानो भईसकेको छैन अझै।
यो 'टिडिक' खानेकुरामा मात्रै होईन अन्त पनि काम लाग्दो रहेछ।
एक महिना जति पहिलाको कुरा हो। बिहान हातमुख धुने बेलामा सधैंजस्तो किचकिच गरीरहेकी थिई। म यताउता कुरा गरेर मनाउन खोज्दै थिएँ।
"पापाको यहाँ के भ'को?" उसका एउटा चोर औंलो मेरो नाकको दाहिनेपट्टीको कोठीमा थियो।
"यो नि--- ,पापा सानु हुँदा मुख नधोको भ'र 'मुसी'(किरा)ले टोकेर घाऊ भ'को।"
"ए---! कुन 'मुसी'ले टोकेको नि?" ऊ किरातिर लागी, मुख धुने कुरा छोडेर। कुन किरो भन्ने अब, म सोच्दै थिएँ।
"-- ज्यानमारा 'मुसी'ले टोकेको" मेरो मुखबाट निस्कियो। यो 'ज्यानमारा' शब्द कसरी मेरो मुखमा आयो त्यतिखेर, रामजाने।
"हँ---- ज्याम्बाला मुसी? ओमोशिरोई नामाए दा ने (कस्तो रमाईलो नाम रहेछ!)" ऊ हाँस्न थाली। 'ज्याम्बाला' शब्दलाई निकै जोड दिएर उच्चारण गर्दै थिई ऊ।
"मुख धोएन भने 'ज्याम्बाला मुसी' आएर टोक्छ, घाऊ हुन्छ।" म पनि पाएको मौका किन छोड्थेँ:)
त्यसपछि उसले सजिलै मानी मुख धुन। घाऊ हुने डर कति थियो कुन्नि, उसलाई 'सपारेको' मुख्यत: 'ज्याम्बाला'ले नै हो। फोहर भए घाऊ हुन्छ वा विरामी भईन्छ भनेर त पहिला पनि भनिएको हो।
यो गरे त्यो हुन्छ, यसो गरे भूत आऊँछ वा त्यसो गरे तँलाई वाघले लान्छ जस्ता कुरा गरेर बच्चाहरुलाई डरपोक बनाउने कुरा मलाई पटक्कै मन पर्दैन। तर सरसफाई नगर्दा किराले टोक्छ वा विरामी भईन्छ भन्नेसम्मको डर भने दिन अत्यावश्यक नै छ। त्यसकारण यो 'ज्याम्बाला' ले उसमा अलि-अलि डरनै उब्जाएको भएपनि मैले पछूतो नगरे हुन्छ जस्तो लाग्छ।
मेरो अनुहारमा भएका अरु ३ वटा अलिक फिका कोठीहरु पनि पत्ता लगाईसकी उसले।
"पापालाई यहाँ पनि 'ज्याम्बाला मुसी' ले टोकेको?" उसको प्रश्न।
"अँ, यो चाहिँ अर्को 'ज्याम्बाला मुसी' दाहिने तिर बाट उड्दै आएर टोकेको।" शुरुमा पत्ता लागेको गाढा कोठी अगाडिबाट सोझै उड्दै आएको 'ज्याम्बाला मुसी'ले टोकेको भनेर तोकिईसकेको छ, अरुचाहिँ कहिले दाहिने बाट आएकाको भागमा पर्छन् कहिले देब्रेबाट आएकाको:)
"पापाको टाउकोमा पनि 'ज्याम्बाला मुसी'ले टोकेछ!" मेरो टाउकोमा भएको सानो कोठी कि मूसो (यो चाहिँ नेपाली शब्द हो है!) पनि पत्ता लगाई एक दिन। टाउकोमा 'वन-विनाश' हुन थालेको लामै समय भईसकेकोले पत्ता लगाउन सजिलो पनि छ।
"हो, यो पनि 'ज्याम्बाला मुसी'ले टोक्या हो।"
"'ज्याम्बाला मुसी' कताबाट आएर टोकेको?"
"यो चाहिँ---- 'ज्याम्बाला मुसी' माथिबाट आएर टोकेको।"
उसलाई दिशाको बारेमा अलि-अलि जानकारी दिन पनि काम लाग्यो यो 'ज्याम्बाला मुसी':)
बसन्त जी नमस्कार ,
ReplyDeleteमलाई ब्लग शुरु गर्दा त तपाई को सल्लाह ले धेरै नै सहयोग गरेको छ नै आज भोली को छोरी र तपाईंको बिषय को रोमान्चक लेख हरु पढ्दा मलाई बाउ बन्ने बेला मा पनि धेरै काम लाग्ला जस्तो लागेको छ । कृपया यसलाई नियमितता दिनु होला
के हो बसन्त जी ! - केटाकेटी खेलाउन र हुर्काउन त निकै सिपालु भैसक्नु भएको छ नि ! कति सरल र सहज तरिकाले भुलाउने र फकाउने गर्नु हुन्दो रहेछ तर एउटा कुरा नि बसन्त जी - तपाइले अपनाउनु भएको तरिका केही हद सम्म ठीक भएपनि कता कता मलाई त नराम्रो हो जस्तो लाग्यो किन भने एउटा चीज लाइ अर्को भनेर या ढाटेर कतै झूटको खेती गर्न पो सिकाई रहेका छैनौ , त्यता तीर पनी ध्यान दिनु पर्ला है , जसले गर्दा बच्चाहरुमा नराम्रो प्रभाब नपरोस | धन्यबाद !
ReplyDeletegood tip for feeding my son. Everyday in each meal time, we have to create a big drama and sometimes we just run out of ideas. Great posting. good luck on feeding veggies to your dauther heheheh
ReplyDeleteखुब हसाउने रहेच यस्पटक । शुरुमा त्यस्तो शब्द किन भनेको होला भन्ने लागेको थियो तर आर्याले सुधारिछिन। ज्याम्बाला !! हा हा म पनि 'ताक्कन तुक्कन पिमान ताबेताई'!! हा हा जापानी भाषा सिकिने भयो --रमा
ReplyDeleteबाल मनोविज्ञान पनि अचम्मको हुन्छ । सानो र सतही कुराले पनि उनीहरूलाई गहिरो असर गर्छ । केटाकेटीलाई सोझै अर्ती लाद्नुभन्दा उनीहरूसँग खेल्न र उनीहरूकै उमेरमा आफू रूपान्तरित भएर बाटो देखाउनु चानचुने कुरो होइन । गजबको 'आइडिया' लगाउनुभएछ वसन्तजीले । नराम्रो काम र कुराबाट सन्तानलाई टाढै राख्न भयानक हाउगुजीको सहारा लिने प्रथा त आज हरेक घरमा छ हामी नेपालीको । बुझ्झकी बुबा ठहरिनुभयो, खानाको नयाँ-नयाँ न्वारान गरेर 'घाँसपात' खुवाउने सीप भने मज्जाको लाग्यो ।
ReplyDeleteबच्चाहरुलाई कुनै पनि कुरा मनाउनकोलागि उनीहरुसंग 'खेल्नु' बाहेक अर्को उपाए नहुने कुरा मैले पनि महशुस गरेको हो, अझ सोझो कुरा गर्ने हो भने बच्चासंग बच्चै भएपछि मात्र तारतम्य मिल्छ।
ReplyDeleteतर यो तारतम्य लम्बाउन पनि गाह्रो हुन्छ । हेर्दै जानुस केहि दिन पछि आर्यलाई यो 'ताक्कान-तुक्कान पिमान'ले पनि आकर्षण गर्दैन र पिमानको "पून:न्वारन' गरेर 'खतरनाक पिमान' वा त्यस्तै कुनै "भारीभरकम" नाम दिनु पर्छ ।
न्वारनहरुले काम गर्न छाडेपछि भने 'तिम्रो टिचरले भनेको यो एकदम राम्रो हुन्छ' वा "तिमिलाई मन पर्ने (कथाको पात्र)ले यो पिमान खुब खान्छ" जस्ता नया टिडिक पनि खोज्नु पर्ने हुन्छ :)
haa haa you made me laugh, i was too fussy about having vegetables in my childhood.
ReplyDeletei am still too fussy. haahaa may be i need to give different name to most hated vegetables now onwards. takkan tukkan karela,piman ghiraula, darre simi...jyamballa farsi..it’s interesting.
सिकाउने कला त आफ्नो ठाऊँमा छंदैछ... तपाईं बाबु छोरीको न्यानो भावनात्मक सम्बन्धले मलाई हरेक पटक छोएको छ | हुन त आफ्नो बच्चा बच्चीको मायाँ कसलाई लाग्दैन र, तै यस्तो कुरा जान्दा जान्दै पनि हजुरको बच्ची संगको हरेक पटकको प्रस्तुतिमा भिन्दै सुखद अनुभूति मिल्छ |
ReplyDeleteआफ्नो बच्चाको तोते बोली, मिठो मुस्कान, अबोध कुराहरु... यस्तै यस्तै कारणहरु त रहेछन नि हामीलाई नजानिदो पाराले सांसारिक मायाजालमा अड़काउनुको पछाडी...
I Love Love...
हा हा हा !! साह्रै रमाईलो अनि नौतन बाबु बन्नेहरुलाई ( आमालाई पनि है ) साह्रै उपयोगी । मलाई पनि गाउँमा हुँदा एकजना काकाकि छोरीले खाजा खान दिएको सखरखण्डलाई यो डाङ्गुडे छ म खान्न , यो बक्कुल्ले छ म खान्न भनेर घुर्की देखाएको सम्झना भयो । तर तपाईंको चैं कुरै अर्कै पर्यो बच्चालाई मनाउनलाई खानेकुराको न्वारान गर्ने तर ति काकाकि छोरीले चैं नखाईदिनलाई जथाभावी खानेकुराको न्वारान गरेर घुर्की लगाईदिने ।
ReplyDeleteसाँच्चै बालमनोबिज्ञान अनौठो नै हुन्छ,बिशेष गरेर शैशब अवस्थाको पिरिएड(२-६ बर्ष) यो बिचको समयमा उनिहरुले आफ्ना आमा बुवा र घर परिवारको अन्य सदस्यहरुलाई अचम्म लाग्दा प्रश्नहरु गरिरहेका हुन्छन शायद यो उमेरको बिशेषता (जिज्ञासु उमेर ) भएर पनि होला। कोही बाबु आमा आफ्ना बच्चाका कुरा सुनेर दङ्ग पनि पर्छन, कोही बच्चाका कुरा सुने नसुने झै गर्छन्, कोही यसलाई गम्भिर रुपमा पनि लिन्छन र उनिहरुका जिज्ञासा कसरी हुन्छ समाधान गर्न पट्टी लाग्छन र मेरो अनुभबमा ति नै असल आमा,बाबा पनि हुन। यहाँ बशन्त जि ले पनि आफुलाई असल पिताको रुपमा स्थापित गर्नु भएको छ भन्ने मलाई लागेको छ। उहाको बाल समस्या समाधान गर्ने तरिका खुब रमाइलो लाग्यो।
ReplyDeleteकेही कुरा थपि पनी हालौ यो अवस्थाका अन्य बिशेषता भनेको
-खेलौनाको उमेर पनि हो,
-चन्चले उमेर हो,
-समुहको उमेर हो,
-फोहोरी उमेर पनि हो। शायद यही भएर होला प्राय सबै बालबालिका यो बेला यस्तै नै हुन्छ्न।
ताक्कान तुक्कुनको यो टाँसो अति नै रमाइलो लाग्यो बसन्त जी ।बाल-बालिकाहरुलाई मनाउने र भुलाउनको लागि डराउने कुराहरु नै उपयुक्त हुन्छ भन्ने कुरालाई चिरेको छ यस्ले ।अनि साथिहरुको कुरामा सहि थप्दै सबैलाई काम लाग्ने लेखको लागि धन्यबाद ।
ReplyDeleteAny knowledge/information is useful, I will remember this for future reference :)
ReplyDeleteBTW, I don't know in Japan, तर अमेरिकामा त "Leave me alone, get out of my room" भन्न थाल्छन रे स्कुल जान थाले पछी
होइन बसंत जी, यो कटुवाल र टी यु उपकुलपति केस मा तपाई को एउटा कडा रचना आउदै छ जस्तो मलाई लागिरछ..
ReplyDeleteबसन्तजी! मलाई लेख पढेर रमाइलो लाग्यो र भबिस्यमा बाबु बने पछी चाहिँ पक्कै यो उपायko प्रायोग गरुम्ला ।
ReplyDeleteउपाएको लागि धन्यवाद.
सबैलाई धन्यबाद!
ReplyDeleteदिनेशजी, तपाईँलाई पछि मेरा यस्ता लेखहरुले केहि सघाए भने म साह्रै खुशी हुनेछु।
बेदनाथजी, तपाईँ ठूला मान्छे र बच्चाहरुको, त्यसमा पनि पाँच वर्षभन्दा मुनिका बच्चाहरुको मनोविज्ञानको फरकलाई भुलिरहनुभएको छ। तपाईँले भनेजसरी गर्ने हो भने त बच्चाहरुलाई बाल कथाहरु पनि सुनाउनु भएन भने किनभे ती कथाहरुमा हुनै नसक्ने कुराहरु-चराले मान्छेझैं कुरा गरेको, स्याऊ र सुन्तला झगडा गरेको-मात्रै हुन्छन्। यस्ता कुराहरु सुनाउनुको उद्देश्य उनीहरुको कल्पनाशक्तिलाई तिखार्नु हो। उमेर बढ्दै जाँदा बच्चाहरु आफैंले क्रमैसंग यस्ता कुराहरुभित्र रहेका यथार्थ र काल्पनिकतालाई छुट्याऊँदै जान्छन्। यो प्रकृयालाई सहज र द्रूत बनाउन बाबुआमा र परिवारको योगदान निश्चयनै हुन्छ। हुर्कँदै जाँदा द्रूत गतिमा परीवर्तन हुने बालमनोविज्ञानलाई उनीहरुकै हितमा प्रयोग गरिनु कुनै हालतमा नराम्रो मान्न सकिँदैन।
झूठो बोल्ने बानी नलागोस् भनेर अपनाउन सकिने/गर्न सकिने कुराहरु अरु छन्।
नीतिजी, छोरा हुर्काऊँदाको अनुभव हामीसंग पनि बाँड्नुहुनेछ भन्ने आशा छ।
रमा, शब्दहरु सच्याउनमात्रै हैन, अरु धेरै कुरामा पनि ठूला मान्छेहरुलाई सपार्न बच्चाहरुलेमात्रै सक्दा रहेछन्:)
धाइबाजी, ठीक कुरा गर्नुभयो। बच्चाहरुसंगको ब्यबहारमा न गालीले काम गर्दो रहेछ न दबाबले। उनीहरुजस्तै हुनुको विकल्प छैन।
दिलिप दाइ, तपाईँले भनेजस्तै 'ताक्कान-तुक्कान पिमान्' को जादू धेरै कम भईसक्यो अब। अचेल पाखुराको मसल ठूलो हुन्छ भनेर खुवाउनु परेको छ (उसको एउटा किताबमा ठूल्ठूला 'मसल' भएको लसुनको चित्र छ)। "यो खायो भने सबैले 'कति ज्ञानी बच्चा!' भन्छन्--" भनेर फुरुङ्ग पार्ने उपाय पनि थपिसकिएको छ।
अर्चनाजी, तपाईँको सागपात खाने काम सफल होस्! केहि नयाँ नाम जूरपछि हामीलाई पनि बताउनुहोला, हामी पनि बताउनेछौं:)
मिलन भाइ, यो संसार भन्या यस्तै रहेछ, माया-मोहको जाल:) झन् सन्तान भनेको त महाजालै हो कि कुन्नि:)
जडितजी, ती सानी बहिनिको उमेर अलिक माथिको होला शायद, ७-८ वर्षजति। त्यो उमेरको मनोविज्ञान बेग्लै होला।
प्रवीणजी, कहिलेकाहीं त उत्तरै नभेटेर दिक्क लाग्छ तर निश्छल, निर्दोष बाल-जिज्ञासाको संसारमा पस्न र त्यतै हराउन साह्रै आनन्द लाग्छ।
सिकारुजी, यो लेख तपाईँलाई रमाइलो लागेकोमा खुशी छु।
प्रज्वलजी, यी कुराहरु तपाईँलाई पनि काम लाग्नेछन् भन्ने विश्वाश छ मलाई:) Leave me alone-- को समस्या जापानमा पनि बढ्दै छ। एकात्मक परिवार, ब्यस्त बाबु-आमा र बच्चाहरुलाई भुलाउन electronic gadgets को बढी प्रयोगले जन्माएको हुनसक्छ यो समस्या। यहि खाने सवालमा पनि मैले के देखेको छु भने बच्चाहरु एक्लैमा भन्दा समूहमा हुँदा राम्रोसंग खान्छन्। सामाजिक सम्बन्धको आवश्यकता सबै उमेरका मान्छेका लागि छ तर बच्चाहरुलाई भने अनिवार्यनै रहेछ।
च्याठ्ठिने साथी, लेख्न त मन छ तर समयले साथ दिएको छैन अझै।
भरत, भविष्यको आफ्नो अनुभव बाँड्न नभुल्नुहोला।
A beautiful writing and father's experience! I enjoyed every bit of it.
ReplyDelete- Rajiv Pant
Thank you Rajiv!
ReplyDeleteज्याम्बाला मुसी
ReplyDelete:)
I got very intersting articals
ReplyDelete