आर्याको ६ महिने स्वास्थ्य-परिक्षणको लागि पालो कुरिरहेका थियौं हामी, दुईजना ६०-६५का महिलाहरु हाम्रो नजिक आए। चिनजानका दुई-चार औपचारिकताहरु पूरा गरियो एक छिन। त्यो शहरको कुनै एउटा 'बुक क्लब'का स्वयंसेविकाहरु रहेछन् उनीहरु।
"छोरीलाई ये-होन (चित्र-पुस्तक) पढाउने गरेको छ?" उनीहरुले सोधे।
"हँ--?! ६ महिनाकी बच्चीलाई पढाउने--?!" हामी छक्क प-यौं। सानै उमेरबाट पढ्ने बानी लगाउनुपर्छ भन्ने मान्यता त हाम्रो पनि हो, तर हाम्रो त्यो 'सानै उमेर' दुई-साढे दुईबाट शुरु हुन्थ्यो; ६ महिनाबाटै होइन।
"पढाउने भनेर अक्षरै चिनाउन थाल्ने होईन।" उनीहरुले भने, "किताबका चित्रहरु देखाएर उनीहरुसंग कुरा गर्ने मात्रै हो अहिले त। त्यसो गर्दा पछि सजिलै पढ्ने बानी लाग्छ।" उनीहरुले हामीलाई बाक्ला पृष्ठ भएका दुई साना रंगीचंगी किताबहरु दिए र "समय हुँदा हाम्रो 'बुक क्लब' पनि आउँदै गर्नु" भन्ने अनुरोध गरेर अरुतिर लागे।
ती किताबमा चित्रहरु धेरै थिए र अक्षरहरु अत्यन्त कम थिए। धाराबाट पानी खसिरहेको चित्रसंगै 'ज्या--! ज्या---!ज्या---!' लेखिएको थियो भने भ्याकुम क्लिनरको चित्रसंगै 'हु--ईँ----!' लेखिएको थियो, चित्रहरुसंग यसरीनै सम्बन्धित अनुकरणात्मक शब्द (ध्वनि) लेखिएका थिए। हाम्रो काम आर्यालाई ती चित्रहरु देखाएर आफुले त्यस्तो आवाज निकाल्नु थियो। उसले असाध्यै मन पराई पनि।
यसबीचमा थुप्रै कृतिहरु लेखिएपनि नेपाली बाल-साहित्यको भण्डार अझै गरीबनै छ। जति लेखिएका छन् ती कम्तिमा पनि चार-पाँच वर्ष माथिका बच्चाहरुका लागि छन्। सबैभन्दा प्रारम्भिक बाल-साहित्य भनेको चित्रनै हो रहेछ। यस्ता चित्र पुस्तक बच्चाहरुले हतपति च्यात्न नसक्ने गरी बनाउनुपर्ने हुँदा प्रकाशन अलि महंगै हुन्छ र हामीकहाँ अलिक सम्पन्नले मात्रै आँट्न सक्लान्। तर सबै बच्चाहरुको पहुँचमा यस्ता किताबहरु पुग्नु जरुरी छ। मलाई लाग्छ केहि ठाऊँविशेषमा 'एक बच्चा-एक ल्यापटप' कार्यक्रम चलाउनुभन्दा देशैभरि 'एक बच्चा-धेरै किताब' कार्यक्रम चलाउनु हाम्रो जस्तो देशको लागि लाभदायक छ। यस्तो कार्यक्रममा ती साना-साना बच्चाहरुका लागि पनि चित्र-पुस्तकको परिकल्पना हुनुपर्छ र राज्यले सघाउनुपर्छ।
(एक वर्षकी भएपछि) आर्या किण्डरगार्टेन जान थालेपछि यस्ता चित्र-पुस्तकहरु थपिन थाले। हरेक महिनामा एउटा किण्डरगार्टेनले पठाऊँछ, कहिलेकाहीँ हामी पनि किनिदिन्छौं। उमेर अनुसारका किताब हुन्छन्, उमेर बढ्दै जाँदा चित्रहरुसंगै साना कथाहरु पनि जोड्दै लगेको हुन्छ। यी किताबहरुमा कि सम्बन्धित महिनाको मौसमसंग सम्बन्धित कुराहरु हुन्छन्, जस्तै गर्मीमा शीतल ठाऊँ खोज्दा-खोज्दै समुद्रमा पौडी खेल्न पुगेको वा हिऊँदमा हिऊँको मान्छे बनाएको आदि; अथवा खानेकुरासंग सम्बन्धित हुन्छन्, बच्चाहरुलाई सागपात खान प्रत्साहित गर्ने खालका। कथाहरुमा मानव पात्रहरु थोरै र जनाबर-चराचुरुङगी पात्रहरु धेरै हुन्छन्। कुनै पनि जनावरको बारेमा नराम्रो लेखिएको हुँदैन। अनि अर्को कुरा यी जनावरहरु एकआपसमा झगडा पनि गर्दैनन्।
जापानमा यस्ता चित्र-पुस्तकका प्रकाशन-संस्थाहरु धेरै रहेछन् र तीनका बीचमा निकै ठूलो प्रतिस्पर्धा पनि रहेछ।
हरेक दिन किण्डरगार्टेनमा यी किताबहरु देखाउने र त्यहाँका कथाहरु सुनाउने र हामीले पनि सुत्नुअगाडि त्यसै गर्नाले उसलाई पढ्ने बानी लाग्यो। यो 'पढ्ने बानी' लाग्यो भन्नु अलिक बढी हुनसक्छ, किनकि उसले अक्षर त अझै चिनेकी छैन, कथा सुन्ने बानी लाग्यो भन्दा ठिक होला। ऊ आफू जतिसुकै निद्राले चूर भएकी भएपनि कुनै किताबका चित्रहरु नहेरी र कथा नसुनी सुत्ने छाँट देखाऊँदिन। कहिलेकाहीं आफैं पनि थकाई र निद्राले चूर भईसकिएको हुन्छ, तर पढिदिनै पर्छ।
यो बानीले गर्दा ऊ टेलिभिजनबाट टाढै छे।
खासमा अचेल मेरो आफ्नै पढाइ पनि उसकै किताबहरुमा सीमित छ:) मपनि उसको दुनियाँका रमाईला-रमाईला पात्रहरुसंग रमाइरहेछु। म कहिले पेन्गुईन, Sea Lion, हिप्पोपोटामस र हात्तीसंग समुन्द्रमा पौडी खेल्न जान्छु; कहिले गाजर, मुला र 'गोबो'(burdock root) संग हिलोमा खेलेर हिलाम्य हुन्छु। कहिले झगडा गरिरहेका दुईदा ह्यामबर्गर मध्ये एउटा बन्छु; कहिले सागपातहरुको म्याराथनमा कुनै एउटा बनेर भाग लिन्छु, कहिले आफ्नी आमालाई खोज्दै हिँडेको सानो कछुवा बन्छु, कहिले ----।
बच्चाहरुलाई कथा सुनाउन साह्रै मनपर्छ मलाई। आफ्नो बच्चालाई आफैंले कल्पना गरेका कथाहरु सुनाऊँला भन्ने रहर थियो। अहिले समस्यामा परेको छु; आफ्नो कल्पनालाई जापानी भाषामा उतारेर सररर--- दौडाउने हुती छैन, नेपाली आर्याले खासै बुझ्दिन। सोझो कथा बुनेर जापानीमै सुनाएपनि बीच-बीचका उसका अनौठा बालसुलभ प्रश्नहरुको जवाफ दिन भने गाह्रै पर्छ। नेपाल फर्केपछिलाई साँचेर राख्नुपरेको छ यो रहरलाई। तर त्यतिखेरसम्म छोरी "पापाको story त क्या झुर्---!" भन्ने भैसक्ली कि भन्ने पिर:) एउटा कुरो क्या:)
बच्चालाई पढ्ने बानी लगाउने सारै राम्रो तरीका...
ReplyDeleteअर्को कुरो आर्या नेपालीकी छोरी हो... उसलाई नेपाली सिक्न गाह्रो छैन
हा हा !! अन्तिम लाइनले हँसायो ! मेरो पनि सानिमाकि छोरी अमेरिकामा छे । बुवालाई साह्रै खेलाउन मन लाग्छ, तर ठूलोबुवा गन्हायो भन्दै खेल्न आउँदिन होला भन्दै हाँस्नुहुन्थ्यो । झण्डै त्यस्तै हुनेभएछ दाइको कथालाई पनि !! अनि एकदमै राम्रो बानी लाग्दोरहेछ यस्तो पुस्तकले । पुस्तकको संसारमा डुबेर टेलिभिजनलाई भुल्नुजस्तो राम्रो कुरो के नै हुनसक्छ र भर्खर हुर्कँदै गरेका केटाकेटीलाई ! हामी नेपालीहरू आर्थिक रूपमा मात्रै नभएर चेतनाका हिसाबले पनि निकै नै पछाडि छौँ जस्तो लाग्छ बाहिरका यस्ता राम्रा कुरा पढ्न पाउँदा !!
ReplyDeleteआर्याको संसार - संगै तपाई कति मज्जाले घुलिनु भएको रहेछ अनि - japanको बाल मनोभाब बुझ्ने तरिका मनपर्यो ।
ReplyDeleteयसो सर सरती हेर्दा तपाईले आफ्नो निजी कुराहरु मात्र शेयर गर्नु भएको छैन त्यसमा - बालबालिकाको बाल सुलभ लाइ राम्रो सँग चित्रण पनी गर्नु भएको छ - जून ससक्त र राम्रो पक्ष पनी हो ।
'एक बच्चा एक ल्यापटप कार्यक्रम चलाउनु भन्दा एक बच्चा धेरै किताब कार्यक्रम चलाउनु हाम्रो जस्तो देशको लागी लाभदायक छ । ' धेरै गहकिलो विचार पेश गर्नुभयो वसन्तजी । कुन्नि कस्को पालो कात्तिक भनेझैं हाम्रोमा त अर्थोकको अल्झोले नै नछोड्ने भयो बच्चाहरुलाई यसरी सोचेर काम गर्ने दिन कैले आउला खै ?
ReplyDeleteअलि पहिल्यै लेख्नु पर्ने नी यो टाँसो … मेरो छोरी टिभिमा कार्टुन हेर्न थालेपछि हेरेको हेरै गर्छे । (म पनि यसो कथा-सथाको किताब दिएर भुल्याउँथे नि)
ReplyDeleteकथा चाहि म पनि खुब सुनाउँछु है, (छोरीले नेपाली राम्रै बुझ्छे र भाषाको समस्या छैन, हा हा हा!) । हैन बुढा-बुढी घरमा पनि " こんにちは!" भाषामै कुरा गर्ने हो की क्या हो ? ।
अत्यन्तै सम्बेदनशिल लेख लेख्नु भो बशन्त जि, तर के गर्ने इच्छा र चाहना भएपनी यस्ता महत्वपूर्ण र गभिर पक्षलाई नेपाली माटोमा भित्राउन भने त्यती सजिलो छैन तर असम्भब भने देख्दिन यदी यस्त कुरामा बाबु,आमामा अलिकती चेतना भयोभने। बालमनोबिज्ञानले नि शैशब अवस्थामा बालबालिकालाई कसरी कुन दिशामा मोड्ने हो सजिलै मोड्न सकिन्छ भनेर भन्छ। लौ तपाईंको लेखले म मा भने केही खुशी छाएको छ किनकी म पनि मेरा छोरा छोरीलाई यस्तै गरेर अध्ययनमा लगाब लगाउछु भन्या क्या-- हा हा---
ReplyDeleteबसन्तदाई,एकडेढ वर्ष अघि चै आर्या निकै चुलबुली छिन भनेर लेख्नु भाथ्यो पढ्दा खुब हाँसो उठ्याथ्यो अनि आनन्द पनि। अब फेरि किताब तिर बानी लागेछ--कस्तो ज्ञानी छोरी! हो त म पनि मेरी सानी छोरीलाई यस्तै तरिकाले पढ्ने बानि लगाउनु पर्यो । अनि घरमा पटक्कै नेपाली बोल्नु हुन्न र?!
ReplyDeleteपारिवारिक सन्दर्भ भए पनि चेतनाप्रवाह र सिकाइप्रणालीबारे असाध्यै सारगर्भित विचार राख्नुभएको छ । साँच्चै वसन्तजी, विद्युतीय माध्यमको जालोले कलिला मस्तिष्कलाई जोगाउन त तपाईँ जस्तै पिताको जरूरी छ आज । बच्चासँग घुलमिल हुन निकै गाह्रो तर आफैँ पनि सिकिँदै गइने कुरा पक्कै हो । पछि हामी पनि हुन सकौँला कि त्यस्तो पिता :)
ReplyDeleteसानैदेखि जग बस्यो भने गाह्रो कुरो छैन किताबी ज्ञानमा गहिर्याउन । नेपालका बच्चाहरू त टिभीमा कार्टुन कार्यक्रमकै फन्दामा परे हौ !
बसन्तजी लेख एकदम राम्रो छ,
ReplyDeleteचित्र-पुस्तक बाट बच्चाहरुले अली चाडै सिक्दछन .
सबै साथिहरुले भने झै टाँसो अति उपयुक्त र प्रभावकारी बसन्त जी । बालमनोबिज्ञानमा उर्जा थप्न सघाउने । हाम्रो देशमा पनि सकेसम्म नानिहरुलाई यिनै कुराहरुको नजिकै राख्न सके हुन्थ्यो ।
ReplyDeleteसाच्चै छ महिना देखि नै सुरुवात गर्ने यो काईदा चाहि उत्तम । जानकारिमुलक लेखको लागि धन्यबाद ।
सबैलाई धन्यबाद! साना बच्चाहरुको संसार असाध्यै निर्दोष हुन्छ, असाध्यै रमाइलो हुन्छ। आफ्ना अनुभवलाई यसरीनै बेला-बेलामा राख्नेनै छु।
ReplyDeleteअब छोरीले नेपाली त्यति नबुझ्ने कुरामा केहि स्पष्टीकरण।
पहिला, छोरीले नेपाली नबुझोस् भन्ने हाम्रो नियतै भने होइन है:) कुरो के भयो भने एक वर्षकी हुनसाथ ऊ किण्डरगार्टेन जान थाली। दिनको ८-१० घण्टा जापानीहरुको माझमा बस्दा त्यतै लत लाग्ने भयो। फेरि बच्चाहरुले धेरैजसो कुरा बच्चाहरु/साथीहरुबाटै सिक्छन्। उसका साथीहरु सबै जापानी बच्चाहरुनै भए। ऊसले पहिला सिकेका शब्दहरु, फुटाएका बोलीहरु शायद सबै जापानी हुनपुगे। केहि समयपछि, ऊसंग नेपालीमा कुरा गर्दा अप्ठेरो मानेजस्तो गर्न थाली र हामीले पनि ऊसंग जापानीमै कुरा गर्न थाल्यौं। अहिले ज्यादै थोरैमात्र नेपाली बुझ्छे, बोल्न भने ठ्याम्मै बोल्दिन भने पनि हुन्छ।
हामी बूढा-बूढी घरसल्लाह गर्न, झगडा गर्न सबैमा नेपालीनै बोल्छौं। त्यसकारण हाम्रो दोष छैन है:) हामीले नेपाली बोल्दा अचेल छोरी झर्किन थालेकी छे। ठूलो ठूलो स्वरले कराएर हुन्छ कि रोईदिएर हुन्छ, ध्यान आफूतिर तान्न खोज्छे कहिलेकाहीं।
बच्चा हो, नेपाल गएपछि चाँडै नेपाली सिकिहाल्ली भन्ने आशामा छौं।