वार्ड अफिसबाट छोरीको तीन वर्षे स्वास्थ्य परीक्षणको बारेमा चिठ्ठी आयो, अस्तिहुँदी। छोरी तीन वर्षकी हुनलागेकी त याद थियो तर तीन वर्षमा गरिनुपर्ने उस्को स्वास्थ्य परीक्षणको कुरा भने दिमागको कुनै कुनामा लुकिरहेको थियो। यो चिठ्ठी नआएको भएपनि अरु कुनै प्रसंगले याद दिलाऊँथ्यो होला, तर चिठ्ठी आइदिनाले चाँडै भयो, राम्रै भयो। दैनिक जीवनको झमेलामा परेर यस्ता महत्वपूर्ण कुराहरु समेत 'ब्याक सीट'मा पुग्दा रहेछन् कहिलेकाहीँ।
जापानमा स्वास्थ्य बीमा अनिवार्यनै छ। स्वास्थ्य बीमा नगर्ने हो भने साना-साना उपचारले पनि मान्छेलाई जोगी बनाइदिन्छन्। विद्यार्थीहरु, स्वरोजगारहरु (र बेरोजगारहरु) लाई राष्ट्रिय स्वास्थ्य-बीमाले समेट्छ भने कर्पोरेट क्षेत्रको बीमालाई स्वास्थ्य-बीमामात्रै भनिन्छ। दुबै थरीको अनुभव भयो जापान बसाईमा, उपभोक्ताको आँखाबाट हेर्दा केहि फरक देखिँदैन, खर्च राज्यले बेहोर्ने वा सम्बन्धित कम्पनीले भन्ने सवालमात्रै हुनसक्छ। स्वास्थ्य बीमा गरेपछि वयस्कहरुले उपचार खर्चको ३०% मात्रै तिरे पुग्छ भने बच्चाहरुको उपचार भने नि:शुल्क हुन्छ (कुन उमेरसम्म हो भन्ने ठ्याक्कै याद भएन अहिले; फेरि प्रान्त (prefecture) र शहर हेरी फरक पनि हुनसक्छ)। अमेरीकी चुनावमा जहिले पनि Universal health care को पक्ष-विपक्षमा ब्यापक वहस सुनिन्छ। विपक्षमा उभिनेहरुका पनि आफ्नै तर्कहरु होलान् र कुनै पनि देशको राजनीतिक/सामाजिक परिवेशलेपनि Universal health care सफल हुने-नहुने कुरामा धेरै असर पार्छ होला; तर जापानमा भने यो तरिका एकदम सफल देखिन्छ। मेरो बुझाइ सीमित पनि हुनसक्छ, त्यो कुरा भने म स्विकार गर्छु। आफ्ना साना-ठूला उपचार बाहेक, छोरी यहीँ जन्मेकीले जापानको बालबच्चासम्बन्धी नीतिहरुको बारेमा पनि धेरै कुरा प्रत्यक्ष रुपमा अनुभव भयो। एक-दुई साना घटनाहरुलाई छोडेर (जसको बारेमा पछि कुनै दिन लेखौंला) अहिलेसम्मको मेरो अनुभव अत्यन्त सकारात्मक छ।
बच्चा जन्मिँदा लाग्ने खर्च लगभग सबै फिर्ता हुन्छ। बच्चाहरुको उपचार नि:शुल्क हुनुका साथसाथै बच्चा हुर्काउन भरथेगका लागि राज्यले अलिकति पैसा पनि दिन्छ निश्चित उमेरसम्म। जापानको महंगीको अनुपातमा रकमको परिमाण थोरै भएपनि यो धारणा आफैं पनि अत्यन्त राम्रो हो। दुई भन्दा बढी बच्चा छन् भने तेश्रो, चौथो--- बच्चाको नाममा आउने पैसा पहिलो, दोस्रोको नाममा आउने भन्दा बढी हुन्छ। जनसंख्या द्रुत गतिमा ओरालो लाग्न थालेपछि जनताले बच्चा धेरै जन्माउन् भनेर ल्याईएको होला यो नीति। तर यति हुँदा-हुँदै पनि जापानको जनसंख्या ओरालो लाग्न भने छोडेको छैन अझै, त्यो बेग्लै कुरो हो, जन्मदर झन्-झन् घटदै छ।
बच्चाको स्वास्थ्य परीक्षण गराउने वा र भ्याक्सीनहरु लगाउने समय हुन आँटेपछि वार्ड अफिस वा सिटी अफिसबाट जानकारी-पत्र र भर्नुपर्ने फारामहरु सबै आऊँछन्। महिलाहरुको हकमा हरेक वर्ष जन्मदिनको आसपासमा पाठेघर अथवा स्तन क्यान्सरको Preventive check up गर्ने अनुरोध गर्दै चिठ्ठी पनि आऊँछन्। जागिरेहरुलाई पनि वर्षको एकपल्ट पूर्ण स्वास्थ्य-परीक्षण अनिवार्य छ जसको खर्च अलिकति पनि आफूले ब्यहोर्नुपर्दैन।
हाम्रो देशमा Universal health care एकैपटक अहिल्यै ठ्याक्क लागू गर्न सकिने स्थिति छैन। नेपालीको औसत आर्थिक स्थिति अहिलेभन्दा धेरैनै माथि पुग्नु आवश्यक हुन्छ त्यसका लागि। बीमाकै हकमा पनि दुर्घटना बीमा, जीबन बीमा आदि पहिल्यैदेखि अस्तित्वमा रहेपनि हामीकहाँ स्वास्थ्य बीमाको शुरुवात अझै भएको छैन (विगत ५-६ वर्ष यता शुरु भईसकेको भए माफ पाउँ।) वि. सं. २०५८ मा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि बनेको मन्त्रीमण्डलका स्वास्थ्य मन्त्री डा. उपेन्द्र देवकोटाले यो धारणालाई अगाडि बढाउने कोशिश गरेका थिए। राजनीतिको भूत सवार कांग्रेस-कम्युनिष्टले अरु कुराका साथसाथै यो धारणाको समेत विरोध गरेका थिए। कसरी अगाडि लाने भन्ने कुरा एउटा हो तर स्वास्थ्य बीमाको अवधारणालाईनै गलत भन्नु बिल्कुलै नाजायज हो। त्यतिखेर राजनीतिक कारणले विरोध गरेपनि उनको यो धारणालाई पछि आएर आफैंले समातेको भएपनि राम्रै हुनेथियो। असल राजनीति गर्नेहरुले आफ्ना विरोधीकै भएपनि राम्रा अवधारणाहरुलाई भने टिप्न सक्नुपर्छ। हाम्रा दलहरुका नीति र घोषणपत्रहरु मैले पढेको छैन, पट्यार लाग्छ मलाई त्यस्ता कुरा पढ्न:), यस्ता कुराहरुपनि कसैले समेटको छ भने राम्रो हो।
स्वास्थ्य-बीमाको अवधारणालाई सरकारी कर्मचारीहरुको एउटा हिस्सा र नीजि क्षेत्रका केहि संस्थाहरुबाट शुरु गर्न र बिस्तारै ब्यापक बनाउँदै लैजान सकिन्छ जस्तो लाग्छ मलाई।
बसन्त जी राम्रो लाग्यो जापानिहरुको स्वास्थ्य सम्बन्धि नियम र बिमा गर्ने तौर तरिकाहरु । जानकारिको लागि धन्यबाद ।
ReplyDeleteबसन्त जि,
ReplyDelete३०% भए पनि खर्च त महन्गै होला नि ? तर यसो तपाई को कुरा सुन्दा राम्रै जस्तो लाग्यो जापानको स्वास्थ प्रणाली
अमेरिकामा कर्पोरेट ईन्टरेस्टले गर्दा Universal Health Care आऊन अझै समय लाग्छ, तर ओबामाले यसमा धेरै बल गरेका छन हेर्दै जाउ के हुन्छ । पहिला स्कुलमा हूदा आफै किन्नु परेको थियो, आहिले कामले किनिदिएको छ । तर हरेक महिना प्रिमियम तिर्नु पर्छ । आफ्नो कामदारलाई फरक कम्पनिले फरक लेभलको ईन्सुरेन्स दिन्छन । रास्ट्रिय इन्सुरेन्स भन्ने छैन यहा । त्यसैले यहा यि इन्सुरेन्स कम्पनिको बोलबाला छ.....मेरो कम्पनिको योगदान को बाबजुद मैले (Me & Wife को लागि) महिना मा $४३० जति तिर्नु पर्छ (त्यो पनि सबै भन्दा तल्लो लेभलको from offered insurance package)। फेरि त्यो insurance ले cover गर्ने भन्दा cover नगर्ने को नै list लामो हुन्छ .......Micheal Moore को Sicko भन्ने documentary हेरे थाह हुन्छ सन्सारको सबै भन्दा धनि र शक्तिसाली राष्ट्रको स्वास्थ प्रणाली कति धराप छ भन्ने कुरा । Present health care system in America is for only healthy and wealthy
राम्रो जानकारी ! हाम्रो नेपालमा कहिले यस्तो ... समय आउला Healt Care सम्बन्धी ??
ReplyDelete... असल अवधारणा ...
अनि kamaladi.com लाइ पनी धन्यबाद ! थाप जानकारीको लागी .
हाम्रो तीर उपचार गराउन अचाक्ली महँगो छ, अनि स्वास्थ्य बीमा पनि उस्तै | नेपालमा हुंदा मेरो कमाईले क्लिनिक जान आँट गर्न सकिन्थ्यो तर यहाँ त्यस्तो स्थिति छैन |
ReplyDeleteरा्म्रो जानकारी । जनस्वास्थ जस्तो संबेदनशील र गम्भिर बिषयमा हामिकहाँ पनि यौटा राष्ट्रिय नीति हुनु पर्ने हो । हेरौं कसैले कतैबाट केहि गर्दैछन की ।
ReplyDelete(चौथो दिनको पटक-पटकको प्रयासअन्तर्गत यो टिप्पणी लेख्न बेको छु । मेरो कम्प्युटरमा नै समस्या आएको होला, कहिले तपाईँको साइट खुल्न समस्या त कहिले कमेन्टमा क्लिक गरेर छिर्ने बेला त्यसै पेज नखुलेर हैरानी । अनि कमेन्ट लेखिसकेर पोष्ट गर्न लाग्दा पनि गाँठो परेर बस्ने ।)
ReplyDelete--------------------
जापानको स्वास्थ्य-सचेतता र त्यसलाई नेपालको सन्दर्भ र अवस्थासँग जोड्नुभएको प्रकरण निकै अर्थपूर्ण लाग्यो । खासमा नेपालीहरू स्वास्थ्यप्रति असंवेदनशील र खेलवाड गर्नुपर्ने अवस्था मूलत: बाध्यता नै हो । रातदिन लाउने-खाने मेसोमा अनेक खतरासँग जिस्किने नेपाली कहाँबाट सुरक्षित होउन् ? तपाईँले उठाउनुभएको आर्थिक हैसियतको कुराले स्वास्थ्यको कुरामा विकल्पहीन भूमिका खेल्छ । र पनि राज्यले चाह्यो भने नागरीक स्वास्थ्यप्रति त्यति विधि उदासीन रहिरहन पनि सक्दैनन् । बाटो नदेखुन्जेल र भरथेग नपाउन्जेल त हो कुचुर्किएर बस्नुपर्ने । आज नेपाली त्यही हविगतमा छन् ।
Basantag, i love to read your articles. Thank you very much for your kind reply. I started blog because of you and because of your popularity and your impression. I will keep in touch.
ReplyDeleteBasanta jee thank u for such information
ReplyDeleteYou r being a bridge between japan and nepal...which is nice basant dai....
ReplyDeleteNepalese student who want to go japan for furthur study, for them ur website may be a good one....
Basant dai ..tapai ko life bata uniharule dherai sikna sakchan..and through ur eye they can see the japan....and it's idea...like health related idea above....
धन्यबाद सबैलाई! जवाफ दिन अलि ढिला आईपुगेकोमा माफी चाहन्छु।
ReplyDeleteप्रज्वलजी, कुनै ज्यादै गम्भिर उपचारको आवश्यक पर्दा बाहेक ३०% त्यति महंगो लाग्दैन। विद्यार्थीहरुका लागि अरु सुविधा पनि हुनसक्छन्। सबैतिर छ कि छैन थाहा भएन, म पढेको विश्वविद्यालयमा त्यो ३०% को ८०% विश्वविद्यालयले दिन्थ्यो, बिलहरु बुझाएपछि। बिमाले लगभग सबैजसो उपचारहरु कभर गर्छ। Sicko हेर्ने मौका मिलेको छैन अझै। समाचारहरुबाट बुझेकै भरमा पनि अमेरिकी स्वास्थ्य प्रणालीमा धेरै समस्या छ भन्ने थाहा हुन्छ।
दिलिप दाइको off topic note का लागि आभारी छु।
धाइबाजी, आर्थिक हैसियतको कुराले निश्चय पनि ठूलो प्रभाव पार्छ यस्ता स्वास्थ्य बीमा जस्ता कुरामा। त्यसैले सीमित सक्षम क्षेत्रबाट शुरुवात गर्नुपर्छ। फेरि जनताले भोजभतेर वा गहनाका फजूल खर्चलाई यतातिर लगाउने हो भने त्यति गाह्रो नहुन पनि सक्छ। त्यसकारण राज्यले स्वास्थ्य बीमाबारेमा जनचेतना बढाउँदै लाने योजना पनि राख्नुपर्छ। यो ब्लग खुल्न समस्या भएको जानकारीका लागि धन्यबाद! अरु साथीहरुलाई पनि अनुरोध, त्यस्तो केहि ढिलोपना देखिएको भए जानकारी दिनुहोला।
खुललामञ्चजी, यहाँको सद्भावको लागि आभारी छु। हामी सबै मिलेर सिकौं र लेखौं।
अमेत्य भाइ, जापान आउने नेपाली विद्यार्थीहरु वा अरु कुनै पनि नेपालीले मेरा यस्ता टाँसोहरुबाट केहि फाइदा लिन सकेभने निश्चयनै म एकदम खुशी हुनेछु। जापान आउनुअगाडि यहाँको अवस्थाको बारेमा केहि पनि नबताइएका अथवा बिल्कूल गलत बताइएका मान्छेहरु धेरै भेटिन्छन्। त्यस्तो नहोस् भन्ने हामी सबैको कामना हो।