September 11, 2008
जापानी राजनीतिलाई बुझ्न खोज्दा
केहि दिन पहिला जापानी प्रधानमन्त्री यासुओ फुकुदाले राजीनामा दिने घोषणा गरे, पदभार ग्रहण गरेको एक वर्ष पुग्नै लाग्दा। उनी अगाडिका शिन्जो आबेले पनि एक वर्ष नपुग्दै राजीनामा दिएका थिए। गएको पन्ध्र वर्षमा जापानमा तेह्र वटा सरकार बनिसके। पहिला मैले कतै इटालीको राजनीतिको बारेमा एउटा जोक पढेको थिएँ, इटालीमा प्रधानमन्त्रीमा को 'आयो' भनेर जनताले ध्यानै दिँदैनन् रे, ऊ पदबाट खुस्किसकेपछि मात्रै 'ए! यो पनि गएछ!' भन्छन् रे। ठ्याक्कै त्यहि स्थिति जापानको बारेमा पनि लागू हुन्छ। राजनीतिक अस्थिरता हामीजस्ता तन्नमहरुको भागमा मात्रै हो कि भन्ने लाग्छ हामीलाई, तर केहि विकसित देशहरु पनि राजनीतिक अस्थिरता झेलिरहेका छन्। फरक के हो भने ती देशहरुमा कर्मचारीतन्त्र, अर्थतन्त्र र विदेशनीति पनि संगै अस्थिर हुँदैनन्। राजनीतिक अस्थिरताले हिँसाको रुप पनि लिँदैन कुनै हालतमा पनि। तरैपनि, जापानजस्तो देशको पूरा क्षमतालाई अगाडि आउन भने दिँदो रहेनछ राजनीतिक अस्थिरताले। राजनीतिक अस्थिरताका कारण जनतामा राजनीतिप्रति उदासीनता आयो भने सामाजिक-आर्थिक वातावरण बिस्तारै जमेको पोखरीमा रुपान्तरित हुँदो रहेछ।
जापान बसेपनि जापानको बारेमा एकदम कम बुझेको र बुझ्ने कोशिश गरेको छु जस्तो लाग्न थालेको छ अचेल मलाई। जापानी भाषाको सीमित ज्ञान लगायतका कारणहरु धेरै छन्। अचेल अनलाईन पत्रपत्रिकाहरु नेपालकै बढी पढिन्छ। इण्टरनेट नभए यहींका पत्रिकाहरु धेरै पढिन्थ्यो पक्का पनि! त्यसबाहेक, विश्व संचार जगतमा रहेको अमेरिकी प्रभावका कारण जता जे खोलेपनि अमेरिकाकै प्रसंग बढी हुन्छ। यति हुँदाहुँदै पनि अलिकति चासो लिए धेरै कुरो बुझिन्थ्यो होला। मौलिक संस्कृतिले मात्रै हैन विश्वको दोश्रो ठूलो अर्थतन्त्र र औद्योगिक चमत्कारका रुपमा पनि विश्व राजनीतिमा विशिष्ट स्थान छ जापानको। त्यसकारण, जापान बारेको आफ्नो अध्ययनलाई अलि बढाउनुपर्ने निष्कर्षमा पुगेको छु।
जापान यतिखेर मुख्यत: तीन समस्याहरुमा जेलिएको छ; आर्थिक मन्दी, घट्दो जन्मदरका कारण समाजमा बढेको बृद्धहरुको अनुपात र राजनीतिक अस्थिरता। राजनीतिक अस्थिरताको वर्तमान परिवेश त माथिनै पनि कोट्याइहालें। यसमै कुरो बढाउँ आज।
विगत पचास वर्ष यता जापान एकदलीय शाशनमा छ। हामी सबैलाई थाहा छ, जापान साम्यवादी देश हैन तर लोकतन्त्रमै पनि, प्रतिष्पर्धाबाटै पनि एकदलीय शाशन यति लामो समयसम्म टिक्न सक्दो रहेछ। १९९३, जुलाइ देखि १९९४, जूनसम्मका एघार महिना बाहेक यो पचास वर्ष लिबरल डेमोक्रेटिक पार्टीको शाशन चलेको छ जापानमा (जापानमा एउटा ठट्टा पनि छ, "लिबरल डेमोक्रेटिक पार्टी न 'लिबरल' छ, न 'डेमोक्रेटिक'नै, त्यसैले यसको नाम लिबरल डेमोक्रेटिक पार्टी रहेको हो भन्ने)। निश्चित रुपमा, यो पार्टीले १९६० र १९७० का दशकहरुमा जापानको आश्चर्यजनक आर्थिक विकासको नेतृत्व ग-यो। यहि कारण पनि हुनसक्छ यति लामो शाशन गर्न यो दल सक्षम हुनुमा। तर यतिखेरको जापानका धेरै समस्याहरुका लागि पनि यहि दलको एकछत्र लामो शाशन र त्यसले यो दलभित्र जन्माएको सामयिक नयाँ दृष्टिकोणहरुको अभावलाईनै जिम्मेवार ठहराईँदैछ।
लामो समयसम्म जापानमा सशक्त विपक्षी दलको अभाव रहेको थियो। समाजवादी, साम्यवादी दल लगायतका विपक्षी दलहरुमाथिको जनसमर्थन कहिल्यै पनि ४-५ प्रतिशतभन्दा माथि पुगेको थिएन। त्यसकारण लिबरल डेमोक्रेटिक पार्टीभित्रकै गुट-उपगुटहरुको आपसी अन्तरविरोध र संघर्षनै सरकार निर्माणमा निर्णायक हुनु स्वाभाविकै भयो। (अलि-अलि हाम्रो नेपालको उ बेलाको पञ्चायतको पनि झल्को दिन्छ।) तर डेढ दशक पहिला बिभिन्न साना दलहरु र लिबरल डेमोक्रेटिक पार्टीकै केहि ब्यक्तिहरु मिलेर डेमोक्रेटिक पार्टी अफ जापान बनेपछि भने जापानमा वास्तविक राजनीतिक विपक्षको शुरुवात भएको मान्न सकिन्छ।
डेमोक्रटिक पार्टीले आफ्नो संगठन, जनसमर्थन र शक्ति विस्तार गर्दै लगेको छ र संगसंगै लिबरल डेमोक्रेटिक पार्टीको आधार पनि कमजोर हुँदैछ। गत सालको चुनावमा पहिलोपल्ट लिबरल डेमोक्रेटिक पार्टी जापानी संसद डायटको माथिल्लो सदनमा अल्पमतमा पुग्यो र डेमोक्रेटिक पार्टीले बहुमत हासिल ग-यो। लिबरल डेमोक्रेटिक पार्टी डायटको माथिल्लो सदनमा फेरि बहुमतमा पुग्न धेरै वर्ष लाग्ने अनुमान गरेका छन् विश्लेषकहरुले। त्यतिमात्रै नभै, अहिलेकै अवश्थामा चुनाव भएमा लिबरल डेमोक्रेटिक पार्टी तल्लो सदनमा पनि अल्पमतमा पुग्ने सम्भावना प्रबल छ। अल्पमतमै पुगेन यदि भने पनि यसले अहिलेसम्म भोग्दै आएको 'सुपर मेजोरिटी'(दुई तिहाई भन्दा बढी सिटहरु)को शक्तिबाट खुम्चिएर झिनो सामान्य बहुमतमा झर्ने कुरा भने पक्कापक्की भएको मानिन्छ।
डेमोक्रेटिक पार्टीको यस्तो उदयसंगै जापानमा बल्ल आएर 'वास्तविक' प्रतिष्पर्धात्मक राजनीतिको शुरुवात भएको छ। यो प्रतिष्पर्धात्मक राजनीतिले जन्माउने नयाँ विचार र दृष्टिकोणहरुनै जापानको 'पुनर्जीवन'को कडी हुनेछन् भन्नु अत्युक्ति नहोला।
(लिबरल डेमोक्रेटिक पार्टी र डेमोक्रेटिक पार्टी अफ जापानका नीतिगत भिन्नताहरुको बारेमा पनि कुनै दिन लेखौंला, अझै अध्ययनको प्रारम्भिक चरणमै छु।)
जापानका प्रतिपक्ष र नेपालका प्रतिपक्ष एउटै नहुन् । प्रतिपक्ष भनेको के हो र यसको भूमिका के हो भन्ने बोध होस जापानका प्रतिपक्षीलाई । बाटाको रेलिङ् भाँच्नु अनि टायर बाल्नु नै प्रतिपक्षीको मुख्य काम हो भन्ने बोध नहोस् जापानीलाई । नयाँ शक्तिका नाममा माओवादीजस्ता पार्टीलाई बहुमतमा नपुर्याउन जापानीले । लामो शासन गरेको भन्दै काँग्रेसजस्तालाई विश्वास पनि नगरून् । समयको प्रवाहसँगै नविन सोच र वास्तविकतालाई आत्मसाथ गर्नसक्ने सक्षम पार्टी र नेता चुन्न सफल होस् जापान । सैन्य र प्रविधि दुवै क्षेत्रमा रहेको अमेरिकि दवदवालाई निस्तेज पार्न हाम्रो एशियाली राष्ट्र सफल होस् । युगौँयुगसम्म नयाँकुराको विकाश गर्न नसकेर उही थोत्रो बुद्धको(बुद्ध थोत्रा होइनन् तर हाम्रो भट्याई चाहिँ थोत्रो) र सगरमाथाको देश भन्दै नाक ठड्याउने हामीले भन्न सक्ने कुरा यति नै हो ।
ReplyDeleteबसन्त जी धन्यवाद, मैले पनी यो तपाईंको लेख पढेपछी मात्रै जापान को राजनीतिको बारे अली अली बुज्न थाले ...
ReplyDeleteIt was nice to meet you and other frens in Nagayo...
rajnaitik kura ta basant g ramrai garnu hudo rahe6 tapai sanga ta dhyaan gare jastai gyan rahe6 .......thanks
ReplyDeleteNice to know little about Japanese Politics. Thanks.
ReplyDeleteवसन्त दाईले जापानको राजनीति बुझ्ने मौका दिनु भएकोमा धन्यवाद । जापानमा लिबरल डेमोक्रेटिक पार्टिले सधै बहुमत ल्याए पनि किन त्यत्ति सारो सरकारमा परिवर्तन भै रहेको भन्ने कुरा बुझिन । यस्तो राजनैतिक अस्थिरताको कारण पनि भनिदिनु भए राम्रो हुने थियो ।
ReplyDeleteप्रतिकृयाको लागि सबैलाई धन्यबाद!
ReplyDeleteउजेलीजी, दृश्य नेपालको भन्दा ठ्याक्कै विपरीत भएकोले त्यस्तो नराम्रो होला भनेर पीर गर्दै नगरे हुन्छ हामीले। जनताको चेतनास्तर माथि पुगेपछि केहि राजनीतिज्ञले चाहे भनेपनि अराजकताले हुर्किन पाउँदो रहेनछ।
बद्रीजी, अस्ति नागोयाको भेटघाटमा रमाइलो भयो। खुशी लागेको छ मलाई पनि।
पुलामीजी, अलि-अलि बुझ्ने कोशिश गर्दैछु।
MprofITजी, बुझ्दै जाँदा लेख्दै पनि जाउँला।
सिर्जनाजी, प्रश्नको लागि धन्यबाद! यो कुरा निश्चित रुपमा पोष्टमै हुनुपर्ने हो। हतारमा ब्लग लेख्दा छुट्न गएछ।
मेरो अहिलेसम्मको बुझाइमा दुईटा कारण छन् प्रमुख रुपमा। एउटा, गतिलो बहुमत भएपनि लिबरल डेमोक्रेटिक पार्टीभित्र धेरै गुट-उपगुटहरु छन्। यी गुट-उपगुटहरुमा शक्ति-संघर्ष चलिरहन्छ सधैंभरी। त्यसैले बहुमतको सरकार हरेक पटक लिबरल डेमोक्रेटिक पार्टी आफ्नै कारणले ढल्छ।
दोश्रो, हरेक प्रधानमन्त्रीमाथिको जनसमर्थन जहिले पनि एकदम कम हुन्छ, धेरैजसो ३०% भन्दा तलै हुन्छ। लामो समयसम्म यस्तरी जनसमर्थन कम भएपछि नैतिक दबाब पनि हुन्छ होला पद छोड्न।
लिबरल डेमोक्रेटिक पार्टीले जहिले पनि 'सुपर मेजोरिटी' ल्याउने तर प्रधानमन्त्रीहरु कहिल्यै लोकप्रिय नहुने, यो गजबको विरोधाभाष हो। म अझै अध्ययनको क्रममा छु, तर अहिलेसम्मको मेरो बुझाइअनुसार समग्र चुनावी क्षेत्र निर्धारण, प्रचार-प्रसारका नियमहरु लगायतका समग्र चुनावी प्रकृया लिबरल डेमोक्रेटिक पार्टीको हात 'माथि' पर्ने गरी तयार गरिएका छन् रे र नीतिगत विषयमा सार्वजनिक वहस हुने सम्भावनालाई सकेसम्म न्यून पारिएको छ रे, ता कि जनताले अरु दलका नीतिहरुका बारेमा आवश्यक जानकारी पाउन सक्दैनन्।
अबको सरकारले मध्यावधि चुनाव बोलाउन पनि सक्छ, नबोलाएपनि अर्को सेप्टेम्बरमा नियमित चुनावनै हुने रहेछ। यो चुनावताका जापानको राजनीतिलाई सकेसम्म (विदेशीको हिसाबले सम्भव भएसम्म) नजिकबाट हेर्ने कोशिश गर्नेछु र नयाँ जानकारी ब्लगमा राख्नेनै छु।
Nice post Basantji!
ReplyDeleteThe post-World War II years saw tremendous economic growth in Japan, with the political system dominated by the Liberal Democratic Party (LDP). That total domination lasted until the Diet lower house elections in July 1993, in which the LDP failed for the first time to win a majority. The LDP returned to power in 1994, with majorities in both houses of the Diet. There were quite a few prime ministers in past who lasted over 5 years. For example, Junichiro Koizumi served from for five & half years during 2001-2006. In elections in July 2007, the LDP lost its majority in the upper house, with the DPJ now holding the largest number of seats but with no party possessing a clear majority. Currently, the LDP maintains a majority in the lower house.
Shinzo Abe was elected Prime Minister in a Diet vote in September 2006. Abe was the first prime minister to be born after World War II and the youngest prime minister since the war. However, Abe resigned abruptly in September 2007, not long after the LDP lost control of the upper house in the July 2007 elections in which the LDP's handling of domestic issues was a leading issue. Yasuo Fukuda of the LDP was elected Prime Minister by the Diet on September 2007 to replace Abe. Fukuda is known for his experience in building consensus behind the scenes.
As far as I know, unlike our country, the politics in Japan has been based on issues not on personalities. and leader's perspective over crucial issues varying in the past has cost many governments. Recently, the main focal point of Japanese politics is the pension issue. The growing number of old people (currently too, Japan is the leading country with highest number of people over 100 years of age) as well as with the emergence of China as a rising economy, has resulted in a constrained Japanese economy.
Hope to read more on Japanese politics in coming days...
धन्यबाद दीपेन्द्रजी! विस्तृत जानकारी पनि राखिदिनुभएकोमा खुशी लाग्यो।
ReplyDeleteएउटा विषयमा केहि थप कुरा गर्न मन लाग्यो। तपाईँले जापानको राजनीति ब्यक्ति भन्दा मुद्दा केन्द्रीत छ भनेर लेख्नुभएको छ। त्यो सही हो, हाम्रो देशको राजनीतिसंग त तुलनै गर्न सकिँदैन। तर जतिसुकै मुद्दा केन्द्रित राजनीति भएपनि ब्यक्तित्वको प्रभाव पनि कमचाहिँ हुँदो रहेनछ। विगत केहि समय यताका सबैभन्दा सफल प्रधानमन्त्री कोइजुमी सफल हुनुमा उनको राजनीतिक सूझबूझ र राजनीतिक इमान्न्दारिताको जति प्रभाव छ, त्यतिनै प्रभाव उनको फरासिलो ब्यक्तित्वको पनि छ भनेर ठोकेर भन्न सकिन्छ। उनीपछिका आबे नीतिगत रुपमा धेरैजसो कोइजुमीकै बाटोमा हिँडेका हुन्, तर उनी लोकप्रिय हुन सकेनन्। कोइजुमीका नीति त्यति मन नपर्ने धेरै जापानीहरुले पनि कोइजुमीलाई मन पराउँदा रहेछन् र लिबरल डेमोक्रेटिक पार्टीलाई भोट हालेका रहेछन् त्यति बेला। त्यसकारण, राजनीतिमा ब्यक्तित्वको भूमिकालाई नजरअन्दाज गर्न सकिँदैन।
जापानको राजनीतिको बारेमा दीपेन्द्रजीको ब्लगमा पनि केहि पढ्न पाइनेछ भन्ने आशा राखेको छु।