September 30, 2019

शाकाहार - मानव चेतनाको गन्तव्य

पशुबलिलाई बेठिक भन्नु र शाकाहारको कुरा गर्नु भनेको राम्रै गाली खानु हो नेपालमा । झन् दशैंको बेलामा शाकाहारको कुरा गर्‍यो भने त मान्छेहरु उग्र भइहाल्छन् र ‘डलर खाएर’ हिन्दू धर्म ‘सिध्याउन’ लागेको आरोप लगाइदिन्छन् । उनीहरुका कुरा सुन्दा यस्तो लाग्छ, नेपालमा हिन्दू हुनु भनेको ‘जनावरको बलि दिनु’ र मासु लुछ्नु हो र त्यहि मात्र हो ।

बाल्यकालमा मैले अलि अलि मासु खाएँ । बाहुन परिवारमा जन्मे-हुर्केकाले खसी-बोकाको मासु मात्रै खान पाइन्थ्यो । नियमित खाने कुरा भने थिएन, मासु एउटा ‘विशेष’ खानेकुरा मानिन्थ्यो र चाडबाड, विशेष गरी दशैं, चैते दशैंमा यो अनिवार्य ठानिन्थ्यो । आक्कलझुक्कल अरु बेलामा पनि यो मुखमा पर्न आईपुग्थ्यो । यसरी हेर्दा मेरो बाल्यकाललाई म बढीमा २० प्रतिशत मात्रै मांसाहारी मान्न सक्छु । कुखुराको अण्डा समेत खान नहुने मानिन्थ्यो, तर गाउँका केहि ‘आँटिला’हरुले अण्डा र कुखुराकै मासु पनि खान थालीसकेका थिए । ती आँटिलामध्येमा पर्न आफूसंग भने गाँठ र आँट दुबै थिएन ।

शिक्षा र रोजगारीका लागि शहर पस्न थालेपछि काठमाण्डौंको काँठका बाहुनले खाने मासुको परिमाण पनि बढ्न थाल्यो । अत्यन्त ‘स्वादिष्ट’, ‘सम्मोहनकारी’ र ‘शक्तिशाली’ म:म लाई चिनेपछि त्यसबाट जोगिन कसले सकोस् ! खसी-बोकामात्रै खान पाउने भनेर तोकिएका बाहुनहरुले प्लेटका प्लेट ‘भैंसी’ पनि सखाप पार्न थाले । कलेज पढ्दाका तीन वर्षमा सय प्लेट चानचुन ‘भैंसी’ मेरा पेटमा पनि पसे हुनन् ।

स्नातक तहको अध्ययनका लागि २०४८ मा चीन पुगेपछि भने मासु धेरै खाइयो । चीनमा सागपातपनि धेरै प्रकारका पाईन्थे तर मासु धेरै सस्तो लाग्थ्यो। ‘चिनियाँहरुले उड्नेमा हवाईजहाज र हिँड्नेमा मोटर बाहेक जे पनि खान्छन् !’  भनेर हाँसो गर्थे त्यहाँ बस्ने विदेशीहरु । साँच्चै हो जस्तो लाग्थ्यो मलाई चिनियाँहरुको खानपीन हेर्दा । अहिलेको स्थिति कस्तो छ, थाहा भएन ।

चीनमा बस्दा कुखुरा र बुंगुरको मासु सबैभन्दा धेरै खाईयो । खसीको मासु महँगो पर्थ्यो । खसीको मासु सामान्यतया मुसलमानहरुले सञ्चालन गरेका पसलमा बढी पाइन्थ्यो । सेकुवा खान मन लागे हामी ती पसलहरुमा जान्थ्यौं । गाईको मासु खानबाट भने जोगिने सक्दो प्रयास गरियो । नेपालमा छँदा खाँदै नखाए बराबर थियो माछा, चीनमा त्यसको पनि परिमाण बढ्यो । नेपाल फर्केपछि कुखुरा र खसीको मासुलाई मात्रै निरन्तरता दिईयो ।

दोश्रो प्रवासका लागि २०५९ मा जापान पुगेपछि फेरि चीनकै जस्तो स्थिति दोहोरियो । त्यहाँ पनि माछा-मासु नखाई टिक्न नसकिने स्थिति छ । ‘शाकाहारी हुँ ।’ भनेर कसैले भन्दा धेरैजसो जापानीहरु छक्क पर्छन् र सोध्छन्; “अण्डा पनि खाँदैनस् ?” वा “माछा पनि चल्दैन ?” । कतिपय भोजनालयहरुमा मासु र आलु मिसाएर पकाएको तरकारीबाट आलुका टुक्राहरुमात्रै छानेर शाकाहारी व्यक्तिलाई दिईएका जस्ता कुराहरु पनि सुनिन्छन् । परम्परागत जापानी खानामा माछा र समुद्री जीवको प्राधान्यता छ तर गत शताब्दीबाट पश्चिमा खानाको प्रभावका कारण जापानमा मासुको खपत पनि धेरै बढी छ ।

जापानमा शकाहारी खानाको अस्तित्वनै छैन होला भन्ने लागेको थियो मलाई तर नेपाल फर्कनुभन्दा केहि महिना अघि पुगेको एउटा बौद्ध मन्दिरले भने मेरो त्यो सोचाईलाई गलत साबित गरिदियो।एक शुभचिन्तक जापानी बृद्धाले लिएर गएकी थिईन् हामीलाई त्यो मन्दिरमा । आफूलाई कहाँ लगिँदैछ भन्ने बारेमा त्यति नबुझ्दा-नबुझ्दै पनि हामी उनको पछि लागेका थियौं, एउटा आईतवार बिताउनु थियो जसरी भएपनि ।

जापानी बौद्ध परम्पराका बिभिन्न सम्प्रदायहरुमध्ये कुनै एकद्वारा संचालित त्यो मन्दिर हँसमुख बुद्ध (Laughing Buddha) को रहेछ । प्रवचनकर्ताका अनुसार उनीहरु हँसमुख बुद्धलाई मैत्रेय बुद्ध मान्दा रहेछन् । पछि मैले ईण्टरनेटमा खोजेर पढेको थिएँ, यो मान्यता राख्ने बौद्धमार्गीहरु संसारका अरु केहि ठाउँमा पनि रहेछन् ।

मन्दिरमा भव्य र सुविधापूर्ण प्रार्थना र ध्यान कक्षहरु थिए। प्रवचनपछि  हामीलाई सामूहिक, व्यक्तिगत प्रार्थनामा सहभागी गराईयो र भोजनालायतिर लगियो । त्यहाँको भोजनालयमा पूर्ण शाकाहारी भोजन तयार हुँदो रहेछ । हामीकहाँ आफूलाई शाकाहारी भन्नेहरु गाईभैंसीको दूध भने खान्छन् तर त्यहाँ दूधसंग सम्बन्धित भोजन पनि छँदै थिएनन् । त्यो सम्प्रदायमा दूधलाई पनि मासुजस्तै मानिने रहेछ । खाना अत्यन्त सन्तुलित, पौष्टिक र स्वादिष्ट  थियो ।

त्यहाँको भोजनले मांसाहारलाई निरन्तरता दिन मेरो मनले बनाएका बहानाहरुलाई भने गतिलै धक्का दियो । त्यसको केहि वर्ष अघिबाट म मासु खानका लागि गरिने पशुपञ्छीको वध र तीनलाई दिईने यातनाका प्रति म संवेदनशील हुँदै गईरहेको थिएँ तर मासु छोड्न सकिरहेको थिईँन । मैले खोजेका बहानाहरु ‘माँसाहारजत्तिको पौष्टिक शाकाहार नहुन सक्छ’, ‘हामी शाकाहारी खानालाई मिलाएर बनाउन जान्दैनौं’, ‘जापानमा शाकाहारी हुनु असम्भव छ’ आदि प्रमुख थिए। तर उक्त मन्दिरमा पुग्ने संयोगले मलाई मेरो कमजोर ईच्छाशक्तिनै सबैभन्दा प्रमुख कारण हो मैले मासु छोड्न नसक्नुमा भन्ने बोध गराईदियो ।

केहि विशेष घटनाहरुले मान्छेको संवेदनालाई बढाईदिँदा रहेछन् । छोरीको जन्म एउटा यस्तै घटना बन्यो मेरा लागि । एउटा नयाँ मानवजीवनको शुरुवात र हुर्काईलाई नजिकबाट हेर्दाहेर्दै म सबै जीवनप्रति अझ संवेदनशील हुन थालें । मान्छे वा जनावर, सबैको जीवन उत्तिकै अद्वितिय, अनुपम सौन्दर्य हो भन्ने बोध गहिरो हुँदै गयो ममा । जीवनको हत्या घोर कुरुपता हो, यस्तो कुरुप कार्य जीवनप्रति कुनै संवेदनशीलता नभएको क्रुर मान्छेले मात्र गर्न सक्छ र कसैको हत्याबाट आफ्नो भोजन जुटाउनु मानवीय कर्म हुँदै होइन भन्ने मान्यता अब मेरो मनमा गहिरो गरी बस्यो ।

साउदी अरेबियामा कार्यरत एकजना भाइबाट एउटा ईमेल प्राप्त हुनु अर्को घटना बन्यो । त्यो ईमेल त्यहाँको एक बहुचर्चित नृशंश हत्याकाण्ड बारे थियो । केहि फिलिपिनोहरुले एकजना पाकिस्तानीको हत्या गरेर उसको मासु खाएका थिए र सम्पूर्ण गतिविधिहरुलाई क्यामेरामा कैद गरेका थिए । पछि ती नरभक्षीहरु समातिएपछि ती फोटोहरु बाहिर निक्लेका रहेछन् ।

भाइको ईमेलमा धेरै फोटाहरु थिए । मृत पाकिस्तानीको लाश काठको फलेकमा राखिएको, पहिला उसको घाँटी छिनालिएको, त्यसपछि क्रमैसंग हात खुट्टाहरु निकालिएको, उसको छाती फोरेर दुई भाग लगाईएको, भित्रका मुटु, कलेजा, फोक्सो आदि झिकिएको, आन्द्राभुँडी झिकिएको आदि अनेक फोटाहरु थिए। ती सबै राक्षसहरु अत्यन्त आनन्दित ‘पिकनिक’को मुडमा थिए, उनीहरुको अनुहारमा अलिकति पनि लज्जाबोध र डर थिएन । ती मध्येका केहि उक्त अभागी मान्छेको जननेन्द्रिय हातमा लिएर क्यामेरातिर फर्केर जिस्कँदै हाँसिरहेका पनि थिए । त्यहाँ आन्द्राभुँडी सफा गरिएका तस्बीरहरु पनि थिए, अनि केहि ठूला ड्रमजस्ता भाँडाहरुमा मासु पकाएको र अन्त्यमा गोलाकार बसेर सबैले मासु खाएका फोटाहरु पनि थिए । सबै घटनाक्रम खसी, बोका काटेर गरिनेजस्तै थिए।

एक-दुई दिनमा ती राक्षसहरुको पापको घैंटो फुटेछ । त्यो निर्दोष पाकिस्तानीको मासु खाने मध्येका केही, भोजन विषाक्तताको समस्याले गर्दा अस्पताल भर्ना भएछन् । त्यसपछि एक-एक गर्दै सबै कुरा बाहिर आएछ । साउदी सरकारले ती मध्ये धेरैलाई प्राणदण्ड दिएछ, बाँकीलाई लामो समयको कारावासको सजायँ दिएछ।

आङ्गनै सिरिङ्ग गर्ने तस्बीरहरु हेरेपछि मेरो मनस्थितिनै खल्बलिएको थियो केहि समय । त्यसपछिका दिनमा मासु खाँदा जहिलेपनि तिनै दृश्यहरु झल्झली आँखामा आउन थाले । मासु खान थालेपछि तिनै दृश्यहरु आँखामा आएर मनस्थिति खल्बलिने, एउटा एकदम अफ्ठेरो परिश्थितिमा बाँचें म धेरै दिन । ती तस्बीरहरु छउन्जेल बेला-बेला हेरिने र आफ्नो मनस्थिति खल्बलीइरहने भएकाले केहि समयपछि सबै तस्बीरहरु मेटें मैले । अरु कसैलाई पठाउँदा पनि पठाइँन मैले ती तस्बीरहरु, किनभने त्यस्ता तस्बीरहरु हेर्नु भनेकै पनि एउटा हिंसा आहार हो । फेरि कतिपय मान्छेमा ठूलो  मानसिक विचलननै ल्याइदिन सक्छन यस्ता तस्बीरहरुले । त्यसको केहि वर्ष पहिला इराकमा अन्सर-अल-सुन्नाका आतंककारीहरुले नेपाली दाजुभाईहरुको हत्या गरेको भिडियो पूरा हेर्ने आँट कहिल्यै गर्न सकिन मैले, जति हेरें त्यतिलेनै पनि धेरै दिन मानसिक विचलन भोगेको थिएँ ।

यी घटनाहरुले मलाई मानव र अरु जनावरको जीवनको समानता र महत्वप्रति संवेदनशील बनाए । ठाडो शब्दमा भन्दा मैले मान्छेको मासु र अरु जनावरको मासुमा भेद देख्न छोडें र मैले आफुलाई शाकाहारी बनाउने निधो गरें । दश वर्ष हुन लाग्यो, आफ्नो उक्त निर्णयमा म अडिग छु र शाकाहारबाट प्राप्त हुने शारीरिक, मानसिक र आध्यात्मिक लाभको प्रशश्त अनुभव गरीरहेछु । 

मानवजाति कहिलेदेखि मांसाहारी भयो अथवा यो मानवको रुपमा उभिएको शुरुवाती दिनदेखिनै मांसाहारी थियो वा थिएन भन्ने कुरा बहसको विषय हुन सक्छ । बौद्धिक विकास नभइसकेको आदिम मान्छेका लागि मांसाहार शायद बाध्यता पनि थियो किनभने उसले कृषिकर्म जानीसकेको थिएन र प्रकृतिमा उपलब्ध वनस्पतिहरुपनि चिनिसकेको थिएन । त्यो युगमा मान्छेले जनावरको मात्र होइन मान्छेकै पनि मासु खान्थ्यो । मासुकै कुरा भइसकेपछि जनावरको वा मान्छेको – खासै फरक नमान्दा हुन्छ । अहिले मान्छेले मान्छे खाने कुरा इतिहासको पानामा सीमित भईसकेको ठान्छौं हामी तर माथि उल्लेख गरिएको साउदी अरेबियाको घटनाले हामीलाई अर्कै सोच्न बाध्य बनाउँछ । तन्त्रका नाममा बच्चालाई बलि दिने घटना हाम्रै वरिपरि पनि यदाकदा देखिएकै छ । केहि समय अगाडिसम्म कुनै-कुनै समाजमा बच्चाको सालनालसमेत खाने गरिएको सुनिन्थ्यो । यस्ता कुरा अपवाद हुँदै गएपनि जनावहरुप्रतिको मानव व्यवहार भने अझै आमरुपमै अत्यन्त क्रूर र दानवीय छ । संसारभरि भोजनका लागि तुलनात्मक रुपमा सुधा र कमजोर जनावरहरुको यातनापूर्ण हत्या गरिन्छ, र धेरैजसो यस्ता हत्यालाई न्यायोचित ठहर्‍याउन धर्मको खोल ओढाउने गरिन्छ ।

गहनतम मानवीय संवेदनाले मांसाहारलाई कदापि स्विकार्न सक्दैन । प्रकृतिको सबैभन्दा चेतनशील प्राणीले अर्को चेतनाको हत्या गर्नु र आफ्नो भोजन बनाउनु यसै पनि विडम्बना हो । मानवीय चेतनाको लागि सुहाउने कुरा होइन यो । शारीरिक तहमै उभिएर हेर्दा पनि मांसाहार मानव शरीरका लागि आवश्यक छैन र यसले ठिक गर्दैन भन्ने प्रमाणित भइसकेको छ । जीववैज्ञानिकहरुका अनुसार मानव शरीरको बनावट, विशेष गरी मुख र पाचन प्रणालीको संरचना शाकाहारी भोजनका लागि उपयुक्त छ । प्रकृतिले मानिसलाई शाकाहारी जीवनको लागि तयार पारेको छ । मानिसले मासु खानुपर्ने कुरामा दिइने एउटा तर्क यसको पौष्टिकताको पनि हो तर अहिले मासुजत्तिकै वा त्यो भन्दा पनि बढी पौष्टिक शाकाहारी खानेकुराहरु जतिपनि भेटिन्छन् । त्यसैले पौष्टिकताकै लागि मासु खानुपर्ने र निर्दोष जनावरहरु मार्नु पर्ने कुरामा कुनै दम देखिँदैन ।

मान्छेले मान्छे खाने कुरा अपवादबाहेक नदेखिएपनि, नसुनिएपनि मान्छेले मान्छेसंग गर्ने व्यवहार भने झन्-झन् हिंसात्मक बन्दै गएको छ । चेतना माथिल्लो स्तरको हुँदै जाँदा र बुद्धिको विकास हुँदै जाँदा त समग्र मानवजाति अहिंस्रक बन्दै जानुपर्ने हो तर त्यो हुन सकेको छैन । मान्छेलाई मान्छे हुनबाट रोक्ने एउटा प्रमुख कारण मांसाहारनै हुनसक्छ । मासुको परिमाण बढाउन अचेल पशुपञ्छीलाई अनेक अप्राकृतिक खानेकुरा खुवाइन्छ र धेरै थरी एण्टिबायोटिक पनि दिइन्छ । मासु सेवनसंगै त्यस्ता तत्वहरु मानव शरीरमा प्रवेश गर्छन् । अर्कोतिर,  हत्या गरिँदाको क्षण पशुपञ्छीमा उब्जने भय र क्रोधभावका कारण तिनका शरीरमा थुप्रै विषाक्त रसायन निर्माण हुन्छन् । ती विषाक्त रसायन पनि मासु हुँदै मान्छेको शरीरमा प्रवेश गर्छन् । यस्ता रसायनहरुले मासुले मान्छेमा तनाव र चिन्ता बढाउँछन् र बिभिन्न रोगका कारण बन्छन्  । मासु खान पालिएका जनावरहरुका कारण संसारमा धेरै नयाँ-नयाँ रोगहरु पनि फैलिरहेका छन्। 

मांसाहारको पक्षमा दिईने अर्को एउटा तर्क हो, ‘मानवजातिले मांसाहार नगर्ने हो भने, पर्यावरणीय सन्तुलन (इकोसिष्टम) बिग्रन्छ। तर यो तर्कमा पनि कुनै दम छैन, किनभने जुन प्राकृतिक प्रणालीको सन्तुलनको कुरा गरिन्छ, त्यो प्राकृतिक प्रणालीबाट मानवजाति धेरै पहिले अलग भइसकेको छ । खेतीपाती गर्न जानेबाटै मानिस त्यसबाट अलग्गिएको हो । बाघभालूले मासु खान नपाउँदा तिनको अस्तित्वनै समाप्त हुन्छ, पर्यावरणीय सन्तुलन बिग्रने त्यो अवश्थामा हो, मान्छेले मासु नखाँदा पृथ्वीको पर्यावरणीय सन्तुलनको रौं पनि हल्लिँदैन ।

फेरि मान्छे जंगली जनावरहरुको शिकार गरेर पनि खाँदैन अचेल, ऊ त तुलनात्मक रुपमा सूधा र कमजोर जन्तुहरुलाई केहि समय पालेर, पछि धोकापूर्णतरिकाले मारेर खान्छ । यी जनावरहरुलाई तिनको प्राकृतिक जीवनशैलीबाट जबर्जस्ती तानेर घरपालुवा बनाएर उसले पृथ्वीको पर्यावरणीय सन्तुलनलाई पहिल्यै धेरै खल्बल्याईसकेको छ। उल्टो अब मासु खाने बहाना पनि त्यसैलाई बनाउन खोज्नु भनेको कुटिल चालबाजी मात्रै हो।

धेरैजसो धर्ममा देवताको नाममा पशुबली दिईन्छ, विगतमा देउताकै नाममा नरवलि पनि दिईन्थ्यो। ढुंगाको मूर्ति अगाडि निर्दोष र अबोध पशुहत्या गरेर धर्म कमाईन्छ भन्ने विडम्बनापूर्ण परम्परा छन् मान्छेका ! कतिपय मन्दिरहरुमा कुनै अबोध जनावरलाई जति धेरै यातना दिएर तड्पाई-तड्पाई मा-यो, त्यतिनै धर्म र पुण्य कमाईने विश्वाश गरिन्छ । के क्रूरता र हिंसा धर्म हो ? अनि हामीले आफ्नो क्रुरता र हिंसालाई छोप्न धर्म-परम्परा र कथित शास्त्रको गज्जबको खोलपनि तयार पारेका छौं । पशुबलिका विरुद्ध र शाकाहारका पक्षमा कसैले चुईँक्क बोल्यो कि शास्त्रको दुहाई दिँदै पाखुरा खैंचिदै आउनेहरु धेरै छन् । तर के कुनै पनि शास्त्र कुनै विषयको अन्तिम सत्य हुनसक्छ ? र अर्कोतिर, कुन शास्त्रको कुरा गर्ने ? शास्त्र त शाकाहारका पक्षमा पनि लेखिएका छन् । अझ खासमा भन्ने हो भने त इसाइ र इस्लामको दाँजोमा हिन्दू धर्ममा शाकाहारको दर्शन विस्तारित र व्यापक छ । हिन्दूहरुले कम्तिमा उपनिषदकालदेखिनै शाकाहारको गरिमाको चर्चा गर्दै आएका छन् । त्यसकारण, शाकाहारको कुरा गर्नु हिन्दूविरोधी हुनु होइन । संसारमा मासु नखाने हिन्दूहरु मासु खानेभन्दा बढी छन् । हिन्दूत्वको नाममा मासुप्रतिको आसक्ति नेपालमा बढी छ । नवरात्रलाई सात्विक पूजा आराधनाको समय मानिन्छ धेरैतिर । हामीले भने त्यसलाई जीवहत्याको पर्व बनाएका छौं र अहिले आएर त्यसमा जूवातास र रक्सीपनि थपेका छौं । दशैंलाई आफूभित्रको पशुभावलाई त्याग्ने (‘बलि दिने’) पर्व बनाउनुपर्ने हो तर हामी त्यहि भावलाई आफूभित्र अझ बढाइरहेछौं ।

बिभिन्न चाडपर्वहरुमा हाम्रो समाजले बलि दिने जनावरहरु तुलनात्मक रुपले निर्धा र सोझा हुन्छन् । राँगा, खसी, बोका, च्याङ्ग्रा आदिलाई महिषासुरको अवतार मानेर बलि दिने हामीले अझ सम्म किन नबुझेको होला, अरुलाई मारेर मासु खाने हिसाबले बाघ वा सिंह पो बरु महिषासुरका नातेदार हुनसक्छन् (गहिरिएर हेर्ने हो भने तिनले पनि आफ्नो प्राकृतिक स्वभावलाई पछ्याएका मात्र हुन्) । तर हामी बाघ वा सिंहलाई खसी-बोका-राँगोलाई जसरी यातना दिन र मार्न सक्दैनौं, हाम्रो शारीरिक क्षमताले पुग्दैन त्यसो गर्न, अनि हामी हाम्रो कुण्ठा र हीनताबोधलाई लगेर आफूभन्दा कमजोर र सूधा जनावरहरुमाथि खन्याउँछौं । हाम्रा कतिपय मन्दिरहरुमा मानसिक शान्ति पाइने र आध्यातिक तरङ्गहरु अनुभव गर्न सकिने ठाउँभन्दा पनि जनावरहरुका वधशाला मात्रै लाग्छन् । र हाम्रा पेट आईन्स्टाईनले कतै भनेझैं, हत्या गरिएका अबोध जनावरहरुका चिहानमात्रै हुन् ।

पशुबलि र शाकाहारको कुरा गर्दा मानव चेतना र विवेकलाई सर्वोपरि राखेर हेरिनुपर्छ र हामीले आफैंसंग सोध्न सक्नुपर्छ के खानको लागि अर्को कुनै जीवनको हत्या गर्नु उन्नत मानव चेतनाको गरिमालाई सुहाउने कुरा हो ? मानव चेतनाको गन्तव्य अझ हिँसात्मक बन्दै जानु हो कि समग्र जीवजगतप्रति करुणाभाव बढाउँदै जानु हो?  

(पोखराबाट प्रकाशित हुने 'समाधान' राष्ट्रिय दैनिकमा २०७६, असोज १२ गते, आइतबार, थोरै संशोधनसाथ छापिएको।)




No comments:

Post a Comment