April 08, 2016

गलबन्दी

कहिल्यै-कतै नपरेको विपत्ति पर्यो त्यो साल गाऊँलाई।

भीरपाखामा खनीखोस्री बाँचिरहेका थिए गाऊँलेहरु। दु:खमा जन्मनु, दु:ख गर्नु र दु:खमै मर्नु- यहि नियति थियो गाऊँलेको।

कुनै-कुनै छाप्राले आफ्ना छोराछोरीहरुलाई शहरमा काम गर्न पठाएका थिए। तिनले अलि-अलि पैसा पठाऊँथे यदाकदा। अरुबेला हत्तपत्त नदेखिने सरकार त्यहि बेला देखिन्थ्यो-शहरबाट आएको रगत-पसिना लतपतिएको पैसामा कर काटेर लिन्थ्यो र हराऊँथ्यो।

हुनपनि कहिल्यै-कतै नपरेको विपत्ति पर्यो त्यो साल गाऊँलाई।

आधा गाऊँलाई एउटा विशाल भूकम्पले भूईँमा मिलाईदियो। त्यसपछि दिन तीन रात घनघोर झरी बर्षियो। गाऊँमा बाढी पस्यो। भूकम्पबाट बचेका धेरैजसो छाप्रालाई बाढीले बगाएर लग्यो, बचेका एक-दुई छाप्रामा पानी जमेर बस्न नसकिने भयो। गाऊँलेहरुले भोकभोकै रुखका हाँगामा दिनरात बिताए। झरी थामिएपछि तल झरेका गाऊँलेले एक-दुई रित्ता छाप्राबाहेक केहि देखेनन्। उनीहरुको आफ्नो शरीर बाहेक आफ्नो भन्नु जे थियो, सबै बाढीले लगेछ।

त्यसपछि हुरी चल्यो। भूकम्प र झरी-बाढीबाट बचे-खुचेको गाऊँलाई पनि हुरीले उडायो।

गाऊँलेका झुत्रा लुगा झरी र हुरीले गलाएर झन् झुत्रा भएछन्। तिनै झुत्रा लुगाले स-साना बच्चाहरुलाई छोपछाप पारेर न्यानो दिने कोशिश गरियो। 

यसरी गाऊँका मान्छे अब पूरै नांगै भए, अाधी नांगै त उनीहरु सधैं थिए नै। र उनीहरु नजिकैको गुफातिर बसाईँ सरे।

गाऊँलेलाई त थाहा भएन तर त्यो गाऊँको चर्चा संसारभरि भयो रे!

'यो गाऊँले गर्दा देशकै बेईज्जत भयो!' भनेर सरकारलाई पीर पर्यो रे!

सरकारले जनतालाई लुगा बाँड्ने योजना ल्यायो रे !

सरकारले गाऊँको नाममा विदेशी गुहार्यो रे! 

विदेशीले गाऊँले सबैलाई एक-एक जोर पुग्नेगरी लुगा सहायता दिए रे!

त्यहि सहायताबाट 'जोगाएर' सरकारले सबैलाई एक-एकवटा गलबन्दी बाँड्दै छ रे!

(महाभूकम्पपछिको एक वर्षलाई फर्किएर हेर्दा मेरो मनमा उब्जेको चित्र यहि हो।)