October 27, 2013

अझै अनिर्णित!

देशको दुर्भाग्यले गर्दा अघिल्लो संविधानसभा संविधान नबनाई बित्यो। त्यो संविधानसभाको चुनावमा जापानमै थिएँ, यो 'दोश्रो' हुनेबेला देशमै छु। मत प्रयोग गर्न पाऊँदाको उत्साह त्यति धेरै छैन। आशालाग्दा विकल्प छँदै-छैनन् भन्दा हुन्छ। यो मेरो दृष्टिदोष पनि हुनसक्छ तर पूरै देशको मनस्थिति यस्तै देखिन्छ। देश उत्साहित छैन, अझ भनौं आशावादी छैनन्। हामी नेपालीहरुले यति धेरै धोका पाईसकेका छौं राजनीतिबाट कि हामी कसैबाट पनि आशावादी हुन सक्दैनौं यतिखेर।

तर निराशाले मात्रै कतै पुर्याऊँदैन। निराशै-निराशाको माझबाटै सही, आशा खोज्नुछ र उज्यालोको संकेत खोज्नुछ। 

चुनावी प्रचारप्रसारले गति लिँदै गरेको देखिएको छ। अघिल्ला चुनावहरुमा भन्दा पागलपन कम देखिएको छ अहिलेसम्म। हुनत, त्यो पागलपनले पनि गति लिने खबरहरु पनि ह्वात्तै बढेका छन् आज। वैद्य माओवादीले चुनाव बहिष्कारको पारालाई आक्रामक पार्दै लगेको छ चुनावमा भाग लिएका दलहरुबीचपनि ठाऊँ-ठाऊँमा भिडन्त हुन थालेका छन्।

तर दशैं, तिहार, छठ र मंसिरको चटारोलाई धन्यबाद; जनताले यी 'पागलपन'भन्दा अन्तै ब्यस्त हुने बहाना पाएका छनः)

ब्यक्तिगत रुपमा म अझै अनिर्णित छु। यतिखेर देशमा कस्तो खालको संघीयता भन्ने बहस चलेको छ तर म संघीयतानै गलत ठान्छु यो देशका लागि। अहिलेकै राजनीतिक संरचनालाई केहि फेरबदल गरेर ब्यापक विकेन्द्रीकरण गर्ने हो र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने हो भने हामीले अनेक थरी प्रयोगका झमेला र जटिलताहरुमा आफ्नो राष्ट्रिय उर्जालाई खेर फाल्नै पर्ने थिएन। राजनीतिका पात्रहरु ईमान्दार भैदिने हो भने अहिलेको संरचना त्यति ठूलो बाधा बन्ने देखिँदैन। यसभित्रैबाट ब्यापक प्रगतिशील आर्थिक-सामाजिक नीति लागू गर्न सकिन्छ। तर संघीयताका बारेमा यस्तो चिन्तनलाई केहि प्रतिगामी पात्र र दलहरु बाहेक कसैले बोकेको छैन। तिनका अरु विचारका कारण त्यस्ता दलहरुसंग म नजिक हुनै सक्दिन। यसैले म यतिखेर एउटा असमञ्जसमा उभिएको छु।

मैले दलहरुका चुनावी घोषणापत्र पढ्न पाएको छैन, चासो दिएर खोजेको पनि छैन। सञ्चारमाध्यमहरुबाट थाहा पाए अनुसार सबैमा मूल मुद्दाका कुरा कम र विकासे 'ललीपप' बढी छन्। तैपनि यतिखेर चुनावमा भिडिरहेका दलहरुलाई दुई कित्तामा उभ्याएर हेर्न सकिन्छ; राज्यहरु एकल पहिचानका हुने कि बहुपहिचानका हुने वा कार्यकारी प्रधानमन्त्री हुने कि राष्ट्रपति हुने आदि विषयहरुका कोणबाट हेर्दा। विकासे 'ललीपप'मा मुख मिठ्याएर त केहि हुनेवाला छैन।

दललाई नरोजेर ब्यक्तिलाई रोजौं कि भन्ने सोचाई पनि थियो अलिक अघिसम्म तर ब्यक्ति साह्रै खराब (वा साह्रै असल) भएका बेला बाहेक यो तरिका पनि त्यति उपयुक्त हुँदैन जस्तो लाग्दैछ। उसैपनि दलीय प्रणालीमा दल शक्तिशाली हुनेगर्छ, ब्यक्तिको योग्यताको एउटा प्रभाव र महत्व अवश्य हुन्छ तर अन्तिम निर्णय दलीय हुन्छ र हुनुपर्छ। हाम्रा कतिपय दलहरुमा नेता विशेष हावी भएको देखिन्छ तर यतिखेर कांग्रेस (गिरिजापछि) र एमाले यहि मान्यतामै चलीरहेको देखिन्छ। फेरि विगत संविधानसभामा शाशकीय स्वरुप, पहिचानको आधार, बहुलवाद कि एकलवाद, न्यायालयको स्वतन्त्रता आदिजस्ता धेरै संवेदनशील मुद्दाहरुमा स्पष्ट दलीय विभाजन देखियो। ब्यक्तिनै छान्नुपर्ने अपवाद मैले देखेको छैन, कम्तिमा म मतदाता भएको चुनावी क्षेत्रमा।

यतिखेर कतिपय पिंध नभएका 'बुद्धिजीवि'हरु प्रत्यक्ष र समानुपातिकमध्ये एउटा कांग्रेस र एउटा माओवादीलाई दिने कुरा पनि गर्दैछन् तर मलाई लाग्छ एउटा भोट कांग्रेसलाई दिन्छु र अर्को भोट माओवादीलाई दिन्छु भन्नु एउटा खुट्टाले काशी जान्छु र अर्को खुट्टाले ल्हासा जान्छु भन्नुजस्तै हो। बिल्कूल विपरीत मति भएका दलहरुलाई 'बाँडेर' भोट दिने नेपाली 'बुद्धिजीवि' काईदाकै कारण हाम्रो संक्रमणकाल यस्तरी लम्बिएको हो। प्रत्यक्ष र समानुपातिक दुबैको भोट एउटैलाई दिन मन लाग्दैन भने कम्तिमा नीतिगत सामीप्यता भएका दलहरुलाई बाँडेर दिन त सकिन्छ नि! देशबाट दोधारे राजनीति र छेपारे नेताहरुलाई बिदा गर्ने हो भने पहिला हामी नेपाली जनता भनाऊँदाहरुले आफूलाई पिँध नभएको दोहरो मानसिकताबाट मुक्त पार्न सक्नुपर्छ।

एमाओवादीको हिंसात्मक विगत र राष्ट्रघाती-भ्रष्ट वर्तमान देखिसकेपछि उसलाई त मैले शुरुमै आफ्नो सूचिबाट हटाईसकेको छु। माथिनै भनें राप्रपा नेपाललाई पनि हटाईसकेको छु। यी बाहेककाबाट छान्नुपर्नेछ।

जोडघटाऊ चल्दैछ। सकेसम्म प्रत्यक्ष र समानुपातिक दुबैका लागि एउटै दल रोज्नेछु, नत्र कम्तिमा वैचारिक-नीतिगत सामीप्यता भएका दलहरुलाई बाँड्नेछु।

 

October 14, 2013

शुभकामना, धम्पुसबाट ल्याएकोः)

आज विजयादशमीको दिन। 

गत जेठमा बुबा (काका)को निधन भएकाले यो साल घरमा टिका लगाउने कार्यक्रम छैन। यसैले हामी पोखरामै छौ।

झमझम पानी परिरहेको छ हिजो बेलुकैबाट। जाडो पनि छ। दशैं भन्नासाथ घमाईलो, न्यानो दिनको सम्झना आऊँछ। आजको दिन त्यो सम्झनाभन्दा ठिक विपरीत छ। एउटा फरक अनुभूति दिएको छ आजको दिनले।

अस्ति अष्टमीको दिन दिऊँसो हामी धम्पुस पुग्यौं। आर्या र मेरा लागि यो पहिलो धम्पुस बसाई थियो, सोविताका लागि दोश्रो। साथीहरुले बाटो राम्रो छ भनेकाले मोटरसाईकलमा गईयो। बाटो त्यति राम्रो बनीसकेको रहेनछ। जाँदा त्यति गाह्रो नभएपनि भोलिपल्ट बिहान फर्कँदा ओरालोमा साह्रै गाह्रो भयो, सोविता र आर्या पूरै बाटो हिँडेरै झरे। ओरालो, कच्ची बाटोका लागि मोटरसाईकल ठिक साधन होईन रहेछ। पदयात्रा मार्गबाट गएकै भएपनि धेरै समय नलाग्ने ठाऊँ हो धम्पुस।

हामी दिऊँसो पुग्दा हिमालहरु बादलले ढाकिएका थिए। घरिघरी माछापूच्छ्रे बादलको पर्दाबाट अलिअलि चियाऊँथ्यो पनि। समुद्री सतहबाट १,६५० मी. भन्दा माथि रहेको सुन्दर, शान्त गाऊँ हो धम्पुस।

भोलिपल्ट बिहान हिमालहरु झल्झलाकार भएर उभिएका थिए हाम्रो सामुन्ने। मधुरो चिसो बतासमा सास फेर्दै यी अजंगका हिमालहरुको शुभ्र सौन्दर्यले थिचिएर आनन्दित, चकित र विस्मित भएर उभिँदाका यस्ता क्षणहरुमा लाग्छ, कैयन जुनीको तपस्यापछि मात्रै मैले यति सुन्दर देशमा जन्मिन पाएको हुनुपर्छ। 

यो यात्रालाई अरु दुई हप्ता ढिला गरेको भए अझ राम्रो हुनेथियो जस्तो लाग्दैछ अहिले, किनभने पोखराको वर्षायाम अझै सकिएको छैन। अबको दुई हप्तापछि धम्पुस र यो पूरै गण्डकी, धवलागिरि क्षेत्रको सुनौलो याम शुरु हुनेछ। 

आज त्यहि धम्पुसबाट खिचिएका केहि झलकहरु राख्दैछु।








धम्पुस गाऊँको एक भाग। हामी यो तस्बीरको बीचतिर देखिने एउटा होटेलमा बसेका थियौं।


यहाँहरु सबैलाई विजयादशमीको मंगलमय शुभकामना! यहाँहरुको जीवन सदैव शान्त, आनन्दित, सुखी र समृद्ध रहोस्।
    

October 06, 2013

र्याण्डम रिडर्स सोसाइटीको 'शुभकामना र पुस्तक आदानप्रदान कार्यक्रम'

हिजो बेलुका एउटा नयाँ नम्बरबाट फोन आयो। फोन गर्ने हुनुहुँदोरहेछ र्याण्डम रिडर्स सोसाइटी, पोखराका नवनिर्वाचित अध्यक्ष गणेश पौडेलजी। उहाँबाट र्याण्डम रिडर्स सोसाइटीको 'शुभकामना र पुस्तक आदानप्रदान कार्यक्रम' मा कुनै एक पुस्तकसहित उपश्थित हुने निम्तो मिल्यो।

र्याण्डम रिडर्स सोसाइटी पोखराको पठन संस्कृतिलाई अझ गति दिन सकृय संस्था हो। अरु गतिविधिका साथसाथै यसले हरेक महिना गर्ने पुस्तक परिचर्चा कार्यक्रम चर्चित छ। दशैं-तहारको उपलक्षमा आयोजित र्याण्डम रिडर्स सोसाइटीको आजको कार्यक्रमको सहभागिता मेरो निम्ति पहिलो हो, विविध कारणवश यसअघिका कुनै पनि कार्यक्रममा पुग्न सकेको थिईँन।  

आज बिहान पौने आठ बजे पुगें म 'ढिला' भएकोमा अलि लज्जित हुँदै (साढे सात बजे कार्यक्रम शुरु हुने कुरो थियो), तर कार्यक्रम शुरु भईसकेको थिएन। सहभागीहरु जम्मा हुने र आदानप्रदान गर्न भनेर आफूले ल्याएका  पुस्तकहरु पोको पार्ने ('र्याप' गर्ने) काम हुँदै थियो।

आठ बजेतिरबाट कार्यक्रम शुरु भयो। पोखराका कार्यक्रमहरुको 'चिनारी' जस्तो बनीसकेको लामो र पट्यारलाग्दो 'आसन ग्रहण'बाट कार्यक्रम अघि बढ्यो। कार्यक्रमस्थलमा उपश्थितहरुमध्ये झण्डै सबैको नाम लिएर 'आसन ग्रहण' गराऊँदा धेरै समय लाग्छ, मञ्चमा बोलाईने केहि अतिथिहरुको मात्रै नाम लिएर 'आसन ग्रहण' गराउने र बाँकी सबैको एकमुष्ट गराए समय बचत हुने कुरा सबैलाई थाहा छ तर गर्न कसैले चाहेको देखिन्न। 

'आसन ग्रहण'को औपचारिकतापछिको कार्यक्रमभने छरितो थियो आज। सबैले बुझाएका किताबहरुको नाम उपश्थिति संगै हाजिरकापीमा टिपिएको थियो र उपश्थितिको क्रम अनुसार नम्बर दिईएको थियो। नम्बरहरु टिपिएका कागतका स-साना टुक्राहरु पोका पारेर राखिएको थियो अतिथिहरुका अगाडि। अगाडि जाने, कुनै एक टुक्रा तान्ने र त्यसमा लेखिएको नम्बरको ब्यक्तिलाई बोलाएर आफूले ल्याएको पुस्तक शुभकामना सहित उपहार दिने, उपहार दिने ब्यक्ति फर्केर आउने र भर्खर उपहार पाउनेले भने टुक्रा थुत्ने र त्यसमा लेखिएको नम्बरको ब्यक्तिलाई बोलाउने र उपहार दिने प्रकृया थियो। प्रमुख अतिथि कवि-संस्कृतिकर्मी-प्राज्ञ तीर्थ श्रेष्ठले नम्बर तानेर र उपहार दिएर शुरु भएको कार्यक्रम निकै रमाईलो भयो। पोखराका कवि, सञ्चारकर्मी अमित रिजालजीले तान्दा मेरो नम्बर (२१) पर्यो र मैले उहाँबाट शुभकामनासहित हिन्दी साहित्यकार मोहन राकेशको 'आषाढके एक दिन' भन्ने नाटक पाएँ। मैले तान्दा '६' आयो र मैले कवि तथा पोखरेली साँस्कृतिक युवा परिवारका उपाध्यक्ष सुरेश रानाभाटजीलाई बुद्धिनारायण श्रेष्ठज्यूले लेख्नुभएको 'Border Management of Nepal' भन्ने पुस्तक शुभकामनासहित उपहार दिएँ। 

कार्यक्रमले खुशी र सकारात्मक उर्जा दियो मलाई। 

र्याण्डम रिडर्स सोसाइटीको यो नौलो सोचले दशैं-तिहारको शुभकामना आदानप्रदानलाई रोचक र रचनात्मक बनायो नै, साथै दशैं-तिहारको बिदालाई पठनकर्मसंग पनि जोड्न सघाउनेछ।

साधुबाद र्याण्डम रिडर्स सोसाइटीलाई!