August 25, 2013

रामायणमय निद्रा

भानुभक्त बाजेको 'रामायण' दुई पृष्ठ जति पढियो अघि भर्खर। हनुमान सीतालाई भेटेर, रामको औंठी चिनो बुझाएर-सन्देश सुनाएर र सीताको हालखबर बुझेर सीतासंग बिदाबादी भएका छन्। सीतासंग बिदा भएपछि हनुमान "----भन्छन् सब दुनियाँ त भेटिकन जाँ कस्तो छ रावण् पनि" भनी लंका घुम्ने विचारमा पुगेका छन्। भोलिका पृष्ठहरुमा हनुमानले लंकामा के-के गर्ने हुन् र रावणसंग के-के कुरा गर्ने हुन् भन्ने कल्पना गर्दै छोरी निदाईसकेकी छे।

सुत्नुअगाडि छोरीका लागि केहि पढिदिने पूरानो बानीकै निरन्तरताले 'रामायण'को बाटो हिँडेको हो यतिखेर।

मैले 'महाभारत'बाट शुरु गर्ने विचार गरेको थिएँ र विचार पलाउनसाथ टकटकाऊँदो 'महाभारत' किनेर ल्याएको थिएँ। मलाई लागेको थियो, सुत्नु अगाडि एक दुई पृष्ठ 'महाभारत' (वा अरु केहि) का श्लोकहरु वाचन गरेर सुत्दा 'एकै तीरमा धेरै निशाना' हुने पक्का थियो; जस्तो कि छोरीले दैनिक खोज्ने 'नयाँ' कथाको 'सहज आपूर्ती' हुने, आफैंले पनि कति पहिले नपढेका-नसुनेका कुरा पढिने हुँदा आफैंलाई पनि उपलब्धिपूर्ण हुने र लय हालेर पढ्दाको आनन्दानुभूति वर्णनातीत हुने आदि-आदि।

तर दुई-चार दिनको अनुभवले के सिकायो भने महाभारत बच्चाहरुसंग बसेर पढिने कुरो होईन। महाभारतभित्रको गहन दर्शन र जटिल राजनीति बुझ्न ठूलाले पनि धेरै सोच्नुपर्छ, बच्चाले त सक्ने कुरै भएन। अलिकति श्लोक पढ्दै- र 'कथा'का रुपमा छोरीलाई त्यसको सरल ब्याख्यान सुनाउँदै गर्ने मेरो 'प्रकृया' न त छिटो हुने भयो, न त सजिलोनै। फेरि, 'महाभारत'भित्र एकदम धेरै आईरहने प्रणयप्रसंगहरु पनि आठ वर्षकी बच्चीका लागि ठिक हुनेजस्तो लागेन।

र 'रामायण' शुरु भयो।

'रामायण' को कथा सरल रेखामा बगेको छ र यसभित्र 'महाभारत' भित्र जस्तो गहन दर्शन र जटिल राजनीतिक प्रसंगहरु पनि छैनन्। प्रणयप्रसंगहरु पनि धेरै छैनन् र र भएका पनि अलिक 'अप्रत्यक्ष' छन्। यसैले 'रामायण' को 'कथा' ठिक्क बच्चा सुहाऊँदो छ।

दिनको एक-दुई पृष्ठका दरले अबका केहि महिनाको निद्रा रामायणमय हुने पक्का छ। 


August 04, 2013

अहिले Long Walk to Freedom

यता यो मिलेको छैन, उता त्यो मिलेको छैन, ब्लगमा लेख्न समय मिलेको छैन :) मिलेको टुक्राटाक्री समयलाई ब्लगका लागि तयार पार्न मैलेनै नसकेको हो, नचाहेको त होईन।

टुक्राटाक्री निक्लने खाली समयमा केहि पढ्ने कोशिश भने गरीरहेछु। पोखरामा हुने विमोचन आदिमा किनिने, प्राप्त गरिने नयाँ पुस्तकहरु लगभग सबैजसो पढिएको छ। सरस्वती प्रतीक्षाजीको कविता संग्रह 'वागी सारङ्गी' र शरण आँशुजीको कविता संग्रह 'असमय' पछिल्ला त्यस्ता दुई कृति हुन्। सरस्वतीजी युवा पुस्ताको सशक्त हस्ताक्षर हुनुहुन्छ र उहाँको साहित्यिक उचाई राष्ट्रिय-अन्तर्राष्ट्रिय आयाममा फैलीसकेको छ। शरणजीका कविताहरुले पनि प्रशस्त संभावना बोकेका छन्। 

विकास थापाजीको 'नेपालमा जलविद्युत' पनि पढिसिध्याएँ केहि समयपहिला। नेपालको जलविद्युत क्षेत्र अपार सम्भावनायुक्त हुँदाहुँदै पनि कसरी हाम्रो देश लोडशेडिङ्गको अँध्यारो दुर्गतिमा फँस्न पुग्यो र कसरी नेपालको जलसम्पदामा देशी-विदेशी माफियाको दाह्रा-नङ्रा गाडिएको छ भन्ने बुझ्न अहिले यो सबैभन्दा उपयुक्त पुस्तक हो।

अहिले भने महान राजनेता नेल्सन मण्डेलाको आत्मवृत्तान्त "Long Walk to Freedom" पढ्न शुरु गरेको छु। आदरणीय मण्डेलाको स्वास्थ्यमा केहि सुधार आएको खबर थियो उहाँको पन्चानब्बेयौं जन्मदिनताका। उहाँको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछु।