गत शुक्रवार (भदौ ८, २०६९) का दिन कान्तिपुरको पाठक मञ्चमा एउटा सानो टुक्रो छापिएको थियो, 'कांग्रेसले बुझ्नुपर्ने कुरो' शीर्षकमा। अनलाईन संस्करणमा यहाँ पढ्न सक्नुहुन्छ। प्रकाशित स्वरुपमा तल छ।
August 31, 2012
August 23, 2012
चार नयाँ मुक्तकहरु
१. बुझिराख!
तिमीले फलाक्दैमा कुनै पनि क्षण लगन हुँदैन
तिम्रा थोत्रा ढड्डामा स्वतन्त्रताको गगन हुँदैन
टाउको फनफनी घुमाऊँदै पछिल्तिर हिँड्दै छौ
जति हिँडेपनि त्यस्तो हिँडाई अग्रगमन हुँदैन।
२. 'नयाँ' नेपाल-नयाँ नारा!
बाटो मिच्न पाऊनुपर्छ, शालीक ढाल्न पाउनुपर्छ
मान्छे मार्न पाउनु पर्छ, हड्डी गाल्न पाउनुपर्छ
नयाँ नेपालको नयाँ नारा यहि हो हजुर-
छोरी बेच्न पाउनुपर्छ, बुहारी बाल्न पाउनुपर्छ।
३. बिडम्बना!
पाठा रोज्दैछन्, जन्माउने माऊ पाईएको छैन
जगमै हानाहान छ, छानो छाईएको छैन
सबैलाई 'राज्य'को चिन्ता छ यहाँ-
विचरो देश! देश कसैलाई चाहिएको छैन।
४. फिर्ता देऊ!
यो देशको दिल, दिमाग र नाभी फिर्ता देऊ
यो पूरा देशमाथिको मेरो दाबी फिर्ता देऊ
जोगाऊँछौ भनी जिम्मा लगाएँ, अन्तै सुम्पेछौ
बाबुराम! मलाई मेरो देशको चाबी फिर्ता देऊ!
August 20, 2012
घर-घर डुबीरहेछन्!
केहि दिन यताका खबर। एक हप्ता पनि भएको छैन केएफसी र पिज्जा हट बन्द भएको। मजदूरको हकहितका लागि भन्दै मजदूरकै खुट्टामा बञ्चरो हान्ने प्रवृत्तिका केहि दल र तिनका कथित 'मजदूर नेता' को अराजक गतिबिधिले सीमा नाघेपछि ती दुई स्थानमा ताल्चा लागेको हो। यो देशमा आफूलाई 'एक से बढकर एक' क्रान्तिकारी देखाउन चरम अराजक गतिबिधिको सहारा लिने भ्रान्तिकारी दल र नेताहरुको कमी छैन। देशका उद्योग-ब्यबसायलाई ब्यबश्थित बनाउने, देशी-विदेशी लगानी बृद्धि गर्दै नयाँ-नयाँ रोजगारीहरु सृजना गर्ने कुरामा तिनको कत्ति पनि चासो छैन। क्षणिक सस्तो लोकप्रियता र चर्चाका लागि उनीहरु जे पनि गर्दिन्छन्। धेरैजसो मजदूरका नाममा दल र नेताका लागि पैसा जम्मा गर्ने मेसो पनि हुन्छ यो।
यहि प्रसंगका साथ अर्को खबर पढेको थिएँ आज पत्रिकामा। गत आर्थिक वर्षमा त्यो भन्दा अघिल्लोको दाँजोमा नेपालमा विदेशी लगानी एक तिहाईले घटेको रहेछ र हजारौंको संख्यामा रोजगारीहरु कम भएका रहेछन्। केएफसी आदिमा लागेको ताल्चाको हिसाबकिताब जोड्दा यो वर्षको तथ्यांक अझ निराशाजनक देखिने निश्चित छ। मध्य वर्षायाममै बढ्न थालेको लोडशेडिङ्गका कारण यो वर्ष हिऊँदमा लोडशेडिङ्ग २१ घण्टा पुग्ने निश्चित देखिन्छ। यो स्थितमा विदेशी आउनु असंभवनै छ र यहि स्थिति जारी रहँदा कोहि स्वदेशीनै पनि लगानी गर्न तयार हुने छैन। देशमा रोजगारी नभएपछि यो देशका युवा खाडीको गर्मी रगत-पसिना बगाउन जानुको कुनै विकल्प छैन। तिनैले पठाउने 'रगत-पसिना'को कमाईले यो देश अझै पूरै डुबीसकको छैन र नेताहरु र दलहरुले अझै घृणित खेल खेल्न पाईरहेका छन्। यस्तो लाग्छ, यो विकराल स्थितिलाई अनुभव गर्न सक्ने संवेदनानै छैन हाम्रा नेताहरुमा, नत्र तिनको सोचाई किन पत्रु हुन्थ्यो? स्थितिको विकरालतालाई बुझेका भए हाम्रा दल र नेताहरुका प्राथमिकता यस्तरी निकृष्ट हुँदैनथे।
देशको यो हालले स्वाभाविक रुपमा हामी सबैको जिन्दगीलाई बेहाल बनाईसकेको छ। हामीमध्ये कतिलाई स्पष्ट अनुभव भईसकेको छ र कतिलाई चाँडैनै हुने निश्चित छ।
एकजना भाइ छन्, २७-२८ का। केहि वर्ष मलेशियामा काम गरेर फर्केका रहेछन्। अहिले आफैं एउटा सानो काष्ठ उदयोग चलाएर फर्निचर बनाएर बसेका छन्। जहिले भेट्दा पनि भाइ टाउको समाएर बसीरहेका हुन्छन्, कारण उनले अहिलेसम्म उनको सानो उद्योगलाई पुग्ने गरी ७-८ जना सिपालु कामदार पाउन सकेका छैनन्। उनको भनाईमा सीप भएकाजत्ति खाडीमा पुगेका छन्। उनीकैमा १-२ वर्ष काम गरेर काम सिकेका पनि सबै विदेशै हानिन्छन् रे। त्यसरी केहि नजानेकालाई भएपनि लेराएर काम गराऊँ भने त्यस्ता पनि झन्-झन् कम भेटिँदैछन्। यहिँ बसौं, केहि गरौं, आफू पनि धानिऊँ र अरु केहिलाई पनि रोजगारी दिऊँ भन्ने भाइको आँट र अठोटलाई यो देशको निराशाजनक हालले यसरी लात हानीरहेको छ। बेला-बेला 'भाग' माग्न आउने चुल्ठमुन्द्रेका 'कथा' त बेग्लै छँदैछन्।
भाइ त एउटा प्रतिनिधि पात्र मात्र हुन्। देश डुबीरहेछ र सबै घर डुबीरहेछन्।
हामी उत्रिने कहिले?
August 06, 2012
'स्वाभाविक' कन्तबिजोग!
जारी लण्डन ओलम्पिकमा नेपालले कुनै पनि पदक जित्न सकेन। यसलाई कसैले पनि अस्वाभाविक ठानेको छैन, किनकि ओलम्पिकमा पदकको आशा गर्ने बानी छैन हाम्रो, हाम्रो भागमा पर्दैन त्यस्तो सपना! 'स्वाभाविक' कन्तबिजोगको अर्को एउटा कडी सिध्दियो, बस् त्यत्ति हो।
खेलाडीहरुको यसमा कत्ति पनि दोष छैन। उनीहरुले आफ्नो क्षमताले भ्याएसम्म कोशिश गरे, आफूले पाएको प्रशिक्षण र स्याहारले दिन सक्ने भन्दा उपलब्धि ल्याए। दोष त खेलकूदलाई कहिल्यै पनि प्राथमिकतामा नराख्ने राज्ययन्त्र र हाम्रो सामाजिक सोचको हो। हाम्रो समाज शारीरिक र मानसिक दुबै रुपमा एउटा अल्छी र रोगी समाज हो। परम्परादेखि चल्दै आएका केहि खेलकूदजन्य सांस्कृतिक गतिबिधि हामीसंग नभएका होईनन्, तर अरु देशले गरेजस्तो तिनको संरक्षण र संवर्धन गर्दै समग्र खेलकूद संस्कृतिको स्तर उठाउने कोशिश कहिल्यै भएको छैन। अलि- अलि भएका खेलकूद संरचना र गतिबिधिलाई पनि फोहरी दलीय राजनीति स्खलन गराउने रछ्यानका रुपमा परिणत गरिएको छ। खेलाडीहरुलाई प्रोत्साहन र आवश्यक तालीमको प्रबन्धको सोच कसैको दिमागमा पसेको देखिँदैन, नेताहरु र तिनका गोटी बनेका कथित 'खेलकूद पदाधिकारीहरु' उल्टो खेलाडीहरुलाई विभाजित गरेर जुधाउने-बझाउने र त्यहि मेसोबाट थरी-थरीका माछा मार्ने दाऊमा छन्। वर्षौंदेखि, विभाजित ओलम्पिक कमिटिले देशको ईज्जतमा हिलो छ्यापिरहेको छ।
यसरी कतैबाट प्रोत्साहन र सम्मान नपाएका 'कुपोषित' हाम्रा खेलाडीहरुले कताबाट पदक जितुन् त!
धन्न प्रहरी र सेनाले अलि-अलि निकालेका छन् खेलाडीहरु र नीजि क्षेत्रले अलिक भरथेग गर्न थालेको छ। तर समग्र राष्ट्रिय परिकल्पना र सोच विना तिनका मात्रै भरमा ओलम्पिक जस्ता विश्वस्तरीय प्रतिस्पर्धाहरुमा हाम्रो झण्डा गर्वले उचालिने र हाम्रो राष्ट्रिय धून बज्ने दिन नआउने स्पष्ट छ।