December 25, 2007

अझै पनि के भर छ---?!

त्यसो त जापानी संचारमाध्यममा नेपाल हतपती आउँदैन। जापानीहरुका लागि जापान अथवा अमेरिकासंग सम्बन्धित खबर बाहेक अरु कुनै 'खबर' खबर बनिन लायक हुँदैन भनेर हामीहरु जोक गर्छौं बेला-बेला! फेरि कुन च्यानेलमा कतिखेर छुस्स आउँछ थाहा हुँदैन।

आज खाना खाँदै गर्दा जापानको सरकारी च्यानल NHK मा नेपालको बारेमा खबर आयो, त्यस्तै एक मिनेटजतिको,'नेपाल अब गणतन्त्र हुने भयो!' भन्ने। अरु कुरा त ठिकै थियो, जापानीहरुले माओवादीका 'अध्यक्ष'लाई देखाएका थिए। जापानीहरुमा माओवादीले गर्दानै यो सब भएको हो नत्र नेपालमा 'गणतन्त्र' आउनेनै थिएन भन्ने परेको छ। तर वास्तविकता अर्कै छ। यथार्थ त के हो भने माओवादीहरुकै कारण 'गणतन्त्र नेपाल' झन-झन ढिला हुँदै गइरहेको छ। कथित 'गणतन्त्र लेख्ने' कुरामा गर्व हुँदैछ यहाँ, तर नेपाल वास्तवमै गणतन्त्र भईसक्ने थियो अहिले यदि माओवादीहरुले 'टाङ' नअडाएका भए। विगत केहि महिनादेखि देशलाई अनिर्णय र अराजकताको बन्दी बनाएपनि उनीहरुले केहि नयाँ उपलब्धि गर्न सकेका हैनन्। देशले 'गणतन्त्र' हिजै लेखिसकेको थियो, आज आएर कसैले लेखेपनि र नलेखेपनि! माओवादीहरु चुनावबाट भाग्नुपर्ने कुनै कारण, कुनै मुद्दा थिएन।
देशले त झन केहि पाएकै हैन।
अनि, अझै पनि के भर छ माओवादीहरुको?! अर्को बहाना झिकेर चुनावलाई भाँड्न सक्छन् उनीहरु। 'अस्ति' लेखिएका कुराहरुलाई 'हिजो' धोती लगाइदिन सक्नेहरुले 'आज' लेखिएका कुरालाई 'भोलि' मेट्न सक्दैनन् भनेर कस्ले भन्न सक्छ?!

December 21, 2007

An unexpected guest

I was having mild headaches since last week. I thought it to be the result of cold and stress. The pain was severe on the wednesday morning. And I was also having sore throat and some fever. I thought that I may have caught common cold and moved on according to my daily schedule. But the headache was quite serious when I reached the office. The fever was also very high. Initially, I thought of taking a half-day leave, but still thinking it to be common cold and 'you need some toughness in such conditions' continued to work. Besides, there was a lot of work accumulated in my table. But the day turned out to be a century. The whole day I was shivering and feeling my head was going to burst at any moment.

I came back home at regular time and rested. I expected everything to be better the next morning. But I couldn't sleep well. Even when I was having some sleep, I had many crazy dreams. I was sicker the next morning, instead. But I went to work again. The work was not much and most of the time I was in the 'meditation' position.

I came back two hours earlier and went to a nearby clinic. I had to wait for a long time. I was feeling very tired and was barely able to control myself. While waiting, I dozed off many times.

"Let's check whether it is influenza or not." The doctor told me after some preliminary check-ups.
He inserted a small cotton tipped rod inside my left nose. It was brief but extremely painful. I saw what they call "all the stars of the sky" at once!
"The result will come out about 15 minutes later. Meanwhile, you please rest." The nurse took me to the adjoining room .

The doctor came after some time and told me that it was 'Influenza A and B'. It was a little shock to me. I had some plannings for the holidays season.

"Please continue resting. We will find somebody to fetch medicine for you." The nurse told. My condition must have looked very bad!

And bye-bye to BONENKAI (NOMIKAI)s this season. They are having one today at the office and tomorrow in my previous lab. They were supposed to be 'double party's, for my welcome and farewell respectively. I was also planning to participate in one or two Nepalese gatherings.

It is better today. Fever is almost gone, headache is very mild. Sore throat is getting better too, but it pains a lot when coughing or sneezing. I was at bed almost all afternoon listening Ghazals and Qawwalis. I was about to get asleep when there was a small earthquake around two O'clock. I couldn't sleep after that. But I stayed at bed for another one and half hours, though it was a real torture!

I hope my daughter Aryaa hasn't caught it yet. She was playing with me on wednesday evening. She was kissing me and putting her cheeks against mine when I was telling her some 'gibberish' stories.

Sobita and Aryaa will get flu vaccine today.

BONENKAI:year end party, direct translation may mean little bit different
NOMIKAI: drinking party (but people don't drink only, they eat a lot too!)

December 15, 2007

अड्डाको भोजमा

अड्डाको एउटा कार्यक्रम थियो केहि दिन पहिला। वार्षिक रुपमा यहि समयमा हुने रे। दिनभरि भाषण, छलफल, बिभिन्न पुरस्कार वितरण आदि भईसकेपछि बेलुका छ बजेबाट भोज थियो। (‘भोज’ भनेर ठेट नेपालीमा ‘पार्टी’ भन्न खोजेको हो।)

भाषणहरु कति बुझियो, कति बुझिइएन। छलफलमा पनि सकेसम्म सकृय भएर आफ्नो जापानी भाषाले भ्याएसम्म विचार राखियो। तर विभिन्न चरणका वीचमा हुने १०-१५ मिनेटका छुट्टीका समय कटाउन भने बडा मुश्किल भयो। अढाइसयजति सहभागीमध्ये ८० प्रतिशत भन्दा बढी धुम्रपान गर्ने थिए होलान्। त्यो कुहिरीमण्डलमा गएर को संग कुरा गर्नु!? विदेशीमा एकजना दक्षिण कोरीयाली पनि छन् म बाहेक, तर ती झन उधुमका ‘चुरौटे’ परेछन्! फेरि दश वर्षभन्दा बढी जापान बसिसकेका र अड्डामै पनि झण्डै पाँच वर्ष पुराना भईसकेका उनी जापानीहरुसंगै गफमा मच्चिँदै थिए।

एउटा ‘ब्रेक’मा ‘हाम्बाइकी’ बाट चिया निकालेर पिउँदै थिएँ, आफ्नै ‘बुच्योउ’ आईपुगे। यी पनि ‘चेन स्मोकर’नै हुन्, यो ‘ब्रेक’मा भने के भएछ यीनलाई?!

यताउताका कुरा हुँदा-हुँदै कताबाट धर्म-सर्मको कुरा शुरु हुन थालेछ!
“नेपालमा मान्छेहरु धर्ममा त्यस्तो विश्वाश राख्छन् उसो भे! हामी जापानीहरु भने खास मतलब गर्दैनौं। भनेपछि तिमीहरुको समाजमा नैतिकता बढी होला, हाम्रोमा भन्दा, हैन?”
के जवाफ दिउँ भनेर म रनभुल्ललमा परें। धर्ममा विश्वाश गर्छु भन्नेहरु बढी छन् भन्दैमा हाम्रो समाज असाध्यै नैतिक छ भन्ने कुरा मलाई पटक्कै लाग्दैन। उल्टो हाम्रो भन्दा भ्रष्ट र अनैतिक समाज पाउन गाह्रो हुने दिन आउँदैछ।
“खोइ अरु कुरामा त थाहा भएन तर काममा इमान्दरिता र पेशागत नैतिकताको कुरा गर्ने हो भने छँदै-छैन भन्दिए हुन्छ।“ भनिसकेपछि एकचोटि चाहिँ किन भनें हुँला भन्ने लागेको हो, तर साँचो कुरो भनेर केहि बिग्रदैंन भन्ने विचारले जित्यो त्यल्लाई। नेपालको बारेमा हुँदै-नभएका गफ हान्न पनि भएन। फेरि आफूले सगरमाथा र बुद्ध ‘बेच्न’ धेरै पहिलेबाटै छोडिसकेको।
“हा हा हा! त्यस्तो पो हो!”
****************
एउटा छलफलमा आफ्नो समूहमा परेको एउटा केटाले “तँ किन जापान आएको?--- “ भनेर सोध्यो।
“पढ्न आएको नि! अब काम पनि गर्ने!”
“हैन, अमेरिका-यूरोप नगएर किन जापानै आ’को त नि?”
यो प्रश्नको सामना धेरैचोटि गरिसकेको छु, जापान आउँदाका शुरुवाती दिनहरुबाटै। जापानी युवाहरुमा एक किसिमको हीनताबोध छ, अमेरिका-यूरोपको सन्दर्भमा। उनीहरुले त्यस्तरी हीनताबोध पालेर बस्नुपर्ने ठूलै कारण छ जस्तो लाग्दैन मलाई। उनीहरुले हीनताबोध पाल्ने हो भने हामीले त सामूहिक आत्महत्यानै गरे पनि भयो!
“धेरै ठाउँमा कोशिश गरेको हो, पहिला यता मिलेकोले यतै आएँ।“ साँचो कुरा बताएँ मैले उसलाई। मान्छे हेरीकन ‘जापान एकदम मन पर्ने भएर अन्त कतै नगएर यता आएको हो।‘ भनेर गफ पनि दिने गरेको छु मैले।
बेलुका ‘भोज’मा अर्को एउटा केटोले पनि त्यस्तै कुरा ग-यो।
“नामासुते, मेरो नाम ताकाहाशी हो!” भोजको आधा-आधीतिर होला, एकजना ६०-६५का ब्यक्ति आईपुगे मसंग कुरा गर्न।
“नमस्ते!----“ छक्क परें म।
उनले जानेको नेपाली भने त्यत्ति रहेछ। त्यसपछि मसंग ‘जिङ्लिश’ (Japanese+English) मा कुरा गर्न थाले उनी। एकछिनपछि पूरै जापानीमा दिन थाले। पाँच पटक नेपाल पुगेका रहेछन् उनी, सबैभन्दा लामो बसेको चाहिँ चार महिना। लुम्बिनी र अरु एक-दुई ठाउँ बाहेक प्राय:जसो काठमाण्डौं उपत्यकामा बिताएका रहेछन्। काठमाडौंको कहि एक शेर्पाको घरमा बसेर तिब्बती परम्पराको बौद्ध धर्मको बारेमा अध्ययन गरेका रहेछन् उनले।
“तिमीहरुको देशमा राजा राख्ने-नराख्ने प्रसंगमा चुनाव पनि हुनेवाला थियो यहिताका हैन? के हुँदैछ?”
नेपालको राजनीतिको बारेमा पनि राम्रै जानकारी राख्दा रहेछन् भन्नुप-यो अब।
“भएन, माओवादीहरुले हुन दिएनन्।“
“हँ?! झन् उनीहरु त सबभन्दा धेरै राजाविरोधी होइनन् र?”
“होला, तर राजासंगसंगै आफैंपनि सकिने भए, त्यसैले हुन नदिएका होलान्। जनताले मन पराए पो!” प्रचण्डको आजभोलिको ‘राष्ट्रवादी’ दिव्यदृष्टि अथवा पहिलैदेखिको ‘कार्यगत एकता’ आदिको बारेमा कुरा गर्न मेरो जापानी शायद पर्याप्त पनि थिएन र मैले गरेकै भएपनि ताकाहाशी बूढाले कुन हिसावले बुझ्थे कुन्नि!
“जनताले मन पराउँदैनन् रे?! जनताले मन नपराएपछि कसरी उनीहरुले भन्दैमा चुनाव रोकिन्छ त?”
“उनीहरुसंग सेना छ नि त!” मेरो पिडालाई मैले एकै वाक्यमा अटाएँ। बन्दूकको राज चलेको मेरो मुलुकको पिडा उनले बुझ्नसक्ने सम्भावना कमै छ।
कुरो धेरैतिर मोडियो। पछि अरु केहि ब्यक्तिहरु पनि मिसिएका थिए गफमा।
“एउटा कुरा सोध्न मन लागेको थियो मलाई। नेपालमा नेपाली नागरिकता नभएको ब्यक्तिको नाममा घरजग्गा किनबेच गर्न सकिन्छ कि सकिन्न हँ?” छुट्टिने बेलामा सोधे ताकाहाशी बूढाले।
“खोई, थाहा भएन।“ वास्तवमै थाहा छैन मलाई। अहिलेसम्म यो प्रसंगको कुरा पनि चलेको छैन कहिल्यै आफ्नो जमातमा।
“मेरो साथी तिब्बती शरणार्थी हो, काठमाडौंमा बस्छ, तर नेपालको नागरिकता छैन। उसको लागि केहि गर्दिन मन लागेको थियो।“ अलि भावुक थिए उनी यतिखेर।
उनीसंग छुट्टिँदा भोज पनि सकिने बेला भईसकेको थियो। बियर कति खाईयो कुन्नि याद भएन, तर म सग्लै थिएँ भनेपछि धेरै खाईएको रहेनछ कि! यसपछि भने बियर खान मन लागेन, ‘उ लोन च्या’ पिउन थालें।

पछि घरतिर फर्कने बेलामा बाहिर देखें, ताकाहाशी बूढा आकाशका तारा गन्दै चुरोट तान्दै थिए।
“एक छिन है! जापानी भाषामा छ नि, मान्छेको नामको पछाडि जोड्ने ‘सान’ भन्ने, नेपालीमा त्यस्तो केहि छ?” उनले सोधे।
“छ नि, नेपालीमा पनि मान्छेको नामको पछाडि ‘जी’ जोड्ने चलन छ।“ मैले उत्तर दिएँ।
भित्रबाट एकदम कममात्रै उज्यालो चुहिएर बाहिर आएको थियो, तैपनि उनले नोटबुक निकालेर टिपे।
“नेपा-रु हेइवा नि नात्ते होशीइ ने! ” (नेपालमा शान्ति भइदिए हुन्थ्यो है!) लेखिसकेपछि उनले भने।
“सोउ देस ने! आरिगातो गोजाईमास!” नेपालप्रतिको उनको सदभावका लागि उनलाई हृदयदेखिनै धन्यबाद दिँदै म घरतिर लागें।


हाम्बाइकी‌=भेण्डिङ्ग मेशीन, बुच्योउ=विभाग प्रमुख

December 05, 2007

झण्डै आफ्नै ब्लग बिरानो भएको!

जिन्दगीले बेस्सरी ब्यस्त बनाइदिएको छ। ब्लगलाई समय दिन पाइएन लामो समयसम्म। केहि समय पहिला पढेको थिएँ, दिनमै हजारौं ब्लगहरु शुरु हुन्छन् रे इण्टरनेटको दुनियाँमा, र झण्डै सबैजस्तै केहि समयपछि (केहि त एक-दुई पोष्टिङ्गपछिनै!) 'मृत: ब्लग' बन्छन् रे! 'मृत: ब्लग' भनेको नयाँ कुरा केहि पनि नथपिने ब्लग। त्यस्ता ब्लगहरु करोडौँ भईसके रे। एकजना लेखकले त्यस्ता ब्लगहरुलाई सोत्तर भएर मरेका किराहरुसंग दाँजेका थिए कतै।

मलाई एकदम डर लागिरहेको थियो, मेरो ब्लग पनि 'मृत:'को दर्जामा पुग्ला भनेर। त्यसैले अलिकति सास भर्न आज पसेको हुँ यहाँ। यति सासले कतिदिन धान्छ कुन्नि, तर यो ब्लगमा अलि गतिलो 'ज्यान' नभरी भने भएको छैन।

अलि दामी 'डाइट' लिएर आउँला अब फेरि, कम्तिमा हप्ताको एकचोटि!

जय होस् सबैको!