October 03, 2012

दौरा सुरुवाल कोट




पटक पटक आफैंलाई
लिलाम बढाबढमा राखेर कमाएको
मूल्यसूचि छातीभरि टाँगेर
भत्ताको हड्डी चुस्दै
आजपनि भुक्न निस्केको छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट,

शहरले श्वाश फेरेको मनपराऊँदैन
दौरा सुरुवाल कोटको सभामा
अक्सिजनमा कोटा लगाउने भाषण गर्छ
रिसाएको छ समयसंग
त्यसैले समयलाई पक्राउ गर्ने प्रस्तावमा
दशै औँलाको छाप ठोक्छ-
इतिहासले पाखा लगाइसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट,

रगतरंगको रक्सीले धर्मराऊँदै
जेठी,माइली, साइलीहरुलाई सराप्छ
(
पालैपालो धोका दिएको उसैले हो!)
र नम्बर नखुलेकी कान्छीको ढोका ताक्छ,
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट,  

 
नसकेपछि सामना गर्न
कान्छीको बैँशको चुनौती
वर्तमानको नाममा
एक आमाचकारी गाली छादेर
मूर्दाझैं लम्पसारिन्छ-
इतिहासले पाखा लगाईसकेको
अनुहारवीहिन सफेदपोश
दौरा सुरुवाल कोट।
  
(डिसेम्बर २००६, खासुगाई, जापान)

No comments:

Post a Comment