August 20, 2012

घर-घर डुबीरहेछन्!

केहि दिन यताका खबर। एक हप्ता पनि भएको छैन केएफसी र पिज्जा हट बन्द भएको। मजदूरको हकहितका लागि भन्दै मजदूरकै खुट्टामा बञ्चरो हान्ने प्रवृत्तिका केहि दल र तिनका कथित 'मजदूर नेता' को अराजक गतिबिधिले सीमा नाघेपछि ती दुई स्थानमा ताल्चा लागेको हो। यो देशमा आफूलाई 'एक से बढकर एक' क्रान्तिकारी देखाउन चरम अराजक गतिबिधिको सहारा लिने भ्रान्तिकारी दल र नेताहरुको कमी छैन। देशका उद्योग-ब्यबसायलाई ब्यबश्थित बनाउने, देशी-विदेशी लगानी बृद्धि गर्दै नयाँ-नयाँ रोजगारीहरु सृजना गर्ने कुरामा तिनको कत्ति पनि चासो छैन। क्षणिक सस्तो लोकप्रियता र चर्चाका लागि उनीहरु जे पनि गर्दिन्छन्। धेरैजसो मजदूरका नाममा दल र नेताका लागि पैसा जम्मा गर्ने मेसो पनि हुन्छ यो।

यहि प्रसंगका साथ अर्को खबर पढेको थिएँ आज पत्रिकामा। गत आर्थिक वर्षमा त्यो भन्दा अघिल्लोको दाँजोमा नेपालमा विदेशी लगानी एक तिहाईले घटेको रहेछ र हजारौंको संख्यामा रोजगारीहरु कम भएका रहेछन्। केएफसी आदिमा लागेको ताल्चाको हिसाबकिताब जोड्दा यो वर्षको तथ्यांक अझ निराशाजनक देखिने निश्चित छ। मध्य वर्षायाममै बढ्न थालेको लोडशेडिङ्गका कारण यो वर्ष हिऊँदमा लोडशेडिङ्ग २१ घण्टा पुग्ने निश्चित देखिन्छ। यो स्थितमा विदेशी आउनु असंभवनै छ र यहि स्थिति जारी रहँदा कोहि स्वदेशीनै पनि लगानी गर्न तयार हुने छैन। देशमा रोजगारी नभएपछि यो देशका युवा खाडीको गर्मी रगत-पसिना बगाउन जानुको कुनै विकल्प छैन। तिनैले पठाउने 'रगत-पसिना'को कमाईले यो देश अझै पूरै डुबीसकको छैन र नेताहरु र दलहरुले अझै घृणित खेल खेल्न पाईरहेका छन्। यस्तो लाग्छ, यो विकराल स्थितिलाई अनुभव गर्न सक्ने संवेदनानै छैन हाम्रा नेताहरुमा, नत्र तिनको सोचाई किन पत्रु हुन्थ्यो? स्थितिको विकरालतालाई बुझेका भए हाम्रा दल र नेताहरुका प्राथमिकता यस्तरी निकृष्ट हुँदैनथे।

देशको यो हालले स्वाभाविक रुपमा हामी सबैको जिन्दगीलाई बेहाल बनाईसकेको छ। हामीमध्ये कतिलाई स्पष्ट अनुभव भईसकेको छ र कतिलाई चाँडैनै हुने निश्चित छ। 

एकजना भाइ छन्, २७-२८ का। केहि वर्ष मलेशियामा काम गरेर फर्केका रहेछन्। अहिले आफैं एउटा सानो काष्ठ उदयोग चलाएर फर्निचर बनाएर बसेका छन्। जहिले भेट्दा पनि भाइ टाउको समाएर बसीरहेका हुन्छन्, कारण उनले अहिलेसम्म उनको सानो उद्योगलाई पुग्ने गरी ७-८ जना सिपालु कामदार पाउन सकेका छैनन्। उनको भनाईमा सीप भएकाजत्ति खाडीमा पुगेका छन्। उनीकैमा १-२ वर्ष काम गरेर काम सिकेका पनि सबै विदेशै हानिन्छन् रे। त्यसरी केहि नजानेकालाई भएपनि लेराएर काम गराऊँ भने त्यस्ता पनि  झन्-झन् कम भेटिँदैछन्। यहिँ बसौं, केहि गरौं, आफू पनि धानिऊँ र अरु केहिलाई पनि रोजगारी दिऊँ भन्ने भाइको आँट र अठोटलाई यो देशको निराशाजनक हालले यसरी लात हानीरहेको छ। बेला-बेला 'भाग' माग्न आउने चुल्ठमुन्द्रेका 'कथा' त बेग्लै छँदैछन्।

भाइ त एउटा प्रतिनिधि पात्र मात्र हुन्। देश डुबीरहेछ र सबै घर डुबीरहेछन्। 

हामी उत्रिने कहिले?      

3 comments: