February 19, 2012

मुक्तकमय साढे दुई घण्टा

पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप)ले आयोजना गरेको 'टिकटमा मुक्तक' कार्यक्रममा गतिला, चोटिला र फूर्तिला मुक्तकहरु सुनेर धन्य भईयो आज।

दुई बजे शुरु हुने भनिएको कार्यक्रम पौने तीनबाट शुरु भयो। पोखरा उद्योग वाणिज्य संघको हल लगभग भरिएको थियो, दर्शक/श्रोता सहभागिता उत्साहजनक मान्नुपर्छ। कार्यक्रमका प्रमुख अतिथि चर्चित गजल स्रष्टा तथा प्राज्ञ बूँद राना हुनुहुन्थ्यो। कार्यक्रमा पोखरेली प्राज्ञहरु सरुभक्त, तीर्थ श्रेष्ठ र हरिदेवी कोईराला पनि उपश्थित हुनुहुन्थ्यो, उहाँहरु त पोयुसांपलाई जन्माउने, हुर्काउने व्यक्तित्वहरुनै हुनुभयो। कवि/गीतकार प्रकट पगेनी 'शिव' र कविवर तेजनाथ घिमिरे पनि कार्यक्रमका आकर्षण हुनुहुन्थ्यो। कार्यक्रममा चितवन, भैरहवा र पर्वत लगायतबाट आउनुभएका कविहरुले पनि आफ्ना मुक्तकहरु सुनाउनुभएको थियो।

झण्डै साढे दुई घण्टा चोटिला मुक्तकहरुको वर्षामा नुहाउन पाऊँदा मन एउटा सार्थक अनुभूतिले भरिएको छ। युवा कविहरुका मुक्तकहरु बेजोड थिए। तिनले देशको माया बोकेका थिए र विकृति र विसंगतिलाई कठोरतापूर्वक मुक्का ठोकेका थिए। तिनमा गरीबि र पिडाप्रतिको समवेदना पनि थियो, अनि थियो जीवनप्रतिका दार्शनिक चिन्तनपनि। धेरै मुक्तकहरुले समसामयिक रमाईलो पनि बोकेका थिए।

अनि मैले देखेको अर्को कुरा, युवा पुस्ता (४० मुनिका) का मुक्तकमा जुन भाव, शैली र प्रवाह थियो, पाका साहित्यकारहरुका मुक्तकमा थिएन। सरुभक्तको आख्यानमा जुन सशक्तता पाईन्छ वा उहाँका आधुनिक कवितामा जुन भिन्दै प्रवाह पाईन्छ, त्यो आज उहाँले वाचन गरेका मुक्तकमा धेरै थिएन। प्रकट पगेनी 'शिव' पनि आज आफ्नो नाम अनुसार जम्न सक्नुभएजस्तो लागेन मलाई। बूँद रानाज्यूले त आफू लामो समय यता मुक्तकभन्दा फरक बाटो हिँडिरहेकोले आफ्ना मुक्तकमा स्तरीयता नखोज्न पहिल्यै हामीलाई भनीसक्नुभएको थियो। मलाई लाग्छ, मुक्तकमा नयाँ पुस्ता धेरै अघि बढीसकेको छ, र नेपाली साहित्यमा मुक्तक आफ्ना दरिला खुट्टामा उभिईसकेको छ; संख्यात्मक र गुणात्मक दुवै हिसाबले।

पोयुसांपले २०३५ सालको माघमा पहिलोपल्ट 'टिकटमा मुक्तक' कार्यक्रम गरेको रहेछ। त्यसयता निरन्तर गरीरहेको छ, सलाम पोयुसंपको यो लगन र निरन्तरतालाई। पोखराको सफलताबाट प्रेरित भएर 'टिकटमा मुक्तक' कार्यक्रम अब देशका धेरै ठाऊँमा हुन थालेका छन्।

यो सत्कर्मले सबैतिर, सधैंभरि निरन्तरता पाईरहोस्!

2 comments:

  1. जान न पायेपनि कार्यक्रम धेरै राम्रो भयेको थाहा पाएर सारै खुसि लाग्यो.पहिला पो.यु.सा.प.को मैले पनि सदष्यता लिन्थे र कहिलेकाहीं येस्को कार्यक्रममा सहभागीपनि हुन्थे,तर,अस्काल कसैले सदष्यता लिनपनि भन्दैन र कार्यक्रममा पनि जान छाडीयेकोछ.

    ReplyDelete