March 27, 2011

हिजो वनभोज गईयो

हिजो आफू कार्यरत ईलेक्ट्रिकल विभागको विभागीय वनभोज थियो। २० जनाजतिको आत्मीय समूहको रुपमा रहेको छ हाम्रो विभाग।

वनभोज स्थल अहिले पोखरामा चर्चित वनभोज स्थलको रुपमा रहेको कार्कीडाँडा थियो।

दिनभरि खुब हाँसियो। जोक सुनियो-सुनाईयो। र लोकगीतमा खुब नाचियो पनि। साफ रमाईलो भयो हिजो:)

March 21, 2011

हाम्रो चुतिया मानसिकता

आज कुरो शुरु गरौं यहि ब्लगको पछिल्लो लेखमा प्राप्त एक प्रतिकृयाबाट। जापानमा भूकम्प र चुनामीले सृजना गरेको महाविपत्तिबारेको मेरो त्यो सानो लेखमा साथी वेद काफ्लेजीले यस्तो प्रतिकृया दिनुभएको छ;

मित्र बसन्तजी,
तपाईले लेख्नु भएजस्तै जापानीमा धर्यता अपार छ । उनीहरु अरूको दु:खमा त्यति नै सम्बेदन छन, जति आफ्नो दु:खमा हुन्छन् । मलाई यहा हाम्रो नेपाली मानसिकताका बारेमा अलिकति लेख्न मनलाग्यो ।
मैले केही जापानमा बस्दै आएका नेपाली साथीहरु सँग टोकियोको वरपर लोडशेडिङ्ग हुने र धेरैले दुखपाउने भए भनेर दु:ख व्यक्त गर्दा ती नेपाली मित्रले 'नेपालमा सधै लोडशेडिङ्ग हुदा केहि भएन अब यी जापानीले पनि दुख पाउन् अलिअलि' भन्दै हर्ष प्रकट गरे । अर्को सन्दर्भमा अर्का मित्रसँग 'जापानका ठूला कम्पनी जस्तै हिताची, पानासोनिकले अरबौ ऐन सुनामी ग्रस्तक्षेत्रको पनर्स्थापनामा लागि चन्दा दिने भएछन' भन्दा ति मित्रको प्रतिकृया 'उनीहरूले आफ्नो खल्तीबाट दिने होइन होला, नाफा कमका छन् दिन्छन नि' थियो । यी दुई प्रतिकृयाबाट के प्रस्ट हुन्छ भने, हामीबाट बिस्तारै मानवताको मान्यता हराउदै गएको हो कि जस्तो लाग्छ । अरूको दुखमा हामी नेपाली मनमनै खुशी पो हुन थालेका त छैनौन जस्तो लाग्छ । हाम्रोमा हुने लोडसेडिङ्गको कारण जापान सम्मृद्ध भएर हो भन्ने जस्तो प्रतिकृया हाम्रो मुखमा रेडिमेड उत्तर छन् । हामी आफू केहि नगर्ने तर अरूको प्रगतिप्रति ईष्यागर्ने प्रवृत्तिको विकास हुदै गएजस्तो छ । हामी आफ्नो कामको भन्दा अरूको काम प्रति बढि चासो दिन्छौ, अरुको कमजोरी पत्ता लगाउन र त्यसमा रमाउछौ ।
अनि कसरी होला हामीमा परिवर्तन !

जापानको महाविपत्तिको खबरले जति दु:खी बनाएको छ मलाई, केहि नेपालीहरुको मुखमा यस्ता चुतिया कुरा झुण्डिएका देख्दा उतिनै दु:ख लागेको छ। अर्काको दु:खमा काखी बजाउने स्वभाव छ हाम्रो। हामी संवेदनाहीन यन्त्र हौं। भन्न त हामी विदेशीहरुलाई संवेदनाहीन र यान्त्रिक भन्छौं तर हामी जति निर्दयी, यान्त्रिक र परपीडक अरु शायदै होलान्। 

माथि वेदजीले राख्नुभएको केहि मित्रहरुको दरिद्र चिन्तनमा झुण्डिएको रेडिमेड उत्तरले हाम्रो चुतिया मानसिकताको अर्को पाटो पनि छर्लङ्ग पारेको छ। त्यो के भने, हामी कहिल्यै नसोझिने, कुकुरको लिँडे पूच्छर हौं। जतिसुकै सभ्य र सुसंस्कृत समाजमा जति वर्ष बसे पनि हाम्रो मानसकिता कहिल्यै बदलिँदैन। हाम्रो स्वभाव 'चिप्ले ढुंगो, उहि टुंगो' जहिले पनि उनै तुच्छ चिन्तनले भरिएको हुन्छ। हामी आफूलाई र अरुलाई तौलेर आफ्ना कमी-कमजोरीहरुमाथि कहिल्यै आत्मचिन्तन गर्दैनौं, कथंकदाचित गरिहालेछौं भनेपनि हामी आफूलाई अरुभन्दा कता हो कता माथि राखेर अरुका नकारात्मताहरुमात्रै कोट्याएर बस्छौं।

ती मित्रहरु पक्का पनि जापानमा केहि वर्ष बसीसकेका होलान् तर तिनले जापानीबाट केहि पनि सिकेनछन्। तिनले न सद्भाव सिकेछन्, न जापानीको विनम्रता सिकेछन्, न समवेदना सिकेछन् र न मानवता सिकेछन्। नेपाललाई सबैभन्दा धेरै सहयोग गर्ने एउटा असल मित्र राष्ट्रमा महाविपत्ति आउँदा पनि तिनलाई शायद दुई-चार दिन धेरै बिदा पाईने खुशीले घे-यो होला। नेपाल र नेपाली भनेपछि ज्यान फाल्ने, आफ्नो पेन्सनबाट कटाएर जम्मा पारेको पैसाले नेपालका गाऊँ-गाऊँमा विद्यालय बनाईदिने जापानी र तिनका घरलाई चुनामीले बगाऊँदा तिनका मनमा 'ठिक्क भयो जाँठाहरुलाई--!' बाहेक अरु केहि पनि आएन होला। 

वेदजीले भन्नुभएजस्तै जापान विकसित भएकाले नेपाल अविकसित भएको होईन र जापानीहरु धनी भएकाले हामी तन्नम गरीब भएका होईनौं। हामी हाम्रै चुतिया स्वभावले अविकसित र गरीब भएका हौं। त्यसकारण, नेपालमा सधैं लोडशेडिङ्ग हुनेहुँदा जापानमा पनि भएर कुन ठूलो कुरा भयो भनेर ठाडो बोल्नेहरु परपीडामा रमाउनेहरु हुन्। यहि र अरु यस्तै प्रसंगमा ठ्याक्कै यस्तै डकार्नेहरु मैले यहिँ नेपालमा पनि थुप्रै भेटेको छु। हामी न आफूलाई सुधार्छौं, न अरु सप्रेको देख्न सक्छौं। अरुलाई दु:ख परेको नदेखी हामीलाई खाएको पच्दैन, अरुकामा विध्वंश नदेखी हामीलाई राम्रो निद्रा पर्दैन।

'नाफा कमाका छन्, दिन्छन्' भन्ने मानसिकता पनि हाम्रो चिन्तनको अर्को दरिद्र पाटो हो। देशभित्र पनि भएजति उद्योगधन्दा र ब्यापार-ब्यवशायलाई धम्काई-धम्काई चन्दा माग्न र तिनलाई बन्द हुने स्थितिमा पु-याउन निरन्तर यहि कुतर्कको आड लिईएको छ। हामी नेपालीलाई आफूले केहि नगरी, माखो नमारी बसी-बसी कमाई चाहिन्छ र यसैले हामी अर्काले दु:ख गरेर आर्जेको कमाईलाई आफ्नै ठान्छौं। ति मित्रहरुको मनमा अझ 'हिताची, पानसोनिकले त्यत्रो नाफा कमा'का छन्, तिनले त हाम्लाई पनि दिनुपर्छ!' भन्ने होला।

मलाई पहिला पनि लाग्थ्यो र साढे सात वर्ष जापान बसेर फर्केपछि यो भावना अझ सघन भएको छ कि हामी नेपाली मूलत: संवेदनाहीन र परपीडक कोटिका मान्छे हौं। म मेरो वरिपरि परपीडक प्रवृत्तिका बाऊ-आमाले आफ्ना सन्तानलाई पनि चरम संवेदनाहीन र परपीडामा रमाउने बनाएर हुर्काईरहेको देखिरहेछु।

त्यसैले हाम्रो समाजमा वेदजीले औंल्याउनुभए जस्ता चुतिया जवाफ दिने प्रशश्त भेटिन्छन्।

लाग्छ, कुनै दिन हामी नेपालीको आर्थिक उद्धार भएपनि हाम्रो मानसिक उद्धार भने धेरै गाह्रो र धेरै टाढा छ।

March 15, 2011

निर्दयी विपत्ति


महाविपत्तिमा परेको छ जापान यतिखेर र जनधनको अपार क्षतिले तहसनहस भएको छ।

जापान यसै पनि प्रकृतिले ठगेको देश हो। प्रकृतिले जापानलाई ज्वालामुखीको खरानी, भूकम्प र ताईफून (समुद्री आँधी) बाहेक सम्पदाका नाममा ज्यादै कम दिएको छ। यस्तो प्रतिकूलताका वावजूद पनि जापानीहरुले एउटा समृद्ध र सुसंस्कृत सभ्य देशको निर्माण गरेका छन्। उनीहरुले ज्वालामुखीको खरानीलाई उद्योगमा बदलेका छन्, भूकम्पलाई श्रमशक्तिमा बदलेका छन् र आँधीलाई यात्राको निरन्तरतामा बदलेका छन्। जतिसुकै ठगिएपनि, जतिसुकै विपत्तिको चपेटामा परेपनि उनीहरुले कहिल्यै हार खाएका छैनन्। ईस्पाती दृढ ईच्छाशक्ति छ उनीहरुको, तपस्याजस्तो श्रम छ उनीहरुको र निरन्तर सिक्ने, सुधार्ने र आविष्कार गर्ने तिब्र भोक छ उनीहरुमा। यसैले उनीहरु हारेर, थाकेर र गलेर कहिल्यै बसेका छैनन्। हरेक विपत्तिको चोटले उनीहरुलाई अझ दृढ बनाएको छ।

यस पटकको विपत्तिमा जापानको क्षति भूकम्पले भन्दा पनि चुनामी*का कारण भएको छ। जापानीहरुको भवनलगायतका संरचनाको मापदण्ड साह्रै उच्चस्तरको छ र भूकम्पका अवश्थाका लागि उनीहरुको पूर्वतयारी पनि उत्तिकै प्रणालीबद्ध र निरन्तर छ। भूकम्पमाथिको उनीहरुको यो 'विजय' पछि उनीहरुको परीक्षाका लागि प्रकृतिले चुनामीलाई खटाएजस्तो छ अब। मलाई विश्वाश छ, चुनामीसंगको युद्धमा पनि जापानीहरुले एकदिन आफूलाई विजयी बनाउनेछन्।

हामी नेपालीहरु जापानी हेरीकन अत्यन्त भाग्यमानी छौं। हामीलाई प्रकृतिले विपत्ति एकदम कम दिएको छ र सम्पदा प्रशश्त दिएको छ। हामीले अपार स्रोत र सौन्दर्य पाएका छौं, तर भिल्लका देशमा मिल्केका मणिजस्ता बनेका छन् ती स्रोतहरु र त्यो प्राकृतिक सौन्दर्य। हामी सृजना केहि गरीरहेका छैनौं, उल्टै पाएका मणिलाई बिगारीरहेछौं। हामीले जापानको अनुभवबाट केहि पनि सिकेका छैनौं। हामी सम्पदालाई विपत्तिमा परिणत गरीरहेछौं। अनियन्त्रित शहरीकरण र निर्माणमा तल्लो स्तरका मापदण्ड कायम गरेर हामी नयाँ-नयाँ 'चिहान' निर्माण गरीरहेछौं। विपत्तिका बेलाका लागि हाम्रो तयारी छैनको बराबर छ र जनचेतना शून्य छ। भूकम्पबाट हुने क्षतिलाई कम गर्न सकेमात्रै पनि हाम्रो लागि ठूलो उपलब्धि हुनेछ, किनकि हामीकहाँ चुनामीको कुनै सम्भावना छैन। तर हामीले जापानको अनुभवबाट केहि पनि सिकेका छैनौं। जापानमा गएजत्रै भूकम्पले काठमाण्डौंमै केहि लाख मार्नसक्ने सम्भावना टड्कारो छ, तर मतलब कसैलाई छैन। नेता र दलहरुलाई कुर्सी चाहिएको छ र जनतालाई ठुलो, सानो, तीनकुने, चारकुने, कच्ची, पक्की  जस्तोसुकै होस् काठमाण्डौंमा घर-घडेरी चाहिएको छ। यो बेमतलवका लागि प्रकृतिले एउटा कठोर दण्ड दिने निश्चित छ हामीलाई। 

जापानीहरुको उच्च कोटिको नैतिकताको सारा संसारले प्रशंशा गरीरहेको छ यतिखेर। त्यत्रो ठूलो महाविपत्तिमा पनि लूटपाट, हूलदंगा, नाराबाजी केहि नदेखेर पश्चिमीहरु समेत छक्क परेका छन्। जापानीहरुको सहनशीलता, धैर्य र उच्च नैतिक बलको जति प्रशंशा गरे पनि कम हुन्छ। यत्तिकै प्रशंशा उद्धारमा उनीहरुको राज्यले देखाएको ईमान्दारीता र तदारुकताको पनि गर्नैपर्छ।

यो महाविपत्तिको क्षणमा ईस्पातजस्तो मुटु भएका उच्च नैतिकवान जापानीहरुलाई मेरो समवेदना! 

मृतकहरुको आत्माले चीरशान्ति पाओस्!

प्रार्थना गरौं, आणविक भट्टीमा देखिएको अस्थिरताको चाँडैनै अन्त्य हुनेछ।

र के निश्चित छ भने सधैंजस्तै यो शोकलाई पनि शक्तिमा बदलेर मौरीजस्ता जापानीहरुले आफ्नो जापानलाई फेरि शानका साथ उभ्याउनेछन्।

गाम्बात्ते निप्पोन!

March 08, 2011

ठप्प क्याम्पस

[आफू कार्यरत क्याम्पसमा जारी अराजकताका बारेमा एउटा सानो लेख लेखेर पोखराको स्थानीय दैनिक "आदर्श समाज"लाई मेल गरेको थिएँ, फागुन १३ गते। समसामयिक विषयवस्तु भएकाले छिट्टै छापिएला भन्ने लागेको थियो। ६ दिनसम्म नछापिएपछि लेखलाई अझ मिलाएर र प्रिण्ट गरेर कार्यालयमै गएँ। 'यूनिकोडमा लेखिएकोले होला, प्रीतिमा पठाएको भए छापिन्थ्यो होला' भन्ने जवाफ मिल्यो कर्मचारीहरुबाट। मैले प्रिण्टनै छोडिदिएँ त्यसपछि। '१-२ दिनमै नछापिए यसको कुनै अर्थ नहुने हुँदा सकेसम्म चाँडै छापिदिने' अनूरोध गर्दा कार्यालयका कर्मचारीले सम्पादकको मोबाईल नम्बर दिए र उनैसंग कुरा गर्न भने। साँझमा सम्पादकसंग कुरा गर्दा 'हामीकहाँ त्यस्ता लेख सैयौं आउँछन्, त्यसैले चाँडो छापिँदैन' भने। त्यति जवाफ पाईसकेपछि अरु कुरा गर्न मन लागेन। अहिलेसम्म छापिएको छैन होला। त्यता छापियोस्, नछापियोस; यता भने तपाईँको लागि पस्कदैछु त्यो लेख।]

बन्द क्याम्पस, दंग हामी

१० गते मंगलवार दिऊँसो। पढाउनु थियो, पढाउन भनेर गईयो, तर कक्षामा विद्यार्थीहरु थिएनन्। सबै नआए पनि केहि त आएकै होलान् भनेर पुगेको थिएँ म। हुनत अघिल्लै दिन केहि विद्यार्थीहरुले ‘सर, आधीभन्दा कम विद्यार्थी हुँदा-हुँदै पनि पढाउने होईन नि!” भनेर ‘खबरदार’ भनिसकेका थिए, तैपनि पुगेको थिएँ; तर कक्षाकोठामा मूसो पनि थिएन। कक्षाकोठामात्रै होईन, पूरै क्याम्पस परिसर सूनसान थियो। बिभिन्न विभाग र कार्यालयहरुका ढोका खुलेका थिए तर भित्र कोहि पनि थिएनन्। क्याम्पस सूनसान खण्डहर जस्तो लाग्थ्यो। पठनपाठनमा अलिअलि असर पर्ने अनुमान त सबैको थियो, तर यस्तरी ‘ठप्प’ नै होला जस्तो भने लागेको थिएन। फेरि स्ववियू र प्रशाशनका बीचमा ‘पढ्न चाहनेलाई पढ्न दिने’ सहमति भएको हल्ला सुनिएको पनि थियो। पठनपाठन नहुने भनेर प्रशाशनले कुनै सूचना टाँसेको पनि थिएन।

ूचना त्यहि दिन साँझ बल्ल टाँसियो, शुक्रवारसम्म पठनपाठन बन्द गरिएको छ भनेर।

उसो त पश्चिमाञ्चल क्याम्पस ठप्प हुनु कुनै नौलो कुरो होईन; अझ देशकै सबै क्याम्पसहरु, विश्वविद्यालयहरु बेला-बेला ठप्प हुनुपनि कुनै अनौठो कुरो होईन, हाम्रो राष्ट्रिय संस्कृति बनीसकेका छन् यस्ता कुराहरु। राजनीतिले बिगारेको नेपाल नाम गरेको यो देशको नियमित नियति हो यो। पश्चिमाञ्चल क्याम्पस अरुभन्दा अझ एक कदम अगाडि छ; अरु क्याम्पसमा धेरैजसो पढाई हुन्छ र ती यदाकदा ठप्प हुन्छन्, पश्चिमाञ्चल क्याम्पस भने धेरैजसो ठप्प हुन्छ र यहाँ यदाकदा पढाई हुन्छ। यस्तै छ देशको एउटा प्रमुख प्राविधिक शैक्षिक संस्थाको हाल!

विगत केहि महिनालाई हेरे पुग्छ, एकहप्ता भन्दा बढी नियमित कक्षा भएको विरलै होला। एकहप्ता कक्षा भएपछि केहि विद्यार्थीलाई सकसक हुनथाल्छ र तिनका हात चिलाउन थाल्छन्। कुनै अर्को समूहका सदस्यको ‘रामधूलाई’ नगरी तिनको सकसक मर्दैन। (त्यो ‘रामधूलाई’मा कहिलेकाहीँ आफ्नो धूनमा हिँडिरहेको कुनै सोझो नेपाली विद्यार्थीले पनि खुकुरी खान्छ, तर त्यस्ताको कल्ले किन हेक्का राखोस्?!) यस्ता घटनामा कथित ‘राजनीति’ पहिल्यै पसिसकेको पनि हुनसक्छ, नत्र घटनापछि भने घुस्छ-घुस्छ। रामधूलाई’ खानेले क्याम्पस बन्द गराऊँछ, प्रशाशनले ‘आयोग’ बनाऊँछ र वार्ता चलाऊँछ र गोदिने र गोद्ने सबैलाई ‘क्षतिपूर्ति’ दिन्छ। यो ‘गराउने’, ‘बनाउने’, ‘चलाउने’ र ‘दिने’ले क्याम्पसको एक साता खाईदिन्छ। त्यसपछि एकसाता पढाई सुचारु हुन्छ। त्यो एकसाता सकिँदा-नसकिँदै अघिल्लो साता ‘रामधूलाई’ खानेले आफूले पाएको ‘क्रिया’को ‘प्रतिकृया’ दिन्छ। अनि अर्को पक्षले क्याम्पस बन्द गर्छ र ‘गराउने’, ‘बनाउने’, ‘चलाउने’ र ‘दिने’ को नयाँ संस्करण शुरु हुन्छ।

क्याम्पस शान्त हुने समय शायद नियमित जाँच चलेको बेला मात्रै हो। तर ब्याक (पुन: परीक्षा) अवधिभर भने ‘पढाउन नपाईने’ उर्दी जारी हुन्छ ब्याक भएका विद्यार्थीहरुबाट। ब्याकवालाका धेरै समूहले ठाऊँ-कुठाऊँ सूचनै टाँसेर ब्याक-अवधिभरी ‘नपढ्ने-नपढाउने’ आदेश दिएका हुन्छन्। ब्याक नभएका पढ्न चाहने विद्यार्थीहरु डराएर आऊँदैनन्। यहि हो असफलहरुको जमातको दादागिरि!

ब्याक जाँचको बेलामा नियमित कक्षा नलिनु भनेको अर्को वर्षको यहि ताकाको ब्याकको तयारी गर्नु पनि हो भन्ने चेत विद्यार्थीहरुलाई कहिले आउला? अथवा ब्याक परीक्षालाई शनिबार र बिदाको दिनमात्रै लिनेगरी ईञ्जिनियरिङ्ग अध्ययन संस्थानले कहिले ब्यवश्था मिलाउला? पश्चिमाञ्चल क्याम्पसमा पढ्न चाहने विद्यार्थीहरुले ‘पढ्न पाउने’ दिन कहिले आउला?

यस्तै गरी आधी सेमेष्टर सकिएपछि शुरु भएको सेमेष्टरमा अहिले स्ववियूले खेलकूद कार्यक्रम आयोजना गरीरहेको छ। नियमित पढाई भईरहेको अवश्थामा खेलकूदलाई ३-४ दिन वा बढीमा एक हप्तानै पनि छुट्याउनुलाई स्वाभाविक मान्न सकिएला। त्यस्तोमा पनि सकेसम्म थोरै कक्षाहरुलाई बाधा पर्ने गरी, दिऊँसो २ बजेपछिबाट खेल हुने गरी सञ्चालन गर्न सकिन्छ। कहिले के र कहिले के ले पढाईलाई निरन्तर बाधा पारीरहेको यतिखेर भने अझ विवेकशील ढंगले सोचिनुपर्थ्यो। एक महिनाको अवधि लिएर सबै खेलका सेमिफाईनल सम्मका र केहिका फाईनललाईनै शनिवार र सार्वजनिक विदाका दिनहरुमा सञ्चालन गर्न सकिन्थ्यो। फूटबल र भलिबलजस्ता एक दुई खेलहरुका फाईनललाई खेलाएर एक दिन कार्यक्रमको भब्य समापन गर्न सकिन्थ्यो। यसो गर्दा एकदिनको पठनपाठनमात्रै बन्द गरे पुग्थ्यो, अहिलेजस्तो क्याम्पसलाई झण्डै आधा महिना ठप्प पारीरहनुपर्ने थिएन।

अहिलेकै हकमा पनि, दिऊँसोको पढाईलाई बाधा पुगेपनि दश बजे अगाडिका स्नातक तहका सैद्धान्तिक कक्षाहरुमाथि भने ‘दया’ गर्न सकिन्थ्यो, तर त्यति न्यूनतम दया पनि ्रकट भएको देखिएन!

आज १९ गते बिहिवारको मध्यान्ह यो लेख्दासम्म कक्षा भएको छैन। भोलिबाट कक्षा हुनपनि सक्छ अथवा अझै केहि दिन लाग्न सक्छ ‘ओलम्पिक’ सकिन। प्रशाशनले सूचना टाँसेको बिदा उहिल्यै सिध्दिसक्यो। आधा भन्दा बढी विद्यार्थीहरु घरतिर फर्किसकेका छन्। ‘पढ्ने-पढाउनेको टाउको फोर्ने’ भन्दै हिँडेकाहरु भने अझै क्याम्पसमै देखिन्छन्। क्याम्पस कसले र कसरी चलाईरहेको छ? यो ‘अघोषित’ अनिश्चित विदा कहिलेसम्म हो र त्यो सकिएको घोषणा कसले गर्ने? यो चरम अराजकताको अन्त्य कहिले हुन्छ? कहिलेदेखि पश्चिमाञ्चल क्याम्पस मुक्त हुन्छ यस्ता अराजकताबाट?

तर चिन्ता कसैमा देखिदैंन। यस्तो लाग्छ, क्याम्पस ठप्प छ र हामी सबै दंग छौं। प्राध्यापकहरु दंग छन्, किनभने पढाउनु परेको छैन, नपढाएपनितिरिक्त कक्षाहरु भरेर खान पाईएकै छ। कर्मचारीहरु दंग छन् किनभने काम गर्न परेको छैन काम नगरेपनि ओभरटाईम भरेर खान पाईएको छ। सबै दंग छन् किनभने कौडीको मोलमा, घाम तापेको भरमा आवास, पानी र बिजुली सुबिधा पाईएको छ, आवासमै होटल र धर्मशाला चलाउन पाईएको छ।

विद्यार्थीहरु दंग छन् किनभने पढ्नुपरेको छैन, आन्तरिक मूल्यांकनमा त्यसै ‘टन्न’ नम्बर पाईएको छ र जाँचमा मज्जाले चोर्न पाईहालिन्छ।

केहि मूर्ख प्राध्यापकहरु चैत लागेपछि ‘कोर्स’ सक्न भनेर बिहान-बिहान कक्षातिर कुद्न थाल्नेछन्। तिनलाई के को माया लागेको हो कुन्नि, कोर्सको कि विद्यार्थीको? जसको भएपनि, अब भने तिनले पनि आफूलाई ‘मूर्खता’ बाट सकेसम्म चाँडो मुक्ति मिलाएको राम्रो। तिनले पनि पढाउनु सट्टा पूराना लेक्चर नोटहरु फोटोकपी पसलमा छोडिदिने, आन्तरिक मूल्यांकनमा सबैलाई ‘टन्न’ अंक दिने आदि गरेर आफूलाई ‘लोकप्रिय शिक्षक’ बनाउने कोशिश गरेको राम्रो

सबै दंग छन्। म पनि दंग छु। म झन् दोब्बर दंग छु, अध्ययन-अध्यापन-अनुसन्धान जस्ता ‘झूर’ काममा समय दिनु परको छैन र यी यसरी माछापूच्छ्रे हेरेर यो लेख लेख्ने ‘फुर्सद’ मिलेको छ। अब कथा, कविता, गीत, नाटक आदि पनि लेखिएला यो फूर्सदको सदुपयोग गर्न। यो पो जागिर! यस्तो पो जागिर!
---------------------------------------------------------------

March 06, 2011

हार्दिक श्रद्धाञ्जली!

देशले हालै दुई महान सपूत गुमाएको छ; मूर्धन्य साहित्यकार डायमण्ड शमशेर र लोकतन्त्रवादी नेता कृष्णप्रसाद भट्टराई।

उहाँहरुका आत्माले चीरशान्ति पाओस्!

उहाँहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।

March 02, 2011

जय शम्भो!

आज धेरै समयपछि एउटा ओशो ध्यान केन्द्रको 'शिवरात्रि सन्ध्याकालीन उत्सव'मा भाग लिने मेसो मिलेको छ! अब त्यता लाग्दै।

तपाईँको शिवरात्रि सुखद् रहोस्!

जय शम्भो!