June 12, 2011

मुक्तक मञ्च-पोखराको मासिक कार्यक्रमबाट

हिजो म मुक्तक मञ्च-पोखराको नियमित मासिक मुक्तक वाचन कार्यक्रममा भाग लिन पुगेको थिएँ। कार्यक्रम नदीपुरस्थित बालमन्दिरको विद्यालय भवनको एउटा (कक्षा)कोठामा भएको थियो। यो कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार आयोजना हुन्छ।

संयोगवश, हिजै मुक्तक मञ्चको अधिवेशन पनि परेको रहेछ। नयाँ कार्यसमिति चुन्ने प्रकृया जारी थियो म पुग्दा। मैले बुझेसम्म, बहुमतको चाहना रहेको सर्वसम्मत कार्यसमिति बन्न सकिरहेको थिएन। त्यति धेरै आर्थिक कारोबार नहुने सानो संस्था भएपनि विवादका विषयवस्तु भने निक्लिहाल्दा रहेछन भन्ने चर्चा चलिरहेको थियो। अन्त्यमा, प्राज्ञ तीर्थ श्रेष्ठ, कवि-गीतकार प्रकट पगेनी 'शिव', कवि विष्णु अल्पविराम लगायतका वरिष्ठ श्रष्टाहरुको सकारात्मक 'हस्तक्षेप' पछि नयाँ कार्यसमिति बन्यो।

नयाँ कार्यसमितिको पदस्थापन पछि मुक्तक मञ्चको ३७औं मुक्तक वाचन कार्यक्रम शुरु भयो। देशप्रम, राजनीतिक गतिहीनताप्रतिको आक्रोश र मायाप्रेमका विषय समेटिएका थुप्रै सटीक र सुरुचिपूर्ण मुक्तकहरु सुन्न पाईयो। कार्यक्रममा नियमित भाग लिने श्रष्टाहरुका ब्यक्तिगत जीवनका कुरालाई समेटेका मुक्तक समेत वाचन गरिएका थिए। 

मुक्तकका सवालमा पोखरा एउटा अग्रणी ठाऊँ हो। यहाँ पैंतीस वर्ष अगाडिनै 'टिकटमा मुक्तक' सुन्ने कार्यक्रम आयोजना भईसकेको रहेछ। प्राज्ञ तीर्थ श्रेष्ठ पैंतीस वर्ष अघि त्यस्ता कार्यक्रम गर्न गर्नुपरेको संघर्षका कुराहरु स्मरण गर्नुभएको थियो आफ्नो बक्तव्यमा। अहिले पनि बेलाबखत 'टिकटमा मुक्तक' कार्यक्रमहरु आयोजना भईरहन्छन्। आऊँदो असार १७ गते प्राज्ञ श्रेष्ठकै 'एकल मुक्तक कार्यक्रम' आयोजना हुँदै रहेछ।

मैले आफ्ना पूराना चार मुक्तकहरु वाचन गरेको थिएँ।

आज त्यसै कार्यक्रमका दुई स्रष्टाहरुका मुक्तकहरु यहाँहरु समक्ष पस्किने अनुमति चाहन्छु। मुक्तक उपलब्ध गराईदिनुभएकोमा श्रष्टाद्वयलाई हार्दिक धन्यबाद!

-एकदत्त लम्साल

‍-१-
जस्तो रोप्यो उस्तै फल्छ भन्ने था' छैन कि
आलटाल गर्दा समय टल्छ भन्ने था' छैन कि
संविधान बनाउन अझै ग-यौ भने ढिलासुस्ती
सडकमा फेरि मशाल बल्छ भन्ने था' छैन कि ।

-२-
दिनभरि काम गर्ने ज्यामी भोको छ यो अझै
निर्धन दुखारीलाई बेदनाको पोको छ यो अझै
जसले मह काढ्छ यहाँ उसैले हात चाट्छ
गरीब जनता न्याय नपाई रो'को छ यहाँ अझै।


-मन क्षेत्री (lash_alive@yahoo.com)
सचिव-गजल सन्ध्या, पोखरा

-१-
बडो धूमधामको रमिता हुनेछ
म लाश हुनेछु र मेरो चिता हुनेछ
जलाउनुअघि एकपटक तलाशी लिनुहोला
खल्तीमा कि गजल कि कविता हुनेछ ।

-२-
खल्तीभित्रै हात हालेर चोर्नेहरु छन्
दलालीमा कालो धन जोर्नेहरु छन्
अचेल यस्तै हालखबर सुन्छु पत्रकारको
कोहि भने भोकभोकै मर्नेहरु छन् ।

-३-
दिन होस् न रात होस्
प्रियसीको साथ होस्
त्यसपछि भने केहि नहोस्
कोहि किन बर्बाद होस् ।

2 comments:

  1. मुक्तकहरू राम्रा,सामयिक छन्.

    ReplyDelete
  2. दुवै रचनाकारका पहिला मुक्तकहरु बेजोड लागे !

    ReplyDelete