April 28, 2010

बन्दूक, खुकरी, लाठी - र गायब राज्य

माओवादी फेरि एकपटक "अन्तिम आन्दोलन" गर्न तम्सिएको छ र देशलाई अनिश्चित कालसम्म बन्द गर्ने घोषणा गरिसकेको छ। उसको यो कतियौं पटकको "अन्तिम आन्दोलन" हो हातका दश औंलाले गन्न नभ्याउने भईसकेको छ। अर्कोतिर, आफू सरकारमा भएको बेला "अब देशमा कसैले पनि बन्द-हडताल नगरे हुन्थ्यो" भनेर माओवादी नेतृत्वले खोकेको मान्छेहरुले बिर्सिसकेका छैनन्। "अन्तिम आन्दोलन" का लागि मा घाँटी निमोठ्दै र धम्की दिँदै "स्वेच्छिक" चन्दा माग्ने र स्कूल-कलेजलाई ब्यारेक बनाउने 'क्रान्तिकारी' कदम जारी छ देशमा।

माओवादीको "स्वेच्छिक" चन्दा उठाउने तरिका कस्तो हुन्छ, त्यो नबुझ्ने नेपाली अब बाँकी छैन। पोहर कि परार, "हिमाल" खबरपत्रिकामा होला- एउटा कार्टून छापिएको थियो। त्यो कार्टूनमा हाम्रा 'क्रान्तिकारी' मित्रहरु दश ठाऊँमा फाटेको लुगा लगाएको दुब्लो र मलिन अनुहारका एकजना गरीब नेपालीको पाखुरा बटारेर रगत निचोर्दै थिए र त्रसित भएर हेरीरहेकी उनकी पत्नीलाई भन्दै थिए, "स्वेच्छिक हो, डराउनु पर्दैन!"। माओवादीहरुले "स्वेच्छिक" को परिभाषा यसरी बदलिदिएपछि शब्दकोषमा "जबर्जस्ती" भन्ने शब्दको नयाँ अर्थ राख्नुपर्ने भएको छ। 

यो आन्दोलन माओवादीलाई कुर्सी दिलाउनको लागि हो, जुन कुर्सी माओवादी आफैंले सनकमा छोडेर हिँडेको थियो। दलहरुका, नेताहरुका आपसी सम्बन्धका तिक्तताका कुरा बेग्लै होलान्, तर सधैंझैं माओवादीको यसपालिको नीति पनि देशलाई सकेसम्म अस्तब्यस्त बनाएर, जनताको जीवनलाई सकेसम्म कष्टकर बनाएर सरकारलाई "घुँडा टेकाउने" हो। यसका लागि उसले आफ्ना कार्यकर्ता त परिचालन गर्नेनै भयो, बन्दूकले धम्काएर वा पैसाले फकाएर ट्रकका ट्रक, बसका बस 'भेडाबाख्रा' पनि ओसार्नेछ। पूर्णतया अधिनायकबादी सोचले प्रेरितहरुका लागि आफू बाहेक अरुको अस्तित्व बढीमा भेडाबाख्रानै हो। हरेक दिन उनीहरु कलेजदेखी स्कूलसम्मका बिद्यार्थीहरुलाई पनि ओसार्नेछन्। दूधमुखे बच्चाहरु पनि "स्वेच्छिक" रुपले जुलुसमा भोकै-प्यासै हिँड्नेछन् र ओठ-तालु सुकाउनेछन्। एक हातमा कापी-किताब र अर्को हातमा माओवादीले जबर्जस्ती थमाएको लाठी बोकेका स्कूले छात्राहरुको तस्बीर देख्न थालिसकिएको छ। ती अबोध चेहराहरुको भाव पढ्नुहोस् एकचोटि, कति प्रतिशत "स्वेच्छिक" हो सजिलै थाहा हुन्छ।
साभार:  नागरिक दैनिक (बिस्तृतमा यहाँ पढ्नुहोस्।)

हिजो पञ्चायत र राजतन्त्रले पनि त्यसै गर्थ्यो।
यो मात्रै होईन, अरु सबै कुरामा पनि माओवादीसंग अरुभन्दा फरक 'भिजन' नभएको कुरा प्रमाणित भईसकेको छ। ठूल्ठूला कुरा र गुलिया नाराले बेरेर माओवादी त्यहि काम गर्दैछ जुन काम अरुले पनि गरिरहेका थिए। ऊ नेपाली समाजका विकृतिलाई झन् धेरै मलजल गर्दैछ। हिजो कांग्रेस-एमालेलाई चन्दा ख्वाएर ब्रम्हलूट गरिरहेका सिण्डिकेटहरु, अपराधीहरु र भ्रष्टहरु आज माओवादीलाई अलि बढी चन्दा ख्वाएर माओवादीबाट अभयदान लिईरहेछन्। अदालत, मालपोत र अरु कार्यालयहरुमा सबैभन्दा ठूलो भाग लिएर माओवादीले त्यहाँभित्रको भ्रष्टाचारलाई अझ झांगिन दिईरहेको छ। उद्योगधन्दा माओवादीको जानी दुश्मन हो र देश अब ढुंगे युगमा फर्किँदैछ। शुल्क बढी असुलेको निहुँमा जारी अहिलेको नीजि स्कूलहरुको बिरोध-नाटक पनि माओवादीका लागि यथेष्ट शुभलाभको 'बार्गेनिङ्ग' सहित यथास्थितिमै सकिने पक्का छ। पहिला पनि यस्तो भएकै हो। 

हाम्रो समाज मूढे उन्माद र चरम सैनिकीकरणको बाटोमा गईसकेको छ र यसमा सबैभन्दा ठूलो दोष माओवादीकै हो। माओवादीको 'निगाह'मा परेर 'राज्य' पाएकाहरुको मूढे सैन्य-उन्माद देखिनसक्नुको छँदैछ, माओवादीको 'निगाह'मा पर्न नसकेकाहरु पनि त्रसित भएर आफूलाई सैनिकीकरण गर्दैछन्। हरेक समाज, हरेक समुदायले आफूलाई सैनिकीकरण गर्नुबाहेक अरु बिकल्प देखिन्न। यसरी देश अब सोमालिया हुने बाटोमा तिब्र गतिमा ओरालो लागेको छ।

यी सब सैन्य-उन्मादको होहल्लामा राज्य कतै गायब भएको छ। आफूलाई माओवादीभन्दा फरक र लोकतान्त्रिक भनाउने कांग्रेस र एमालेपनि समाजको सैनिकीकरणलाई, समाजमा बढीरहेको घृणा र द्वेषलाई कम गर्न होईन, त्यसमा तेल थप्न उद्यत छन्। यूथफोर्सको गठन गरेर एमालेले माओवादीको वाइसीएललाई नैतिक बैधता दिएकै हो, अस्ति त्यहि यूथफोर्सका टाउके अब सेनानै बनाउने कुरा गर्दै थिए। अर्कोतिर कांग्रेसभित्रका खुमबहादुर मार्काहरु कांग्रेसको सेना बनाउनुपर्छ भनेर उफ्रिरहेका छन्। नेपाल भनिने राज्यलाई पंगु बनाउन सबैभन्दा ठूलो भूमिका खेल्ने उनीहरुनै हुन्। खुमबहादुर जस्ता मान्छेलाई रगतको स्वाद थाहा छ किनभने उनीहरु पहिलेदेखिनै आफ्नै 'मिनि सेना' राखेर दादागिरि देखाईरहेका थिए। अहिले माओवादीले उनीहरुभन्दा पनि ठूलो दादागिरि देखाएकोले उनीहरुको रातको निद्रा र दिनको चैन हराएको हो।

तर के माओवादी सैन्य-उन्मादको जवाफ कांग्रेस-एमालेको पनि सैनिकीकरण हो? या राज्यलाई बलियो बनाउनु हो? प्रशाशन, प्रहरी, अदालत, सेना आदिलाई सशक्त, साधनसम्पन्न, प्रभावकारी र निष्पक्ष जबसम्म बनाईँदैन, जबसम्म गायब राज्य जनताको माझमा फर्किँदैन, तबसम्म यो चरम सैन्य-उन्मादी मानसिकताबाट देश र जनतालाई बाहिर निकाल्न सकिने कुनै बाटो भेटिने छैन।

April 23, 2010

जापान:प्राग्इतिहासदेखि आधुनिक काल सम्म

यो हालसालै मैले पढी भ्याएको जापानी इतिहाससम्बन्धी एउटा अंग्रेजी पुस्तक हो। अचेल मेरो अड्डा जाऊ-आऊको समय लम्बिएको छ, रेल र बस गरेरै दुई घण्टाजति बित्छ दिनमा। त्यो समयलाई गरिएको 'सदुपयोग'को पहिलो बाली यहि हो:) 

अमेरिकी इतिहासकार John Whitney Hall  द्वारा लिखित Japan: From Prehistory to Modern Times ले जापानको प्रागऐतिहासिक कालदेखि १९६० को दशकसम्मको इतिहासको विश्लेषण गरेको छ। पकेट साईजमा ४०० पृष्ठमा फैलिएको यो किताब इतिहासमा "सौखीन तर सकृय" रुचि राख्ने मजस्ता पाठकका लागि ठिक्कको मानें मैले। जापानी इतिहासको समग्र कालखण्डको बारेमा संक्षिप्तनै भएपनि आधारभूत जानकारी मिल्यो, अब कुनै कालखण्ड विशेषलाई मात्रै केन्द्रित गरिएर लेखिएका पुस्तक पढ्न पनि त्यति गाह्रो नहोला।

जापान बारेको जानकारी टुक्रा-टाक्रीहरु बटुलेको जस्तो मात्रै भएकोले समग्र इतिहास एकचोटि पूरा पढ्ने रहरको केहि अंश पुग्यो यो किताब पढेपछि। यो एक विदेशीका आँखाले हेरेको जापानको इतिहास हो तर लेखक हलज्यू जापानमै जन्मेर हुर्केकाले उहाँमा रहेको जापानप्रतिको संवेदनशीलताले गर्दानै होला, यो पुस्तकमा पश्चिमी पूर्वाग्रह कतै पनि देखिँदैन, कम्तिमा मेरो बुझाईमा। अब कुनै जापानी इतिहासकारले लेखेको जापानी इतिहास पनि पढ्नुपर्ला; विशेष गरी उन्नाईसौं शताब्दीको मध्यपछिका घटनाक्रमहरु बारे विदेशी र जापानी दृष्टिकोणमा रहेका भिन्नता बुझ्नका लागि। 

यहि किताबले छाडेका केहि मोटामोटी प्रभावहरुमा अडिएर कुरा गरौं आज, तथ्यांकगत कुराहरु वा बिस्तृत घटनाक्रमहरुमा भने त्यति लाग्नेछैन।

इसापूर्व १५०,००० वर्षमै जापानका टापूहरुमा मानव बसोबास भइसकेको संकेत भेटिएका रहेछन्। जापानको वर्तमान राजतन्त्रको शुरुवात भएको मितिचाहिँ इसापूर्व ६६० लाई मानिँदो रहेछ, यहि वर्ष जापानका प्रथम सम्राट 'जिम्मु' ले शाशन शुरु गरेका रहेछन्। जापानीहरु आफ्नो राजवंशलाई संसारको सबभन्दा पुरानो र निरन्तर मान्छन्, तर धेरै इतिहासकारहरु भने त्यो दावीलाई स्विकार गर्दैनन्। जापानी राजवंशको निरन्तरता र जिम्मुकै कथालाई पनि उनीहरु अति दक्षिणपन्थी उग्रराष्ट्रवादी जापानीहरुले आफ्नो प्रभाव फैलाउन बनाएको 'कथा' मान्छन्। इस्वीको सातौं शताब्दीतिरबाटका धेरै कुरा भने स्पष्ट भएकाले जापानी राजतन्त्र कम्तिमा त्यो ताकाबाट भने निरन्तर अस्तित्वमा रहेको छ। यहि हिसाबले पनि यो अहिलेको बिश्वका पूराना राजतन्त्रहरुमध्ये पर्छ, सबभन्दा पूरानै पनि हुनसक्छ। राजतन्त्रको इतिहास लामो भएपनि शाशन-सत्तामा यसको प्रभाव धेरै जसो कमै थियो। इतिहासमा राजतन्त्र प्राय: धार्मिक र औपचारिक दायित्व मात्र निर्वाह गरेर बसिरहेको देखिन्छ भने देशको शाशनचाहिँ सैन्य-सामन्त र युद्ध सरदारहरुको प्रभावमा चलेको देखिन्छ। 

जापान एउटा टापू-देश भएकोले यसको सम्पर्क मूलभूमि (continent) संग कम हुनु स्वाभाविक हो र जापान र जापानी जनता बन्ने प्रकृयामा त्यो भौगोलिक अवस्थितिको प्रशश्त प्रभाव परेको मानिन्छ। पहिलो सहस्राब्दीसम्म जापानको प्रमुख विदेशी सम्बन्ध चीन र कोरीया थिए। चीन र कोरीया हुँदै प्रवेश गरेको बुद्ध धर्मले पहिलो विदेशी प्रभाव ल्याएको थियो जापानमा। जापानीहरुले सातौं शताब्दीमा चीनबाट लिखित भाषा, साँस्कृतिक मान्यताहरु र प्रविधिहरु ल्याए र तिनलाई आफ्नो आवश्यतकता अनुसार परिमार्जन गर्न थाले।

तर त्यसपछिका वर्षहरुमा बिस्तारै जापानका सैन्य-सामन्तहरुले बन्द नीतिको अख्तियार गर्दै लगे र बाँकी बिश्वबाट जापानलाई अलग्याए। यो प्रकृयाले सत्रौं शताब्दीको शुरुमा पूर्णता पायो, जब तोकुगावा इयेयासु भनिने महासामन्तले एक हिसाबले जापानको एकीकरणलाई पूरा गरे र आफ्नो वंशको 'शोगुनतन्त्र' (shogunate) शुरु गरे। जापानका बिभिन्न क्षेत्रीय सैन्य-सामन्तहरु पनि अस्तित्वमै रहे तर तिनको नेता र देशको केन्द्रीय शाशकको रुपमा भने तोकुगावा परिवार रह्यो।

सन् १६०३ देखि १८६८ सम्म रहेको तोकुगावा शोगुन शाशनकाललाई जापानी इतिहासमा 'एदो काल' (Edo period, जापानीमा EDO JIDAI) भनिन्छ। तोकुगावा शोगुनहरुको शाशनको केन्द्र रहेको तत्कालीन 'एदो' भेगकै अहिलेको नाम तोक्यो हो। प्राचीन समयदेखि तोकुगावाहरुको दबदबा नसकिऊञ्जेलसम्म जापानी राजतन्त्रको केन्द्र भने क्योटो रहँदै आएको थियो। यसरी हेर्दा एदो काललाई शोगुनतन्त्र र राजतन्त्रको  समानान्तर शाशनकालको रुपमा पनि लिन सकिन्छ, तर राजतन्त्रसंग कुनै उल्लेखनीय अधिकार भने थिएन।

साढे दुई शताब्दीसम्म जापानलाई बन्द र बाँकी बिश्वबाट अलग गरेर शाशन गरेको शोगुनतन्त्र आन्तरिक र बाह्य दुबै कारणहरुको प्रभावमा परेर समाप्त भयो। दुई शताब्दी पछिको शोगुनतन्त्र धेरै हिसाबले भद्दा, ढोंगी र सौखीन जीवनशैलीको भईकेको थियो। जापानी समाजका आर्थिक लगायतका समस्याहरु समाधान गर्नसक्ने हैसियतमा यो थिएन। अर्कोतिर, पुनर्जागरण र औद्योगिक क्रान्तिबाट शक्ति पाएपछि संसारभरि छरिएका यूरोपेलीहरु कुनै हालतमा पनि जापानलाई खुलाउन र एशियाभित्रका आफ्ना ब्यापारिक र औपनिवेशिक उद्देश्यहरुलाई पूर्णता दिन चाहन्थे। बेलायतबाट स्वतन्त्र भएको अमेरिका पनि केहि समय पछि जापान खोल्न चाहनेहरुको समूहमा मिसियो।

ठूलो सैन्य दलबलका साथ आएका अमेरिकी कमाण्डर म्याथ्यु पेरी (Commodore Perry) ले सन् १८५४ मा जापानलाई बन्द नीति परित्याग गर्न बाध्य पारे। १८५४ देखि दोश्रो बिश्वयुद्धको अन्त्यसम्मको समयलाई जापानको इतिहासको पहिलो आधुनिकीकरणको काल मानिन्छ। दोश्रो आधुनिकीकरणको काल दोश्रो बिश्वयुद्धको अन्त्यपछिको हालसम्मको समय हो।

१८५४ देखिका घटनाक्रमहरु लेखिएको खण्डलाई दोहोराएर पढें मैले। निकट इतिहासका घटनाहरु भएकाले जानकारीहरु बढी बिस्तृत हुनु स्वाभाविकनै भयो तर यो कालखण्डमा जापानीहरुले आफ्नो अस्तित्वमाथि आएका केहि ठूला संकटहरुलाई अत्यन्त सफलतापूर्वक र रचनात्मक ढंगले हल गरेका छन् र आफूलाई द्रूत ढंगले आधुनिकीकरण गरेका छन्। अर्कोतिर यहि कालखण्डमा उनीहरुको अहं र चरम जातिवाद-राष्ट्रवादले उनीहरु स्वयं र बिश्वलाई ठूलो नोक्सानी पनि पु-याएको छ।

१८५४ पछिका दिनहरुमा बल्ल जापानी राजतन्त्र जापानको वास्तविक शाशक बन्न पुग्यो। शोगुनतन्त्र असफल भईसकेपछि जापानी जनताहरु नेतृत्वका लागि राजतन्त्रतिर फर्किए। तत्कालीन मेइजी सम्राट र राजतन्त्रले जापानको आधुनिकीकरण र आर्थिक विकासमा प्रशस्त योगदान दिए। पश्चिमी प्रविधिमा दक्षता हासिल गर्न जोडतोडले लागे जापानीहरु र केहि दशकमै आफूलाई आर्थिक र प्राविधिक दुबै रुपले पश्चिमीहरुको प्रतिष्पर्धी बनाउन सफल भए।

तर बढ्दो आर्थिक शक्ति र बिश्व समुदायमा अग्लिएको छविले उनीहरुलाई औपनिवेशिक महत्वाकांक्षातिर पनि डो-यायो। जापानी नश्लको सर्वोच्चताको भावना र उग्र-राष्ट्रवादले युद्धउन्माद जन्मायो र जापानीहरु चीन, कोरीया लगायतमा आक्रमण गर्दै उपनिवेशहरु बटुल्न थाले। १९०५ को लडाईँमा रुसलाई हराएपछि यो उन्माद अझ बढ्यो र बिस्तारै जापानी शाशनमा सेनाको प्रभाव बढ्न थाल्यो। १९१८ बाट बहुदलीय प्रजातान्त्रिक राजनीतिक प्रणाली शुरु भयो तर दलहरु जनतामा प्रभावकारी रुपले स्थापित हुन र राजनितिमा सशक्त नेतृत्व दिन असफल भए। दलीय राजनीतिको यो असफलताले दक्षिणपन्थी सैन्यशक्तिलाई अझ उत्साहित बनायो र त्यसलाई राजनीतिमा अझ सकृय बन्ने मौका दियो। उग्र-राष्ट्रवादी सैन्य चिन्तन बलियो हुँदै जाने क्रममा सन् १९३३ मा जापानले आफूलाई लिग अफ नेशन्सबाट अलग्यायो र जापान र जापानी समाजको पूर्ण सैनिकीकरण शुरु भयो। दोश्रो बिश्वयुद्धमा जापान, जर्मनी र इटालीसमेतको गठबन्धनमा संलग्न भयो। सन् १९४५ को हिरोशिमा र नागासाकीको त्रासदीमा पुगेरमात्रै यो सैनिकीकरण र अन्धराष्ट्रवादी युद्ध उन्मादको दुखद् अन्त्य भयो।

त्यसपछिका केहि वर्ष जापान अमेरिकी प्रभावमा रह्यो। पूर्ण अमेरिकी प्रभावमा रहेको १९४५ देखि १९५२ को समयमा जापानी समाजको सैनिकीकरणलाई समाप्त पारियो, जापानी सम्राटको 'दैवी' स्तरलाई अस्विकार गर्दै र सार्वभौमसत्ता जापानी जनतामा रहेको घोषणा गर्दै नयाँ संविधान लेखियो र नागरिक शाशनको आधार तयार पारियो। यसबाहेक शिक्षा-प्रणाली, कृषि लगायत जापानी समाजका अरु धेरै पक्षहरुमा पनि सुधार शुरु गरियो। जापानीहरु फेरि पश्चिमा प्रविधि सिक्न र दक्ष हुनतिर लागे। अर्कोतिर, उदार लोकतान्त्रिक शाशनमा पनि जापानीहरु सफल भएका छन्। दोश्रो बिश्वयुद्धपछि जापानमाथि राखिएका नियन्त्रणहरुका कारण सामरिक हिसाबमा जापानको आवाज त्यति ठूलो मानिदैन तर यो एउटा बलियो आर्थिक शक्ति भने बनेको छ।

सन् १९५२ मा अमेरिकी अधीनस्थताको अन्त्यको औपचारिक घोषणा गरियो। सन् १९५३ मा अमेरिकी-जापान आपासी सुरक्षा सन्धि भयो र जापान अमेरिकाको सुरक्षा-छातामा पुग्यो। यस अनुसार, जापानको सुरक्षाको लागि अमेरिका जिम्मेवार हुनेछ तर जापानले अमेरिकी सैन्य-अखाडाहरुका लागि भूमि र सुविधाहरु उपलब्ध गराउनुपर्नेछ। जापानको सामरिक सुरक्षा अहिलेसम्म यसै सन्धिका आधारमा सञ्चालित छ।

सन् १९५६ मा जापान संयुक्त राष्ट्रसंघको सदस्य भयो।

हलज्यूले शीतयुद्धकालीन १९६० को दशकको संक्षिप्त चर्चा गरेर आफ्नो पुस्तकको समापन गर्नुभएको छ। त्यसयता बिश्व राजनीतिमा र जापानकै जीवनमा पनि धेरै परीवर्तनहरु आईसकेका छन्। १९९० सम्म  बिश्व आधारभूत रुपमा दोश्रो बिश्वयुद्धले परिभाषित गरेकै ढाँचामा चलिरहेको थियो। १९९० को दशकको शुरुवातको  साम्यवादको पतन र बिश्वमा उदार लोकतन्त्र र बजार अर्थतन्त्रको अझ सशक्तिकरणले केहि फेरबदल ल्याएको छ निश्चय पनि तर मूल: ढाँचा अझै पनि उहि मान्न सकिन्छ। 

यतिखेर भने चीन, भारत र ब्राजिल जस्ता देशहरु पनि धनी र शक्तिशाली हुँदैछन्। सूचना र बायोप्रविधिले संसारभरिकै आर्थिक/सामाजिक ढाँचामा ठूलो परीवर्तन ल्याऊँदैछन्। अन्तर्राष्ट्रिय शक्ति-संरचनामा ठूलो परीवर्तन हुने, जापान लगायतका सबै देशको स्थितिमा ब्यापक फेरबदल हुने समयको नजिक आईपुगेका हुनसक्छौं हामी। 

 -----------------------------------------------------------------------
एउटा ब्यक्तिले आफ्नो अनुभवमात्र नभै अरुको अनुभवबाट पनि सिक्न सकेजस्तै एउटा देश वा समाजले पनि आफ्नोमात्रै नभै अरु देश वा समाजको इतिहासबाट पनि धेरै कुरा सिक्न सक्छ। जापानको इतिहासका सकारात्मक-नकारात्मक कालखण्डहरुबाट पनि हामीले सिक्न सक्ने कुराहरु धेरै छन्। 

जापानीहरुको कर्मठता, औद्योगिक चिन्तन र लगनशीलताबाट त जो कोहि जहिले पनि प्रभावित हुन्छ नै। जापानीहरुको नयाँ कुरा, नयाँ प्रविधि सिक्ने तत्परता अत्यन्त प्रशंशनीय छ। शत्रु-मित्र जोसुकैका प्रविधि र ज्ञान सिक्ने, ऊ भन्दा दक्ष हुने र त्यो प्रविधि-त्यो ज्ञानलाई आफ्नो सामाजिक-राष्ट्रिय बिशिष्टतामा ढाल्ने प्रकृयानै जापानको संस्कृति हो भनेपनि हुन्छ। ठूल्ठूला संकटबाट निक्लेपछि जुन द्रूत आर्थिक विकासको उदाहरणहरु जापानले बिश्वलाई देखाएको छ, त्यसको पृष्ठभूमिमा यहि तत्परता छ।

अर्कोतिर, जापानको १९२०, १९३० का दशकको दिशाहीन दलीय राजनीति हाम्रो समसामयिकतासंग धेरै अर्थमा मेल खान्छ। त्यो बेलाको उदार लोकतन्त्रले राजनितिमा पकड जमाउन नसक्दा जापान दक्षिणपन्थी सैन्यशाशनको बाटोमा गयो। जब उदार लोकतन्त्रले सशक्त सुशाशन दिन सक्दैन, तब देश दक्षिणपन्थी या बामपन्थी अतिवादतिर भासिने ठूलो सम्भावना हुन्छ। हामी त्यहि संकटको डिलमा पुगेका छौं र दुबैतिरका रक्तपिपासुहरु मुख मिठ्याउन थालिसकेका छन्। 

हामीले सिक्न सक्ने सबैभन्दा सान्दर्भिक पाठ यहि हो शायद।

April 17, 2010

तोयोता प्लाण्ट भ्रमण

प्रसिद्ध मोटर कम्पनी तोयोता (टोयोटा)को एउटा प्लाण्टको भ्रमण गर्ने मौका जु-यो गत बिहिवार। यस बारेमा जापान आउनेबित्तिकै थाहा पाएको भएपनि जाऊँला-जाऊँला भन्दा-भन्दै सात वर्ष बितेछ।

हुनत टोयोटा समूह अहिले गाडी उत्पादन बाहेक अन्य धेरै क्षेत्रमा पनि संलग्न भईसकेको छ, तर यसलाई अझै पनि गाडीकै पर्यायको रुपमा लिईन्छ।

टोयोटा शहरमा रहेको टोयोटा समूहको मुख्यालय (Head Office)। यसका अरु दुई प्रमुख कार्यालयहरु टोक्यो मुख्यालय (Tokyo Head Office) र नागोया कार्यालय (Nagoya Office) हुन्। 

यस्तो भ्रमणमा सहभागी हुनका लागि कम्तिमा दुई हप्ता पहिलेनै ईण्टरनेटबाट बुक गर्नुपर्ने रहेछ (जापानमै, विशेष गरी टोयोटा शहरको  नजिकै रहनुभएका साथीहरुलाई रुचि छ भने यहाँ क्लिक गरेर जानकारी लिन सक्नुहुन्छ; Toyota Plant Tour)।

त्यहि टूरमा आधारित भएर केहि कुराकानी गरौं आज।

तोकिएको समय बिहानको साढे दशभन्दा केहि मिनेट पहिलानै मुख्यालय नजिकैको Toyota Kaikan Museum मा पुग्यौं हामी बूढा-बूढी। आफू आईपुगेको जानकारी गराएर आगन्तुक पास लिएपछि खास टूर शुरु हुने समय ११ बजे सम्म म्यूजियमभित्रै घुम्नु थियो।

म्यूजियममा पस्ने बित्तिकै टोयोटाका दुई बिशिष्ट उत्पादनहरु देखिन्छन्। टोयोटाको भविष्योन्मुख उत्पादन -दर्शनलाई झल्काउने यी दुई उत्पादनमा एउटा "i-unit" नाम दिईएको Concept Vehicle हो। यो एक सिटे गाडी भविष्यको सबैभन्दा लोकप्रिय सवारी साधन हुने अनुमान रहेछ टोयोटाको। "i-unit" बारेको केहि मिनेटको प्रदर्शन हेरियो।

दोश्रो चाहिँ "Toyota Partner Robot" हो। यो रोबोटले ट्रम्पेट बजाएको पनि हेर्न पाईयो। बेलाबखत यस्ता धेरै रोबोटहरु मिलेर कन्सर्ट पनि गर्दा रहेछन्:), हामी पुगेको दिन त्यो संयोग भने परेन। "i-unit" बारेको प्रदर्शनी र ट्रम्पेट बजाईरहेको Toyota Partner Robot यो लेखको अन्त्यमा राखिएका दुई भिडियोहरुमा हेर्न सक्नुहुन्छ।

म्यूजियम भित्र पसेपछि एक खण्डमा टोयोटाका बिभिन्न मोडेलका गाडीहरु प्रदर्शनीका लागि राखिएका थिए भने अरु खण्डमा टोयोटाको इतिहास र उत्पादनप्रणाली संबन्धी टोयोटाको दर्शन झल्काउने तस्बिरहरु, रेखाचित्रहरु टांगिएका थिए। २०-२५ सीटका मिनि थिएटरजस्ता पनि थिए र तिनमा टोयोटा बारेका जानकारी प्रसारण भईरहेका थिए। ठाऊँ-ठाऊँमा राखिएका कम्प्युटरहरु चलाएर पनि टोयोटाको उत्पादन प्रणालीको virtual tour गर्न सकिन्थ्यो। दोश्रो तल्लामा टोयोटासम्बन्धी उपहार-सामानहरुको पसल रहेको छ।

ठिक एघार बजे हामीजस्ता ४० जना मिसिएर बनेको हुललाई लिएर टूर बस टोयोटाको मोतोमाची प्लाण्टतिर लाग्यो। जापानभित्र टोयोटाका यो सहित १२ प्लाण्टहरु रहेछन्। ती सबै १२ प्लाण्टहरु टोयोटा शहर रहेको प्रान्त (आईची)मै रहेछन्। मोतोमाची प्लाण्टमा तोयोताका Crown, Mark X, Estima आदि मोडेलका गाडीहरु उत्पादन गरिँदो रहेछ।

मोतोमाची प्लाण्टसम्म पुग्न लाग्ने लगभग १५ मिनेटको समयमा टूर गाइडले टोयोटाको इतिहास र वर्तमान स्थितिका बारेमा कुरा गरिन्।

वर्तमान टोयोटा शहरको पुरानो नाम कोरोमो हो। उन्नाईसौं शताब्दीमा यो शहर रेशम उत्पादनका लागि प्रसिद्ध थियो र रेशमकै कारण एउटा धनी शहर मानिन्थ्यो। जापान र बिश्व बजारमा रेशमको माग घटेपछि शहरको आर्थिक स्थिति पनि खस्कियो। यो स्थितिमा एउटा रेशम उद्यमी परिवारकै उत्साही युवा किइचिरो तोयोदा सन् १९३० मा साना ग्यासोलिन ईञ्जिनहरुको अनुसन्धानमा संलग्न भए र सन् १९३३ मा उनको परिवारको रेशम उत्पादन कम्पनी Toyota Automatic Loom Works को एउटा शाखा Automobile Department को रुपमा गाडी उत्पादन शुरु गरियो। यहि शाखाले सन् १९३७ मा 'तोयोता मोटर कम्पनी लिमिटेड' को रुप लियो। 

कम्पनी शुरु गर्ने परिवारको थर तोयोदा हो र अहिलेसम्म पनि उच्च तहको ब्यवश्थापनमा त्यहि परिवारका सदस्यहरुको बहुमत छ। कम्पनीको नाम 'तोयोदा' नै नराखेर 'तोयोता' राख्नुमा भने तीन प्रमुख कारणहरु देखाईएका छन्। 

१) जापानी भाषाको काताकानामा 'तोयोदा' लेख्दा दश स्ट्रोक आबश्यक पर्छ भने 'तोयोता' लेख्न आठ स्ट्रोकमात्रै आवश्यक पर्छ। आठ जापानी संस्कृतिमा शुभ मानिन्छ। यसैले कम्पनीको नामको रुपमा तत्कालीन ब्यबश्थापनले 'तोयोता' लाईनै अपनाउने निर्णय गरेछ। यहि 'तोयोता' बिदेशी उच्चारणमा 'टोयोटा' बन्न पुगेको हो। 

जापानमात्र नभएर चीन, ताइवान, हङकङ, कोरीया आदि चिनियाँ साँस्कृतिक प्रभावक्षेत्र भित्रका सबै ठाऊँमा आठ शुभसूचक अंक मानिन्छ।

 २) दोश्रो, 'तोयोदा' नै राख्दा एउटा परिवारको बर्चस्व देखिने र 'तोयोता' राख्दा त्यस्तो कम हुने धारणा रहेछ।

३) तेश्रो, 'तोयोदा' भन्दा 'तोयोता' उच्चारण गर्न सजिलो र श्रुतिमधुर भएकोले।

तलको तस्बीर तोयोताको लोगो हो। यो लोगोको बारेमा पनि गाइडले केहि कुरा गरेकी थिईन्। ती कुराहरुको सारको रुपमा तोयोताको आधिकारिक ब्याख्यालाई यहाँ राख्न चाहन्छु;

The current Toyota Mark consists of three ovals: the two perpendicular center ovals represent a relationship of mutual trust between the customer and Toyota.  These ovals combine to symbolize the letter "T" for Toyota.  The space in the background implies a global expansion of Toyota's technology and unlimited potential for the future.
 थप कुरा यहाँ क्लिक गरेर बुझ्न सक्नुहुन्छ।

शहरको आर्थिक स्तरलाई फेरि उच्च बनाउन तोयोता कम्पनीले दिएको योगदानको कदर गर्दै मार्च १, १९५१ मा कोरोमो शहरको नाम फेरेर तोयोता बनाईयो।

टोयोटा कम्पनी र यससंग जोडिएका अरु साना-ठूला धेरै कम्पनीहरु र उद्योगहरुका कारण टोयोटा शहर एउटा अटोमोटिभ शहर (Automotive City) बनेको छ। टूर गाईडका अनुसार टोयोटा शहरको जनसंख्याको लगभग १० प्रतिशत टोयोटा कम्पनीमा काम गर्छ।

मोतोमाची प्लाण्टभित्र क्यामेरा, मोबाईल फोन लान दिईँदो रहेनछ।

गाडी उत्पादनका मुख्य ४ प्रकृयाहरु (stamping, welding, painting and assembly) मध्ये welding र assembly मात्र आगन्तुकहरुलाई देखाईँदो रहेछ। हाम्रो भ्रमण assembly line बाट शुरु भएको थियो। welding भएर आएको car body मा electronic parts बाट शुरु गरेर ईञ्जिन, सिटहरु, स्टेयरिङ्ग, झ्यालका शिशाहरु आदि धेरै भागहरु क्रमैसंग assemble हुँदै गएको हेर्दा उत्पादन प्रकृयामा लागू गरिएको अधिकतम स्वचालनले जो कोहिलाई पनि प्रभावित बनाऊँछ। भ्रमणको अन्त्यमा welding प्रकृया हेरियो, जहाँ सैयौं रोबोटहरु गाडीलाई (body) आकार दिन खटिरहेका थिए। welding प्रकृया ९६% स्वचालित रहेछ। ती रोबोटहरु हामीले साईन्स फिक्सनमा देख्ने/पढ्ने जस्ता मान्छेकै आकारका (humanoid) निश्चयपनि थिएनन्, तर तन्केर, निहुरेर हतार-हतार काम गरिरहेका तिनीहरुलाई देख्दा साँच्चै मान्छेहरु देखेजस्तो भावना जन्मियो मेरो मनमा। जनसंख्या घट्दै गएको जापानका भावी कामदारहरुको रुपमा यस्ता रोबोटहरुको संख्या अझ बढ्दै जाने निश्चित छ।

समग्र उत्पादन प्रकृयामा तोयोता उत्पादन प्रणाली (Toyota Production System, छोटकरीमा TPS) कसरी लागू भईरहेको छ भनेर गाइडले ब्याख्या पनि गरिरहेकी थिईन्। TPS का दुई प्रमुख धारणाहरु JIDOKA र Just-In-Time (JIT) रहेछन्।

JIDOKA: जापानी भाषाको यो शब्दको सोझो अर्थ 'स्वचालन' हो। गाइडका अनुसार तोयोताको उत्पादन-दर्शनमा यसले Automation with human like intelligence जनाऊँछ।

Just-In-Time (JIT): यसको अर्थ चाहिँ Make what is needed when it is needed, and only as much as needed

Toyota Production System(TPS)Toyota Way औद्योगिक क्षेत्रमा धेरै अध्ययन र चर्चा-परिचर्चाका विषय हुन्। सवा एक घण्टाको भ्रमणमा धेरै जान्न/देख्न निश्चय पनि भ्याईन्न। फेरि तस्बीर खिच्न नपाईने हुँदा आफ्नो सीमित स्मरण-शक्ति बाहेक भर पर्ने अरु कुरा केहि हुन्न। 

गाइडका अनुसार मोतोमाची प्लाण्ट हरेक २ मिनेटमा एउटा कार assemble गरेर निकाल्ने क्षमता राख्दछ। अहिले दिनमा औसत ३०० गाडीहरु बन्छन् रे (मेरो स्मरण गलत छैन भने)। यो मोतोमाची प्लाण्ट चीन, भारत, भियतनाम आदि १३ देशहरुमा रहेका २९ तोयोता प्लाण्टहरुको mother plant पनि हो रहेछ। 

टोयोटा एउटा बिश्व प्रसिद्ध कम्पनी समूह भएकोले यसका बारेमा तपाईँहरु सबैलाई पनि पक्कै केहि न केहि थाहा छ भन्ने कुरामा म विश्वश्त छु। अहिले टोयोटा यसका केहि मोडेलका गाडीहरुमा देखिएको समस्याका कारण अझ बढी चर्चामा छ। एक हिसाबले अहिले टोयोटा यसको इतिहासकै सबैभन्दा कठिन मोडमा उभिएको हुनुपर्छ। यसका गाडीहरुको बिक्री ब्यापक रुपले घटेको छ र चर्चा अनुसार हालै यसले एक जापानी बैंकसंग ३ बिलियन अमेरिकी डलर बराबरको ऋण लिएको छ। गाडीमा देखिएका समस्याहरु र तिनले सृजना गरेका दुर्घटनाका बारे अमेरिकी कंग्रेसले तोयोताका वर्तमान अध्यक्ष आकिओ तोयोदा स्वयँसंग स्पष्टीकरण लियो (आकियो तोयोदा कम्पनी संस्थापक किइचिरोका नाती हुन्।)

तोयोता डुब्नु भनेको यसमा काम गर्ने/लगानी गर्ने लाखौं मान्छेहरुमात्रै डुब्ने होईन, यसकै भरमा चलेका हजारौं अरु साना-मझौला कम्पनीहरु र तिनले सृजना गरेका करोडौं रोजगारीहरु पनि डुब्नु हो। त्यसो भयो भने तोयोता शहर र नागोयामात्रै होईन, पूरै जापानको अर्थतन्त्रमा ठूलो धक्का पुग्नेछ। यसको असर बिश्वब्यापी र ब्यापक हुनेमा पनि शंका छैन।

तोयोता खाइकान म्यूजियम र मोतोमाची प्लाण्ट घुम्दा भने पूर्ण रुपमा सकारत्मक उर्जा मात्रै अनुभव गरें मैले, तोयोतामाथि मडारिईरहेको बादलको कुनै संकेत देखिन। तोयोता आफ्ना समस्याहरुलाई समाधान गर्न र अझ फैलिन समर्थ छ भन्ने अनुभूति लिएर फर्किएँ म।
-----------------------------------------------
र अन्त्यमा खाईकान म्यूजियममा खिचिएका दुई छोटा भिडियोहरु राख्दैछु।

टोयोटाको Concept Vehicle, "i-unit" बारेको प्रदर्शनी।



तल चाहिँ टोयोटाको "Partner Robot" ट्रम्पेट बजाऊँदै। "Partner Robot" हरुको कन्सर्ट हेर्ने धोको भने अझै बाँकी छ।

April 12, 2010

जिन्दगी अब शुरु हुन्छ

छोरीको किण्डरगार्टेनकी प्रिन्सिपल उएदा सान (नाम परीवर्तीत) को जागिरे जीवन गत मार्च ३१ बाट सकिँदै थियो। त्यो ताका म छोरीलाई लाने-ल्याउनेमा परेको थिईँन, त्यसैले उनीसंग मेरो भेटघाट भएन त्यो ताका। सोवितासंग केहि कुराकानी भएको रहेछ। सोविताले "सेन्सेई अब के गर्नुहुन्छ?" भनेर सोध्दा सेन्सेई "'अब के गर्ने?' होईन, 'अब के नगर्ने?' हो।" भनेर हाँस्दै थिईन् रे। उनका "गर्न मन लागेका तर जागिरको कारण गर्न नभ्याएका कुराहरु धेरै छन्।" रे र अब ती कुराहरु, आफ्नो रुचिका कुराहरु, गर्ने रे। उनको 'वास्तविक जिन्दगी' अब शुरु हुन्छ रे।

चार वर्षअघि यस्तै कुराकानी इमाइ सेन्सेई (नाम परीवर्तीत) संग भएको थियो मेरो। इमाइ सेन्सेइको मूल  जागिर/पेशा के हो भनेर मैले सोधेको थिईन, उनी, (म त्यतिखेर बस्ने) शहरमा रहेका बिदेशीहरुका लागि काम गर्ने एक स्वयंसेवी संस्थामा सकृय भएका कारण चिनजान भएको थियो। निवृत्तिभरणमा जाने प्रसंग चलेपछि मैले सोधेको थिएँ, अब यसपछि के गर्नुहुन्छ भनेर। उनको जवाफको आशय पनि उएदा सेन्सेईकै जस्तो थियो। इमाइ सेन्सेइले साठी वर्षबाट शुरु हुने आफ्नो जीवनलाई निबन्धकार (essayist) को 'क्यारीयर' दिने निश्चय गरेकी थिईन्।

यस बीचमा धेरै अरु त्यस्तै मानिसहरुसंग भेटघाट भएको छ मेरो। सबैको सोचाई उस्तै भेटिन्छ, दोश्रो जीवनमा खुशीका साथ जमिरहेकाहरुसंग काम पनि गरेको छु मैले। ल्याबको अफिसका अहिलेका मेरा सहकर्मी खावाखुबो-सान विगत दश वर्षदेखि चराहरुको पछि कुदिरहेछन्। एउटा कम्पनीको जागिरमा ३६ वर्षभन्दा बढी बिताएर सेवानिवृत्त भएपछि उनी चराहरुको तस्बीर खिच्ने आफ्नो बच्चैदेखिको रुचिमा डुबे। उनी अहिले हप्ताको तीन दिन मात्रै काम गर्छन्, त्यो पनि आफ्ना पूराना हाकिम र मित्रको विशेष अनूरोधका कारणमात्रै। नयाँ-नयाँ प्रजातिका चराहरुको खोजीमा उनी जापान र विदेशका जंगली क्षेत्रहरुको भ्रमणमा हिँडिरहन्छन् र उनीसंगको कुराकानी चराहरु र क्यामेराले भरिएको हुन्छ:) अलिक समय अघिसम्म यसैगरी आंशिक समय आउने खावासाकी-सान पनि थिए ल्याबमा। उनी चाहिँ साठी वर्ष भएर सेवानिवृत्त भएपछि बाइक रेसर्स क्लबमा आबद्ध भएका थिए र महिनामा दुई-तीन पटक लामो दूरीका बाइक टूरमा निक्लन्थे।

सामाजिक चिन्तनको यस्तो 'ट्रेण्ड' लाई हुर्काउन/सफल बनाउन दुई कुराको सबैभन्दा बढी महत्व छ शायद। पहिलो, आर्थिक स्थायित्व/निश्चितिता हो। निवृत्तिभरणको आम्दानीले दैनिक जीवन राम्ररी बित्न सक्ने भएपछि आफ्नो 'सपना' को काममा ढुक्कले लाग्न सकिने भयो। दोश्रो चाहिँ, जापानीहरुको स्वस्थ जीवन र लामो आयू हो। धेरै जापानीहरु ९० वर्षसम्म सजिलै बाँच्छन्। ६० बाट शुरु हुने तीन दशकको जीवन पूरै नभएपनि कम्तिमा दुई तिहाईसम्म  शारीरिक/मानसिक रुपमा सकृय हुन गाह्रो हुँदैन उनीहरुका लागि। दुई दशक भनेको छोटो समय होईन, धेरै सृजनात्मक काम गर्न सकिन्छ। एक दशक मात्रैमा पनि धेरै गर्न सकिन्छ।

आधुनिक समाजको एउटा ठूलो रोग यहि हो कि यहाँ धेरैजसो मान्छे आफ्नो रुचिभन्दा बाहिरको क्षेत्रमा रोजगार छन्। ती सबैका 'सपना'हरु भौतिक जीवनको स्याहार-सुसारका लागि 'शहीद' भएका छन्। यसका लागि दोष कसलाई दिने? पारिवारिक/सामजिक चिन्तनको दबाबलाई कि आफैंलाई? यो प्रश्न आफैं धेरै चिन्तन-मननको विषय भईसकेको छ, धेरै साहित्य र कलात्मक रचनाहरुको स्रोत बनिसकेको छ। मैले एक महिना पहिला हेरेको "थ्री ईडियट्स" पनि यस्तै विषयमा रहेछ (तपाईँले पनि हेरिसक्नुभयो होला पक्का पनि)।

अर्कोतिर, आफ्नै रुचिसंग केहि मिल्ने 'जागिर'मा पुगेपनि सबै कुरा आफूले चाहेजस्तो हुन सक्दैन। जागिर भनेको सम्झौताको नाम हो, जसमा लगभग सधैंजसो रचनात्मकता र आत्मसन्तुष्टिभन्दा पैसो माथि पर्छ। यहाँसम्म कि आफ्नै सृजनाका भरमा बाँच्ने लेखकहरु, चित्रकारहरु वा संगीतज्ञ आदि समेतले बजारको नाडी छामेर त्यसै अनुसारको सृजना नगरी बाँच्न गाह्रो हुन्छ।

अचेल मेरो मनमा यस्तो तर्कना अलिक बढी चल्न थालेको छ:) लाग्छ, उएदा सेन्सेई र इमाइ सेन्सेईजस्तै म पनि आफ्नो 'सपना'को जीवन बाँच्न 'बूढेशकाल' कुरिरहेछु:) तर मेरो 'बूढेशकाल' उनीहरुको जस्तै सामाजिक रुपले सुरक्षित, आर्थिक रुपले निश्चिन्त, र मलाई केहि दशकको नयाँ जीवन दिन सक्ने गरी पूर्ण स्वस्थ- यति अवसरसम्पन्न होला-नहोला, त्यो भने अनुमान गर्न गाह्रो छ।

तर सकेसम्म आफ्नो उर्जालाई, आगोलाई जोगाएर राख्ने कोशिशमा भने छु।

र एक दिन म पनि घोषणा गर्नेछु; "जिन्दगी - अब शुरु हुन्छ!":))
********************************************

(सेन्सेई- शिक्षकलाई सम्मानपूर्वक गरिने सम्बोधन। डाक्टरहरुलाई पनि सेन्सेई भन्ने चलन छ।)

April 06, 2010

हानामी - एक उत्सव जीवनको

जापान यतिखेर हानामीको मूडमा छ। पूरै जापान त भन्न नमिलिहाल्ला किनभने साकुरा फूल्ने समय दक्षिणतिरबाट शुरु भएर क्रमैसंग उत्तर लाग्छ। तर आफू बसेको ठाऊँ छपक्कै साकुराले ढाकिएको देखेपछि जापान त के पूरै पृथ्वीनै यस्तै होला जस्तो लागेको छ मलाई।

हानामी (पुष्प दर्शन) जापानी जीवनको एउटा महत्वपूर्ण भाग हो, एउटा प्रमुख उत्सव हो। आठौं  शताब्दीतिरै शुरु भईसकेको मानिन्छ यो चलन। कुन क्षेत्रमा कहिले साकुरा पूरै फक्रन्छ, ('मान्खाई', पूर्ण प्रस्फुटन, full blossom) त्यो सबैको चासोको विषय हुन्छ। कतिपय विशेष उद्यान आदिका साकुराका बोटमा कोपिला देखिएको कुरा राष्ट्रिय समाचार हुन्छ जापानमा। 

ढकमक्क साकुरा फक्रेको समय पारेर हानामी आयोजना गरिन्छ। साकुरा फक्रेको केहि समय पछि झर्न थालिहाल्छ, यसैले समय छोपिहाल्ने हतारो हुन्छ सबैलाई।

छोटो समयको लागि फक्रेर झर्ने सुन्दर साकुरा शायद हाम्रो जीवनको प्रतीक हो, जीवनको क्षणभंगुरताको।  हाम्रो जीवन पनि क्षणभंगुर छ, तर यो सुन्दर छ। जीवन क्षणभंगुर हुनालेनै शायद सुन्दर छ। हानामी त्यहि सुन्दर जीवनको उत्सव हो, क्षणभंगुर भएपनि साकुराजस्तै पूर्ण रुपमा फक्रेर, सार्थक रुपमा फक्रेर जीउने चाहनाको प्रतिबिम्ब हो।

नागोयामा गत शनिबार देखिको केहि दिन हानामीका लागि सबैभन्दा उपयुक्त मानिएको छ यसपालि। मार्चको अन्त्यतिर जाडो बढेकोले साकुरा फूल्न केहि दिन ढिला भयो रे।

शनिबार हामी पनि नजिकैको यामाजाकीगावा (यामाजाकी खोला) को साकुराले छपक्कै छोपिएको किनारै-किनार हिँड्यौँ धेरै बेर। यो ठाऊँ हानामीका लागि नागोयाभित्र नाम चलेका ठाउँहरुमध्ये एक हो। साथमा एकजना परिचित स्थानीय मिजुनो-सान पनि हुनहुन्थ्यो, साकुरा हानामीका बारेमा केहि नयाँ कुरा पनि जान्न पाईयो मिजुनो-सान बाट।

त्यहि दिन खिचेका केहि तस्बीरहरु राख्न चाहन्छु आज। म आफूलाई पेशेवर त के सौखिन फोटोग्राफर पनि मान्दिन, तस्बीरहरुको गुणस्तर एकदम तल्लो छ; त्यसकारण यी तस्बीरहरुलाई त्यसै अनुसार हेरिदिनुहुन अनूरोध गर्दछु:)






हिजो नागोया नजिकैको इवाकुरा भनिने शहरमा आफ्नै श्रद्धेय प्राध्यापकको परिवारका साथ हानामीमा सहभागी हुने मौका मिलेको थियो। तलका दुई तस्बीरहरु इवाकुराको हानामी-स्थलबाट। पछिल्लो चाहिँ रातिको हो। दश दिने रात्रि-हानामीलाई "इवाकुरा महोत्सब (Iwakura Festival)" को नाम दिएर भब्यसंग मनाईँदो रहेछ।

(यो फोटोका लागि सोवितालाई धन्यबाद!)

(हानामीबारे केहि कुरा मैले पोहर यहि ताकाको एउटा टाँसो "यसपालि त अचम्मै भयो गाँठे!" मा पनि लेखेको छु।)

April 01, 2010

संविधान त लेख्छन्, लेख्छन्-----

संविधान त लेख्छन्, लेख्छन्
संविधान त लेख्छन्, लेख्छन्
ल जा, मैले ठोकेर भन्दिएँ-
संविधान त लेख्छन्, लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

प्रश्नपनि आफैं लेख्छन्
उत्तरपनि आफैं लेख्छन्
"त्यसो भए हाम्रो के काम?"
जनता आफ्नै टाउकोमा लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

दिऊँसो सुत्छन् र आधा रातमा लेख्छन्
नामी-नामी दारुको मातमा लेख्छन्
लेख्नु पो ठूलो काम हो, यसैले
आफैंले नबुझ्ने बातमा लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

स्वदेशी भट्टीमा बसेर लेख्छन्
विदेशी 'मट्टी'मा बसेर लेख्छन्
'कन्सन्ट्रेशन' चाहिन्छ हजुर संविधान लेख्न 
यसैले दूतावासको टट्टीमा बसेर लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

दश-दश धारा छिमेकीका लेख्छन्
दश-दश धारा अमेरिका-यूरोपका लेख्छन्
आफ्नु दिमागमा पिँध नभएपछि
अरुले जे भन्यो त्यहि-त्यहि लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

पाँच-सात धारा रामदेवका लेख्छन् 
पाँच-सात धारा पाइलट बाबाका  लेख्छन्
समावेशी लोकतन्त्र जो छ यो हजुर
दुई-चार धारा कालीबाबाका पनि लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

जे लेख्छन्, अब फटाफट लेख्छन्
हुने लेख्दैनन्, नहुने सबै लेख्छन्
काँचो संविधानको नयाँ भोज-
देशको भाग्यमा छेर्पटी लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

हो, सबै मिलेर संविधान लेख्छन्
र भोलिपल्ट पत्रिकामा "हामी मान्दैनौं!"लेख्छन्
बाँचुञ्जेल संविधानकै राजनीति जो गर्नु छ हजुर  
सबै मिलेर सबैले नमान्ने संविधान लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्
संविधान त लेख्छन्, लेख्छन्
ल जा, मैले ठोकेरै भन्दिएँ-
संविधान त लेख्छन्, लेख्छन्!

संविधान त लेख्छन्, लेख्छन्!