March 27, 2010

संगीत, ओशोको संसारबाट



१९९८-१९९९ तिर होला Music from the World of Osho नाम गरेको संगीत संग्रह (क्यासेट) मैले सुन्न पाएको। त्यो संगीत सुन्दाको अनुभूति बेग्लै थियो, अर्कै आयाममा पुगेजस्तो लागेको थियो। र त्यो संगीत सुनिरहँदा जहिले पनि मेरो मनमा एउटा दृश्य स्पष्ट भएर आऊँथ्यो; हुस्सूले छोपिएको एउटा सानो सुन्दर गाऊँको बिहानी, कलिलो घाममा त्यो बस्ती खुल्दै-खुल्दै आईरहेको, हुस्सू बिस्तारै पातलिँदै गईरहेको। कलिलो घाम र पारदर्शी हुस्सूले छोपिएको त्यो सुन्दर गाऊँको पहिलो पटक बनेको आकृति अझै ताजै छ मेरो मनमा। गहन ध्यानबाट जन्मिएको कलाको सौन्दर्य र शक्ति यस्तै हुन्छ शायद।

त्यो क्यासेट केहि दिनपछि फिर्ता गरियो। आफैं किन्न भनेर बजारमा खोज्दा भेटिएन र त्यसै-त्यसै भयो। अहिले यूट्युबमा खोज्दा केहि भेटिन थालेको छ, माथि राखिएको तिनैमध्येको एक हो।

(यूट्युबमै भएपनि) संगीत सुन्दा भिडियो सकेसम्म हेर्दिन म। आज पहिलो पटक भिडियो पनि पूरै हेरेको, दृश्य संग्रह पनि एकदमै राम्रो लाग्यो।

यो भिडियो राख्नुहुने महानुभावलाई हार्दिक धन्यबाद!   

March 21, 2010

आगो र खरानी

नेपाली कांग्रेसका सभापति एवं देशका पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको निधनसंगै हाम्रो राजनीतिको एउटा कालखण्ड सकिएको छ। हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उनको आत्माको चीरशान्तिको कामना गर्दछु।

प्रख्यात बेलायती लेखक H.G. Wells ले कतै भनेका छन्; Leaders should lead as far as they can and then vanish. Their ashes should not choke the fire they have lit (नेताहरुले आफूले सकेजति मात्रै नेतृत्व गर्नुपर्छ र त्यसपछि विश्राम लिनुपर्छ। तिनीहरुले बालेको आगो तिनीहरुकै खरानीले पुरिएर निभ्नु हुन्न।) यो उक्ति धेरै हिसाबले गिरिजाको जीवनमा लागू हुन्छ। गिरिजा प्रसाद कोईरालाको योगदानको, उनका महानता र कमजोरीहरुको लेखाजोखा भईरहेको छ र ईतिहासले गरिरहनेछ; तर एउटा कुरा के स्पष्ट छ भने गिरिजाले बालेको 'आगो' लाई उनकै 'खरानी'ले निभाएको छ र त्यो पनि पटक-पटक।

पटक-पटक अवसर पाउने भाग्यमानी नेताहरु कमै हुन्छन् र गिरिजाप्रसाद तिनै भाग्यमानीमध्येका एक थिए। तर हरेक पटक उनी इतिहालसे उनका लागि छुट्याईदिएको उचाईसम्म उठ्न सकेनन्। उनको निधनपछि महशूश भएको रिक्तता उनको राजनीतिक योगदानको उचाईले भन्दा पनि नेपाली राजनीतिमा छ  दशक भन्दा बढीको उनको उपश्थिति र सत्ता-राजनीतिको दुई दशक लामो हालीमुहालीले गर्दा बढी हो। हामी नेपाली यी दुबैको भेद ठम्याउन सक्दैनौं/चाहँदैनौ; त्यो बेग्लै कुरो हो। मेरा कुरा कसैलाई चित्त नबुझ्न सक्छ, कृपया यसलाई मेरो नितान्त नीजि विचार मानेर पढिदिनुहोला।

२०४२ सालको कुरो हो, नेपाली कांग्रेसको सत्याग्रहलाई रामाराजा प्रसाद सिंहको बमले 'उडाएको' थियो भर्खरै। त्यसकै केहि समय पहिलेबाट कांग्रेसी हस्तीहरु पञ्चायत पस्ने लहर पनि छलेको थियो। मेरो वरपरका केहि पुस्तैनी/खाँट्टी कांग्रेसीहरु "अब मन्त्री पायो भने गिरिजा पनि पञ्चायत पस्छ!" भन्थे। ती 'कांग्रेसी'हरुले किन त्यसो भने, यो कुरामा कत्तिको सत्यता थियो मलाई थाहा छैन। त्यसको चार वर्ष पछि पञ्चायतले हावा खायो र शुरु भयो नेपाली सत्ता-राजनीतिको गिरिजा-युग।

२०४६ सालपछिको संसदीय प्रजातन्त्र संस्थागत र सफल हुन नसक्नुमा धेरै कारणहरु खोज्न सकिन्छ तर एउटा प्रमुख कारणचाहिँ गिरिजाकै सत्तालिप्सा, जाल-झेल र कपटनै हो। गणेशमान र कृष्णप्रसाद भट्टराईबाट शुरु गरेर उनले कांग्रेसभित्र आफूभन्दा फरक विचार राख्नेहरुलाई एक-एक गरी अपमान गर्दै र पन्छाऊँदै गए। प्रजातन्त्रको नारा बोकेको कांग्रेसलाई देशकै सबैभन्दा ठूलो सामन्ती संस्था बनाए उनले र आफू त्यसको महासामन्त बने। नेपाली कांग्रेसको केन्द्रीय समितिमात्र उनको पञ्जामा थिएन, उनी कांग्रेसका जिल्ला र गाऊँ समिति देखि लिएर नेविसंघका इकाइ समितिसम्म हस्तक्षेप गरेर आफ्ना 'हनुमान'हरु लाई स्थापित गर्थे। उनले नयाँ पुस्ताबाट नेतृत्व उदाउने मुहानलाईनै थुन्ने कोशिश गरेका थिए धेरै पटक। उनको नेतृत्वको नेपाली कांग्रेसमा कहिल्यै पनि आन्तरिक लोकतन्त्रको हावा चलेन, त्यहाँ कहिल्यै वैचारिक मन्थन भएन। यसैले हामी अहिले दयालाग्दो स्थितिमा पुगेको, लगभग मेरुदण्डवीहिन भईसकेको कांग्रेस देखिरहेछौं।

सरकार चलाउने कुरामा पनि उनको र उनका आसेपासेहरुको पर्याप्त मनोमानी थियो। बहुदलीय प्रणालीको खुल्लापनमा देशले आर्थिक-सामाजिक गति लिईरहेको बेला उनले आफ्नै दलको बहुमतको सरकार  भंग गरेर मध्यावधि चुनाव आह्वान गरे। त्यो चुनावबाट शुरु भएको त्रिशंकु संसदहरु र एकपछि अर्का अझ नालायक सरकारहरुको लहरले देशलाई छिया-छिया बनायो। त्यतिखेर निर्माण गर्न नसकिएको राजनीतिक संस्कार देशले अझै पाएको छैन। उनी जति पटक प्रधानमन्त्री भएपनि उनको शाशनकाल पनि भ्रष्टाचार र बेथितिका चाङ्गले भरिएको छ। देशका नीति-नियमलाई उनले जहिले पनि धोती लगाईदिए र आफू र आफ्ना आसेपासेलाई जहिले पनि देशका नीति-नियमभन्दा माथि राखे। आफ्नी छोरीका हरेक नाजायज हठ, जिद्दी र कर्तुतलाई देशभन्दा माथि राख्ने उनको धृतराष्ट्र प्रवृत्तिले देशलाई अझै कति डस्ने हो, थाहा छैन।

२०४६ सालको गिरिजाको आगोलाई उनको सत्तालिप्साको खरानीले निभाईसकेको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिईदिनाले गिरिजा र नेपालका सबै दलका सबै नेताहरुले राजनीतिक 'पुनर्जन्म' लिने मौका पाए। प्रतिनिधिसभा पुनर्स्थापनको अडान लिनु र २०६३ को जनआन्दोलनलाई सफलतापूर्वक नेतृत्व दिनुले उनको राजनीतिक उचाई बढ्यो र जनताले पूराना कुरा पनि बिर्सिए। माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन उनले गरेको मेहेनत पनि ज्यादै प्रशंशायोग्य छँदैछ। 

गिरिजाले आफूले बालेको २०६३ सालको त्यो आगोलाई जीवन्त राख्न सक्थे। आन्दोलनको समाप्तिपछिनै उनी अभिभावकको भूमिकमा सर्न सक्थे र सकृय नेतृत्वको जिम्मा नयाँ पुस्तालाई दिन सक्थे। त्यतिखेरको उनको नैतिक बलका कारण बाहिर बसेरै पनि उनी वैचारिक नेतृत्व दिनसक्थे देशको राजनीतिलाई। त्यसपछि पनि कम्तिमा संविधान-सभाको चुनाव सकिएको भोलिपल्टबाट अभिभावकको भूमिकामा बस्नसक्थे उनी। तर समयक्रमले उनमा सत्तालिप्सा झन्-झन् बढेको देखायो। माओवादीलाई सरकारको नेतृत्व सुम्पन उनले गरेको दीर्घ आनाकानी हामीले देखेकै छौं। केहि समययता उनको सत्तालिप्सा उनकी छोरी सुजाताका माध्यमबाट केन्द्रीकृत रुपले प्रक्षेपण भईरहेको थियो।

गिरिजाको निधनपछि देशको शान्ति-प्रकृयाले मियो गुमाएको विचार छ धेरैको। एक हिसाबले त्यो ठिकै पनि हो किनभने प्रचण्ड र माओवादीसंग भएका कतिपय कुराकानी र कथित 'मौखिक सहमति' आफूसंगै लिएर गएका छन् उनले। त्यस्ता मौखिक सहमतिलाई 'लिखित सहमति'मा उतार्न नसक्नु उनको  बेईमानी र कमजोरी दुबै हो। उनले चाहेका भए त्यो अवश्य पनि सक्थे होलान्। त्यस्ता 'मौखिक सहमति' के कति भएका छन्, त्यस बारेमा माओवादीले आत्मा साक्षी राखेर जनतालाई बताईदिए देशको भलो हुनेथियो तर माओवादीबाट त्यस्तो कुराको कमै आशा गर्न सकिन्छ। त्यस्ता मौखिक सहमति हुँदै नभएको पनि हुनसक्छ। 'नेपाल' साप्ताहिकमा केहि समय पहिला एउटा लेख पढेको थिएँ मैले, नेपाली राजनीतिमा गिरिजाको शक्तिलाई नेपाल टेलिभिजनको पुरानो टेलिफिल्म "जनैको साँचो" को पर्याय देखाईएको थियो।  स्थिति त्यस्तै पनि हुनसक्छ। गिरिजा हुँदा-हुँदै पनि गत एक वर्ष देखि देशको शान्ति-प्रकृया जहीँको तहीँ छँदैथियो, अझ ओरालो लागेको हुनसक्छ। 

समस्या गिरिजा बाहेकका हाम्रा अरु नेताहरु पनि हुन्। आफ्ना तुच्छ आग्रह र अहंलाई त्यागेर, देश र जनतालाई सबैभन्दा माथि राखेर खुल्ला दिलले छलफल गर्न सक्दैनन् र उनीहरुलाई सधैं कोहि न कोहि 'मनिटर' चाहिन्छ। गिरिजाको उमेर र स्वास्थ्यका कारण उनको निधन अवश्यंभावी भईसकेको थियो र यो स्थितिमा शान्ति-प्रकृयालाई टुंगोमा पु-याउन उनीबाहेकको संयन्त्रको निर्माण र सशक्तीकरण भईसकेको हुनुपर्थ्यो। कांग्रेसका अरु नेता र माओवादी-एमालेले त्यो 'आँट' देखाउन सकेनन्। 

एक राष्ट्रिय सार्वजनिक ब्यक्तित्व भएका कारण उनका बारेमा यति कुरा, यो बेलामा पनि, गर्ने हक म र सबै नेपाली जनतासंग छ भन्ने ठान्छु म।

फेरि एक पटक हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गर्दछु।
*************************************************
गिरिजाबाट हामीले र विशेष गरी हाम्रा नेताहरुले सिक्नसक्ने कुरा धेरै छन्, जसमा सबैभन्दा प्रमुख वैचारिक-राजनैतिक अडान हुनसक्छ। उनको जस्तो दृढनिश्चय र ईच्छाशक्ति हरेक नेतामा हुनु अनिवार्य छ।

उनको जीवनको नकारात्मक पाटोबाट पनि सिक्न सकिने कुरा धेरै छन्। पहिलो त हरेक नेतामा 'म पनि एकदिन मर्नेछु र मेरा आजका तुच्छ आग्रह र स्वार्थहरु मसंगै एकदिन बाग्मतीमा बग्नेछन्।' भन्ने बोध हुनु अति आवश्यक छ। हाम्रो राजनीति यस्तरी कुरुप हुनुको कारण त्यसमा यो आध्यामिकताको अंश नभएर हो।

अर्को, हरेक दलको नेतृत्वले सधैंभरि 'बूढो गोरुले गाई ओगट्ने' नगरी नयाँ नेतृत्वको, युवा नेतृत्वको विकासमा सघाउनुपर्छ र उसलाई अवसर र चुनौतीहरुले खारिन दिनुपर्छ। एउटा ब्यक्ति या समूहको नेतृत्व क्षमताको परख गर्न बढीमा दुई पूर्ण कार्यकाल हेरेपुग्छ, मृत्युनै कुरिरहनुपर्दैन। हरेक नेताले,  हरेक पुस्ताले एउटा निश्चित बिन्दूमा पुगेपछि सत्ताको दौडबाट आफूलाई अलग गर्ने आँट देखाउन सक्नुपर्छ।

गिरिजापछिको कांग्रेसले यो मामिलामा कुन बाटो लिने हो, समयले देखाउला तर कांग्रेसबाहेकका दलहरुमा पनि स्थिति खासै उत्साहजनक छैन। माओवादी विगत दुई दशकदेखि विना महाधिवेशन तदर्थ चलिरहेछ। युद्ध हाँक्न प्रचण्ड सबैभन्दा सक्षम थिए होलान् तर खुल्ला राजनीतिका लागि उनी चरम रुपले असफल देखिईसकेका छन्। एक हिसाबले 'जनयुद्ध' ताकाको प्रचण्डको आगोलाई त्यसपछिको खरानीले निभाईसकेको छ। माओवादीलाई नयाँ नेतृत्वको आवश्यकता छ, तर माओवादीभित्र प्रचण्डको स्थिति शायद कांग्रेसभित्र गिरिजाको जस्तै गरी स्थापित गरिसकिएको छ र सहजै नेतृत्व परीवर्तन नहुने सम्भावना छ। त्यो एउटा दुखद सम्भावना हो।

आन्तरिक लोकतन्त्र अलिक जीवन्त भएको एमाले (तत्कालीन माले) मा पनि रहस्यमय मदन-आश्रित हत्याकण्डपछि माकुनेको एकछत्र राज भयो। आफ्नै समकक्षी नेताहरु र कार्यकर्तलाई जुधाई-जुधाई माकुनेले १५ वर्ष बिताईदिए र एमालेलाई पत्रु बनाईदिए। संविधानसभाले एमालेलाई तीस सिटे मिनिबसको औकातमा नझारिदिएको भए उनी गिरिजाकै पारामा जीवनभरी एमालेका सर्वेसर्वा बन्थे होलान्। गत बुटवल महाधिवेशनले गरेका वाचा पूरा भए भने केहि आशा गर्न सकिएला एमालेबाट।

March 16, 2010

अपाङ्गता र समाजको दायित्व

दुई हप्ता हुन लाग्यो नाकाता (नाम परिवर्तित) हाम्रो शाखामा आएको। यो कम्पनीमा उसले काम गर्न थालेको पाँच वर्ष भएछ। यस अघिसम्म ऊ नजिकैको अर्को शहरमा रहेको शाखामा कार्यरत थियो। कम्पनीको छ महिना पहिलाका आन्तरिक मेमोहरु र सेफ्टी मिटिङ्ग (safety meeting) का माईन्यूटहरु हेर्दा नाकाताका बारे धेरै चर्चा भेटिन्छन्। कुनै प्लाण्टको कन्भेयर बेल्टसंग सम्बन्धित एउटा गम्भिर दुर्घटनामा परेको थियो ऊ। फरक शाखाको मान्छे भएको कारण त्यति ध्यान गएको थिएन मेरो र सीमित जापानी क्षमताका कारण धेरै कुरा बुझेको पनि थिईन मैले त्यतिखेर।

अहिले देख्छु, उसले देब्रे हात गुमाएको रहेछ त्यो दुर्घटनामा। उपचार सकिएपछि  ऊ काममा फर्कियो। एउटा हात नभएपछि उसले गर्न सक्ने काम निश्चित रुपमा केहि सीमित हुने भए, त्यसैले उसले गर्न सक्ने काम खोज्ने क्रममा कम्पनीले हाम्रो शाखामा पठाएको रहेछ। 

छ महिना पहिलासम्म दुबै हात भएको मान्छे अहिले एक हातबिनै काममा फर्किनुपर्दा उसको मनमा कस्ता भावनाहरु गुज्रिरहेका होलान्, त्यो म कल्पनासम्म पनि गर्न सक्दिन। निश्चित रुपमा एउटा गहिरो पिडा हुनुपर्छ उसको मनमा। तर उसको अनुहार हेर्दा त्यो बिल्कूल देखिँदैन, हँसिलो अनुहारको देखिन्छ र रमाईलो पाराले कुराकानी गर्छ। बितिसकेको समयलाई बितिसकेको समयको रुपमा सहज स्विकार गर्न र यसपछिको दिनचर्याका लागि आफूलाई तयार पार्न दत्तचित्त देखिन्छ ऊ। एक हात बिनाको नयाँ जीवनको शुरुवातमा छ ऊ र लगनतापूर्वक यसका लागि आवश्यक सीपहरु सिकिरहेछ। 

मेरा मामाको एउटा खुट्टा कमजोर छ, उहाँ विशेष खाले लठ्ठी (परम्परागत बैशाखी) का भरमा उभिने र हिँड्ने गर्नुहुन्छ। सहयोगी परिवारजनका कारण उहाँलाई  सघाऊ पुगेको निश्चय पनि छ, तर पनि जिन्दगीका धेरै कर्महरुमा उहाँले भोग्नुपरेका अप्ठेराहरु हामीले देखेका छौं। यसबाहेक शारीरिक अशक्ततालाई नजिकबाट देखेको थिईन मैले। अहिले छिमेकी टेबलमा काम गरिरहेको नाकातालाई देख्दा, उसले भोगिरहेको असहजतालाई देख्दा लाग्छ हामीले त्यति धेरै ध्यान नदिने  कुराको कति महत्व रहेछ। कति कुरालाई हामी स्वाभाविक र आफ्नै हकको (take as granted) मान्छौं,  तर हाम्रो शारीरिक स्थितिमा केहि परीवर्तन आउनसाथ सबै कुरा कति फरक हुन पुग्दा रहेछन्!

नाकाता दाहिने हात चलाउने मान्छे हो र उसले गुमाएको हात देब्रे, उसले देब्रेको सट्टा दाहिने हात गुमाऊँदा स्थिति अझ जटिल हुनसक्थ्यो भन्न पनि सकिन्छ तर देब्रे हातको दाहिने जत्तिकै महत्व रहेछ। केहि कुरा बोक्नु पर्दा दुबै हात चाहिने कुरा हामी सबैलाई बोध छ तर अरु कैयन मसिना काममा सन्तुलन मिलाउने काम झन् महत्वपूर्ण रहेछ। अहिले नाकाताले एक हातले कम्प्युटर चलाएको, एक हातले कागजात स्टिच गरेको, एक हातले कतै मेमो टाँसेको, एक हातले फोटोकपी गरेको, एक हातले कफी बनाएको, एक हातले बेन्तो (लञ्च-बक्स) खोलेको--- देख्दा म आफैंलाई समेत अप्ठेरो लाग्छ। Prosthetic arm को अंकुशले अलि-अलि सहयोग गर्छ तर आफ्नो ईच्छामा चल्ने पाँच औंला भएको स्वस्थ हातजति उपयोगी त्यो अवश्य पनि हुनसक्दैन। 

यस्तोमा अरु कसैले सघाएपनि हुन्छ, तर नाकाता आफैं त्यो चाहदैन, न त उसको भलो चाहने अरु कसैले चाहन्छन्। अरुले सघाउने बढीमा केहि दिन होला, अरुले सघाएकै भरमा जिन्दगी चल्दैन; लोग्ने-स्वास्नीनै भएपनि चौबीसै घण्टा भर पर्न सकिँदैन। उसलाई आत्मनिर्भर हुन सघाउने कुनै पनि चिज किनिदिन भने कम्पनी तयार छ र गर्नुपर्ने यहि हो।

खुशीले अपाङग हुन कोहि पनि चाहदैन। केहि मान्छेहरुमा जन्मजात कमजोरी केहि हुनसक्छन्, केहि दुर्घटना, लडाईँ आदिमा परेर अशक्त बन्न पुग्छन्। एउटा सभ्य समाजले अपाङ्गहरुलाई सबलाङ्गजत्तिकै सम्मानजनक ब्यबहार गर्न सक्नुपर्छ। कुनै एक क्षमता गुमाएपनि बाँकी कुरामा उनीहरु अरुजत्तिकै वा अरुभन्दा बढी सक्षम हुनसक्छन्, अझ उनीहरुमा आफूलाई प्रमाणित गर्ने लगन र जागरुकता धेरै हुन्छ। समाज र देशले उनीहरुको त्यो क्षमता, लगनशीलता र जागरुकताको फल लिनुपर्छ र उनीहरुलाई आत्मसन्तुष्टि र जीवनयापनको आत्मनिर्भरता दिन सक्नुपर्छ।

अरु विकसित समाजहरुको दाँजोमा जापान कहाँ उभिन्छ, त्यो थाहा छैन मलाई, तर जापान धेरै हिसाबले अपाङ्गमैत्री लाग्छ मलाई। स्कूल, अस्पताल, उद्यान, सुपरमार्केट, ट्रेन-स्टेशन आदि सार्वजनिक स्थलहरु सबैमा ह्वीलचेयर लान मिल्ने ब्यबश्था गरिएका छन्। बसचालक आफैं ओर्लेर ह्वील-चेयरमा चढेको यात्रीलाई बस चढाउने, सिट बेल्ट बाँधिदिने गर्छन्, सब-वे र ट्रेन स्टेशनहरुमा स्टेशन माष्टरले त्यसै गरी सघाऊँछन्। दृष्टिवीहिनहरु आफैं छडीको सहाराले बस-स्टप/ट्रेन-स्टेशन पुग्न सक्ने गरी, जेब्रा-क्रसिङ्गहरु पार गर्न सक्ने गरी संकेतहरु राखिएका हुन्छन् लगभग सबैजसो सडकमा। श्रवणशक्ति गुमाएकाहरुका लागि सांकेतिक भाषाका समाचार र कार्यक्रमहरु पनि धेरै देखिन्छन् टिभीमा। सुस्त मनस्थितिका ब्यक्तिहरुलाई  स्याहार गर्ने कल्याणकारी संस्थाहरु पनि धेरै देखिन्छन्। अपाङ्गहरुलाई शहरभरिका सार्वजनिक  यातायात साधनहरुमा भाडा लाग्दो रहेनछ, नाकाताले भनेपछि थाहा पाएको मैले। अपाङ्गहरुलाई गर्ने सामाजिक ब्यबहार पनि राम्रै होला भन्ने मेरो अनुमान छ, नाकातालाई कम्पनीमा गरिएको ब्यबहार हेर्दा।

धेरै दायित्वबाट विमुख भईसकेको हाम्रो राज्य यो दायित्व पूरा गर्ने सवालमा पनि पूरै असफल छ अहिलेसम्म। अपाङ्गहरुलाई समाज र आफ्नै परिवारले समेत बोझ बाहेक केहि मान्दैनन् र अत्यन्त अपमानजनक ब्यबहार गर्छन्। केहि ईमान्दार संस्थाहरुले शारीरिक/मानसिक अशक्तहरुका लागि धेरै कल्याणकारी कामहरु गरिरहेका निश्चय पनि छन्, तर तिनका आफ्नै आर्थिक सीमा हुन्छन्। जबसम्म सरकार/राज्य स्वयंसंग अपाङ्गहरुका लागि स्पष्ट योजना र समन्वयकारी भूमिका हुँदैन, तबसम्म स्थितिमा सुधार आउने सम्भावना कमै हुन्छ।

अरु बिभिन्न उत्पीडित/अवसरवीहिन समूहहरुजस्तै नेपाली अपाङ्गहरु पनि धेरै डलरखेती एनजीओका लागि दुहुना गाई बनिरहेका छन्। कति परिवारमै यस्तो स्थिति छ, कुनै दयालु बिदेशीले अशक्तका लागि नियमित पठाईदिने पैसामा परिवारका सबलाङ्ग सदस्यहरुले मोजमस्ती गर्ने समेत देखिएको छ। यो भन्दा पतित चरित्र अरु के हुनसक्छ???

March 11, 2010

तिम्रो ढुकढुकी

तिम्रो ढुकढुकी

प्रिय, तिम्रो ढुकढुकी सुन्दैछु म-
घना पहाडी बनभित्र कतै
लुकेर बग्ने खोलाको गीत हो यो,
सृष्टिकर्ताले छोडेर गएको
आदिम र अनवरत-
सुन्दर संगीत हो यो;

भारहीन भएको छु म अब-
जिन्दगीको लडाईँमा केहि जितें भने
खुशीको भारी ल्याएर बिसाउन
तिम्रा हातहरु पाएको छु,
जिन्दगीको लडाईँमा कतै हारें भने
आँशुको भारी पोखेर बिसाउन
तिम्रा पाउहरु पाएको छु;

आजै बिलाएँ भने पनि म
यो दुनियाँको आँखाबाट-
तिम्रो अस्तित्वको कुनै छेउमा
मेरो नाम पनि हुनेछ,
तिम्रो धडकनको कुनै भागमा
मेरो धडकनको ध्वनि पनि हुनेछ;

तिम्रो धड्कन सुन्दैछु म
र कल्पनामा तिमीलाई नियालिरहेछु,
प्रिय, तिम्रो ढुकढुकी सुन्दैछु म-
म तिमीलाई पर्खिरहेछु।

(डिसेम्बर १९, २००५; खासुगाई, जापान)

 Image Source: Click Here

यो कविता लेख्दा आर्या अझै आफ्नी आमाको पेटमै थिई। खासमा हामीलाई हुनेवाला बच्चा छोरी हुने हो कि छोरा हुने पनि थाहा थिएन। हामीलाई चासो पनि थिएन, यो एउटा सुखद् 'सस्पेन्स' नै रहिरहोस् भन्ने हामी दुबैको चाहना थियो। त्यतिखेरका हाम्रा डाक्टर योनेमोतोको विचार पनि यस्तै रहेछ।

डाक्टरले अल्ट्रासाउण्डमा बच्चा चलेको देखाउन थालेपछि र बच्चाको धड्कन सुनाउन थालेपछिको कुरा थियो यो। अलिक पछि म बेला-बेला सोविताको पेटमै कान लगाएर बच्चाको धड्कन सुन्थें र चाल अनुभव गर्थें। त्यो एउटा वर्णनातीत रुपान्तरणकारी अनुभव थियो, एउटा आध्यात्मिक अनुभव थियो। आफ्नो बच्चा हुनुको मात्रै होईन, एउटा जीवनभित्र, एउटी नारीको शरीरभित्र अर्को एउटा नयाँ जीवन हुर्किरहेको नजिकबाट देख्न पाउनु एउटा अहोभाग्य मानेको थिएँ मैले। यसलाई एउटा स्वाभाविक र नियमित घटनाको नाम दिएर टार्न नसक्ने भएको थिएँ म। बच्चाको आगमनको प्रकृयासंगै म मेरी जीवनसंगिनी नवमाता र समस्त नारीजगत प्रति अगाध कृतज्ञता भाव र अपार श्रद्धाले भरिन थालेको थिएँ।

त्यतिखेर हामी दुईले गर्ने कुरा स्वाभाविक रुपमा बच्चाकै बारेमा र बच्चाकै लागि हुन्थे। कान थापेर सुनिएका ती धड्कनहरु र हामी दुईका ती अनगिन्ती गुनगुनहरुबाट जन्मिएको हो यो कविता, नवमाता-पिताको मनोदशालाई उतार्ने मेरो सानो प्रयास।

यो कविताको अंग्रेजी अनुवाद मेरो अर्को ब्लग HER WORLD, OUR WORDS मा राख्नेछु। अनुवादको लागि श्वेता बहिनीलाई धेरै-धेरै धन्यबाद!

आर्या पर्सिबाट ४ वर्षकी हुँदैछे। उसलाई जन्मदिनको मंगलमय शुभकामना!

आर्याले आफ्नो आगमनको संकेत दिएपछि शुरु भएको जीवन यात्राको यो नयाँ चरण झन्-झनै रुपान्तरणकारी हुँदै गईरहेछ, किनभने मलाई बच्चाहरु सधैं असाध्यै मन पर्थे र आर्याको संगतपछि ती अझ धेरै मन पर्न थालेका छन्। जाल-झेल, कपट र क्रूरताले भरिएको यो संसार अझै बस्न योग्य यसकारण छ कि यहाँ बच्चाहरु छन्, तिनका निर्दोष आँखाहरु छन्, खुला आकाशजस्ता तिनका मन छन् र तिनका चोखा जिज्ञासाहरु छन्; र यसैले तिनमा नयाँ उडानका अपार सम्भावनाहरु छन्। ।

हरेक बच्चालाई सुखद् बाल्यकाल दिनसक्नुमानै मानवताको भविष्य निर्भर छ, नत्र मानवताका लागि अन्धकार शिवाय केहि छैन।

यो कविता समस्त बच्चाहरुमा नीहित नयाँ उडानका तिनै अपार सम्भावनाहरुमा समर्पण!

March 06, 2010

झारा टार्ने प्रवृत्तिको महारोग

केहि दिन पहिला ब्यवसायी पम्पाटीमाथि खुल्लमखुल्ला गोली-प्रहार गरेर अपराधीहरु भागे। त्यसको दुई-तीन दिनसम्म पत्रिकामा फोटाहरु देखिए, प्रहरीहरु उपत्यका भरिका काला पल्सर मोटरसाईकल र तिनका धनीको खानतलासी गर्दै थिए। कारणचाहिँ के भने, पम्पाटीलाई गोली हान्नेहरु कालो पल्सरमा चढेर आएका थिए रे! यस्तो लाजलाग्दो दृश्य देखेपछि हाम्रो राज्ययन्त्रको सोच्ने क्षमता र तार्किक स्तरमाथि दया लाग्छ जो कोहिलाई पनि।  भोलि कुनै हत्या/घटनामा संलग्नले "ढाका टोपी लगाएको थियो---" भन्ने हल्ला चल्यो भने ढाका टोपी लगाउनेजति सबैलाई समात्ने????

सामान्य मात्रै सोच्ने क्षमता भएको जो कोहिले जान्ने कुरा के हो भने कालो पल्सर चढेर आएका अपराधीहरु, अरुनै केहि चढेर भागिसके, पुलिसले कालो पल्सर चढ्ने जनतालाई त्यसको पर्सिपल्टसम्म दु:ख दिईरहनुको कुनै तुक छैन। फेरि त्यहि मोटरसाईकल लिएर बजार कोहि किन निक्लेला?? अपराधीहरु त्यति 'सोझा'  छन् र? बरु अपराधीहरु प्रहरीकै भ्यान चढेर 'ससम्मान' भागेका पनि हुनसक्छन, घटनाक्रमले प्रहरीको तलदेखि माथिसम्म आपराधिक गिरोहको पकड यथेष्ट भएको देखाईरहेकै छन्। 

देशमा हत्या-हिँसाको श्रृंखलाले झन् कहालीलाग्दो रुप लिईरहेको छ र राज्यको उपश्थितिको बोध कतै छैन। गृह-प्रशाशनको सोच्ने स्तर भने यति घटिया छ। "हगिसकेपछि दैलो देख्ने" यस्तो झारा टराईले अपराधीहरु पक्रिईन्छन् र देशमा शान्ति हुन्छ?

माओवादी द्वन्द्वको उत्कर्षकालमा देशमा संकटकाल लागेको बेलामा यस्तै खाले दृश्यहरु खुब देख्न पाईन्थ्यो राजमार्गमा। तत्कालीन शाही सेना ठाऊँ-ठाऊँमा ढुकेर बसिरहेको हुन्थ्यो र 'चेक'को नाममा जनतालाई खुब सास्ती दिईन्थ्यो। निजी गाडीहरु भने 'चेक'मा पर्दैनथे। 'चेक'मा पर्ने भनेका सस्ता बसमा यात्रा गर्ने उनै गरीब नेपालीहरु हुन्थे। शाही सेनाका जवानहरु रोगीका औषधिका पोका, घर पुगेर शहर फर्कँदै गरेका डेरावालाका दाल-चामल-गुन्द्रुक र सुत्केरीका थाङ्गना-टालाहरु खोतल्दै-ओल्टाईपल्टाई गर्दै 'सुरक्षा जाँच' गरेको झारा टार्थे, मानौं माओवादीका हतियार तिनै औषधिका पोका, दाल-चामलका पोका र थाङ्गनाहरु हुन् र तिनलाई खोतलेपछि माओवादीहरुको विद्रोह साम्य हुन्छ। बाटा-बाटामा महिनौंदेखि शाही सेना 'चेक' गरेर बसेको छ भन्ने थाहा पाऊँदा-पाऊँदै कुनचाहिँ मुर्ख हतियार बोकेर बसमा हिँड्दो हो र?! यति साधारण कुरा सोच्ने फुर्सद नभएको हो कि अथवा 'राजाको काम, कहिले जाला घाम' को झारा टराई हो?

अहिले कालो पल्सर चढ्ने मान्छेका 'दु:खका दिन' देख्दा लाग्छ, हाम्रो राज्ययन्त्रको 'झुर' चिन्तनशैली, दयालाग्दो तार्किक क्षमता र झारा टार्ने प्रवृत्ति जस्ताको तस्तै छ; स्थिति अझ ओरालो लागेको छ। 

हामीकहाँ क्रान्ति र परीवर्तनका नाममा ब्यक्तिहरु मात्रै फेरिईरहन्छन्, संयन्त्र भने सधैं जस्ताको तस्तै रहिरहन्छ। 

March 01, 2010

यस्तो पनि भएछ!

एकजना साथी, गफ गरौं भनेर कैलाशजीको अफिसमा आईपुगिन्। कैलाशजीको चाला देखेर साथी दंग परिछन्! कैलाशजी कुर्सीमा त हुनुहुन्थ्यो तर आँखा चिम्लेर मसिनो स्वरमा एक्लै गफ गर्दै, बेला-बेलामा खित्का छोडेर हाँस्दै अनि कहिले फेरि 'भयो, भयो त्यो त---!' भनेर हात हल्लाउँदै हुनहुन्थ्यो।

साथी: ए--- तेरो दिमागको फ्यूज गयो कि क्या हो?
कैलाशजी: तेरै गयो होला नि---! बेकाराँ डिस्टप गरेर मलाई---।
साथी: के ग-या त्यो बहुला'ले जस्तो? एकोहोरो एक्लै कुरा ग-या छ, खित्का छोडेर हाँस्या' छ---।
कैलाशजी: ए--, केहि नि होईन। यो लोडशेडिङको बेलाँ आफैंले आफैंलाई जोक सुनाएर हाँसिराख्या'।
साथी: तेरो फ्यूज गएकै हो र'च। अनि त्यो "भयो, भयो त्यो त---!" भनेर हात हल्लाएको चाहिँ के नि?
कैलाशजी: ए--, त्यो चाहिँ "त्यो मैले सुनिसक्या' जोक हो, सुनाउनु पर्दैन--।" भनेको नि।

*******************************

बेदनाथ भाइ पनि अचम्मका मान्छे छन्! 

अस्ति छुट्टीमा नेपाल जाँदाको कुरा हो। चार दिनसम्म "ओई बेदनाथ, कहिले आईस् तँ?" भन्ने प्रश्नको जवाफ दिँदा-दिँदा बेदनाथ भाइ हैरान भईसक्या रहेछन्। कतै निक्लनु नपरे हुन्थ्यो भनेको, त्यसको भोलिपल्ट एकजना नातेदारकहाँ बिहे परेको रहेछ, नगई भएन। त्यहाँपनि मान्छेलाई उहि जवाफ दिनुपर्ने भयो भनेर दिक्क मान्दैथिए भाइ।

बिहेघरनिर पुग्नासाथ त अचम्म पो गरे गाँठे यिनले! कोट छेऊमा राखेर र शर्टका बाहुला सारेर फिलिममा जस्तो "हा-- हु---याऽऽऽऽऽऽऽऽ" गरेर ठूल्ठूलो स्वरमा कराऊँदै कराँते-कम्फूको पोज पो देखाउन थाले। नजिकैको बिजुलीको पोलले तीन-चार दनक किक पनि खायो यहि मेसोमा:)

तिनको चाला देखेर बिहे घरका जन्ती र घर-गाऊँले सबै त्यतै ओईरिए, बेहुलो पनि आईपुग्या' थिए रे रमिता हेर्न, बेहुलीचाहिँ के गरिन् कुन्नि:)

सबै आईसकेपछि बेदनाथ भाइ रोकिए, शर्टका बाहुला मिलाए र कोट लगाए। अनि नेताले जसरी भाषण गरे, "मान्छेपिच्छे जवाफ दिनुभन्दा सबैलाई एकैचोटि सुनाऊँ भनेर। म नेपाल आएको पाँच दिन भयो!"

*********************

होली खेलिसकेर कोठामा पस्न पनि पाएका थिएनन् अशेष भाइ, कसैले ढोका ढक्ढकाई हाल्यो। ढोका खोलेर हेरेको, उनै कविजी, ल परेन अब फसाद:) अशेष भाइ ढोका खोलेर मसिनो स्वरमा भुन्भुनिँदै भित्र पसे, कविजी पनि पछि-पछि आएर सोफामा घ्याच्च बसे।

"आज पनि बाबुलाईनै कविता सुनाउनु पर्ने भयो!" कविजीले कापी खोलिहाले। चिया बनाएर खाउञ्जेलसम्म कविताले अशेष भाइलाई पनि राम्रै 'ट्रिप' दिएछ। होलीको भाङमा यो अमूर्त कविता मिसाएपछि एकछिनचाहिँ गज्जबै हुँदो रहेछ:))

"बाबुलाई निकै मन परेजस्तो छ नि कविता!----" कविजीले फागुले रंगिएको बोके दाह्री मुसारे।
"अँ, मन प-यो।" अघि होली खेल्दा भेटिएकी केटी सम्झेर आँखा चिम्लिरहेका अशेष भाइको मुखबाट फ्याट्ट निस्किहाल्यो, मन प-या' चाहिँ कविता हो कि केटी हो रामजाने। त्यसो त केटीको नामै कविता पनि हुनसक्छ:))
"अनि बाबुले के बुझ्यौ, ल भन त!"
"खोई, मैले त केहि बुझिन।" अलिक झर्केजस्तो गरेर अशेष भाइले जवाफ दिए।
"तब न म नम्बरी कवि! बाबुजस्तो पढेलेखेको मान्छेले समेत नबुझ्ने कविता लेख्ने म ठूलो कवि होईन त?"
"त्यो त होला अंकल, तर म झन् ठूलो कवि---"
"कसरी, कसरी???"
"तपाईँ ठूलो कवि, तपाईँले लेखेको अरुले बुझ्दैनन्; मैले लेखको त झन् म आफैंले बुझ्दिन। अनि म झन् ठूलो कवि भईँन? ---"

त्यसपछि लुसुक्क बाहिर निक्लेका कवि-काका तीन महिना यता देखिएका छैनन् रे!
*********************************************

Image Source: Click Here

यहाँहरु सबैको जय होस्!
--------------------------------------------------------

नेपाली ब्लगरहरु:सन्तान थरी-थरीका