December 16, 2010

पारसको नयाँ 'गोलीलीक्स'

ह्वीस्की निलेभन्दा छिटो गोली 'लीक' गर्ने खान्दानी बानी बोकिबक्सेका पारस 'सरकार' बाट फेरि अर्को 'गोलीलीक्स' अध्यायको मञ्चन भएको छ। गणतन्त्र भयो भनिएको देश अझै यस्ता पत्रु पात्रहरुका हर्कतका वरिपरि रिङ्न बाध्य छ। थुक्क यो काँचो गणतन्त्रको भाग्य!

द्वन्द्व र घम्साघम्सी पुराना सरकार र नयाँ सरकारको बीचमा छ, र पो यत्रो हल्लाखल्ला छ। पारसको हावा फायरले कुनै अदना नेपालीका कानका जाली चर्किएका भए वा अझ त्यो सोझो नेपालीको ईहलिला सकिएकै भएपनि केहि हुनेवाला थिएन। त्यो नेपाली 'गुमनाम' तथ्यांकको एउटा अंकसम्म हुनसक्थ्यो बढीमा शायद। तर कानका जाली 'पवित्र' गराउने 'सौभाग्य' पाउने परे रुबेल चौधरी।

मलाई रुबेल चौधरी कुनै प्रभावशाली विदेशी र सुजाताका ज्वाईँसम्ममात्रै लाग्थे। उनीपनि कुनै गिरोहनै होलान् भन्ने लागेको थिएन, यसअघि उनका बारेमा धेरै कुरा सञ्चारमाध्यममा आएका पनि थिएनन्। आज एउटा पत्रिकामा उनका 'पवित्र' कामहरुको नालीबेली दिईएको रहेछ। पत्रिकाका कुरा पत्याउने हो भने, उनीपनि नेपाललाई तन्नम बनाउन कस्सिएर लागेका खलनायकहरुमध्येका ठूलै खलनायक पर्दारहेछन्। टाईगर टप्सको हावा गोलीकाण्ड यसैले नेपालका खलनायकहरुको द्वन्द्व हो। हाम्रो भाग्य, दुईटा खलनायकहरुको झगडाको रमिते बस्नु परेको छ हामी। पत्रुभन्दा पत्रु सिनिमामा पनि झगडा नायक र खलनायकको हुन्छ, एउटा विकल्पको रुपमा नायक सधैं उपलब्ध हुन्छ, तर हाम्रो देशको भाग्यमा नायकको विकल्प अझै देख्न पाईएको छैन।

रुबेल अरु कुरामा जस्ता भएपनि (उनका अपराधहरुको खोजीनीति गरेर दण्ड दिइनुपर्छ, त्यसमा कुनै शंका छैन), यो घटनामात्रै हेर्दा भने दोष पारसकै हो र कानूनमा चलेको देशमा हो भने पारसले केहि वर्ष खोरको हावा खानुपर्ने थियो। भर्खरै पढें, छ्वालीखुट्टे सरकारले पारस 'सरकार'लाई रिहा गरीसकेछ र पारसको जयजयकार र स्वागत भईसकेछ पोखरामा। नेपालमा राजतन्त्र फेरि फर्कन त्यति सम्भव नहोला, तर पारस नेता हुने छाँट आईसक्यो अब। एकदिन पारसको नेतृत्वमा सरकार बनेको र हाम्रा नेताहरु उनका मन्त्री बनेको पनि देख्न पाईने छ। यो अजीबको देशमा जे पनि हुन्छ!

पारस-पक्राउको विरोधमा सडकमा 'गोली हान्न पाउनैपर्छ!' भनेर नारा लगाउने राजावादीहरुको कुरो त छँदैछ, एकथरी मान्छेहरु कांग्रेस र सुजाताको रिसमा 'सौताको रिसले पोईको काख मुत्ने' काम पनि गरीरहेछन्। यो 'काख मुत्ने' काम निकै तल्लो तहका नेताहरुसम्म पनि जाँदो रहेछ। हिजो दिऊँसो मैले आफू कार्यरत क्याम्पसको स्ववियूका एक पदाधिकारीले क्याम्पसको मूलढोकामा टाँसेको प्रेस-विज्ञप्ति पढेको थिएँ। त्यहाँ 'पारससंग नेपालको राजनीतिको कुरा गर्नु रुबेल चौधरीको अपराध हो। एउटा विदेशीलाई नेपालको राजनीतिको कुरा गर्ने अधिकार कसले दियो?' भन्दै रुबेललाई त्यसै आरोपमा कारबाही गर्ने माग गरिएको थियो। यहि तर्कका आधारमा हेर्दा त अनमिनपूरैलाई कारवाही गरे भयो, नेपालको राजनीतिको कुरो त्यसले भन्दा बढी कसले गरेको छ:)

खैर, हामी अभागीको यो अभागी देशमा कुनै 'चमत्कार' नहुञ्जेल पारसले 'गोलीलीक्स' गरीरहनेछन् र रुबेलले देशका ५० करोडहरु चपाईरहेनछन्।

भगवानले हाम्रो रक्षा गरुन्!

6 comments:

  1. भगवान भरोसा भन्नु बाहेक अरु केही उपाय देखिँदैन ! दुवै खलनायक परे, तर उनीहरुकै जयजयकार गर्नुपरेको छ । मलाई शीर्षक पनि साह्रै घतपर्यो है, "पारस को नयाँ गोलीलिक्स" !!!

    ReplyDelete
  2. छ्वालीको खुट्टाको प्रसंग साह्रै घत लाग्यो ।

    अब छ्वाली खुट्टे सरकारले पारस "सरकार" लाइ त रिहा गर्यो नै, साँढे जत्रो भार थाम्न सक्ने प्रश्नै थिएन । यतिबेला रुबेल माथि अनुसन्धान र कार्यबाही गर्न मिडिया र नागरिकले गरेको आग्रह या दबाब पो कसरी थाम्ने हो ? हेर आपद ।

    ReplyDelete
  3. देशको परिस्थितिको यथार्थ चित्रण गर्नु भएको छ.धन्यवाद.बिल्कुल दयनीय परिस्थिति छ,आफुले कही गर्नपनि सकिन्न.भित्र-भित्र मुटु पोली राख्छ.राजनीतिक दलहरूले यौटा चक्रब्युह जस्तो बनाएका छन् ,आसाको कुनै किरणपनि देखिंदैन.

    ReplyDelete
  4. साँच्चै चित्त बुझ्यो दाइको लेख पढेर । शिर्षकमा म पनि आकार जी को पछि लागे । वास्तबिक कुरा खोतल्नु भयो म पनि दैनिक पत्रिकाहरु पढेर अचम्मित थिए अझ माइ सन्सार भित्र पारसको बारेमा र रुवेलका बारेमा लेखिएको लेखको कमेन्टहरु हेरेर त बेहोसै भएकि थिए । लाग्यो हामी नेपालीको कान नछामी कागको पछि लाग्ने बानीले गर्दा नै पनि देशको यो हविगत भै रहेको छ । साच्चै यस्तै चलि रह्यो भने पारसकै नेतृत्वमा सरकार गठन नहोला भन्न सकिन्न । अझै कतिन्जेल चल्ने हो यो सिलसिला । आफैलाई सोध्न मन लाग‍्छ सतिले सरापेकै हो त हाम्रो देशलाई ???

    ReplyDelete
  5. एकदमै सटिक टिप्पणी गर्नुभयो सर। जसले जे-जे खोल ओढ्याए पनि यो सबै हल्लीखल्ली पुरानो र नयाँ 'राजकुमार' बीचमा रक्सीको उन्मादले निम्त्याएको घम्साघम्सी बाहेक केही नभएको प्रष्टै छ। त्यसमाथि यो 'गोलीलिक्स' प्रकरणले कानुनी शासनको थप धज्जी नै उडाएको छ, भलै केही उपबुज्रुकहरु कानुनी शासन र गणतन्त्र संस्थागत भएको भद्दा जोक गर्न पनि पछि परेका छैनन्। यो समग्र प्रकरणको एउटा सकारात्मक पक्ष चाहिँ 'नवराजकुमार' बेनकाब हुनुलाई मान्नुपर्ला। नत्र त सरले भनेजस्तै रूबेललाई कुनै प्रभावशाली विदेशी र सुजाताको ज्वाईँभन्दा बढी आममान्छेले कहाँ पो चिनेका थिए र!

    ReplyDelete
  6. बसंत बो, तपाई जापानबाट फर्किसकेको ?
    अनि ब्रो तपाई आफुले अघाउजी जाड रक्सी खाएर अहिले बैराग लाग्यो भन्दैमा अरुले पनि जाड रक्सी खान नपाउने ?
    तपाई आफु हाहू गर्न नसक्ने अनि अरुलाई पनि गर्न नपाउने भन्ने ?
    तपाईले आफुले बन्दुक देख्या छैन भन्दैमा अरुलाई पनि भटटट गर्न प्रतिबन्ध लाउन खोजने ?
    तपाई येस्तई ठीस कुरा गर्न जापान बाट फर्केको ?
    तपाईलाइ मन पर्दैन भने फेरी जापान तिरै लाग्नुस ब्रो
    हाम्लाई येस्तई मजा लाग्छ
    हाम्रो मनोरंजन को अधिकार नाखोस्नोस
    धन्यबाद छ पारस र रूबल दुबैलाई
    बोर भैराथ्यो
    भरपूर मनोरंजन दिएकोमा

    ReplyDelete