September 25, 2009

बडा दशैं-२०६६ को हार्दिक मंगलमय शुभकामना!!!


Image Sorce: Click here 

विजया-दशमी २०६६ को उपलक्षमा यो ब्लगमा पाल्नुहुने समस्त माहानुभावहरु र परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु!!!


यहाँहरु सबैको जीवनमा सधैंभरी सुख, शान्ति, समृद्धि र सफलता छाईरहोस्!!!

 
Image source: Click Here

एउटा सानो कोसेलीको रुपमा, पोहरनै यो ब्लगमा टाँसिसकेको कविता "जब लुकी-लुकी चियाऊँछ रंगीन शरद" पाठ गर्दै बिदा हुन चाहन्छु यस पटक।

हस् त फेरि एक पटक तपाईँ र परिवारजनमा बडा दशैं-२०६६ को हार्दिक मंगलमय शुभकामना!!!







RANGEEN SHARAD - Basanta Gautam

September 23, 2009

ओलीको बोलीको गोली

एमाले नेता केपी ओली जापानमा थिए केहि दिन। नागोयमा पनि उनीसंग अन्तर्कृया कार्यक्रमको आयोजना भएको थियो, १९ तारीख शनिबार साँझ। त्यो कार्यक्रममा भाषणबाजी बढी र वास्तविक अन्तर्कृया (प्रश्नोत्तर) कम भयो भनेर भोलिपल्ट बिहानको कार्यक्रम (पूर्व-योजना अनुसार जुन एमाले-जापानको कार्यकर्ता-प्रशिक्षण थियो) मा पनि सबैलाई  डाकिएको थियो। आईतवार गुँड सर्ने मेसोमा थिएँ, त्यसैले जाने कुरो भएन। गुँड नसर्ने भएपनि नेताका उनै पुराना कुरा सुन्न नजानका लागि कुनै बहाना त खोज्नेनै थिएँ, निम्तो दिने साथीहरुको निम्तो टार्न, गुँडका कारण 'झूटो' बोल्न परेन:)

केपी ओलीका बारेमा मेरो जानकारी कम छ। आफ्नो सीमित बुझाईका आधारमा, केपी ओलीको तुलनात्मक स्पष्टवादिता मलाई मन पर्छ। उनको स्पष्टवादिताकै कारण माओवादी उनीमाथि खनिएर लागेको छ सधैं। एमालेभित्रका 'माओवादी केन्द्रीय नेता' वामदेवझैं माओवादीका सामु 'त्वं शरणं' नगरेका र झलनाथलेझैं जटिल र अमूर्त शैलीमा चेपारे कुरा नगर्ने हुँदा माओवादीलाई केपी ओली मन नपर्नु स्वाभाविक हो।

केपी ओली र त्यो पुस्ताका नेताहरुले संघर्ष गरेका पक्कै हुन् र आफ्नो ब्यक्तिगत जीवनको एउटा लामो चरणलाई बलिदान गरेकै हुन् तर देश संघर्ष र संक्रमणको चरणबाट अझै पार हुन सकेको छैन। स्थिति उल्टो झन्-झन् गम्भिर हुँदैछ। स्पष्ट भएर भन्नुपर्दा, त्यो पुस्ताको नेतृत्व अथवा अहिलेको राजनीतिको केन्द्रमा जो-जो छन्, उनीहरुलाई सफल भन्न सकिने दिन अझै आएको छैन। भन्न त कत्रा-कत्रा क्रान्ति ग-यौं, राजा फ्याँक्यौं, यो ग-यौं र त्यो ग-यौं भन्लान् तर राजनीतिक परीवर्तन मात्रै हुँदैमा केहि हुने होईन; जनताको पेट भरिने पनि होईन, देश निर्माणको चरणमा जाने पनि होईन र जनताले सम्मानजनक जीवन बाँच्न पाउने पनि होईन। राजनीतिक परीवर्तन र कथित क्रान्तिहरुले जबसम्म शान्ति, आर्थिक विकास र निर्माणको चरणमा देशलाई लान सक्दैनन् तबसम्म तिनको केहि अर्थ हुँदैन, चाहे ती जतिसुकै चर्का र कर्णप्रिय नाराका खोल ओढेर सम्पन्न भएका किन नहुन्।    

खैर यी कुरा छोडौं र लागौं कार्यक्रमतिरै। लगभग दुई-घन्टा लामो कार्यक्रममा जापानवासी नेपालीका तर्फबाट बोल्ने केहि साथीहरुमध्ये म पनि एउटा थिएँ। बोल्नुपर्ला भन्ने मलाई लागेको थिएन, त्यसैले तयारी पनि थिएन। बढीमा तीन चार मिनेट खोकें हुँला मैले। सबै नेपालीझैं देशको बिग्रँदो स्थितिप्रतिको चिन्ता र खबरदारी सुनाउने न हो नेताहरुलाई!

केपी ओलीजीको भाषणको बारेमा म कुरा नगरौं, ईच्छा छ भने यहाँ गएर पढ्न सक्नुहुन्छ केहि विवरण। 'ईच्छा छ भने' किनभने नेताहरुका भाषण सुनी-सुनी तपाईँहरुको कान पाकिसकेको हुनसक्छ:) ब्यक्तिगत रुपमा भने मलाई यो भाषण राम्रै र तर्कपूर्ण लागेको हो।

भाषणबाजीपछि सहभागीबाट आएका दुईटा प्रश्नको उत्तर पनि दिएका थिए ओलीले। पहिलो प्रश्न नेता  ओलीले आफ्नो भाषणमा ब्यक्त गरेको "बन्द-हड्तालजस्ता कुरालाई प्रतिबन्धनै नलगाई नेपाल बन्दैन" भन्ने बिचारसंग सम्बन्धित थियो। प्रश्नकर्ता साथीको प्रश्न एकदम सटीक र आवश्यक थियो; "त्यसो हो भने एमालेले आफूले अब बाट बन्द-हड्ताल नगर्ने प्रतिबद्धता देखाऊँछ त? र आफ्ना कार्यकर्ताहरुलाई त्यसै अनुसारको कडा निर्देशन दिन्छ त?"। यो प्रश्नको अत्यन्त अमूर्त र दार्शनिक जवाफ मात्र पाईयो-चीन-भियतनामको प्रसंग मिसिएको एउटा लामै ब्याख्यान। नेताज्यूको उत्तर सकिएपछि मैले फेरि मूल प्रश्न  "त्यसो हो भने एमालेले आफूले अब बाट बन्द-हड्ताल नगर्ने प्रतिबद्धता देखाऊँछ त? र आफ्ना कार्यकर्ताहरुलाई त्यसै अनुसारको कडा निर्देशन दिन्छ त?" नेताज्यूलाई सम्झाएँ र एमालेले विगतमा गरेको बन्द-हड्ताल-तोडफोड, अझ अस्तिमात्रैको त्रि-चन्द्रको गोली-काण्ड पनि सम्झाएँ। नेताज्यूको जवाफ अनुसार विगतमा एमालेले गरेका बन्द-तोडफोड आदि, शान्तिपूर्ण आन्दोलनलाई सरकारले नसुनेपछि र दमनमा उत्रिएपछि बाध्य भएर अन्तिम विकल्पको रुपमा गरिएका हुन् रे! यस्तो तर्क सबै नेता र दलले - छुट्टै देश माग्ने गोईत र ज्वाला सिंहसमेतले दिन्छन्। यो सबैलाई थाहा भएकै कुरो हो कि आफू बलियो भएको बेला ताण्डव-नृत्य देखाउन एमाले कोहिभन्दा कम छैन र बन्द-तोडफोड गर्न र आन्दोलनको शुरुवातनै रेलिङ्ग भाँचेर गर्न एमाले कार्यकर्ताहरु पोख्त छन्। त्रि-चन्द्रको गोलीकाण्डको बारेमा भने नेताज्यूको यस्तो प्रतिकृया थियो, "अचेल सबै नेपालीले कुनै न कुनै दलसंग आफूलाई जोडेका हुन्छन्, कोहि माओवादी, कोहि कांग्रेस, कोहि एमाले, कोहि फोरम आदि। त्रि-चन्द्रमा गोली काण्ड मच्चाउने मध्येको कोहिले आफूलाई एमाले भन्यो होला, तर एमाले कार्यकर्ताले त्यो काण्ड मच्चाएको होईन।" यो पनि हामी झुक्किन्छौं भनेर फ्याँकिएको एउटा अर्को 'बाठो' तर्क बाहेक केहि पनि होईन। बन्द-हड्ताल नगर्ने एमालेको भावी 'नीति(?)' को बारेमा एउटा झिनो प्रतिबद्धता भने झ-यो यस पटक। तर ब्यबहारमै नदेखी कसले पत्याऊँछ?!

अर्को एउटा प्रश्नमा माओवादीले शुरु गरेको 'झण्डा फेर्ने राग' को बारेमा नेताज्यूको ब्यक्तिगत धारणा सोधिएको थियो; स्पष्ट असमहतिको जवाफ आयो।

साँझ सात बजेपछि ओलीज्यू नागोयाका मेयरद्वारा आयोजित रात्रिभोजमा जानुपर्ने हुँदा कार्यक्रम सकियो।

हाम्रो 'रात्रिभोज' चाहिँ कार्यक्रम भएकै पूजा नेपाली रेष्टूरेण्टमा 'भब्यताका साथ' सम्पन्न भयो:)

यो 'रात्रिभोज'मा मेरो राजनीतिक (दलीय) आस्थाका बारेमा पनि अलि-अलि कुरा निकाले केही हितैषी साथीहरुले। धेरै पटक यस्तै भएपछि मलाई झोंक चल्न थालेको छ अचेल:) अस्कलको विद्यार्थीको रुपमा जिन्दगीका पौने-तीन वर्ष जसको घोडा भएर हिँडेपनि विगत १७ वर्ष यता म नेपालका कुनै पनि दलको घोडा होईन र म आफ्नो विवेक र चेतनाका आधारमा विश्लेषण र कसैको समर्थन वा विरोध गर्ने एउटा सामान्य नेपाली मतदाता हुँ। मलाई के लाग्छ भने कुनै पनि ब्यक्तिमा राजनीतिक सचेतता हुनु अति जरुरी छ, तर सबै मान्छे कुनै दलको घोडै हुनुपर्छ भन्ने जरुरी छैन।

म के हुँ-किन हुँ र के होईन-किन होईन भनेर अस्कल कालदेखि हालसम्मका कुरा खोतलेर एउटा टाँसो हान्दिऊँ जस्तो झोंकले पनि जरा गाडेको छ मनमा:)
 

September 18, 2009

झण्डा भनेको देश हो!


एउटा देश बन्न भूगोलको जरुरत हुन्छ त्यो पक्का हो तर देश भावनामा पनि हुनुपर्छ। भावनामा नभएको देश आत्मा नभएको शरीरजस्तै हो, जो जत्रो र जस्तो भएपनि कहिल्यै जीवन्त हुँदैन। यहूदीहरु सैयौं वर्ष भूगोलमा देशवीहिन भएर बाँचे तर उनीहरुले भावनाको देशलाई कहिल्यै मर्न दिएनन्, त्यो ज्योतिलाई जागै र ज्यूँदै राखिरहे। उनीहरुको फेरि बनेको भूगोलको देश, इजरायलले जति प्रतिकूलताहरु शायद यो संसारका कुनै पनि देशले झेलेका छैनन् तर पनि इजरायल अहिलेको दुनियाँका सफलतम राष्ट्रहरुमध्ये एक हो। इजरायलीहरुको यो सफलताको पछाडि अरु धेरै कारणहरु पनि हुनसक्छन् तर मेरो विचारमा सबैभन्दा प्रमुख कारणचाहिँ उनीहरुभित्र अत्यन्त बलियो भएर रहेको भावनाको देश हो।

भावनाको देशलाई आकार दिने केहि निश्चित प्रतीकहरु हुन्छन्। देशको झण्डा त्यस्तै एउटा प्रमुख प्रतीक हो, राष्ट्रगान अर्को महत्वपूर्ण प्रतीक हो। त्यस्तै महत्वपूर्ण अवसरहरुमा प्रयोग गरिने औपचारिक तौर-तरिका, लगाईने पोशाकहरु पनि यस्तै प्रतीक हुन्। महत्वपूर्ण पदमा बस्नेले लिने शपथ अर्को एउटा महत्वपूर्ण प्रतीक हो जसले भावनाको देशलाई, मान्छेको मनभित्रको देशलाई आकार दिन्छ। हामीले यी प्रतीकहरुलाई दिने सम्मानले हाम्रो राष्ट्रप्रेम झल्काऊँछन्, देशप्रतिको हाम्रो ईमान्दारी झल्काऊँछन्।

हाम्रो राष्ट्रगानको बारेमा विवाद थियो पहिलाबाटनै। एउटा राजनीतिक प्रणालीले आफ्नो स्वस्ति-गानलाईनै राष्ट्रगानको रुपमा लादेको थियो र त्यसमा परीवर्तन जरुरी थियो। दोश्रो जनआन्दोलनपछि त्यसमा परीवर्तन भयो, नेपालप्रेमी सबै त्यसमा खुशी छन्। (यद्यपि हतारमा राष्ट्रगानको निर्णय गरेर र 'सबैकुरा मिलेको ' खोजेर हामीले पाएको राष्ट्रगान 'ऊँट' जस्तो भएको छ भन्ने मेरो ब्यक्तिगत धारणा भने ज्यूँदै छ अझै। खैर, जनता र देशको महिमागान आएको छ यसमा, त्यतिनै काफी छ अहिलेका लागि।)

सभ्य देशका औपचारिक कार्यक्रमहरुका आफ्नै नीति-नियम र काईदाहरु हुन्छन्, जसलाई सधैं श्रद्धापूर्वक पछ्याईन्छ। यस्ता कार्यक्रमहरुको लागि एउटा पोशाक-नीति (Dress Code) पनि तय गरिएको हुन्छ। हाम्रो देशमा भने देशका प्रतीकहरुलाई ध्वस्त पार्ने कामको शुरुवात पोशाकबाटै गरियो। दौरा-सुरुवाल-कोट-टोपी र साडी-चोलो मन नपर्ला धेरैलाई (ब्यक्तिगत रुपमा मलाई पनि दौरा-सुरुवाल-कोट-टोपी असहज लाग्छ) तर यसको विकल्प के त? के यसको विकल्प औपचारिक समोरहहरुमा हिसिला यमीले जिन्स लगाएर गएजस्तै जसले जे लगाए पनि हुने हो? के एउटा स्पष्ट पोशाक नीति चाहिन्न देशलाई? यस्तै अराजकता रहिरहे, भोलि कुनै बज्रस्वाँठ पदाधिकारी "आ---, जेठको हपहपी गर्मीमा पनि को पाईन्ट-शर्ट लगाईरहोस्---" भनेर कट्टु र भेष्टमै शपथ खान सिंहदरबार नपुग्ला भन्ने के बेर? हाम्रो जत्तिकै सांस्कृतिक र भौगोलिक विविधता भएका अरु धेरै देश पनि छन्। के ति सबैमा पनि यस्तै भद्रगोल हुन्छ पोशाकको नाममा?

शपथ ग्रहणको निहुँमा अर्को अन्तहीन कुरुप नाटक मञ्चनको शुरुवात भयो देशमा। आफनै मातृभाषामा शपथ खाने काम ठिकै मान्न सकिएला, विगतको भाषिक असमानताको हिसाब-किताब गर्ने अर्थमा तर हिन्दीमा शपथ खानेसंग कुनै नैतिक तर्क छैन। सीमापारीको धाप र स्याबाशी पाउनु र त्यसका आडमा कमजोर नेपाल राज्यको आधारलाई हल्लाउनुनै हिन्दीवालाहरुको एउटै ध्येय हो।

शपथ-ग्रहणको बारेमा स्पष्ट नीति-नियमको ब्यबस्था पहिलेनै हुनुपर्छ, कुन भाषामा शपथ खान पाईने, कुनमा नपाईने, कसले खाने, कसले खुवाउने, "आफ्ना 'ईष्टदेव' भएतिरै फर्केर खान पनि पाउने "आदि‍-आदि।  हाम्रो देशको संविधान-कानूनमा यस्तो ब्यबश्था छ कि छैन थाहा छैन मलाई। यदि छ भने त्यो नीति-नियम छऊञ्जेल त्यसकै आधारमा हुनुपर्छ। चित्त नबुझ्नेहरुले नीति-नियम फेर्ने तिर लागे हुन्छ, त्यहि नियम का आधारमा पदमा जाने तर पछि नमान्ने गर्नु बेईमानी हो।

उप-राष्ट्रपतिको शपथ-ग्रहण नाटक भूलभूलैयाजस्तो जेलिएको जेलियै छ। देशको सृजनात्मक उर्जा यस्तै अनावश्यक विवादहरुमा खर्च भईरहेको छ। यो प्रकरणलाई संवैधानिक र कानूनी आधारमा सकेसम्म चाँडो समाधान गरिनुपर्थ्यो। हाम्रो सर्वोच्च अदालत पनि गज्जबकै छ, जो संगीन र संवदेनशील मुद्दाहरु संविधान-कानून हेरेर होईन, उपयुक्त 'राजनीतिक मौसम' हेरेर मात्रै गर्छ।

उप-राष्ट्रपतिको यो शपथ-ग्रहण नाटकमा धेरै अध्याय थपिईसकेका छन्, त्यसलाई यहाँ  धेरै चर्चा नगरौं तर शपथ-ग्रहणलाई अत्यन्त हल्का बनाउने काम प्रचण्ड र माकुनेले पनि गरेका हुन्। प्रचण्डले कम्युनिष्टे ढोंग देखाऊँदै 'ईश्वर' शब्दलाई 'जनता' शब्दले विष्थापित गरे। 'जनता' शब्दसंग विमति होईन मेरो तर के हाम्रो देशको प्रधानमन्त्रीले खाने शपथ भनेको "खाली ठाऊँ भर।" हो, जसमा राष्ट्रपतिले एउटा शब्द भर्छन्, प्रमले अर्को, मन्त्रीले अर्को----? कथित 'जनता'का नाममा खानुपर्ने हो भने पहिल्यै त्यसलाई संविधान-कानूनमा किन स्पष्ट नपार्ने?

अर्का ढोंगी कम्युनिष्ट माकुनेले खाली ठाऊँ समेत भरेनन् र अधूरो शपथ लिए! आफूलाई कम्युनिष्ट देखाउन 'ईश्वर' त्यागे, आफूलाई प्रचण्डभन्दा फरक देखाउन 'जनता' त्यागे। गज्जब छ कम्युनिष्टे ढोंग!!!!!!!
 
ओबामाले अमेरिकाका राष्ट्रपति पदको शपथ खाँदा शपथ खुवाउने न्यायाधिशको सानो गल्तीले गर्दा एकछिन अलमल भयो। विवाद आउला भनेर ओबामाले दोहो-याएर शपथ ग्रहण गरे। अमेरिकामा शपथ-ग्रहणलाई सिंगै संविधान बराबर मानिँदो रहेछ। हाम्रा नेताहरुमा त्यो गम्भिरता कहिले आउने?

नौरथाको मुखमा आएर यसपाली अर्को नयाँ राग छेडिएको छ, झण्डा फेर्ने! दिमागमा सृजनात्मक चिन्तन एक चिम्टी पनि नहुने र विध्वंशबाहेक केहि नजान्नेहरुले 'हलो काटी मुंग्रो' बनाउने नयाँ खेल खेल्न खोज्दैछन्। देशमा समाधान पर्खेर बसेका विकाराल-संगीन समस्याहरु अरु धेरै छन्, माओवादीलाई भने अझै यस्तै विवादास्पद र भिडन्त निम्त्याउने काममा हात हाल्ने सोख छ। ऊ किन हात धोएर झण्डाको पछि लागेको हो कुन्नि? के यो पनि देशलाई सकेसम्म अराजकता तिर लैजाने उसको घोषित योजनाको अर्को भाग हो? के यो सडकमा टायर बाल्नका लागि नयाँ 'इन्धन' हो?  माओवादी अझै केवल यस्तै उग्र र नचाहिने कुरा र भ्रमको खेती गरेर बसिरहेछ, देश भाँडमा गए जाओस्!

हाम्रो झण्डा बिशिष्ट र मौलिक पहिचानयुक्त छ। यो झण्डा कुनै धर्म, जाति वा समुदायको विरुद्ध पनि छैन। अहिले माओवादीहरु ठसठसी कनेर भएपनि यसलाई हिन्दू धर्म र राजतन्त्रसंग गाँस्न खोज्दैछन्। हाम्रो झण्डाको इतिहास माओवादीको विध्वंशात्मक दिमागले सोच्न सक्नेभन्दा पूरानो छ। विगतमा सत्तामा आएका केहिले यसमाथि आ-आफ्नो ब्याख्या लादे, त्यो साँचो हो तर त्यसमा झण्डाको के दोष?

माओवादीहरु एक कदम अघि बढेर यूरोपियन यूनियनको जस्तो झण्डा बनाउने भन्न समेत पछि परेका छैनन्। यूरोपियन यूनियन भिन्दा-भिन्दै देशहरुको एउटा खुकुलो समूह हो तर नेपाल त एउटा सिंगो देश हो। के माओवादीहरुले नेपाल टुक्र्याउन चाहेका हुन्?

माओवादीहरु सीमाहीन ढंगले हाम्रो संवेदनशीलतामाथि खेलवाड गरिरहेछन्। हाम्रो झण्डा-हाम्रो पहिचान केहि मान्छेहरुको लहडबाजी र मनपरीको साधन बन्नु हुँदैन।

झण्डा फेर्ने कुतर्कको सशक्त विरोध गरौं!
 
झण्डा भनेको देश हो!
हो, म बनेको देश हो!!

September 14, 2009

"महान नेता"- एक लघुकथा

[लेख्न मन त समसामयिक घटनाहरुका बारेमा थियो तर यसपटक पनि 'इतिहासको ब्याज' मै अड्काउनुपर्ने भयो ब्लगलाई।
आज एउटा लघुकथा। २०५६-५७ सालतिर कान्तिपुरको 'साप्ताहिक'मा छापिएको थियो यो। पत्रिकाको टुक्रो पनि साथमा छैन, खेस्रा पनि छैन; स्मृतिको भर लिँदैछु। अलिकति समसामयिक बनाउने कोशिश पनि गरेको छु। कथाको चुरो भने उहि हो।
नेताहरु देखेर त्यतिखेरै पनि दिक्क लाग्थ्यो, अहिले त झन् ठूल्ठूला छलाङ्ग मारिसकेका छन् उनीहरुले; 'नयाँ जोगी' पनि धेरै निस्किसकेका छन्। ]
महान नेता
एक दिन 'क' शहरमा विशाल आमसभा थियो। देशका 'त्यागी', 'तपस्वी', 'क्रान्तिकारी', 'महान' नेताले लाखौंको जनसागरलाई सम्बोधन गर्नुभयो र भन्नुभयो, "काग सेतो हुन्छ भन्ने अकाट्य तथ्य घामजत्तिकै छर्लङ्ग छ। यसलाई हाम्रा विपक्षीहरुले अस्विकार गर्न खोज्दै छन् तर म जोड् दिएर के दोहो-याउन चाहन्छु भने काग सेतो थियो, सेतो हुन्छ र सेतोनै रहनेछ र यो नै हाम्रो पार्टीको सिद्धान्त हो।"

भोलिपल्ट 'ख' शहरमा पनि उस्तै आमसभा भयो र 'त्यागी', 'तपस्वी', 'क्रान्तिकारी', 'महान' नेताले फेरि लाखौंको जनसागरलाई सम्बोधन गर्नुभयो। उहाँले छाती ठोक्दै भन्नुभयो, "बकुल्ला कालो हुन्छ, यो स्वयँसिद्ध तथ्य हो। यसलाई कसैले छोप्ने षडयन्त्र गर्छ भने हामी सशक्त प्रतिकार गर्नेछौं। बकुल्ला कालो थियो, कालो हुन्छ र कालोनै रहनेछ। यो नै हाम्रो महान पार्टीको सिद्धान्त हो।"

नेताज्यूले बोलेका कुरालाई लिएर गाऊँ-शहर, देश-विदेशमा धेरै हल्लाखल्ला भयो। हल्लाखल्लालाई साम्य पार्न दुई दिनपछि 'त्यागी', 'तपस्वी', 'क्रान्तिकारी', 'महान' नेताले एउटा पत्रकार सम्मेलन गर्नुभयो र भन्नुभयो; "ती कुराहरु मैले बोलेकै होईनन्। मलाई र हाम्रो पार्टीलाई बद्नाम गराउन विपक्षी र मिडियाले झूटो कुरा फैलाएर षडयन्त्र गरेका हुन्। हाम्रो पार्टीको सिद्धान्त अनुसार न काग सेतो हुन्छ, न त बकुल्लानै कालो हुन्छ; वास्तवमा ती दुबै राता हुन्छन्। यहिनै हाम्रो पार्टीको वास्तविक सिद्धान्त हो।"


September 08, 2009

कथा- "आगो लागेको बेलामा"

[यो कथा मैले केहि समय पहिला लेखेका तीन कथाहरुमध्येको अन्तिम हो। कथाको विषयवस्तु मेरो मनमा तीन-चार वर्ष पहिलेबाटै डुलिरहेको थियो। कथा लेख्ने समय जुर्दै-जुरेन। अहिले समय जुर्दा पनि विषयवस्तुलाई पेश गर्ने शैलीको निर्णय गर्न ज्यादै गाह्रो भयो। अहिलेलाई यो रुपमा यहाँहरु समक्ष प्रस्तुत छ। मैले यसलाई लेखनकै क्रममा रहेको मानेको छु र केहि दिनका बीचमा यसमा केहि साना वा ठूलानै पनि परीबर्तन हुन सक्नेछन्, त्यसका लागि क्षमा चाहन्छु।
नेपालको राजनीतिको बारेमा नलेखेको धेरै भयो। ब्लग अचेल साहित्यको बाटोमा एकोहोरिएको छ। यो कथा भने साहित्यिक रचना हुँदा-हुँदै पनि नेपालको राजनीतिको बारेको मेरो बुझाई र प्रतिकृया पनि हो।
यहाँहरुका सुझावको अपेक्षा छ।]

आगो लागेको बेलामा

“हरिरह सर हुनुहुन्न?” हातमा हेल्मेट झुण्डाएको २५-३० को एउटा मान्छे कोठामा पसेर सोध्यो।
“हुनुहुन्न!” कोठामा भएका 'हरिहर सर’बाहेकका कर्मचारीहरुमध्ये एउटाले टाउको नउठाई जवाफ दियो।
“आज आउनुहुन्छ होला नि है! कतिखेर---?”
“खोई, हामीलाई थाहा भएन।" अर्को एउटा कर्मचारी बोल्यो, अत्यन्त अनिच्छापूर्वक, बोल्दा पैसा तिर्नुपर्ला जस्तो गरेर।
हेल्मेटवाला बाहिर निक्लियो। त्यहाँको वातावरणको मौनतामा अलिअलि तनाव देखिन्थ्यो। शायद एक घण्टा अगाडिबाट यस्तै वार्तालाप धेरै पटक दोहोरिईसकेको थियो।

बाहिर ढोकाको छेऊमै एउटा त्यस्तै उमेरको अर्को मान्छे पनि थियो, हेर्दा हेल्मेटवालाभन्दा अलिक दुब्लो-पातलो र उदास देखिन्थ्यो। हेल्मेटवाला पनि त्यतै अल्मलियो।
“तपाईँ हिजो पनि आउनुभ'थ्यो होईन?” हेल्मेटवालाले सोध्यो।
“हो। चार दिन भयो धाएको, हाकिम आउने होईन।“
“यस्तै हुन् सा--लाहरु! चोरहरु! म पनि अस्तिदेखि कुरिरख्या' छु। यस्तो बेलामा पनि बिदामा बस्ने हो? कि अरुलाई अधिकार दिनुपर्छ---!“
“आज त आऊँछ कि दिऊँसोसम्म। नत्र त चेक साट्नै भ्याईँदैन। पर्सि घटस्थापना आईसक्यो।“
“त्यै त!----आजचाहिँ दिनभरि कुर्नैपर्ला। ----- । बरु एउटा काम भ्याएर एक छिनपछि आउनुपर्ला।“ हेल्मेटवाला निक्लियो। अर्को मान्छे त्यतै बसिरह्यो।

"अझै आएको छैन है----!" एकघण्टा जति पछि फर्केर आएपछि हेल्मेटवालाले सोध्यो।
"छैन।“ दिक्क मान्दै अर्को ब्यक्ति बोल्यो, ऊ कतै नगई यतै अल्मलिईरहेको हुनुपर्छ।
"एउटा 'साइन’को कारणले यति धेरै मान्छेले दु:ख पाउनुपर्नी---! साला चोर हाकिम---!”
--------------------
“ल हिँड्नुस् चिया खान जाऊँ।“ हेल्मेट वालाले भन्यो।
“हो, जाऊँ। बिहान हतारमा आईयो, राम्रोसंग खाना पनि खा’ छैन।" दुईजना कार्यालय पछाडिको क्यान्टीनमा पसे।

“मेरो नाम शेखर है, तपाईँको--?” चिया-तरकारी माग गरेर बसेपछि हेल्मेटवालाले औपचारिक परिचयको लागि हात बढायो।
“हजुर म---राजेन्द्र।“ अर्को ब्यक्ति हात मिलाउन अलि हच्किएजस्तो लाग्थ्यो।
“कहाँबाट आउनुभएको नि?!”
“सुर्खेत। ---- होष्टेलमा भात पकाऊँछु।“
“घरै सुर्खेत हो कि राजेन्द्रजीको?
“होईन सर, घर त रुकुम हो। सरको घर कता हो नि?”
"मेरो घर त काठमाण्डुनै हो। अहिले पोखरामा पढाऊँछु।“
"काठमाण्डुको मान्छे पोखरा जानुभएछ त सर, किन? अन्तका मान्छे यता आउन खोज्छन्।“
"अँ, यस्सो नेपाल घुमौं भनेर उता गएको, पाँच वर्ष भयो उताको उतै भईएको छ।" शेखरको बोलीमा फूर्ती देखिन्थ्यो।
"पोखरा बसेर के नेपाल घुमिन्छ सर?! साँच्चिकै नेपाल घुम्ने भए आउनुस् न हाम्रो रुकुम-रोल्पा, नभए सुर्खेतसम्म भएपनि।"
“हो त्यो त----!” शेखरको अनुहारको अघिको फूर्ती देखिएन अहिले। उसको अनुहारले ऊ राजेन्द्रको कुराले अलि-अलि झर्केको देखाऊँथ्यो।
--------
“अनि राजेन्द्रजीको कलेज बिदा भईसक्या' हो र?”
“छैन सर। मिलाएर आएको। हिजो-अस्तिनै फर्किने विचार थियो। हाकिम नआइदिनाले-- । सरको नि?”
“बिदा भा’छैन मेरो पनि। दशैंको मुखमा माओवादी चन्दा माग्न आऊँछन्, त्यसैले म सधैं एक-दुई हप्ता पहिलेनै हिँड्छु। यसपाली त नआउलान् भनेको तर हाम्रा दुई-चार जना सरहरुलाई चिठ्ठी काटिसकेछन्। अनि यसपाली पनि चाँडै हिँडेको। मेरो नाममा पनि आईपुग्या होला अब त। तिहारपछि गईन्छ अब।"
“सरहरुलाई दशैंमा मात्रै दु:ख दिँदा रहेछन्। हाम्लाई त सधैं यस्तै हो। कतिचोटि त तलबबाटै काटेर लगेका छन्। वार्ता भएकोले यसपालीबाट त ठिक होला कि भनेको, खै के हो, के हो!"
"त्यहि त, शान्ति वार्ता भएपछि त ठिक हुनुपर्ने हो।"
-----------------------------
"फेरि यसपाली यो 'लोन’ निकाल्नु पनि थियो। बहिनीको बिहेको रिण नतिरी नहुनी भ’छ।" छोटो मौनतापछि शेखरले आफ्नो कुरा शुरु ग-यो फेरि।
"ए---!”
"राम्रो घर खोज्दा रिणमा परियो हेर्नुस्। बहिनीको बिहेले गर्दा--। मिल्ने साथीसंग लिएकोले कचकच त गरेको छैन तर तिर्नैपर्ने भएपछि। ---- समरजंग कर्नेलको छोरो हो।“
"ए---!”
"त्यस्तासंग हाम्रो संगत हुने होईन हतपति। यो कर्नेलको कान्छो छोरो, खुब बिग्रेको थियो पहिला। अरु कुनै स्कूलले लिन नमानेपछि हाम्रो स्कूलमा भर्ना गरेका थिए, बाऊ संचालक समितिमा थियो। एसएलसी पनि पास भएन। दाजुहरु सबै सेना-पुलिसमा छन्, यो किरणजंग चाहिँ जग्गाको कारोबार गर्छ।" आफ्नो कुरा ओकल्न निकै उत्साहित देखिन्थ्यो शेखर।
"ए---!"
"तपाईँको पनि त्यस्तै बिहे-सिहेले गर्दा हो कि अहिले पैसा निकाल्नु परेको?” एकछिनपछि शेखरले सोध्यो।
"कहाँ त्यस्तरी रिन लिई-लिई बिहे गर्न सक्नु सर हाम्ले? घर बना’को पैसा तिर्न---“
"ए हो र? घर उतै गाऊँमा बनाउनुभा’कि--?”
"होईन सर, सुर्खेतमै हो। गाऊँमा त बसिनसक्नु छ। ---- अब शान्ति भईदिए हुन्थ्यो छिट्टै!“
-------
"अनि राजेन्द्रजीको दाजुभाई---?”
"एउटा भाइ छ सर, ईण्डियामा छ अहिले।“
"ईण्डियामा? किन नि?”
"खै किन भन्ने सर--- “ कुरा गर्न राजेन्द्र त्यति उत्साहित देखिँदैनथ्यो। “भाइलाई लालसेनामा जानैपर्छ भनेर माओवादीले भनेका रहेछन्। आमासंग पनि भनेका रहेछन्। भाइ नौ मा पढ्दै थियो। एक दिन राती त लिनै भनेर आएछन्। भाइ रातारात भागेर सुर्खेत आयो। भाइलाई भगाएको भनेर आमालाई पिटपाट, लछारपछार गरेछन्। हामीलाई सुराकी भनेर पूर्जी समेत काटेछन्। पछि आमा पनि सुर्खेत आउनुभयो। भाइ नेपालमै बस्न पनि डराएर ईण्डिया पस्यो। अहिले दिल्लीमा एक ठाऊँमा चौकीदारी गर्छ रे।" राजेन्द्रको बोलीमा, अनुहारमा गहन पिडा देखिन्थ्यो। “राम्रो पढ्थ्यो, फष्ट डिभिजनै नसकेपनि सेकेण्ड डिभिजन त पक्का ल्याऊँथ्यो होला एसएलसीमा।“
"ए----!"
"एउटा एनजीओले विश्थापितलाई भनेर केहि घरहरु बनाईदिएको छ सुर्खेतमा। आधी खर्च आफैंले हाल्नुपर्ने थियो, रिन गरेर हालियो। त्यै रिन तिर्न भनेर अहिले अफिसबाट सञ्चय-कोष सापटी लिन खोज्या।"
"यस्तो अप्ठेरो छ तपाईँलाई! त्यसमाथि हाकिम नआईदिएर है---!”
"हो सर, फर्किन बस पनि नपाईएला जस्तो भईसक्यो अब त। काम भ्याउन पाए आज बेल्कै हिँड्थे। चेक बनिसक्या' छ, हाकिमको सही नभएर मात्रै अड्क्या’ छ।"

“ऊ हाकिम आयोजस्तो छ!” अफिसभित्र भिडभाड बढेको देखियो। चिया-खाजाको पैसा तिरेर उनीहरु पनि हतार-हतार त्यतै लागे।

पैसा लिएपछि राजेन्द्र बसपार्कतिर लाग्यो होला, शेखरले देखेन।
----------------------------
मोटरसाइकललाई कम्पाऊण्डको ढोकाको छेऊमा रोकेर शेखरले घण्टी बजायो। एउटा कुकुर भुक्दै आयो। कुकुरको पछि-पछि एउटा मान्छे आएर ढोका खोल्यो। शेखर भित्र पस्यो।
“किरण राजालाई खोज्नु भा' होईन? किरण राजा घरै होईसिन्छ।” । यो घरमा काम गर्ने सबैले शेखरलाई चिनिसकेका थिए।

किरणजंग टिभी हेरेर बसिरहेको थियो। टेबुलमा ह्विस्कीको बोतल र गिलास देखिन्थ्यो, कोठामा डुङ्डुङ्ती चुरोटको गन्ध पनि थियो।

“ए-- शेखर! कहिले आ’को यार पोखराबाट?”
"तीन-चार दिन भयो यार। पहिला यो पैसा लिईहाल त। आधी मात्रै छ अहिले। बाँकी एक-दुई महिना जति लाग्ला।“
"ठिक छ, ठिक छ। यति हतार नग-या भएपनि हुन्थ्यो। अलिकति पिऊने होईन त!” शेखरको लागि पनि ह्विस्की खनायो किरणजंगले।
"म नलिऊँ होला यार आज। अचेल बाऊले बेल्काको आरतीको जिम्मा दिएका छन्। मुख गन्हायो भने थाहा पाऊँछन् यार।" शेखर पन्छिन खोज्यो।
"अलि-अलिले केहि हुन्न। आइस कति रख्दिऊँ?”

शेखर पनि पिऊन थाल्यो।

"अनि तिम्रो हालखबर के छ त? कस्तो चल्दै छ त बिजिनेस?" शेखरले सोध्यो।
"खत्तम छ यार! प्लटिङ्ग बिक्नै गाह्रो भईराख्या’छ। पैसा टन्नै हालियो जग्गामा। अब शान्ति हुने हल्लाले गर्दा भाऊ पनि ल्वात्तै घट्यो! के को शान्ति, मा---हरु!” किरणजंगले एक आमाचकारी गाली ओकल्यो। “मदिशेहेर्ले आन्दोलन गर्लान् जस्तो छ रे, पहाडियाहरुलाई लखेट्न पनि थालिसके रे। त्यता हा-हू बढ्यो भने भाऊ बढ्छ फेरि। त्यो चाँडै भईदिए हुन्थ्यो।"
------------------------------------------------------------
"अब म लागें यार। आज धेरै नबसौं।" दुई प्याक तन्काएपछि शेखर उठ्यो।

नजिकैको एउटा किराना पसलमा शेखरले दश वटा भिक्स चक्लेट किन्यो। घर पुगुञ्जेलसम्म ऊ मकै चपाएजस्तै भिक्स चकलेट चपाऊँदै थियो।
जुन १४, २००९ (साँझ ६:५०)
नागोया, जापान

September 03, 2009

'गोतामेको गनगन' बाट केहि हाईकूहरु


अचले मेरो ताल 'न काम, न फुर्सद' को भएको छ। यो चालाले गर्दा आज फेरि 'इतिहासको ब्याज' खानुपर्ने हुन आयो। आज हाईकूको ब्याज खाऔं:)

साझा पसेको केहि समयपछि "गोतामेको गनगन" नाम गरेको एउटा धागो शुरु गरेर हाईकूको अभ्यास गरेको थिएँ मैले। अरु धेरै साथीहरुले पनि सहभागिता जनाउनुभएको थियो।

त्यतिखेर नेपालमा शाही शाशन थियो। हाईकूहरुमा राजनीति बढी लेखिन्थ्यो र कलात्मकतामा त्यति ध्यान दिईन्थेन। कतिपय अवश्थामा हाईकूको ब्याकरणलाई पनि ध्यान दिईन्नथ्यो, तीन हरफमा जे लेखेपनि हाईकू भनिन्थ्यो। आज त्यो बेला कोरिएका हाईकूहरुमध्ये केहि यो ब्लगमा आऊँदैछन्।

"गरिबिको आनन्द"

सस्तो कोठाले
पूर्ण भएको छ मेरो
लाम्खुट्टे मार्ने कला ।

"बतास"

तन छुँदाछुँदै
मन पनि धोईसकेछ
क्या मिठो बतास ।

"क्योटो"

आदिम आँगन
शताब्दीहरु
नाच्दै बग्छन् ।
(सेप्टेम्बर २२, २००५)
"जनयुद्ध"

प्रतियोगिता-
"गरिबी घटाउन"-
गरिब मार ।
(सेप्टेम्बर २७, २००५)

"जिन्दगी"

पाठशाला हो,
चारैतिर देखिन्छन्-
कक्षाहरु प्रशश्त ।
(अक्टोबर १४, २००५)
"शानेवानी"

रगतै दुहे-
दल, दरवारले,
थारो भएछ!
-१-
चालक तीस
ट्याक्टर जम्मा दुई
होस्टेस साठी।
-२-
(नोभेम्बर १०, २००५)
"परराष्ट्र मन्त्रीको डकार"

यात्रा राम्रो भो!
विना निम्तै गइयो
कति ठाऊँ त!
(नोभेम्बर २४, २००५)
"सरकार"

गज्जब छ बा!
चुलो भत्काईदिन्छ-
'पका', 'खा' भन्छ!

(प्रसारण सामाग्री लुटेर लगेको प्रसंग।)
(नोभेम्बर २८, २००५)
"युवा नीति"

जागिर दिम्ला-
मान्छे कुट्न सक्ने भे',
पढेर के हुन्छ?

"शिक्षा नीति"

उत्पादन गरौँ-
भात खाने रोबोट,
मान्छेको सट्टा।

"राष्ट्रवादी शिक्षा"

किताब खै त?
"मगाईसकेको छु
भारतबाट!"
(मार्च ६, २००६)
आजलाई यत्तिनै। समय मिल्दा साझाको त्यहि धागोमा पसेर पनि पढ्नुहोला।