July 27, 2009

कथा-"एउटा प्रेमकथा"

[हालसालै लेखिएका तीन वटा कथाहरु यहाँहरु समक्ष पस्किने क्रममा यो दोश्रो हो। कथामा सुधार गर्न सकिने ठाऊँहरु अझै प्रशस्त छन्, तैपनि राख्दैछु किनभने लेखेको लामो समयसम्म पनि कतै राखेन भने रचनाको शक्ति निख्रिँदै गएजस्तो लाग्छ मलाई। तपाईँहरुका पारखी आँखाको परख पर्खिरहेछु। यसपछि पनि केहि सानातिना, विशेष गरी भाषिक परीवर्तनहरु हुनसक्नेछन्, त्यसका लागि क्षमा चाहन्छु। मूल भाव र शैलीमा भने अब परीवर्तन हुनेछैन।]

एउटा प्रेमकथा

प्रियतम, तिमीले छोडेर गएपछिका यी कहालीलाग्दा दिनहरुका हरेक क्षण मैले आफ्नो जिन्दगीलाई फेरि एकपटक जिएकी छु। तिमीसंगका क्षणहरुको याद गरेर तिमी नहुँदाको यो डरलाग्दो एकान्तलाई झेलेकी छु। तिम्रो उपस्थिति मेरो हरेक श्वाशमा र रगतको थोपा-थोपामा एउटा स्वाभाविकता र अनिवार्यता बनिसकेछ! तिमी हुँदा पनि मलाई लाग्थ्यो तिमी मेरो मुटुको साह्रै-साह्रै नजिक छौ भनेर तर आज तिमी नहुँदा बोध भएको छ वास्तवमा तिमी र मेरो मुटुको बीचमा कुनै दूरीनै रहेनछ, मेरो मुटुनै तिमी रहेछौ।

तिमीलाई भेट्नु अगाडिको मेरो अभावग्रस्त बाल्यकाल र दु:खै-दु:ख र अपमानले भरिएको मेरो कैशोर्यसंग पनि मेरो केहि गुनासो छैन अब। तिमीलाई पाउनको लागि मैले गर्नुपर्ने तपस्याहरु थिए ती शायद। तिमीसंग फेरि यस्तै एक जुनी पाऊँछु भने म सात जुनिसम्म पनि ती दु:खहरु झेल्न तयार छु।

अभावग्रस्तै भएपनि सानी हुँदा मसंग आमाको माया थियो। म नौ वर्षकी नहुँदै आमा बितेपछि बाले अर्की आमा ल्याए। ती साँच्चैकी सौतेनी आमा थिईन्। हुनत सौतेनी आमाको जातै खराब मानेको छ संसारले तर गाऊँ-ठाऊँमा कति मायालु सौतेनी आमाहरु पनि देखिन्थे जसले सौताका सन्तानलाई आफ्नालाई भन्दा पनि माया गर्थे। तर मेरी सौतेनी आमाले मसंग एक वचन पनि राम्रोसंग बोलेको याद छैन मलाई। ती मलाई टोकस्न र उमेरले सक्नेभन्दा बढी काम गर्न लगाउन बाहेक केहि जान्दिनथिन्। मेरा बा पनि कथामा हुने बाजस्तै सौतेनी आमाको वशमा परेका थिए। सौतेनी आमाले मलाई विना कारण गाली गर्दा,कुट्दा-लुछ्दा पनि तिनले कहिल्यै रोकेनन्, ‘किन?’ भनेर सोध्दा समेत सोधेनन्। तिनी मसंग कहिल्यै राम्रो बोल्दा पनि बोलेनन्।

विकट ठाऊँ भएपनि हाम्रो गाऊँ नजिकै त्यतिखेरै एउटा स्कूल खुलिसकेको थियो। त्यहाँ पढ्न जाँदा खाजा खान पाईन्थ्यो। गाऊँका धेरैले छोराछोरीलाई भर्ना गरेका थिए। आमा हुञ्जेल म पनि जान्थें। सौतेनी आमा घरमा भित्रेको महिनादिनमै मलाई स्कूलबाट निकालिएको थियो, घरको काम सघाउन भनेर। घरको काम सघाउने मात्रै होईन, मैले आफूलाई पाल्न मेलापात समेत गर्नुपर्ने भयो। दश-एघार वर्षकी पनि नहुँदाबाटै म मेलापात हिँडेकी हुँ भनेर पछि मैले तिमीलाई सुनाऊँदा तिमी कस्तरी रोएका थियौ!

ठूली हुँदै जाँदा ममा पनि आँट आउन थाल्यो र सौतेनी आमाको टोकसोको जवाफ फर्काऊन थालें। शुरु-शुरुमा तिनले हात पनि हाल्थिन् मलाई तर तिनको डाँको भन्दा मेरो डाँको ठूलो हुन थालेपछि हच्किन थालिन्। बालाई कुरा लगाऊँथिन् ती त्यसपछि। सौतेनी आमासंग के भन्थे कुन्नि बाले तर मलाई भने आँखा तरेर हेर्थेमात्रै, केहि भन्दैनथे।

मेलापात नभएको बेलामा पनि मलाई घरमा बस्नै मन लाग्दैनथ्यो। म धेरैजस्तो आफ्ना साथीहरुसंग हुन्थें। 'टुहुरी विचरी!' भनेर तिनका आमाहरुले मलाई माया गर्थे। धेरैजसो म सुत्न मात्रै घर जान्थें। कति रात त साथीहरुकै घरमा पनि सुत्थें।

पन्ध्र-सोह्रको उमेर बाट मसंग अलि बढी मिल्ने साथी थिई एउटी, माया भन्ने। गरीबनै भएपनि ऊ नाम अनुसारनै माया पाएर हुर्केकी थिई। तर त्यो असाध्यै पात्तेकी र छाडा थिई। केटाहरुसंग छिल्लेर कुरा गर्न लाजै मान्दिनथी। मेलापात, जात्रा आदिमा उसका वरिपरि केटाहरु झुम्मिन्थे। गाऊँमा जन्त आएका केटाहरुलाई समेत जिस्काउन जान्थी त्यो। म असाध्यै लजालु थिएँ यस्ता कुरामा, तैपनि ऊ मेरो नजिककी साथी थिई। कसरी, कहिले बाट ऊ मेरी मिल्ने साथी बनी, मलाई थाहै भएन। म मेरो मनको कुरो उसैसंग मात्रै खोल्थें। मलाई जे पर्दा पनि ज्यान दिएर सघाऊँथी ऊ। मान्छेहरु छक्क पर्थे हामी दुई मिलेको देखेर, हाम्रो विपरीत स्वभावलाई लिएर उनीहरु “पानी र तेल मिलेको!”भन्थे।

एकचोटि ऊ र म उस्को मामाघर गएका थियौं। भोलिपल्टको ठूलो एकादशीको मेला हेर्न जाने भनेर हामी त्यहाँ पुगेका थियौं। उस्को मामाघरबाट एक घण्टाको बाटोमा मेला लाग्थ्यो। अरुलाई नभनेपनि, ऊ खासमा त्यहाँ एउटा केटो भेट्न भनेर आएकी थिई र मलाई साथी ल्याएकी थिई। दुई महिना पहिला गाऊँको एउटा बिहेमा जन्त आएको केटो थियो त्यो।

मेलामा त्यो केटोसंगै तिमीपनि आएका थियौ। त्यो केटो मायाजस्तै बढी बोल्ने रहेछ, तिमीभने एकदम गम्भिर अनुहार बनाएर त्यो केटोभन्दा अलिक पछाडिनै उभिएका थियौ। एकछिनपछि हामी दुबैलाई त्यहीँ छोडेर माया र त्यो केटो अलि पर गएर कुरा गर्न थाले। हामी दुईमात्रै हुँदा मलाई पनि अलि-अलि अप्ठेरो लागेको थियो तर तिमीलाई त असाध्यैनै भएको थाहा पाएकी थिएँ मैले। तिमी मभन्दा पनि लजालु रहेछौ! म तिमीलाई हेरिरहेथें, तिमीभने भुईँतिर हेरेर बसिरहेका थियौ, तिम्रो अनुहार-कान रातो हुँदै आएको थियो। एकछिन त्यत्तिकै उभ्भिएपछि म आफैं तिमीसंग बोल्न र कुराकानी शुरु गर्न आँटेकी थिएँ, माया र त्यो केटो फर्किए।

“तिम्रो साथी त कस्तो बोल्दै-नबोल्नी हो! केटीजस्तो----!" एकछिन पछि मायाले तिमीतिर हेर्दै भनी।
“मेरा भान्दाई हुन्। सोझा छन्। अहिलेसम्म केटी छो’का छैनन् यिनले---“ त्यो केटो तिमीलाई जिस्काऊँदै बोल्यो र हाँस्न थाल्यो।
“यो चाहिँ बिन्दे, यस्लाई पनि अहिलेसम्म कसैले सुता' छैन।" माया छिल्लिई। उनीहरु दुईजना हाँस्न थाले। मायाको यस्ता कुराको बानी लागिसकेको थियो मलाई। तिम्रो अनुहार-कान झन-झन् रातो हुँदै थियो।
“घर कहाँ हो नि भान्दाइको? तिम्रो नजिकै हो?” मायाले सोधी।
“होईन, यिनको घर देऊभञ्ज्याङ्ग हो।“
“देऊभञ्ज्याङ्ग भन्या' कता हो नि?” मैले त्यो केटोसंग सोधें।
“धेरै टाढा छैन। तल रोडबाट गाडीमा एक घण्टा जति लाग्ला। देऊभञ्ज्याङ्ग बजारमा झरेर यामबहादुरको पसल कुन हो भनेर सोधे जल्ले’पनि देखाईदिन्छ।" तिम्रो साथीले जवाफ दियो। तिमीभने अझै चूपचाप थियौ।

“तँ त्योसंग हिँड्नै आँटिस् कि क्या हो--?” छुट्टिएर हामी मायाको मामाघरतिर लागेपछि मैले सोधें।
“अँ----!” मायाले सजिलै जवाफ दिई।
“अरुलाई नि थाहा छ? तेरो घरमा--?”
“कसैलाई नि थाहा छैन। 'पोईल जान्छु!’भनेर घरमा भन्दै हिँड्छ कोई?” माया हाँस्न थाली।
“कहिले नि---?”
“अब १५-२० दिनमा। जानु अगाडि तँलाई भनिहाल्छु नि।“

मायाले १५-२० दिन पनि कुरिन, एक हप्तामै हिँडी। म त्यो दिन अलिक टाढा कतै पुगेकी थिएँ। उसले धेरै बेर मलाई खोजेकी थिई रे।

पछि तिमीले भनेपछि थाहा भयो त्यो केटो तिम्रो नातेदार पनि होईन रहेछ। तिम्रो बाको पसलमा सामान ल्याईदिने साहुको गाडीको खलासी रहेछ ऊ। ती दुबैसंग हाम्रो भेट भएन त्यसपछि।

माया हिँडेपछि मलाई गाऊँमा बस्न झन गाह्रो हुनथाल्यो। माया नभएपछि मायाको घरको बाटो बन्द भयो मेरा लागि, उसका बाऊ-आमा त मसंग बोल्नै पनि छोडे। पहिला मसंग राम्रै ब्यबहार गर्ने मान्छेहरुको पनि मप्रतिको दृष्टि नराम्रो हुँदै गएको थियो अब। 'एउटी गई, अब अर्की पनि जान्छे!’ भनेर गाऊँमा हल्ला हुन थाल्यो। माया नभएपछि बल्ल मलाई आफ्नो जवानी र त्यसमा तीरझैं गाडिन आउने आँखाहरुको अनुभूति हुन थालेको थियो। मसंग छेडखान गर्नेहरु अचम्मसंग बढ्न थालेका थिए। मलाई अब आफू असुरक्षित भएजस्तो लाग्न थाल्यो। माया साथमा हुञ्जेल जवानी ताकेर आउने तीरहरु ऊतिरै सोझिन्थे र म जोगिएकी थिएँ शायद।

कहिल्यै फर्किन नपरे हुन्थ्यो जस्तो लाग्ने घर मेरो बाध्यता बन्यो फेरि। यो बाध्यताबाट उम्किने बाटो खोज्न थालें म। तर कुनै कुनै बाटो देखिएको थिएन। यता गएपनि असुरक्षा र उता गएपनि असुरक्षा थियो मेरा लागि।

मेलामा तिमीलाई देखेदेखिनै मेरो मनमा तिम्रो लागि एउटा ठाऊँ बनिसकेछ। म आफैंलाई पनि पत्यार लागेन कति समयसम्म त! हरदम मेरो स्मृतिमा तिम्रा ती निर्दोष आँखाहरु चम्किरहन्थे ।

मैले तिम्रा ती निर्दोष आँखाहरुलाईनै आफ्नो बाटो र लक्ष्य बनाउने निधो गरें।

र एकदिन म एउटा ट्रक चढेर हिँडे।

देऊभञ्ज्याङ्ग बजार पुगेर म ट्रकबाट झर्दा दिऊँसोको तीन जति भएको थियो। सानो बजार थियो त्यो, दश-बाह्र पसलहरु हुँदा हुन्। 'यामबहादुरको पसल कुन हो?' भनेर सोधखोज गर्दा तिमी बजार छोडेर गाऊँमै फर्केको जवाफ पाएँ मैले। त्यहाँबाट बीस-पच्चीस मिनेटको उकालो बाटो रहेछ। एक्लै जाने मेसो नपाएर म एकछिन त्यतै अल्मलिएँ। तिम्रो र मेरो नाता सोध्ने एक-दुईजनालाई ‘म यामबहादुरकी मामाकी छोरी’भनेर ढाँटिदिएँ मैले।

पछि जजमानी गरेर फर्किएका एकजना बूढा बाजेको साथ लागेर म तिम्रो घर पुगें। ती बाजेलाई पनि पहिला मैले म तिम्री मामाकी छोरी भनेर ढाँटेकी थिएँ तर तिनले पत्याएनन्। म तिमीसंगै 'पोईल' आएकी हुँ भन्ने तिनले भेऊ पाईसकेका थिए कुराकानीबाट। तिनलाई हामी दुईको राम्रो चिनजान र लामो हिमचिम भएजस्तो लागेको रहेछ। 'यामे मान्छे हेर्दा सोझो देखिन्छ तर बज्जे कम्ताको चाहिँ होईन रहेछ!' भनेर हाँस्दै थिए। मैले पनि मौन हाँसेर सहमति जनाईदिएँ, त्यहि नै सुरक्षित लागेर।

"ए यामे, ल हेर्, तेरी दुलही आ’की छे!” तिम्रो आँगनमा पुगेपछि ती बाजे कराए। घरको ढोका खुलै थियो, तर तिमी निक्लिएनौ।
"दैलो खुल्लै छ। एकछिनमा आऊँछ होला। मेरो घर अलिक टाढा छ। साँझको बाटो---“ भनेर बाजे हिँडे।

एकछिन पछि तिमी आयौ।

र तिमी मलाई हेरेको हे-यै भयौ। अनि म पनि तिमीलाई हेरेको हे-यै भएँ। हामी धरै बेर नजानिँदो, मन्द मुस्कान साटिरह्यौँ।

"---अँध्यारो भयो----", धेरै बेरपछि तिमी लाज मानी-मानी बिस्तारै बोल्यौ। हामी भित्र पस्यौं, तिमीले टुकी बाल्यौ।

र मेरो जीवनमा उज्यालो छायो।

त्यसपछिको कथा, मेरो जीवन उज्यालिएपछिको कथा, तिमीसंगको मेरो प्रेमकथा, हाम्रो जीवनकथा; खुल्ला पुस्तकझैं देखेको छ यो दुनियाँले।

'यामेले स्वास्नी ल्यायो रे!' भन्दै मलाई हेर्न आउनेहरुको भिड र गाऊँमा हुने हामी बारेका सत्य-असत्य अनेक कुराहरु पातलिन थाल्दा बल्ल तिमी राम्ररी बोल्न र खुल्न थालेका थियौ। पाँच वर्ष पहिले तिम्री आमा बितिछन्। अनि एक वर्ष पहिले तिम्रा बा बितेछन्। बा बितेपछि पनि बजारको त्यो सानो चिया पसल चलाएछौ तिमीले केहि समय, तर पछि बजारमा बस्न मन नलागेर पसल बेचेछौ। बजार जँड्याहाहरुको अखाडा भएको तिमीलाई मन नपरेको कुरा गरीरहन्थ्यौ तिमी। पछि हामीले गाऊँमै सानो चिया पसल चलायौं।

म, भएर पनि हुन नसकेको मेरो माइतीतिर कहिल्यै फर्किईँन।

अझै पनि कहिलेकाहीँ लाग्छ; 'त्यो बेला तिमी नभेटिएको भए!----’ अथवा ‘त्यो केटाले देऊभञ्ज्याङ्ग यस्सै भन्दिएको भए र तिम्रो घर अन्तै भैदिएको भए----!' अथवा “तिमीले मलाई नस्विकारेको भए!----' अथवा '----!'। म एकपछि अर्को सैयौं डरलाग्दा सपना देखेझैं झस्किन्छु, आङ्ग जिरिङ्ग हुन्छ।

चारवटा छोराछोरी हुर्काऊँदा ३० वर्ष बितेको पत्तै भएन। अब त छोराछोरी सबैको घर बसिसक्यो, कोहि संगै छन्, कोहि अलिक पर पुगेका छन्। काखमा नाती-नातीनाहरु पनि खेल्न थालिसके। अरुले हेर्दा जिन्दगीमा सबैथोक छ।

तर तिमी छैनौ।

तिमी मलाई छोडेर यति चाँडै किन गयौ???

तिमीमा कुनै रोग थिएन। पचास-एकाउन्नको उमेरमा पनि तिम्रो फूर्ति देखेर मान्छे छक्क पर्थे। त्यो दिन पनि दिऊँसो तिमी र म तरकारी बारीमा काम गर्दै थियौं। तिमीले मुटु दुख्यो भन्यौ र गएर पिँढीको गुन्द्रीमा सुत्यौ। म पनि पछि-पछि गएँ र तिमीलाई दिन भनेर भित्रबाट एक गिलास पानी लिएर आएँ।

म पानी लिएर आईपुग्दा तिमी छटपटाउन थालिसकेका थियौ। मैले तिम्रो टाउको उठाएर मेरो काखमा राखें। के गरौं, कसलाई बोलाऊँ भनेर म आत्तिदैं थिएँ, तिम्रो मुखबाट फिँज आयो अलिकति। त्यसपछि तिमीले एकपटक मलाई हे-यौ र मलाई छाडेर गयौ!

यसरी हाम्रो प्रेमकथामा म एक्लै भएँ! र म जिन्दगीमा फेरि एक्लै भएँ!

कहिलेकाहीँ दु:ख लाग्छ मैले तिम्रो काखमा मर्ने सौभाग्य पाईँन। फेरि कहिले अलिक सन्तोष पनि लाग्छ, तिम्रो अन्तिम घडीमा तिमीलाई मैले मेरो काख दिन पाएँ।

म काँतर होईन र यो मेरो आत्महत्या पनि होईन, शायद मेरो चाहनाको बलले खिँचिएर मृत्यु मेरो नजिकै आईपुगेको हो। छोरा-बुहारीबाट अपहेलित पनि छैन म। नाती-नातीना खेलाएर अर्को पन्ध्र-बीस वर्ष सजिलै काट्न सकिन्थ्यो होला, तर तिमी गएपछि किन-किन यस्सै बाँच्ने मन मर्दै आएको छ। मलाई तिमीविना एक्लै बस्न मन छैन। मेरो अस्तित्वको ठूलो अंश तिमीसंगै गईसकेको छ र बाँकीलाई पनि म तिमीमै मिलाउन चाहन्छु।

मलाई बिस्तारै निद्राले छोप्दैछ। मलाई थाहा छ, भोलि बिहान म यो संसारमा ब्युँझने छैन।

मान्छेहरु जम्मा हुनेछन् र भन्नेछन्, "बिचरी! उमेरै नभई गई!", त्यसरीनै जसरी तिमी जाँदा "बिचरो! उमरै नभई गयो!" भनेका थिए। उनीहरु "तीन महिना पहिला लोग्ने बितेको तोडले ओईलाऊँदै गएकी थिई बिचरी!" पनि भन्लान्। हाम्रो प्रेमकथाको चर्चा होला फेरि एक पटक र केहि समयपछि धेरैले हामीलाई बिर्सेलान्। कसैले बिर्सेलान्, कसैले सम्झेलान् तर हाम्रो प्रेमकथा, तिम्रा-मेरा सुस्केराहरु, तिम्रा-मेरा हाँसोहरु अनन्तसम्म यो धर्तीको कुनै कुनामा गुञ्जिरहेनछन्।

म तिमीलाई देखिरहेछु प्रियतम! तिमी आहिलेपनि एक्लै एउटा घरमा मलाई कुरेर बसिरहेछौ। म आउनेछु र हामी फेरि मुखामुख गरेर मन्द-मन्द मुस्काउँनेछौं। अनि हामी घरभित्र पस्नेछौं र तिमीले टुकी बाल्नेछौ।

र मेरो जीवन फेरि उज्यालो हुनेछ।

(००:३२ बजे, जुन २१, २००९; नागोया, जापान)

31 comments:

  1. nameste basanta jee.
    maiala hajura ko yo pream katha padana mauka paya sarai ramro ane manlai chuna khalko lakhnu bhayako raicha.... katha padi jada suruma sautani ama ko gali ane thpda sabda ma kata malai pano affni ama ko samjana nayko haina tara ....... bas yo katha padsi 1ta prasana man ma lago cha ka yo katha satya ho ya hajurako kalpana????????? hasta aru ramro ramro lakha haru padna pauna asaha sahita beda chanchu...
    rita

    ReplyDelete
  2. मनको भित्री तहसम्म गहिरो स्पर्श गर्नेगरि साह्रै मार्मिक कथा लेख्नु भयो । मिठासपूर्ण ठेट नेपाली शव्दहरु प्रयोग गरिएको सुन्दर शैली । हामी सबैको जीवन शायद यस्तै अलिखित कथाहरुको संकलन हो।

    नलेखिएका ती कथाहरु कसैले बिर्सेलान, कसैले सम्झेलान तर हामीले हासेका पलहरु, हामीले गएका भाकाहरु, हामीले कोरेका ब्लगहरु :) उकाली ओरालीका सुस्केराहरु यो धर्तिको कुनै कुनामा गुन्जी रहनेछन अनन्त सम्म ।

    ReplyDelete
  3. प्रेमी तथा स्वास्नी जे भनौं वसन्तजी, यो कथाको प्रमुख नारी पात्र पछिल्ला दिनहरुमा अत्यत्न खुशी र परिवारसँग राम्रो हुलमिल भएको बसेको देखिन्छ । तर एक्कासी मर्ने इच्छा उनमा कसरी आयो
    अलिकति कताकता कथाले एक्कसी फड्को मारेको हो कि जस्तो लाग्यो ! प्रस्तुति प्लट राम्रो छ । कथाले नारी वेदना र सामाजिक पीडावोधलाई उजागर गरेको छ । क्लिस्ट छैन ।
    लेख्दै रहनुस्, पढ्दै जान्छौं ।

    ReplyDelete
  4. साँचै कति मुटु छुने कथा लेख्नुभएको छ, एकै छिन भएपनि तपाईंको यो हृदयस्पर्शी कथा पढेर मलाई आनन्द आयो । मिठो तथा मार्मिक कथाको लागि तपाईंलाई धन्यवाद र अब तेश्रो कथाको पर्खाइमा छु, आशा छ त्यो पनि एउटा सफल कथाको रुपमा उभिनेछ ।

    ReplyDelete
  5. 'आहा क्या स्वादिलो मासु ! कुन मसला हालेर पकायौ ? भन भन बा !!!' भने जस्तै भयो बसन्त दाई तपाईंको यो लेख । धित पुर्याएर पढें । हाल्न पनि मसला, बेसार, खुर्सानीहरु सबी कसरी ट्वाक्क मिलाएर पकाउनुभएको त गांठे, यो तरकारी !

    ReplyDelete
  6. sarai marmasparshi cha, looking forward to another one

    ReplyDelete
  7. नढाँटी भन्नु पर्दा एकछिन त अलि लामो लागेर पढन हिच्किचाए तर जब कथा अगाडी बढयो झन झन रस पस्दै गयो । मज्जाले पढेर सिध्याए ।

    परिवर्तित समाजको आँखाभित्र पनि अहिले सम्म जरो गाडेर बसेका बिसंगतीहरुलाई आत्मसाथ गर्दै एकल सहारामा जिउदा जिउदै युगल बनि त्याग गरेको प्रेमको बलिदान रुपि कथाको प्रस्तुती निकै मार्मिक लाग्यो बसन्त जी । म पनि अरु भागको प्रक्षितामा बस्नेछु ।

    ReplyDelete
  8. यकदमै राम्रो कथा लेख्नु भएकोछ बसन्तजी

    ReplyDelete
  9. हिजों अफिसबाट यो पोष्टमा यसो चिहाएको थिएँ, सिकारुजीले भन्नु भए जस्तै तलतीर स्क्रोल गरेर हेर्दा लामो देखेर फुर्सदमा पढ्छु भनेर छाडेँ । तर अहिले पढ्दा महशुस भयो कथा लामो हैन 'एकै सास' मा सक्कीने रहेछ ! ।

    कथा पढिरहँदा, काथाका घटनाक्रमहरु मानसपटलमा दृश्य झै बनेर देखा परे, यो पक्कै पनि कथाको उत्कृष्टताले नै भएको हो । तर यो कथाको 'म' पात्र र उसको पुरुष प्रेमी जम्मा जम्मी एक भेट मात्रै भएको छ । त्यत्तीकैमा बिन्दे घरै छाडेर देउभयञ्याङ पुग्नु र उसले पनि स्विकार्नु भन्दा बिचमा एक-दुई भेटको चित्रण राख्दा अलिक नाटकिय लाग्दैन थ्यो की जस्तो लाग्यो ।

    मायाको बिन्दासपन भने रमाईलो लाग्यो :)

    ReplyDelete
  10. लौ ठ्याकै दिलीप जी जस्तै गरे मैले पनी - हिजो | मिठास पूर्ण लाग्यो |
    कथामा शिव जी ले भने जस्तै - एक्कासी मर्ने इच्छा कसरी आयो अनि .... म पत्र लाइ एक्कासी सहज रूपमा कुनै सल्लाह बिना कसरी यामे ले स्वीकारेको प्रसंग - मात्र अलीकती कस्तो कस्तो लाग्यो नत्र अरु सबै ठीकै छ, लेखाइ ससक्त नै रहेको छ शब्द समायोजन पनी मिठो रहेको छ |
    धन्यवाद ! यस्तै सुन्दर कथाहरु पढ्न पाउदै गरौ |

    ReplyDelete
  11. शब्द र भावनाको मिठो समिश्रण !मजाले पढे।

    ReplyDelete
  12. Basanta dai, Katha nikai ramro lagyo, atyantai man chhune. mathi ka comments ma bhaniye jasti sabda chayan ra prastuti le garda padhna thale pachhi chhodnai man nalagne rahechha.
    Suresh Dawadi (Hoping next one)

    ReplyDelete
  13. कथा सारै नै राम्रो लागयो, शुरु देखी अन्त सम्म कथा सलल बगेको छ । एउटा नारीको बाध्यता अनि बिबशता लाई बडो मिठो ढङगले कथा मा समेट्न सफल हुनु भयो बसन्त जी, धन्यबाद अरु पनि यस्तै मीठो रचना को प्रतिक्ष्या मा छु ...........

    ReplyDelete
  14. Really enjoyed the story! waiting for the next.

    ReplyDelete
  15. wowwwwwwwwww nikai ramroo 6 ta

    ReplyDelete
  16. कथाको लम्बाइ हेरेर आनकान गरेको धेरै भएको थियो, आज बल्ल सार मिल्यो । पढ्न एकदमै रमाइलो भयो ।

    ReplyDelete
  17. oho love story ta tregic ra romantic dubai rahechha .dherai ramro lago.keep on

    ReplyDelete
  18. basanta ji euta jaruri kura bkg@yahoo ma pathakko chhu hernu hola chitto.

    ReplyDelete
  19. thikai ho tara ramro chai lagena malai...ani yesto hunna pani..kta, kt ko milanko prakriya sayad aapatyarilo cha jasto lagchha malai...hope you willl come with a nice one next time...

    ReplyDelete
  20. कथा सुरुदेखी नै कौतुहलपूर्ण र सर्र बगेको छ | हाम्रो ग्रामीण समाजका मानवीय समस्याहरुलाई यसले राम्ररी उजागर गरेको छ | कथाकार आफू द्वन्द नरुचाउने स्वभावको हुनुभएकोले होला, संभावित द्वन्दका परिस्थितिहरुमा भने बडो सावधानीपूर्वक कथालाई घुमाएर बहाई दिनुभएको छ |कथाको अन्त्य भने असाध्यै मन पर्यो मलाई, कथाकारको गहिरो कलाकारिता झल्केको छ त्यहाँ |
    जे होस कथा पढ़ीसकेपछि एकछिन निकै गंभीर भएर सोच्न बसें म |

    ReplyDelete
  21. कथा पढिदिनुहुने, प्रतिकृया दिनुहुने सबैमा हार्दिक धन्यबाद!

    कथा लेखन यात्राको प्रारम्भिक चरणमै छु अझ र यसैले यहाँहरुका प्रतिकृयाले मलाई आफ्नो लेखन शैली सुधार्न धेरै सहयोग गर्नेछन्।

    यो कथा मैले सुनेका दुई-तीन सत्य घटनाहरुमा आधारित भएर लेखिएको हो। कथाका मोडहरु, विशेष गरी यामेले बिन्देलाई स्विकार गरेको र पतिको मृत्युपछि बाँकी परिवारसंग राम्रै सम्बन्ध भएपनि बिन्देको मृत्यु, अलिक अपत्यारिला भए भन्ने गुनासो जायज हो। समाजलाई अलिक ध्यान दिएर हेर्दा दोश्रोचाहिँ त्यति अपत्यारिलो लाग्दैन। गहन प्रेमका अवश्थामा यो हुनु सम्भव छ, भएको पनि छ, मैले प्रत्यक्ष देखेको छु। आफूले अत्यन्त प्रेम गर्ने कसैको निधनले पार्ने मानसिक चोटका कारण, अरु सबै कुरा राम्रै भए पनि, कुनै ब्यक्ति बिन्दे जस्तै मृत्युवरण गर्न पुग्छ। यस्तो नहुँदैमा गहन प्रेम नहुने वा गहन प्रेममा यस्तो मृत्यु हुनैपर्ने भनिएको होईन, बिभिन्न संभावनाहरुमध्ये एउटा जनाउन खोजिएको हो।

    अर्को, एक भेटको र त्यो पनि अपुरो चिनजानमै बिन्दे यामेलाई खोज्दै जानु र यामेले पनि सहर्ष स्विकार गर्नु भने धेरै अविश्वशनीय हो, यसमा दुई मत हुन सक्दैन। बिन्देजस्तै केटालाई खोज्दै आएर सुन्दर घरजम सृजान गरेका केहि महिलाहरु नेपाली समाजमा देखेको छु मैले, तर उनीहरु बिच कति पटक भेटघाट भयो वा चिनजान कुन तहसम्मको थियो भन्ने थाहा छैन। बिन्दे र यामेलाई दुई-चार पटक अरु भेट गराईदिएको भए पनि हुन्थ्यो मैले तर धेरै पटक भेट हुँदैमा सम्बन्ध प्रेममय हुने निश्चित छैन। धेरै पटकको भेटमा पनि सम्बन्धले लिनसक्ने घुम्तीका संभावनाहरु धेरै छन्। अलिक दन्त्यकथाको छनक आउने जान्दा-जान्दै पनि एक भेटमै सीमित राखिदिएँ मैले। गहन प्रेमकथाहरु दन्त्यकथाजस्तै हुन्छन् धेरैजसो। तर एक भेटमै सीमित राख्नुपर्ने अवश्थमा दुबैको चरित्र-चित्रण र त्यो भेटको कुराकानीमा अलिक धेरै शब्द खर्चिएको भए हुन्थ्यो जस्तो लागिरहेको छ अहिले। कथा कुनै पत्रिकालाई दिनु अगाडिसम्म समय हुँदा परिमार्जन गर्ने मन छ।

    चैतन्यजीले भनेजस्तै मैले द्वन्द्वलाई सकेसम्म टारेको छु। यो मेरो स्वभावकै छाया पनि हुनसक्छ। द्वन्द्वहरुमा बिस्तृत रुपले जाने हो भने उपन्यासको रुप दिन सक्नुपर्छ यो कथालाई, त्यसका लागि मसंग अहिले सीप र समय दुबै छैन।

    अन्त्यमा यहाँहरुका सूझबूझपूर्ण प्रतिकृयाहरुका लागि फेरि एक पटक आभार ब्यक्त गर्दै आगामी कथाहरुमा आफूलाई सुधार्ने बिश्वाश दिलाउन चाहन्छु।

    ReplyDelete
  22. thanks for ur letter i think ur again u can write all the best ur life ok

    ReplyDelete
  23. A heart-touching story. I like the "tuki" metaphor at the end of the story:
    "अनि हामी घरभित्र पस्नेछौं र तिमीले टुकी
    बाल्नेछौ।
    र मेरो जीवन फेरि उज्यालो हुनेछ।"
    These lines made my eyes moist.

    You're a good writer. I found my way to your site from sajha.com where I first read your story.

    ReplyDelete
  24. धन्यबाद अजयजी! ब्लगमा स्वागत छ!

    तपाईँले दिनुभएको हौसलाको लागि आभारी छु। यसले मलाई लेखनलाई निरन्तरता दिन र अझ राम्रो लेख्न प्रेरणा दिएको छ।
    यसपछि पनि तपाईँका प्रतिकृयाहरुको प्रतीक्षामा रहनेछु।

    ReplyDelete
  25. heart touching .....motivational ..i liked it

    ReplyDelete
  26. धन्यबाद श्यामजी!

    ReplyDelete
  27. Dherai ramro lamo comment kina garnu hai

    ReplyDelete