September 29, 2008

अर्को एउटा राजनीतिक जमघटमा

नेपाली कांग्रेसका यूवा नेता नविन्द्र राज जोशी र कान्तिपुरका पत्रकार राजाराम गौतम जापानमा छन् यतिखेर। हिजो नागोयामा उनीहरुको स्वागतमा एउटा कार्यक्रम राखिएको थियो नेपाली जन-सम्पर्क समितिको तर्फबाट।

कार्यक्रममा जाने योजना बनाएको थिएँ। आफ्नै पुस्ताका नेताहरुसंग अन्तर्कृया झन बढी हुनुपर्छ जस्तो लाग्छ मलाई किनभने हामी तिनै यूवा नेताहरुसंग नेपालको ‘भविष्य’का साझेदार हौं। अर्कोतिर, नेपालको बारेमा नेताहरुभन्दा पत्रकारहरुबाट समग्र जानकारी पाइने हुँदा पत्रकार गौतमसंगको कुराकानी पनि फलदायकै हुने लागेको थियो। नेताहरुमा जानकारी नहुने होइन, तर सामान्यतया उनीहरुको प्रस्तुति एकोहोरो र आफ्नो दल विशेषलाइ उच्च देखाउने उद्देश्यबाट प्रेरित हुन्छ।

राजाराम भाइ र म फेरि एउटै गाउँका दाजुभाइ प-यौं। इ-मेलमा यदाकदा सम्पर्क भईरहेपनि नभेटेको तीन-चार वर्षै भइसकेको थियो। त्यो पछिल्लो भेट पनि छोटो थियो। यसैले गाऊँको बारेमा, गाऊँका साथीहरुको बारेमा ‘अपडेट’ हुने मौका पनि मिल्नेभयो।

विशेष कारणवश म ज्यादै ढिला पुगें। कार्यक्रम लगभग सकिईसकेको थियो। अन्तिममा, नविन्द्रराज जोशीज्यूबाट सहभागीहरुका केहि प्रश्नहरुको उत्तर दिईँदै थियो। उनको प्रस्तुति स्पष्ट र तर्कपूर्ण थियो। तर सहभागीहरुमा ‘खानपीन’ भित्रको ‘पीन’ले असर देखाउन थालेको थियो। धेरै-जसो साथीहरुको कुरा एकदम incoherent हुन थालिसकेको थियो। हामीलाई ‘पीन’ पछिमात्रै ‘सिरियस’ कुरा गर्ने जंग चल्छ, त्यतिखेरको कुराको अदि, मध्य र अन्त्यमा कुनै सम्बन्ध नहुने हामी सबैलाई थाहा हुँदाहुँदै पनि।

पछि नेपालका सभासदहरुले साइकल चढेर संविधानसभा भवन जाने कुराको समर्थनमा जोडदार कुरा भयो र तुरुन्तै चन्दा पनि उठाउन थालियो, जापानमा बसेका नेपालीहरुको तर्फबाट केहि साइकलहरु उपहार दिई अभियानको शुरुवात गर्न। कुरो राम्रै हो, सबै सभासदले मानेर चढिदिए झन राम्रो हुने थियो।

कार्यक्रम सकिएपछि गाऊँको बारेमा, साथीहरुको बारेमा ‘अपडेट’ भइयो राजाराम भाइबाट। पत्रकारिताको आँखाबाट देखिने नेपालको समसामयिक राजनीतिलाई पनि अलिअलि बुझ्न पाइयो।

September 26, 2008

जब लुकीलुकी चियाऊँछ रंगीन शरद


कविताः जब लुकीलुकी चियाउँछ रंगीन शरद 

लाग्छ हरपल तिमीले-
काँध कोट्याएर बोलाइरहेजस्तो
पछाडिबाट सुटुक्क-
आँखा छोपेर झुक्याएजस्तो
जब लुकीलुकी चियाउँछ रंगीन शरद
दोबाटोमा अलिक छेलिएर-
तिमी मलाई कुरिरहेजस्तो
र हरेक घुम्तीमा म मोडिँदा-
तिमी मेरो छातीमा ठोक्किएजस्तो
जब लुकीलुकी चियाउँछ रंगीन शरद
हेर, मभित्र बगेको तिम्रो याद
झन् झन् गाढा भईरहेको
जब लुकीलुकी चियाउँछ रंगीन शरद
ए मेरो देश!
हेर, तिम्रो मिहिन स्पर्शले मात्तिएको म
तिमीसंगको मेरो प्रेमकथा
निष्फिक्री, बेपर्वाह
यी घुम्ती-घुम्तीलाई सुनाइरहेको
घुम्ती कुरेर बसेका
यी बस्ती-बस्तीलाई सुनाइरहेको ।


-सेप्टम्बर २००८
नागोया, जापान

September 22, 2008

किन यति निर्दयी हुन्छन् मान्छेहरु????



चीनको विषाक्त दूध प्रकरणले यता जापानमा पनि हल्ला फैलाएको छ। चीनमा उत्पादित दूध र दूध मिसिएका खानेकुराहरु भटाभट हटाईँदैछन् बजारबाट। चीनको द्रूत आर्थिक विकासको 'बाइ प्रोडक्ट'का रुपमा यस्ता दुर्घटनाहरु लगातार बढिरहेका छन्। चीनमा उत्पादित 'ग्योउजा'(Dumplings)मा किटनाशक विषादि मिसिएको भेटिएको एक वर्ष पनि भएको छैन। त्यसका कारण जापानी मनमा चिनियाँ खाद्य उद्योगले खडा गरेको आतंक साम्य हुन नपाउँदै यो घटना घटेको छ। यस्ता कुरामा जापानीहरु अत्यन्त संवेदनशील छन्। हुनपनि गुणस्तर, त्यो पनि खानेकुराको सवालमा, जापानीहरुजति संवेदनशील अरु कमै होलान्। अब लामो समयसम्म चिनियाँ खानेकुराहरु कम देखिएलान् बजारमा। हाम्रो छिमेकी बंगलादेशले पनि यस विषयमा आवश्यक निर्णय गरिसकेको छ। हाम्रो देशमा के भईरहेको होला? हाम्रो देशमा पनि चिनियाँ सामानहरु र खानाहरु छ्यास्छ्यास्ती छन्। विषाक्त दूध हाम्रो बजारमा पनि आईपुगेको थियो होला। यस बारेमा सरकार कत्तिको चनाखो भएको छ कुन्नि?

मान्छेहरु आफ्नो कुत्सित स्वार्थका लागि कतिसम्म तल गिर्न सक्छन् भन्ने कुराको प्रमाण हो यो। ती लाखौं-करोडौं अबोध निर्दोष बच्चाहरु जसले ती कम्पनीहरुका दूध पिए, तीनको के दोष थियो?! सैयौंले आफ्नो सुन्दर जीबन गुमाएका छन्, हजारौं सिकिस्त विरामी भएका छन्। यो घटनाको खुलासा नहुँदै कति बच्चाहरुले ज्यान गुमाईसकेका थिए होलान्। यसको असर धेरै पछिसम्म देखिनेछ। ती बच्चाहरु कुनै न कुनै हिसाबले शारीरिक-मानसिक रुपमा अशक्त वयस्क भएर बाँच्नेछन्।

सुन्दर फूलजस्ता निर्दोष बच्चाहरुप्रति पनि कोहि किन यति निर्दयी हुनसक्छ? बच्चाप्रति निर्दयी हुने 'मानिस' मानिस होइन जस्तो लाग्छ। मेरो लागि त पृथ्वी सुन्दर हुनुको एउटै कारण बच्चाहरुनै हुन्।

आफ्नै देशबाट पनि नराम्रा खबरमात्रै आउँछन्। हिमालखबरमा केहि दिन पहिला पढेको थिएँ, एउटा गरीबको बच्चालाई कथित तान्त्रिक र केहि ठूला-ठालू मिलेर बली दिएछन्। त्यो पढेदेखि मनस्थिति एक हिसाबले ठीक ठाउँमा छैन अचेल। यो कस्तो धर्म? अबोध बच्चाको बली नखाइ 'नअघाउने' तीनका देउता कस्ता? तर दोषीहरु भने अझै चोखै छन्, उल्टो तीनको संरक्षणमा प्रशाशन राजनीतिका माथिल्ला तहका ब्यक्तिहरु लागेका छन्! यो कस्तो विडम्बना हो? कस्तो नियति हो हाम्रो? हामी २१ शताब्दीमा आईपुगेका हौं कि नरभक्षी युगमा फर्केका हौं?

September 16, 2008

'लाल बत्ती बजार' को समर्थनमा दुई शब्द


वामदेव गृहमन्त्री भएपछिको एउटा निर्णयले नेपाली समाजमा धेरै तरंग ल्याईदिएको छ र थुप्रै वहसहरु उठाएको छ। यसले हाम्रा सामजिक र सांस्कृतिक मान्यताहरुको 'शूतुरमुर्गी' रुपलाई ह्वाङ्गै देखाइदिएको छ। जतिसुकै कथित गौरवमयी परम्पराहरु र 'सांस्कृतिक आदर्श'हरुको कुरा गरेपनि साँझ परेपछिको हाम्रो यात्रा भने अन्तै कतै पुगिसकेको रहेछ। यी तमाम विकृतिहरुको मलजलमा समाज र सरकारकै धेरै हस्तीहरु सामेल छन्, तर हामी नदेखेझैं गरीरहेछौं। अब भने देखेको छु भनेर स्विकार्ने र सही सामाधान खोज्ने दिन आएको हो कि?

हामीकहाँ काम गर्न भन्दा पनि 'गरेझैं देखाउन' मात्रै निर्णयहरु हुन्छन्। 'राती एघार बज्नासाथ सबैले झ्याल-ढोका थुन्नुपर्ने' राणाकालीन शैलीको आदेश पनि यस्तै बेतुकको र लहडी निर्णय हो र कुनैपनि समस्याको गतिलो विश्लेषण नगरी सनकका भरमा हचुवा समाधान दिने हाम्रा नेताहरुको काम गराईको निरन्तरताको अर्को अध्याय मात्रै हो।

काठमाण्डौं एउटा आधुनिक शहर हो र आधुनिकतासंगै रात्रिजीवन पनि यसको यथार्थ र जरुरी आवश्यकता हो। एउटा कुरा के स्पष्ट पारीहालौं भने 'रात्रीजीवन'भित्र नेपालमा सामान्यतया परिभाषित गरिने नाचगान र देह-ब्यापारका कुराहरुमात्रै पर्दैनन्(ती कुराहरुका बारेमा तल चर्चा गरौंला)। एउटा आधुनिक ब्यस्त शहरले अरु थुप्रै पेशागत कामहरु पनि गरिरहेको हुन्छ रातभरि। त्यसकारण यो काइते निर्णयले काठमाडौंलाई धेरैतिरबाट अँठ्याएर सकस दिने ठाऊँ छ। हाम्रो प्रहरी-प्रशाशन उसैपनि 'कुख्यात' छ जनतालाई दु:ख दिन, अब यहि निर्णयको मारमा कति सोझा जनताहरु पर्ने हुन्!

रेष्टूरेण्ट र बारहरुको हकमा मात्रै यो निर्णय भएको हो भनेर पनि चोखिने ठाउँ बिल्कूलै छैन। विदेशी पर्यटकहरु हाम्रो नेपालका र काठमाण्डौंका सबैभन्दा ठूला 'अन्नदाता' हुन्। पैसा खर्च गरेपछि उनीहरुले सकेसम्म रमाईलो बसाई खोज्नु स्वाभाविक हो। रमाईलो रात्रिजीवन त्यसकै एक अंग हो। त्यसकारण यो निर्णयले काठमाण्डौं र समग्र नेपालकै पर्यटन उद्योगमा नकारात्मक असर पार्ने निश्चित छ।

काठमाण्डौंमा हुने देह-ब्यापार नयाँ कुरो होइन र यसलाई जोगाउन र हुर्काउन प्रहरी र प्रशाशनकै दह्रिलो आड र भरथेग भएको कुरा पनि नयाँ होइन। सडक-सडकका नगरवधूलाई धम्क्याएर 'नि:शुल्क' यौनआनन्द लिने र उल्टो हफ्ता समेत असुल्ने नेपाली प्रहरीलाई नचिनिएको होइन। अहिलेका डान्स बारहरुका संचालकहरुले पनि प्रहरी र प्रशाशनको आड नलिई यति ढुक्कले आफ्नो कारोबार गरेका छैनन्। नेपालको र विशेष गरी काठमाण्डौंको यौन-बजारले विशाल समानान्तर अर्थतन्त्रको रुप धारण गरिसकेको छ। यसबाट प्रहरी-प्रशाशनले लिने रकम पनि करोडौंमा पुग्छ होला। अचेल पत्रिकाहरुमा पढ्न पाईन्छ, 'सेक्स डान्स' हुने यस्ता बार र रेष्टूरेण्टहरुका ग्राहक ओसार्ने काममा समेत सबै तहका प्रहरीहरु संलग्न छन्, काठमाण्डौंको 'सुरक्षा' गर्न बसेका हाम्रा प्रहरी दाजुभाइहरु! कहिलेकाहीँ त्यस्ता ठाउँहरुमा 'छापा' मारेको खबर पनि आउँछ, तर प्रहरीले त्यहाँ नाचीरहेका दुइ-चार केटीहरुलाई समातेर ल्याएर उल्टो बेइज्जती र यौन-शोषण गर्छ। धन्दा चलाउनेहरुलाई छुँदा पनि छुँदैन

यौन-ब्यापार गलत हो-होइन भन्ने कुरामा लामो बहस चल्न सक्छ। तर जसले जे नियम-कानून बनाएर रोक्न खोजेपनि यो चल्दै आएको छ। 'मानवजातिको सबैभन्दा पूरानो पेशा' भनेर त्यसै भनिएको होइन यसलाई। हो, हाम्रो समाजमा जबर्जस्ती बेश्यावृत्तिमा लगाइएकाहरु अथवा गरीबिको कारण त्यता लाग्न बाध्य भएकाहरुको अंश ठूलो छ। त्यो अबश्थाको अन्त्य हुनु जरुरी छ। त्यसका लागि हाम्रो सामजिक-आर्थिक ब्यबश्थामा धेरै सुधार र परीवर्तन जरुरी छ; रात्रीजीवनमाथि कडाइ गरेर अथवा वेश्यावृत्तिलाई प्रतिबन्ध लगाइएको घोषणा गरेर मात्रै त्यो समस्याको अन्त्य हुँदैन।

अनियन्त्रित यौन-बजार बढ्दै जाँदा यौन रोगहरुको विस्तार पनि अनियन्त्रित हुँदै जान्छ। आसन्न यौन-रोग महामारीको बारेमा गम्भिरतापूर्वक चिन्तन गरिएको र त्यो हुन नदिन योजनाबध्द ढंगले काम गरिएको छैन अझै।

त्यसकारण सरकार र समाज अलिकति उदार हुनु जरुरी छ। भईरहेको कुरालाई स्विकार्नुको विकल्प छैन। यौन-ब्यापारलाई कानूनी मान्यता दिनुपर्छ किनकि अबको काठमाण्डौंका लागि ब्यबश्थित यौन-बजारको विकल्प छैन। शहरको मूलबस्तीभन्दा अलग एउटा ठाऊँ यौन-केन्द्रित गतिबिधिहरुको लागि छुट्याउने र त्यसलाई 'लाल बत्ती बजार'(रेड लाइट एरिया)को रुपमा विकास गर्ने काम सरकारी योजनामै पर्नुपर्छ। होइन, सरकारलाई 'लाज' लाग्छ (!) भने केहि नीजि ब्यबसायीलाईनै जिम्मा दिएपनि भयो।

यस्तो रेड लाइट एरियामा कार्यरत सबैको नियमित स्वास्थ-जाँच गर्नुपर्ने बाध्यात्मक ब्यबश्था पनि गरिनुपर्छ र हरेक यौनकर्मीको बारेमा प्रष्ट तथ्यांक राखिनुपर्छ। यौन-रोगको अनियन्त्रित विस्तार रोक्ने एउटै उपाय यहि मात्र हो।

यौन-ब्यापार र यससंबन्धी बिभिन्न गतिबिधिले सृजना गरेको विशाल अर्थतन्त्र कानूनी सीमामा आईसकेपछि यसबाट देशलाई हुने आर्थिक लाभ पनि सानो हुने छैन।

अर्कोतिर, दिनभरि ठूला-ठूला आदर्शका कुरा गरेर साँझ पर्नासाथ बेश्यागमन गर्नेहरुको अनुहार पनि सजिलै उदांगिने छ। हाम्रो समाजमा जो यौन-ब्यापारको बिरोधमा चर्का-चर्का कुरा गरिरहेका छन्, उनीहरुनै सबैभन्दा धेरै वेश्यागमन गर्छन्। अहिलेको 'भूमिगत यौन उद्योग'मा त्यस्ता मान्छेहरु सजिलै 'लुकेर' बस्न सक्छन्।

September 11, 2008

जापानी राजनीतिलाई बुझ्न खोज्दा


केहि दिन पहिला जापानी प्रधानमन्त्री यासुओ फुकुदाले राजीनामा दिने घोषणा गरे, पदभार ग्रहण गरेको एक वर्ष पुग्नै लाग्दा। उनी अगाडिका शिन्जो आबेले पनि एक वर्ष नपुग्दै राजीनामा दिएका थिए। गएको पन्ध्र वर्षमा जापानमा तेह्र वटा सरकार बनिसके। पहिला मैले कतै इटालीको राजनीतिको बारेमा एउटा जोक पढेको थिएँ, इटालीमा प्रधानमन्त्रीमा को 'आयो' भनेर जनताले ध्यानै दिँदैनन् रे, ऊ पदबाट खुस्किसकेपछि मात्रै 'ए! यो पनि गएछ!' भन्छन् रे। ठ्याक्कै त्यहि स्थिति जापानको बारेमा पनि लागू हुन्छ। राजनीतिक अस्थिरता हामीजस्ता तन्नमहरुको भागमा मात्रै हो कि भन्ने लाग्छ हामीलाई, तर केहि विकसित देशहरु पनि राजनीतिक अस्थिरता झेलिरहेका छन्। फरक के हो भने ती देशहरुमा कर्मचारीतन्त्र, अर्थतन्त्र र विदेशनीति पनि संगै अस्थिर हुँदैनन्। राजनीतिक अस्थिरताले हिँसाको रुप पनि लिँदैन कुनै हालतमा पनि। तरैपनि, जापानजस्तो देशको पूरा क्षमतालाई अगाडि आउन भने दिँदो रहेनछ राजनीतिक अस्थिरताले। राजनीतिक अस्थिरताका कारण जनतामा राजनीतिप्रति उदासीनता आयो भने सामाजिक-आर्थिक वातावरण बिस्तारै जमेको पोखरीमा रुपान्तरित हुँदो रहेछ।

जापान बसेपनि जापानको बारेमा एकदम कम बुझेको र बुझ्ने कोशिश गरेको छु जस्तो लाग्न थालेको छ अचेल मलाई। जापानी भाषाको सीमित ज्ञान लगायतका कारणहरु धेरै छन्। अचेल अनलाईन पत्रपत्रिकाहरु नेपालकै बढी पढिन्छ। इण्टरनेट नभए यहींका पत्रिकाहरु धेरै पढिन्थ्यो पक्का पनि! त्यसबाहेक, विश्व संचार जगतमा रहेको अमेरिकी प्रभावका कारण जता जे खोलेपनि अमेरिकाकै प्रसंग बढी हुन्छ। यति हुँदाहुँदै पनि अलिकति चासो लिए धेरै कुरो बुझिन्थ्यो होला। मौलिक संस्कृतिले मात्रै हैन विश्वको दोश्रो ठूलो अर्थतन्त्र र औद्योगिक चमत्कारका रुपमा पनि विश्व राजनीतिमा विशिष्ट स्थान छ जापानको। त्यसकारण, जापान बारेको आफ्नो अध्ययनलाई अलि बढाउनुपर्ने निष्कर्षमा पुगेको छु।

जापान यतिखेर मुख्यत: तीन समस्याहरुमा जेलिएको छ; आर्थिक मन्दी, घट्दो जन्मदरका कारण समाजमा बढेको बृद्धहरुको अनुपात र राजनीतिक अस्थिरता। राजनीतिक अस्थिरताको वर्तमान परिवेश त माथिनै पनि कोट्याइहालें। यसमै कुरो बढाउँ आज।

विगत पचास वर्ष यता जापान एकदलीय शाशनमा छ। हामी सबैलाई थाहा छ, जापान साम्यवादी देश हैन तर लोकतन्त्रमै पनि, प्रतिष्पर्धाबाटै पनि एकदलीय शाशन यति लामो समयसम्म टिक्न सक्दो रहेछ। १९९३, जुलाइ देखि १९९४, जूनसम्मका एघार महिना बाहेक यो पचास वर्ष लिबरल डेमोक्रेटिक पार्टीको शाशन चलेको छ जापानमा (जापानमा एउटा ठट्टा पनि छ, "लिबरल डेमोक्रेटिक पार्टी न 'लिबरल' छ, न 'डेमोक्रेटिक'नै, त्यसैले यसको नाम लिबरल डेमोक्रेटिक पार्टी रहेको हो भन्ने)। निश्चित रुपमा, यो पार्टीले १९६० र १९७० का दशकहरुमा जापानको आश्चर्यजनक आर्थिक विकासको नेतृत्व ग-यो। यहि कारण पनि हुनसक्छ यति लामो शाशन गर्न यो दल सक्षम हुनुमा। तर यतिखेरको जापानका धेरै समस्याहरुका लागि पनि यहि दलको एकछत्र लामो शाशन र त्यसले यो दलभित्र जन्माएको सामयिक नयाँ दृष्टिकोणहरुको अभावलाईनै जिम्मेवार ठहराईँदैछ।

लामो समयसम्म जापानमा सशक्त विपक्षी दलको अभाव रहेको थियो। समाजवादी, साम्यवादी दल लगायतका विपक्षी दलहरुमाथिको जनसमर्थन कहिल्यै पनि ४-५ प्रतिशतभन्दा माथि पुगेको थिएन। त्यसकारण लिबरल डेमोक्रेटिक पार्टीभित्रकै गुट-उपगुटहरुको आपसी अन्तरविरोध र संघर्षनै सरकार निर्माणमा निर्णायक हुनु स्वाभाविकै भयो। (अलि-अलि हाम्रो नेपालको उ बेलाको पञ्चायतको पनि झल्को दिन्छ।) तर डेढ दशक पहिला बिभिन्न साना दलहरु र लिबरल डेमोक्रेटिक पार्टीकै केहि ब्यक्तिहरु मिलेर डेमोक्रेटिक पार्टी अफ जापान बनेपछि भने जापानमा वास्तविक राजनीतिक विपक्षको शुरुवात भएको मान्न सकिन्छ।

डेमोक्रटिक पार्टीले आफ्नो संगठन, जनसमर्थन र शक्ति विस्तार गर्दै लगेको छ र संगसंगै लिबरल डेमोक्रेटिक पार्टीको आधार पनि कमजोर हुँदैछ। गत सालको चुनावमा पहिलोपल्ट लिबरल डेमोक्रेटिक पार्टी जापानी संसद डायटको माथिल्लो सदनमा अल्पमतमा पुग्यो र डेमोक्रेटिक पार्टीले बहुमत हासिल ग-यो। लिबरल डेमोक्रेटिक पार्टी डायटको माथिल्लो सदनमा फेरि बहुमतमा पुग्न धेरै वर्ष लाग्ने अनुमान गरेका छन् विश्लेषकहरुले। त्यतिमात्रै नभै, अहिलेकै अवश्थामा चुनाव भएमा लिबरल डेमोक्रेटिक पार्टी तल्लो सदनमा पनि अल्पमतमा पुग्ने सम्भावना प्रबल छ। अल्पमतमै पुगेन यदि भने पनि यसले अहिलेसम्म भोग्दै आएको 'सुपर मेजोरिटी'(दुई तिहाई भन्दा बढी सिटहरु)को शक्तिबाट खुम्चिएर झिनो सामान्य बहुमतमा झर्ने कुरा भने पक्कापक्की भएको मानिन्छ।

डेमोक्रेटिक पार्टीको यस्तो उदयसंगै जापानमा बल्ल आएर 'वास्तविक' प्रतिष्पर्धात्मक राजनीतिको शुरुवात भएको छ। यो प्रतिष्पर्धात्मक राजनीतिले जन्माउने नयाँ विचार र दृष्टिकोणहरुनै जापानको 'पुनर्जीवन'को कडी हुनेछन् भन्नु अत्युक्ति नहोला।

(लिबरल डेमोक्रेटिक पार्टी र डेमोक्रेटिक पार्टी अफ जापानका नीतिगत भिन्नताहरुको बारेमा पनि कुनै दिन लेखौंला, अझै अध्ययनको प्रारम्भिक चरणमै छु।)

September 09, 2008

मोबाइल फोनको कुरा

मोबाइल फोन 'को' कुरा गरौं आज। सधैं मोबाइल फोन 'मा' मात्रै कति कुरा गर्नु:)

गएको शनिबार बिहान छोरीलाई खाना ख्वाउँदा निक्लेको हो यो टाँसोको विषयवस्तु। बच्चालाई खाना ख्वाउन समय लाग्नेनै भयो। अनेक थरी कुरा गरेर हुन्छ कि, गीत गाएर हुन्छ कि टि भी देखाएर हुन्छ कि, सकेसम्म छिटो त ख्वाउनै प-यो। पहिला-पहिला नेपाली लोकगीत र नाचका भिडियो देखाएपछि खुशी भएर खाना खान्थी। उसकै कारण हामी पनि यूट्यूबमा नेपाली लोकगीत-लोक दोहरी खोजी-खोजी हेर्न थालेका थियौं। तर किण्डरगार्टेन जान थालेपछि उसको रुचि विस्तारै फेरियो, जापानी बालगीतहरु र कार्टूनहरुमा रस बस्यो। नेपाली लोकगीत बजाउँदा झर्कन थालेकी थिई। केहि महिनै भईसकेको थियो, उसले नेपाली लोकगीत नेहरेको र उस्को निहुँ पारेर हामीले पनि नहेरेको।

गएको हप्ताको तीजको कार्यक्रम हेरेर आएपछि भने उसलाई फेरि लोकगीतमा रस बसेजस्तो छ। 'नेपा-रु उता मिरु!(नेपाली गीत हेर्ने!)' भन्न थालेकी छे अचेल। अस्ति पनि खाना खाने बेलामा त्यसै भनेपछि एउटा लोकगीतबाट अर्को लोकगीतमा फड्को मार्दै खाना ख्वाउँदै थिए; तल राखिएको गीतमा आँखा प-यो, रमाईलो लाग्यो।

साढे पाँच वर्ष पहिला नेपाल छोड्दा मोबाईल फोनको प्रयोग बढ्दै थियो। आफूले भने मोबाईल फोन समाउने सौभाग्य बिदेश आएपछि मात्रै पाईयो। अहिले ब्यापक भएको छ, र त्यो ब्यापकताले स्वाभाविक रुपमा समाजमा सांस्कृतिक प्रभाव पनि जन्माउँदैछ। यो गीत पनि मलाई मोबाइल फोनको त्यस्तै एउटा सांस्कृतिक प्रभाव लाग्छ।



*********************************************
अलिक पुरानो कुरा यहाँ पढ्नुहोस्, "घुम्दै-फिर्दै, फेरि नेपाली लोकगीत"।

September 02, 2008

यसपालीको तीज (र मिसिएको नेपाली राजनीतिको बाढी)

सम्पूर्ण नेपाली दिदी-बहिनीहरुमा तीजको हार्दिक शुभकामना!

नागोयामा दशैं र नेपाली नयाँ वर्ष (वैशाख १) नियमित रुपमा र निकै जोश र जाँगरका साथ मनाईन्छ। तीज पनि पहिलादेखिनै मनाईँदै आएका छन् यहाँ। सामान्यतया दर खाने दिन राती १०-११ बजेबाट नेपाली संचालक भएका एक-दुई रेष्टुरेण्टहरुमा नाचगान कार्यक्रमहरुको आयोजना हुन्छ। भोलिपल्ट बिहानैबाट पढाई अथवा काम हुनेका लागि सहभागिता जनाउन अप्ठेरै हुन्छ। त्यसकारण, यसपटक बरु केहि दिन पहिलानै होस् तर शनिबार (३० अगष्ट) दिनभरि कार्यक्रम गर्ने योजना बन्यो। अपर्झटको योजना भएकाले सहभागिता पनि औसतभन्दा धेरैनै कम भयो।

केहि दिनदेखि लगातार जसो मूसलधारे पानी परिरहेको थियो, त्यो दिन पनि बिहानैबाट दर्किरहेको थियो। केहि साथीहरु बस्ने आवास-क्षेत्रको हल लिईएको थियो दिनभरिका लागि भनेर। त्यो दिनका खानेकुराहरु केहि बनाएर महिला समूह हलतिर लाग्दा सम्म डेढ-दुई बजिसकेको हुँदो हो। त्यसपछिको अढाई घण्टा हामी पुरुष पाटीको काम बाँकी रहेका खाना तयार गर्नु र हलसम्म खानेकुराहरु बोकेर जानु थियो। त्यत्तिमात्रैले हाम्रो अढाई घण्टा सजिलै बित्ने वाला थिएन। 'सुत्केरीको निहुँ पारी-----' लाई त भो नकोट्याउँ:)

त्यो अढाई घण्टामा नेपालको कुरा हुनु स्वाभाविकनै भयो। कोशीले गरेको विनाशको कुरो भयो केहि बेर। तर जहिले जहाँ बसेर कुरा गरेपनि कुरामा नेपालको राजनीतिको बाढी पनि सोझै मिसिइहाल्छ। नेपालको राजनीतिनै यस्तो छ कि यसको बारेमा लगातार, अनन्तसम्म कुरा गर्न सकिन्छ। फेरि हालसालै मात्रै एमालेका केहि नेताहरु जापान आएकाले त्यतातिरका प्रसंगपनि धेरै हुननै भए।

माधव नेपालको स्वागतमा टोकियोमा गरिएको एउटा कार्यक्रम प्रचण्डले नेपालमा शपथ लिएकै दिन परेको रहेछ र एकजना साथीले आफ्नो मन्तब्यको क्रममा "माओवादीले आफ्नो घमण्ड र अधिनायकवादी नियत छाडेनन् भने प्रचण्डले शपथ लिएको दिन नेपाली इतिहासको कालो दिन पनि बन्न सक्छ" भनेर भन्दिनुभएको रहेछ। त्यो कुरालाई लिएर जापानका माओवादीहरु 'रिसाएका' रहेछन्। रिसाउनुपर्ने कुरो त केहि पनि छैन त्यसमा तर साथीको मन्तब्यको प्रसंगलाई पूरै पन्छाएर उनीहरु "हाम्रो नेताले शपथ लिएको दिनलाई 'कालो दिन' भन्यो त्यल्ले" भन्दै दागा धर्दै हिँडेका रहेछन्। यो प्रसंग मैले त्यहि दिन थाहा पाएँ।

जति निष्पक्ष र राजनितिक पूर्वाग्रहरहित भएर हेरेपनि यी माओवादीहरु अझै असहिष्णुनै लाग्छन्। जापानका केहि 'सकृय' माओवादीहरुसंग बिभिन्न कार्यक्रमहरुमा भेट भइरहेको छ अचेल। माओवादीहरुको पारा गज्जब लाग्छ। उनीहरुका नेता आउँदा सबै आईदिउन् भन्ने चाहना हुन्छ उनीहरुको। तर एमाले-काँग्रेसको कुनै नेता आउने कुरो भयो भने "कालो झण्डा देखाउने" धम्की दिँदै हिँड्छन्। अस्ति माधव नेपालसंग नागोयामा भएको अन्तर्कृयामा आफूलाई माओवादी भन्नेहरु केहि आफू त आएनन्-आएनन् उल्टो आउन लागेका धेरैलाई पनि रोकेछन्। कसैलाई कुनै दल अथवा नेता मन पर्नु र कसैलाई मन नपर्नु स्वाभाविक हो, तर विरोध देखाउने गतिलो अथवा राजनीतिक तरिका त्यो होईन। ती मित्रहरुले के बुझ्नु जरुरी छ भने राजनीतिक असहमति र राजनीतिक असहिष्णुता दुई बिल्कुलै भिन्नै कुरा हुन्।

जब राष्ट्रपतिको चुनावमा माओवादी पछारियो, ती मित्रहरुले धेरैलाई फोन गरेर हैरान पारे र कांग्रेस-एमाले-फोरमको 'अपवित्र गठबन्धन' को विरोधमा काने पाक्ने गरी भाषण छाँटे। एकजनाले त मलाई यस्तो 'अपवित्र गठबन्धन'को विरोधमा नेपाल इञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रको तर्फबाट पनि बक्तब्य दिने 'सल्लाह' समेत दिए! तर पछि फोरमसंगै गठबन्धन गरेर माओवादीले सरकार बनायो। अचेल उनीहरु फोनै उठाउँदैनन्!

मर्यादाक्रम-सर्यादाक्रम जे भनेपनि माओवादीले वामदेवलाई नर्सरीमा भर्ना गरेको खबर कान्तिपुरमा 'तातै' थियो शनिबार। प्रधानमन्त्री विदेश जाँदा वामदेवलाई पनि साथै लाने र का.वा.मा बाबुराम जहिले पनि पक्का रे! हा हा हा! के वामदेव नर्सरी पढ्ने बच्चा हुन् हात समातेर डो-याउनु पर्ने? फेरि, प्रधानमन्त्री विदेशै जाँदामात्रै कुर्सी खाली हुने हैन, अरु केहि राम्रा-नराम्रा सम्भावना पनि हुन्छन्। यिनै 'सम्भावना'हरुका कुरा गरेर पनि खुब हाँसियो।

प्रचण्डको डेढ लाखको खाट पनि राम्रै सितन बन्यो हाँस्नका लागि। यो कुरामा 'ब्रेक' लगाउन भने निकै गाह्रो भएको थियो किनकि, खाटको कुरा प-यो, जतापनि तन्किन सक्नेनै भयो:)
*********************************************
हामी खाना लिएर हलमा पुग्दा नाचगान भब्य गईराखेको थियो।

'नेपाली लोग्नेमान्छेहरु भेट भयो कि बियर खाने र राजनीतिको कुरा गर्ने बाहेक केहि गर्दैनन्।' भन्ने गुनासो र 'यस्तै हो भने अबका कार्यक्रमममा लोग्नेमान्छेलाई आउट गर्ने' धम्कीका कारण हलमा हामी 'सुख्खै' पुगेका थियौं। तर खाना खाँदै गर्दा फेरि राजनीति पसिहाल्यो कुरामा। केहि दिन पहिला आएका पहिलेका माओवादी-अहिलेका एमाले नेतासंगको कुराकानीका प्रसंग शुरु गरे साथीहरुले। माओवादीले कसरी सजिलै त्यति धेरै हतियार जम्मा पा-यो भन्ने साथिहरुको जिज्ञासामा उनले लगभग सबै हतियार बिहारबाट आउँथ्यो भने रे। बिहारको संगठित अपराध-उद्योग र छ्यास्छ्यास्ती हतियार कारखानाहरुको बारेमा पहिलेदेखिनै सुनिँदै आएको हो।

"बिहारमा त दशैंमा टिका लगाएर ज्वाईँ-छोरीलाई बन्दूकै दक्षीणा दिन्छन् रे। अलि हुनेखानेले त एसएलआरनै पनि दिन्छन् रे। अनि नातीनातीनालाई एक-एक पोका गोली दिन्छन् रे!" राजनीतिको निरसतालाई एकजना साथीले रमाइलो मोड दिनुभयो। यसले उब्जाएको सामूहिक अट्टहास लामै थियो। हाँस्दा-हाँस्दा आंखाबाट आँसु आएको थियो मेरो।

महिलाहरुले नाचगान गरेर तीज मनाए। हामीले हाँसेर मनायौं। यो पाली गाइजात्रा मनाउने मेसो परेको थिएन, गाइजात्रा मनाइयो तीजको दिन भनौं न।