October 28, 2008

तिहारको शुभकामना!!

यो ब्लगमा पाल्नुहुने समस्त महानुभावहरुमा शुभ दीपावलीको मंगलमय शुभकामना!!! यहाँको जीवनमा सधैं सुख, सफलता र समृद्धिको उज्यालो छाइरहोस्!



-----------
चाडबाड आयो, घर-गाऊँको याद झन्-झन् गाढा भएर आऊँछ र रुनै मन लाग्छ। अघि भर्खर किशोर भतिजाहरुको मेल पढ्दै थिएँ। उनीहरुको देउसी-भैलोको तयारीको बारेमा लेखेका छन्। उनीहरुको मेलले झन् भँड्क्यायो मलाई र केहि पनि गर्न मन लागिरहेको छैन। आफ्नो बाल्यकालका देउसी-भैलोको रमाईलो र घमाईलो दिनको भाइटिका आँखै अगाडि झल्झली आएको छ।

बच्चामा हामी दशैं रमाईलो कि तिहार रमाईलो भनेर एकापसमा कुरा गर्थ्यौं। दशैं सकिएर तिहारको प्रतीक्षा हुन थालेपछि यो कुरा हुन्थ्यो। बितिसकेको दशैंभन्दा तिहारको कल्पनाले जित्थ्यो र हामी सबै तिहारलाई बढी रमाईलो भन्थ्यौं। मलाई अहिले पनि तिहारै रमाईलो लाग्छ।

एउटा उमेरसम्म देउसी-भैलो पनि खेलियो। भैलो केटीहरुका लागि हो भन्ने गरिएको थियो हामीलाई, त्यसैले हाम्रो जोड देउसीतिरै हुन्थ्यो, अलि‍-अलि भैलो पनि नखेलिएको भने हैन। देउसी खेल्ने दिनको लागि लालटीन खोज्ने र मट्टीतेल किन्नको लागि एकापसमा पैसा उठाउने काम एक-डेढ हप्ता पहिलेबाटै शुरु हुन्थ्यो। हुनत पछि एक-दुई ठूला र 'आयोजित' देउसी-भैलो कार्यक्रममा पनि हिँडियो, तर बाल्यकालको हाम्रो 'रफ' देउसी-भैलोनै गडेको छ दिमागमा।

भाइटिकाको दिन सबैभन्दा प्यारो दिन, यो दिनको बयान गर्ने सामर्थ्य छैन ममा। मेरो स्मृतिमा रहेका हरेक वर्षका भाइटिकाका दिनहरु घमाईला र सुन्दर छन्। (हुनपनि, वर्षभरिमा सबैभन्दा राम्रो मौसम तिहारकै बेलामा हुन्छ। दशैंमा वर्षायामको अंश अझै बाँकी हुन्छ।) तर यो वर्षपनि बहिनीहरुलाई फोन गर्नु र टिका लगाउन लहरै बसिरहेका दाइ-भाइहरु र उनीहरुका निधारमा टिका लगाईदिईरहेका बहिनीहरुलाई मनको आँखाले सम्झिनुबाहेक केहि गर्न सकिने छैन। घमाईलो आँगनमा बसेर गफिन पाईने छैन।

बारीका डिल-डिलमा फुलेका सयपत्री र मखमली यो पाली पनि मेरो भागमा पर्नेछैनन्-----!

8 comments:

  1. "बारीका डिल-डिलमा फुलेका सयपत्री र मखमली यो पाली पनि मेरो भागमा पर्नेछैनन्-----!"

    यो लाइन ज्यादै मन पर्‍यो । तिहारको मंगलमय शुभकामना !

    ReplyDelete
  2. The festival of lights stands for reaffirmation of hope and renewed commitment to friendship and goodwill. On this happy occasion of Dipawali, I wish everyone, all the success and prosperity in the coming days ahead. Happy Dipawali & Tihar...

    ReplyDelete
  3. मेरो पनि मनको कुरा परेछ तपाईँका धेरै कुराहरुमा - तिहारै रमाईलो लाग्छ मलाई पनि । तिहारको शुभकामना !

    ReplyDelete
  4. मेरो पनि यसपाला फेरि टिका लगाउने मेसो मिलेन ।
    ते तिहारको शुभकामना सबैलाई!

    ReplyDelete
  5. बसन्त दाई तपाईंले
    "बारीका डिल-डिलमा फुलेका सयपत्री र मखमली यो पाली पनि मेरो भागमा पर्नेछैनन्-----!"भन्नुहुँदा मलाई पनि कस्तो कस्तो नरमाइलो लाग्यो। आज मैले भने ९ युआन् को खुशीयाली लिएर आए , अनी सँग संगै मिल्ने एक्जना चिनिया दिदिलाई दिदा खुशीको सिमा भएन ।तपाईंले नरमाइलो मान्नु भयो भने नानुलाई पनि नरमाइलो हुन्छ , खुशी भन्ने चिज हामी भित्र नै छ जस्तो लागेको छ आज। एदी हामी आफ्नो देश अनी परिवारबाट टाढा नभएको भये साँच्चिनै हामीलाई सबैको महत्वको पहिचान हुन गार्हो हुन्थ्योउ , हैन र दाई? so दाई cheer up :)

    ReplyDelete
  6. दाई शुभ दीपावली...:)स्पेसल्ली भाउजु र नानुलाई .

    ReplyDelete
  7. "Happy Dipawali" To You & Your Family.
    दिपावलिको अवसरमा यहा र यहाको परिवारको शु -स्वास्थ्य , दीर्घायु, सफलताको र प्रगतिको कामना गर्दछु । धन्यबाद ! सबैमा दीदी -बहिनी र दाजू-भाइ बिचको ममता प्रगाढ़ भइरहोस । यही छ दिपावलिको शुभकामना ।

    ReplyDelete
  8. योगेश गौतमOctober 30, 2010 at 12:22 PM

    तिहारको शुभकामना चेलीलाई

    विहानीको लाली किरण सगै आएको त्यो सीतको थोपा
    अनि त्यो मखमलि र सयपत्री फूलले घरआगन सजिएको होला
    देउशी,भैलो र मादल सगै गाउघर गुन्जिएको होला
    आफु त परदेशी भैयो हे मेरी दिदी नरोउ है यो साल
    मनको कुरा बुझ है दिदी फोटो छ दैलामा
    फर्केर आउला अर्को साल
    निधारमा टिका मखमलि फूलको त्यो माला लाउनलाई
    शुभ कामना छ,य़सपालिको तिहारमा दिदी र वहिनीलाई
    अनी सबैलाई |

    ReplyDelete