October 27, 2007

दशैंकै कुरा

दशैं २०६४ - २ "टिका"

नेपालतिर फोन गर्नु बाहेक यसपालिको दशैंको विशेष कुरा भनेको टिका लगाउनुनै भयो। 'विदेशको दशैं, भुत्राको दशैं!' जस्तो लागेर पहिला टिका-सिका लगाइन्न थियो। यसपालि छोरीको लागि भनेर टिका लगाइयो। छोरी भएपनि पोहर लगाइएको थिएन, अबीर नभएर। अबीर यसपालि पनि थिएन। मार्चमा नेपाल गएको बेला ल्याउन बिर्सिइएछ। सुदिपजी र भाउज्यूले नल्याइदिएको भए यो पाली पनि लगाउने मेसो हुने थिएन।

बूढा-बूढी भएर छोरीलाई टिका लगाइयो। के गर्दिन आँटे बाउ-आमाले भनेर छोरी डराइ पहिला त! पछि आफैं अक्षतासंग चल्न थालेकी थिई। त्यसपछि एकापसमा टिका लगाइयो।

यस्तो टिको पनि रमाईलै हुँदो रहेछ!


दशैं २०६४ - ३ "एउटा 'कठोर' सत्यसंग साक्षात्कार"

टिकाकै दिन साँझ कपाल कटाउन गएँ "10 Minutes-Just Cut" मा। १,००० येनमा काट्दिन्छन्। सबैभन्दा सस्तो यहि हो। जापानमा लोग्नेमान्छेहरुपनि कपाल कटाउन गईसकेपछि त्यहिँ टाउको नुहाइमागेर, मसाज गराएर, आँखीभौं आदि पनि काँटछाँट गरेर चिल्ला भएर निस्कन्छन्। दाम पनि त्यहि अनुसार तिर्छन्। आफूलाई भने 'कात्तो दाके'(काट्ने मात्रै) भए काम चल्छ।

साह्रै पिर लाग्न थाल्यो बीचबाट मलाई। एैना अगाडि बसेपछि देख्छु, मेरो निधारको क्षेत्रफलमा ब्यापक 'वृ्द्धि' भइसकेछ यसबीचमा! ध्यान दिएर नहेरेको धेरै भईसकेछ कि क्या हो! कपाल मेरो झर्दै नझरेको हैन, तर टुप्पी राख्ने ठाऊँतिरबाट अलिअलि झरेको हो पहिला। त्यहाँ हतपति कसैले पनि देख्दैन। अब भनौं न, bird's eye view मा मात्रै देखिन्छ! एउटै उमेरका, अझ आफूभन्दा कम उमेरका साथीहरुको अघिल्तिरबाटै 'वन बिनाश' भएको धेरै देखिएको छ। 'अब late thirties तिर लाग्दा पनि झ-या छैन भनेपछि, कहिल्यै पनि नझर्ला मेरो कपाल त!' भनेर जुँघा नमुसारिएको पनि होईन। अब भने ठूलै पिर प-या छ!

अनि बाँकी 'वन' पनि एकदम पातलो पो भईसकेछ! मेरो कपाल 'तिल-चामल' हुन थालेको त धेरै पहिलाबाटै हो, एस एल सी दिएताकाबाटै हो। त्यतिखेर 'चामल' दुई-चार 'गेडा' मात्रै देखिन्थे। झोंक चल्दा 'चामल'लाई उखेलेर फ्याँकिन्थ्यो पनि बेला-बेलामा। तर 'चामल'को जुलुशै निक्लन थालेपछि भने केहि नचल्ने देखेर 'जय रामजी की' भनेर वास्ता गर्न छोडियो। अहिले कम्तिमा २५-३० प्रतिशत त पुग्यो होला 'चामल'को भाग, तर याद हुनै छाडेको छ अचेल। यो 'काईँयो अनावश्यक' को चरण पनि भर्खर शुरु भएकोले बढी ध्यान गएको होला, विस्तारै बानी लाग्ला यसमा पनि, आशा गरौं। तर नरमाईलो त लाग्दो रहेछ गाँठे!

चीनमा पढ्दा एउटा सहपाठी केटोले एउटा उखान सुनाउँथ्यो (पुरानै हो कि नयाँ बनेको हो, थाहा भएन)'मान्छे हिँड्ने बाटोको घाँस मर्छ, बुद्धी खेल्ने टाउकोको कपाल झर्छ!' उबेलाँ के थाहा, यो उखान यस्तरी काम लाग्ने दिन पनि आउँछ भन्ने! मेरो मुखैमा झुण्डिनेछ अब यो। अब आफूलाई ढाडस दिने बाटो पनि यहि एउटा त बाँकी छ!

तर यो उखानको प्रतिलिपि अधिकार खुल्ला छ है साथी हो! सबै 'चिण्डे' र 'चिण्डेन्मुख' मजस्ता सबैको लागि बनेको हो यो उखान। ढुक्क भएर, आफ्नै जस्तो मानेर प्रयोग गरे हुन्छ!

मेरो लागि यो पालीको दशैंको अर्को कोसेलीनै भन्दिम् न यसलाई!

October 25, 2007

दशैं २०६४- १ "दशैं कार्यक्रम"

साथीहरुले अस्तिनै जिस्काइसके मलाई, मेरा पोष्टिङ्गहरुको शुरुवात जहिलेपनि ‘अहिलेपनि ढिलो भएँ म---‘ बाट शुरु हुन थालेको छ भनेर। नभन्दै त्यस्तै हुँदैछ, यो पाली पनि! दशैं सकिएको यतिका दिन भईसक्यो, बल्ल लेख्न बस्दैछु।

दशैं कार्यक्रम थियो नागोयामा शनिबार, २० तारीख। हाम्रो ‘कार्यक्रम’ भने शुक्रबार बेलुकाबाटै शुरु भयो। ओसाकाबाट पनि तीनजना साथीहरु आउनुभएको थियो। अलिअलि सोमरसको साथमा गफैमात्रै थियो, तर रमाईलो भनेको त्यहि गफ त हो। एक डेढ हप्ता साथीहरुसंग जमघट गरेर एकदम ‘शुद्ध’ ठेट नेपालीमा गफगाफ-हा हू गर्न पाईएन भने असैह्य भएर आउँछ मलाई, केहि विशाल र गह्रौं कुराले थिचेजस्तो लाग्छ। शनिबार बिहानसम्म लम्बिएको त्यो गफगाफ जिन्दगीका अविस्मरणीय गफगाफमध्येमा मिसिन पुगेको छ।

आफू तास खेल्ने मामिलामा सधैं खत्तम! जुटपत्ती बाहेक जानेको फरास। त्यो दिन पनि राती कतिबजेबाट हो, फरास शुरु भयो। आफुले त हारियो अलि-अलि। ‘सुदिपजीले एक करोड जित्यो!’ भनेर हल्ला हुँदैथ्यो बिहान! बेला-बेला बिभिन्न भाकाका लोकगीतहरु पनि निस्किएका थिए। ‘माछी काँडैले---‘ भन्ने भाका निकै ‘लोकप्रिय’ भा'थ्यो हाम्रो दशैं जमघटमा। जोकहरु पनि चलेका थिए बिभिन्न 'राउण्ड'मा।

अब नागोयाको दशैं कार्यक्रमतिर लागौं। पहिलेका भन्दा अलि फरक थियो। पहिले केहि साथीहरुले स्वत:स्फूर्त रुपमा जिम्मा लिन्थे, कुनै औपचारिक समिति वा संगठनको नाममा कार्यक्रम हुँदैन थियो। जे-जति कार्यक्रमहरु हुन्थे, आफैं बीचबाट हुन्थ्यो जान्नेले पनि गाउँथे-नाच्थे, नजान्नेले पनि गाउँथे-नाच्थे र दोहरी र अन्ताक्षरी हुन्थ्यो। यसरी सबै संलग्न हुन्थे, अथवा भनौं न सबैलाई ‘दशैं’ लाग्थ्यो।

यसपाली अलि फरक भयो। केहि संस्थाद्वारा घोषित रुपमै आयोजनाको जिम्मा लिएर कार्यक्रमको आयोजना गरिएको थियो। आयोजकहरुको परिश्रम र लगनको लागि धन्यबाद दिन चाहन्छु।

कार्यक्रमको बारेमा पछि कुरा गर्दै गरौंला। अहिलेलाई केहि फोटाहरु।






यस्तो बेलामा मलाई मैले ‘भूमिगत’ ब्लगिङ्ग गरिरहेको भएपनि हुन्थ्यो जस्तो लाग्छ। केहि समय पहिले‘नेसाज डे’मा पनि यस्तै अनूभूति भएको थियो।

October 18, 2007

मेरो मनको दशैँ

सबैलाई दशैंको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु! सबैको जिन्दगी अझ सफल, अझ समृद्ध र अझ सुखमय बनोस्।

(यहि प्रसंगमा मेरो दुई वर्ष पुरानो एउटा रचना राख्न चाहन्छु। एक-दुई अनलाईन फोरममा राखिसकिएको पनि हो। नयाँ लेख्ने हुती छैन अचेल! एक किसिमले 'हुतीहारा'नै भन्दिए हुन्छ मेरो अहिलेको अवश्थालाई!:P)


मेरो मनको दशैँ

मेरो मनको दशैँ विद्यालयमा दशैँ बिदा शुरु हुने केहि दिन पहिलेबाट शुरु हुन्छ । वर्षात सकिएको छ, धानको फाँट हरियोबाट पहेँलो हुने सूरमा छ, भटमासका बोटहरु र मकैका ढोडहरु उखेलेको बारी अझै रसिलो र मलिलो देखिन्छ र बिहानको हल्का चिसोले दशैँले कतै नजिकै लुकेर जिस्काइरहेको छनक दिन्छ। विद्यालयमा शुभकामनाका शब्दहरु लेखिएका पोष्टकार्डहरुको आदानप्रदान भइरहेछ, मनपर्ने शिक्षकहरु र मनपर्ने साथीहरुको भागमा मात्र यी पर्छन् र कुनै कुनैमा प्रेमको उद्घोष पनि हुनसक्छ।

दशैँ बिदा लाग्नुअघिको दिनमा हाम्रो विद्यालयमा विद्यालयब्यापी कार्यक्रम भएको त याद छैन, तर सबै कक्षाले आफ्नै ढंगले रमाइलो गरेर एक अर्काबाट छुट्टिन्थे। त्यस्ता कार्यक्रमहरुमा म चूट्कीला सुनाऊँथेँ। गान, बजान र नृत्य मेरो वशका कुरा होइनन् (मलाई आफू निरस भएकोमा सधैँ हीनताबोध भइरहन्छ।) । धन्न बच्चैमा पढेको "हमजाएगाको डायरी" ले चूट्कीलामा रस बसाईदियो र भीडभाडमा अलि अलि गफ लाउन जान्ने भइएछ।

बिदाका दिनहरुमा मेरा साथीहरु किताबमात्रै हुन्थे। दशै तिहारमा जूवा-तास नखेल्ने मान्छेलाई अनौठो जनावर मान्ने समाज छ मेरो। अभावले गाँजिएको मेरो बाल्यकालले मलाई किताबको छेऊमा पुर्यायो, तासको छेऊमा जानै नदिई। हुनत किताबको सोख पनि सस्तो थिएन मेरो लागि ।

फूलपाती, अष्टमी र टिकाका औपचारिकताहरुभन्दापनि मलाई दशैँको समयको मादकताले सधैँ सधैँ लठ्याउँछ। सबेरै बिहानको हल्का झण्डै पारदर्शी कुहिरो र मिठोसंग चसक्क घोच्ने चिसो हावा, उज्यालो दिनमा पहेँलिएर दौडिरहेको वतास, चँगाबुट्टे निलो एकदम निलो आकाश, हावाका पखेटामा झुण्डिएर उडिरहेको साँझ - के छ यी सबमा कुन्नि, जसले जिन्दगीका कठोरताहरुको माझमा पनि मेरो मनको भित्र, भित्र कतै, आशाको उज्यालो भरिरहन्छ।

र मेरो मनको दशैँको मध्यचोकमा मेरो मामाघर पर्छ। घर र छिमेकमा टिका थापिसकेपछि, मामाघर जाने यात्रा शुरु हुन्थ्यो, टिकाकै दिन। भक्तपुरको अलिक भित्री भागमा पर्ने मेरो मामाघर गाऊँ कालीटार (अहिले दधिकोट गा. वि. स. मा पर्छ जस्तो लाग्छ।) पुग्न ठिमीमा बसबाट ओर्लेर एक घण्टा जति हिँड्नुपर्छ। हनुमन्ते खोला तरेर तरकारीका फाँटहरु कटेर एउटा सानो उकालो काटेपछि गाम्चा शुरु हुन्छ। गाम्चाको सीरी (श्री?)को पसलको रौनकनै बेग्लै हुन्थ्यो। लँगुरबुर्जाका थुप्रै खालहरुमा मान्छेहरु झुम्मेर चिच्याईरहेका हुन्थे । हामीपनि बढीमा एक मोहरसम्म त्यहाँ बुझाएरमात्रै बाटो लाग्थ्यौँ। चर्खण्डी (?) सम्मको चौडा बाटो छोडेर, एउटा सानो खोला तरेर गोरेटो समात्ने बेलासम्म झमक्क साँझ परिसक्थ्यो। त्यतिखेरसम्म त्यो गाऊँमा टिका थाप्न जाने छोरी, ज्वाईँ र भाञ्जाभाञ्जीहरुको ठूलै जमात पनि भेट भइसक्थ्यो। ठूलाहरुको सञ्चो-विसञ्चो र ब्याबहारिक गफमा हाम्रो हल्लालाई पनि मिसाऊँदै हामी सकेसम्म छिटो मामाघर पुग्ने धूनमा बत्तिन्थ्यौँ। माथिबाट उज्यालो चन्द्रमाले जीवन्त जूनको वर्षा गरिरहेछ र तल धानका बोटहरु हामीलाई लजालु स्पर्श गरिरहेछन्। आज लाग्छ ती क्षणहरु आनन्दको सागरमा पौडिएका क्षणहरु थिए, संसारका सब पिडाहरुबाट मुक्त भएका क्षणहरु थिए, शायद समाधिका क्षणहरु थिए।

त्यसपछिका हरेक दशैँहरु जिन्दगीमा कहिल्यै नपुरिने घाऊ बेस्सरी चहराएर बित्ने गरेका छन्। एक घटस्थापनाको दुई दिन पहिले मेरी आमा; शान्त, शुशील र सुन्दरी आमा हामीलाई छाडेर बैँशमै, आफ्नो सपनाको घर सजाउन भर्खरै थाल्दा थाल्दै, गुँडमा बचेराहरु जम्मा गरिमात्रै सकेर तिनका लागि आहारा खोज्दा खोज्दै, ताराहरुको संसारतिर जानुभयो।

त्यो चोटको दुई वर्षपछिको दशैँमा होला, मलाई र मेरो माईलो (भाइ शिशु)लाई निलो पाईण्ट र निलै शर्ट आएको थियो। बाले हामीलाई मामाघर लिएर जानुभएको थियो। कलंकीबाट बस चढ्ने संभावनै थिएन, मान्छेहरु झुण्डिएर यात्रा गरिरहेका थिए नैकापतिरबाटै।

"म तिमीहरुलाई कथा सुनाऊँछु, हिँडेर जाऊँ है त ?"
"हस्।" बस चढ्ने रहर त छँदैथियो तर कथाको लोभले जित्यो।

बाले रामायणको कथा शुरु गर्नुभयो, शायद दशैँको शुरुवातको प्रसंगबाट होला। हामी कथामा यस्तरी एकाकार भयौँ कि बाटो कटेको पत्तै भएन। त्रिपुरेश्वर पुगेपछि ट्रलीबस चढ्न पाईयो। ठिमीमा ट्रलीबसबाट झरेपछि कथाको क्रम फेरि शुरु भयो। त्यो दिनको त्यो एकाग्रता, त्यो तन्मयता आजसम्म कहिँ कतैपनि दोहोरिएको छैन।

"अब हजूरबाले सुनाउनुहुन्छ तिमीहरुलाई कथा।" मामाघर पुगेपछि बाले भन्नुभयो।
'ल आओ, म सुनाउँछु कथा।" हजूरबाले कथा शुरु गर्नुभयो बाले रोकेको ठाऊँबाट। त्यो रात सपनामा हामीले पूरै रामायण देख्यौँ होला।

दशैँमा हामीले पाएको दक्षिणा भोलिपल्ट फर्कँदा ठिमी पुगेर सकिन्थ्यो। सडक नपुग्दैको एउटा पुस्तक-पत्रिका पसलमा "बालकोसेली" भन्ने पत्रिका र नयाँ बालकथाका पुस्तकहरु किनेपछि हाम्रो दशैँ हामीबाट बिदा हुन्थ्यो।

अब दिनहरु उहि रहेनन्। हजूरबा हुनुहुन्न, हजूरआमा हुनुहुन्न। हनुमन्तेको फाँटमा तरकारीहरु कम झुल्छन्, त्यहाँ आजभोलि राक्षसजस्ता कुरुप र विशाल ईँटाभट्टाहरु मलिलो माटोलाई चपाएर, उग्राएर धूवाँ फालिरहेका हुन्छन्। गाऊँको वातावरण झन् बिग्रेको छ। चियापसलहरुले चियासँगै जाँड रक्सीपनि बेच्न थालेको धेरै भयो। तन्नेरीहरु उद्देश्यहीन झल्लीरहेछन्। पिङ्ग मच्चिन छोडेको छ गाऊँमा, किनकि दिदी-बहिनी र भाऊज्यू-बुहारीले पिङ्ग खेल्ने वातावरण रहेन अब, जताततै जँड्याहा र गुण्डाहरुको बिगबिगी बढेको छ। र रातभर कुन घर कुन गाऊँमा बन्दूक पड्कने हो पत्तो हुँदैन।

मेरा धेरै दशैँहरु घर र देशबाट टाढा परदेशमा एक्लै एक्लै बितेका छन्। तर मलाई मेरो मनको दशैँले कहिल्यै छोडेको छैन। दिनमा बतासलाई रोकेर झुल्ने हरिया फाँटहरु अनन्तसम्म फैलिएका छन् मेरो मनमा। साँझको बतास घर अगाडिको अग्ला अग्ला काईँयो फूलका रुखहरु वरिपरि चक्कर मार्छ र रुखहरुलाई काऊकुती लागाएर आफैँ खित्का छोड्दै भाग्छ। अनि चन्द्रमा उदाएपछि आकाश र धर्तीको रुपको जुहारी चल्छ।

मेरो मनको दशैँमा म स्मृतिका गोरेटाहरुमा दायाँबायाँका मभन्दा अग्ला बोटका धानका बालाहरुसंग गफ गर्दै मामाघर गईरहेको हुन्छु।


****************************************************************************

October 12, 2007

1st NEA-JC Seminar on Current and Future Technologies

I am again very late to blog this! The seminar was on the 7th. It was really nice to get to know many new friends. In fact, most of them were not new, or I can say they were new "physically" only. I used to have e-mail communications and voice chats with them. Our NEA-JC meetings are in Voice Conference format. But knowing all of them "in person" was very exciting.

Let me share some photographs.

Achyutjee is conducting the program.


Lohani dai, our NEA-JC President welcomes all the participants. He is with Geo-Research Institute in Kobe.



Shobhakar dai and Netra Prakash dai. They were our key-note speakers. Shobhakar dai is affiliated to Global Carbon Project in Tsukuba. Netra dai is with Ehime University.


NESAJ President Rishabjee with his speech.




Ripendrajee, Badrijee, Latajee, Vedjee and Sudipjee with their presentations.


Madhusudan Bhai with his presentation.


The lunch in a nearby Nepali owned resturant was great! So was the talk.




The participation was small. But NEA-JC itself is a very small community. So the number wasn't much low, though some additions would be bettter. The presenations and discussions were very professional, lively and fruitful.

What I found is that, many of our friends didn't believe us. They thought we may not be able to organize the seminar at all, so they didn't come. But we have done it! Now our friends can believe us. I am sure, 2nd NEA-JC seminar will have much more participants. Our role as "pioneers" comes to the end now.

For more informations about NEA-JC and papers presented in this seminar, please visit http://www.neajc.org

I will also post the video of the seminar when I get it from Achyutjee.

October 09, 2007

आमा

आज मेरी आमाको पुण्यतिथि! मेरो मुटुभरिको श्रद्धाञ्जली मेरी आमालाई! आजभन्दा अठ्ठाइस वर्ष पहिले उहाँ हामीलाई टुहुरा बनाएर यो संसारबाट बिदा हुनुभएको थियो। म आफ्नो जिन्दगीको आठौं वर्षमा थिएँ।

मैले सुनेअनुसार १६-१७ वर्षकै उमेरमा उहाँको विहे आफूभन्दा दोब्बर उमेरका मेरा पितासंग भएको थियो। म भन्दा माथी एउटी दिदी हुनुहुन्थ्यो रे। दिदी दुई वर्षकी नहुँदै कुनै रोगले बित्नुभएको रहेछ। म जन्मँदा आमा वीस वर्षकी हुनुहुन्थ्यो भनेपनि, उहाँले हामीलाई छाडेर जाँदा भर्खर २७-२८ मै हुनुहुन्थ्यो होला। त्यो उमेर मर्नुपर्ने उमेर होइन! त्यो एउटा अन्याय थियो-आमामाथि र हामीमाथि! हाम्री ममतामयी, यौवना, सुन्दरी आमाले धेरै वर्ष बाँच्न पाउनुपर्थ्यो, आफ्ना लालाबालाहरुको उन्नती र खुशी देखेर, नातीनातिनाहरुसंग खेलेर सन्तुष्ट हुँदै स्वाभाविक मृत्युवरण गर्न पाउनुपर्थ्यो! हामीले एउटा सुखद बाल्यकाल पाउनुपर्थ्यो!

बाल्यकालमै बिछोडिनु परेकाले आमासंगका सम्झनाहरु त्यति धेरै छैनन् मसंग। एउटा सम्झनामा म गाउँको स्कूलमा पढ्न पठाइएको हुन्छु। अत्यन्त लजालु भएकोले दिनभरि कक्षाको एउटा कुनामा एक्लै बसेर छुट्टीको घण्टी बज्नासाथ हावासरी सोझै हाम्रो बोरेखेतमा पुग्छु जहाँ आमा घाँस काटिरहनुभएको छ। म घाँस बोकेकी आमाको पछिपछि घर फर्कन्छु अनि आमाले दिएको सेल-चिउरा खाजा खान्छु। अर्को सम्झनामा म नारनथान(बूढानीलकण्ठ)को मेलामा आमासंग गएको र साँझ परिसकेपछि घर फर्केको सम्झिन्छु। अर्को सम्झनामा हजुरआमाद्वारा तथानाम गाली गरिएको भाइ रुँदै आएर आमाको काखमा बसेको र आमाले मायाले उसलाई फकाएको सम्झन्छु।

अनि एउटा सम्झनामा आमा अगेनामा रोटी पकाइरहनुभएको छ। हामी नजिकै बसेर उहाँलाई पिरोलीरहेका छौं।
“तीमीहरु मलाई धेरै नपीर है! म मर्दिन्छु नि फेरि?!” आमा हामीलाई धम्की दिनुहुन्छ।
“मर्नी भन्या के? कसरी मर्नी?” हामीलाई के थाहा?
“यी यसरी!” आमा आफ्नो जिब्रो अलिकति निकालेर टोकेझैं गर्नुहुन्छ र दलिनतिर हेरेर आँखा पल्टाएझैं गर्नुहुन्छ। हामी खित-खित-खित हाँस्छौं, आमा पनि हाँस्नुहुन्छ।

आमाले त हामीलाई जिस्काउनुभएको मात्रै थियो, तर नियतिले उहाँलाई साँच्चै मा-यो! हाम्रो जिन्दगीमा, बाको जिन्दगीमा कुनै विशाल पहाड खस्यो। डेढ वर्षको अन्तरका चार छोराछोरी थिए मेरी आमाका। डेढ वर्षको भाइलाई मामाघर लगियो। बाँकी हामी बाको संघर्षका साक्षी बन्न घरै बस्यौं। हामीलाई हुर्काउन र आमाको अभाव पूरा गर्न बाले गर्नुभएको संघर्ष कुनै तपस्याभन्दा कम छैन।

हामीलाई आमाको निधनको कारणका बारेमा कहिल्यै कसैले केहि पनि भनेन। हाम्रो अगाडि कुरा चलेपनि एकदम अप्रत्यक्ष कुरा हुन्थ्यो। पछि मैले बुझेअनुसार, कुनै कच्चा सुडेनीको भर पर्दा अति रक्तश्राव भएर उहाँको निधन भएको थियो। प्रत्यक्ष देखिने कारण यो भएपनि अप्रत्यक्ष तर खास जिम्मेवार कारणहरु अरुनै छन्। तिब्र घृणा पालेर बाँचिरहेको छु म ती कारणका कारकहरुसंग! तर आमा, मेरी आमा फेरि फर्केर आउनुहुन्न!!

मलाई याद छ, आमाले मध्यरातमा हामीलाई छोड्नुभएको थियो। अलिअलि झरी पनि थियो। मस्त निद्रामा रहेका हामीलाई हतार-हतार काकाको घरतिर ओसारिएको थियो। बा डाँको छोडेर रोइरहनुभएको थियो। ‘लाशलाई ढोकाबाट निकाल्न हुन्न!’ भन्दै मेरी आमालाई झ्यालबाट निकालिएको थियो। अलि-अलि बुझ्ने मैमात्र थिएँ, तर म रुन सकिरहेको थिइन। मेरा अबोध भाइबहिनीहरुलाई त झन केहि थाहा थिएन, उनीहरु निद्राको संसारमै थिए रातभरि।

भोलिपल्ट बिहान भेला भएका काकीहरु, ठूलोआमाहरु हामीलाई अँगालेर खुब रोएका थिए। पछिसम्म पनि हाम्रो जिन्दगी शिशिर-वसन्तको कथाजस्तो भयो भन्दै हामीलाई अँगालेर रुनुहुन्थ्यो उहाँहरु (माइलो भाइको नाम शिशिर)। उहाँहरुमध्ये कति अहिलेपनि मलाई देख्दा रुनुहुन्छ मेरी आमालाई सम्झेर। आमा असाध्यै मिलनसार हुनहुन्थ्यो रे। अनि म मेरी आमाकै नाक-मुख-अनुहार र हातखुट्टा लिएर जन्मेको छु रे। त्यसकारण मलाई देखेपछि उहाँहरुलाई आमाको याद आउँछ रे असाध्यै।

आमाको निधनको असर हामी सबैलाई प-यो तर सबैभन्दा बढी मेरी बहिनीलाई प-यो। आमा बितेको दुई-तीन वर्षसम्म पनि आफ्नो बालसुलभ बोलीमा ‘भोलि थुली आउँछे, पापा ल्याउँछे।‘ भनेर भनीरहन्थी ऊ। कतिचोटि भित्तामा झुण्डिरहेका आमाका लुगाहरु देखाएर ‘थुलीको नाना’ भन्थी र बा भक्कानिएर रुनुहुन्थ्यो धेरै बेरसम्म।

ऊमात्रै हैन हामी पनि आमालाई ठुलीनै भन्थ्यौं। आमा मामाघरकी जेठी छोरी भएकोले ठुली भनेर बोलाउँथे सबैले। हामीले त्यहि नाम टिपेका थियौं।

तस्बीरहरुको चलन त्यति थिएन गाऊँमा त्यो बेला। आमाको एउटा तस्बीर थियो अर्धकदको र श्यामश्वेत, बाको संचयकोषको पुस्तिकामा टाँसिएको। त्यो बाहेक अरु कतै पनि देखेको थिइन धेरै वर्षसम्म। केहि वर्ष पहिले मुमाले (काकीलाई मुमा भन्न सिकाइएको हो सानैदेखि हामीलाई) अर्को एउटा सानो तस्बीर देखाउनुभएको थियो, आमा आफ्नी सासू र दुईटी देउरानीहरुसंग उभिनुभएको छ त्यसमा। एकदम कोमल अनुहारले त्यो तस्बीर आमाको बिहे लगत्तैको हो भन्ने बताउँछ। तस्बीर मुमाले मलाई दिन मान्नुभएन। अब नेपाल जाँदा खोसेर ल्याउँ जस्तो पनि लाग्छ। तर मुमाका पनि आफ्नै सम्झनाहरु जोडिएका छन् होला आमासंग, चित्त दुखाउनु भएन।

त्यसपछिका दिनहरु कहिले सुखमय भए, कहिले दुखमय भए, सबै दिनहरुको आ-आफ्नै कथा छ। आमाको अभावको नपुरिने घाउ त भित्र मुटुमा सधैं छँदैछ। मलाई आमाको यादले कहिल्यै-कहिल्यै छोडेको छैन। यस्तो कुनै दिन छैन जुन दिन उहाँको सम्झना नआएको होस्। छोरी जन्मेपछि झन बढी याद आउन थाल्यो। अचेल टुकुटुकु हिँड्ने छोरीको पछाडि कुदिरहँदा असाध्यै भावुक हुन्छु म। आमा कतै बसेर हेरिरहनुभएको छ होला जस्तो लाग्छ। सम्झिन्छु, आमा बाँचिरहनुभएको भए अहिले ५२-५३ की हुनुहुन्थ्यो। उहाँको कपाल आधी फुलिसकेको हुन्थ्यो होला। दशैंमा हामी सबैलाई टिका लगाइदिनुहुन्थ्यो होला। आफना नातीनीहरु आँगनमा खेलेको, उफ्रेको र नाचेको कति रमाएर हेर्नुहुन्थ्यो होला! बेलुका सुत्ने बेलामा उनीहरुलाई कति धेरै रमाइला कथाहरु सुनाउनुहुन्थ्यो होला!-----------------

लाग्छ कुनै विशाल मेलामा म आमासंगै हिँडिरहेको थिएँ। अचानक आमा कतै हराउनुभयो र म एक्लै भएँ। आमा खोज्दै रुँदै हिँडिरहेको बालकजस्तै छु म भित्र मनमा।

यो मेरो जिन्दगी मलाई आमाको खोजमा मैले गरिरहेको यात्राजस्तो लाग्छ।

October 06, 2007

अगतिलो ब्लगरका आफ्नै कुराहरु!

महिनैपिच्छे मेरा पोष्टिङहरुको संख्या घट्दो रहेछ। नियमित लेख्न सकिएको होईन। यस्तो अगतिलो ब्लगर भएर के गर्नु, बरु लेख्नै छोडिदिऊँ कि जस्तो पनि लाग्छ कहिलेकाहीँ।

भोलि (शनिवार) र पर्सी आफैं संयोजक भएको एउटा कार्यक्रममा लाग्नु छ। भोलि ओसाकातिर लाग्नुपर्ला। पर्सि Nepal Engineers' Association-Japan Chapter ले एउटा सेमिनारको आयोजना गर्दैछ 1st NEA-JC Seminar on Current and Future Technologies भन्ने नाममा। म संयोजक आयोजक कमिटिको तर 'खास संयोजक' भने अच्युतजी हुनुहुन्छ, सबै उहाँलेनै मिलाइरहनुभएको छ।

सोमवार बिदा भएकोले यहि कार्यक्रमकै बारेमा केहि लेख्नुपर्ला ब्लगमा पनि।

जाँदाजाँदै, एउटा सानो गजल (?)छोडेर जाऊँ। दुई शेरहरु धेरै पहिलेदेखि मनमा बोकेर हिँडिरहेको थिएँ। बल्ल-बल्ल, 'कनेर' दुई शेर थपेको छु।

नटुंगिने लहरहरु छन्
जोडिएका रहरहरु छन्

भ्रम रहेछ 'मूलबाटो' त!
सामु अझै डहरहरु छन्

हो, थाहा छैन, जिन्दगीमा
यस्ता-कति प्रहरहरु छन्

आजै हिँड्छु अर्को यात्रामा
टेक्न बाँकी शहरहरु छन्

'वीरबलको खिचडी', 'आकाशको फल आँखा तरी मर', -----

यस्ता उखानहरु नेपालीमा धेरै हुनुको कारण नेपाल र नेपालीको नियतिनै यस्तै दुर्भाग्यपूर्ण भएर होला! आखिर संविधानसभाको चुनाव नहुनेनै भयो मंसिरमा! यति नजिक आईसकेर पनि, यति तयारी भइसकेर पनि---! अब अर्को पचास-साठी वर्ष नहुन पनि सक्छ। हामी धेरै नजिक पुगिसकेका थियौं, तर यात्रालाई शून्यमै ल्याईपु-याए केहि 'पत्रु' दल र तीनका नेताले।

दोषको जिम्मेवारी धेरैको टाउकोमा जाला तर माओवादी भनिने दलको नेपाली इतिहासमा रहने अबको स्थान भनेको अपराधी, आतंकवादी र खलनायक बाहेक केहि पनि हुनेछैन। इतिहासमा आफ्नो सम्मानजनक स्थान बनाउने मौका दिएका थिए जनताले यिनीहरुलाई, यिनीहरुका विगतका हजारौं जघन्य गल्तीहरुका वावजूदपनि। तर माओवादीहरुले नेपाली जनतालाई अत्यन्त ठूलो धोका दिएका छन् र एकदिन जनताले अत्यन्त निर्मम तरिकाले बदला लिनेछन् यिनीहरुसंग।

संसारको इतिहासले के देखाउँछ भने उग्र वामपन्थीहरु र उग्र दक्षिणपन्थीहरुको रुप फरक फरक देखिएपनि सारभने एउटै हुन्छ। दुबै लोकतन्त्र, खुला समाज, वैचारिक स्वतन्त्रता र स्वतन्त्र संचार माध्यमहरुलाई देखिसहँदैनन्। दुबै अत्यन्त छुद्र र असहिष्णु हुन्छन्। दुबै अधिनायकवादी राज्यसत्ताका हिमायती हुन्। यसैले सारमा बर्माको जुन्टा, किम जोङ इल, ज्ञानेन्द्र र प्रचण्ड उस्तै हुन्। माओवादीहरुका अचेलका केहि ब्यबहारले सबै कुरा फेरि एकचोटि छर्लङ्ग पारेनन् र?

माओवादीको कथित 'क्रान्तिकारी' उग्र वामपन्थी अडानले सोझै फाईदा पुग्ने भनेको दरबारलाई मात्रै हो। हाम्रोजस्तो सानो, गरीब र कमजोर देशले लामो संक्रमणकाल थेग्न सक्दैन। अब उत्पन्न हुने राजनीतिक शून्यता र अराजकतामा मौका छोपेर बलपूर्वक आफ्नो 'एनिमल फार्म' कायम गरौंला भन्ने सपना पालेका होलान् उनीहरुले तर परिस्थिति ठीक उल्टो दिशातिर हिँडिरहेको छ। हामीले अहिलेसम्म भोगेकाभन्दा धेरै कठोर दक्षिणपन्थी सैन्यसत्ताको सम्भावना धेरै नजिक छ। त्यो नभएपनि देश राजनीतिक शून्यता र गतिहीनतामा जकडिनेछ र लामो हत्या-हिँसा-अराजकताले जर्जर हुनेछ। यस्तो परिष्थितिमा देशनै पनि बाँकी रहन्छ भन्ने के छ र?

आखिर देशलाईनै विनाशको संघारमा पु-याउने माओवादीको यो कस्तो 'क्रान्तिकारी' काइदा?!!!!!!!!!!!

अब कल्ले भन्न सक्छ माओवादीहरु सबैभन्दा प्रतिबद्ध 'राजतन्त्रवादी' होइनन् भनेर? चर्का कुराले सबै तथ्य ढाकिँदैनन्।

October 05, 2007

प्रदीपजीलाई बिदाइ!

ब्लग लेख्ने समय मिलेन यतिञ्जेलसम्म। (२९ सेप्टेम्बर)शनिवारनै हो, प्रदीप खत्रीजीको विदाईमा ओजोनेको ‘सपना’ मा भेला भएको। झरी परेर जाडो भएर हो कि किन हो, साथीहरु अलि कम भेला भए! प्रदीपजी बाहेक हामी अरु पाँचजना थियौं; सुदीप, प्रताप, सरोज, चोलेन्द्र र म।

साथीहरुलाई विदाइ गर्ने महिना बन्यो सेप्टेम्बर। प्रदीपजी अत्यन्त मिलनसार र विनम्र साथी। हुनत प्रदीपजी जापानभित्रैको अर्को शहरमा जाँदै हुनुहुन्छ, तैपनि नागोयाका दशैं, नयाँ वर्ष र अरु जमघटहरुमा उहाँको अनुपश्थिति निश्चयनै खट्किरहनेछ।

प्रदीपजीलाई सुस्वास्थ्य र निरन्तर प्रगतिको शुभकामना!