October 06, 2007

'वीरबलको खिचडी', 'आकाशको फल आँखा तरी मर', -----

यस्ता उखानहरु नेपालीमा धेरै हुनुको कारण नेपाल र नेपालीको नियतिनै यस्तै दुर्भाग्यपूर्ण भएर होला! आखिर संविधानसभाको चुनाव नहुनेनै भयो मंसिरमा! यति नजिक आईसकेर पनि, यति तयारी भइसकेर पनि---! अब अर्को पचास-साठी वर्ष नहुन पनि सक्छ। हामी धेरै नजिक पुगिसकेका थियौं, तर यात्रालाई शून्यमै ल्याईपु-याए केहि 'पत्रु' दल र तीनका नेताले।

दोषको जिम्मेवारी धेरैको टाउकोमा जाला तर माओवादी भनिने दलको नेपाली इतिहासमा रहने अबको स्थान भनेको अपराधी, आतंकवादी र खलनायक बाहेक केहि पनि हुनेछैन। इतिहासमा आफ्नो सम्मानजनक स्थान बनाउने मौका दिएका थिए जनताले यिनीहरुलाई, यिनीहरुका विगतका हजारौं जघन्य गल्तीहरुका वावजूदपनि। तर माओवादीहरुले नेपाली जनतालाई अत्यन्त ठूलो धोका दिएका छन् र एकदिन जनताले अत्यन्त निर्मम तरिकाले बदला लिनेछन् यिनीहरुसंग।

संसारको इतिहासले के देखाउँछ भने उग्र वामपन्थीहरु र उग्र दक्षिणपन्थीहरुको रुप फरक फरक देखिएपनि सारभने एउटै हुन्छ। दुबै लोकतन्त्र, खुला समाज, वैचारिक स्वतन्त्रता र स्वतन्त्र संचार माध्यमहरुलाई देखिसहँदैनन्। दुबै अत्यन्त छुद्र र असहिष्णु हुन्छन्। दुबै अधिनायकवादी राज्यसत्ताका हिमायती हुन्। यसैले सारमा बर्माको जुन्टा, किम जोङ इल, ज्ञानेन्द्र र प्रचण्ड उस्तै हुन्। माओवादीहरुका अचेलका केहि ब्यबहारले सबै कुरा फेरि एकचोटि छर्लङ्ग पारेनन् र?

माओवादीको कथित 'क्रान्तिकारी' उग्र वामपन्थी अडानले सोझै फाईदा पुग्ने भनेको दरबारलाई मात्रै हो। हाम्रोजस्तो सानो, गरीब र कमजोर देशले लामो संक्रमणकाल थेग्न सक्दैन। अब उत्पन्न हुने राजनीतिक शून्यता र अराजकतामा मौका छोपेर बलपूर्वक आफ्नो 'एनिमल फार्म' कायम गरौंला भन्ने सपना पालेका होलान् उनीहरुले तर परिस्थिति ठीक उल्टो दिशातिर हिँडिरहेको छ। हामीले अहिलेसम्म भोगेकाभन्दा धेरै कठोर दक्षिणपन्थी सैन्यसत्ताको सम्भावना धेरै नजिक छ। त्यो नभएपनि देश राजनीतिक शून्यता र गतिहीनतामा जकडिनेछ र लामो हत्या-हिँसा-अराजकताले जर्जर हुनेछ। यस्तो परिष्थितिमा देशनै पनि बाँकी रहन्छ भन्ने के छ र?

आखिर देशलाईनै विनाशको संघारमा पु-याउने माओवादीको यो कस्तो 'क्रान्तिकारी' काइदा?!!!!!!!!!!!

अब कल्ले भन्न सक्छ माओवादीहरु सबैभन्दा प्रतिबद्ध 'राजतन्त्रवादी' होइनन् भनेर? चर्का कुराले सबै तथ्य ढाकिँदैनन्।

No comments:

Post a Comment